२०८३ भदौ १७, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपालको बाढी विपद्मा बंगलादेशको साथ, नुवाकोटपछि रसुवामा राहत वितरण गर्ने

नेपालको बाढी विपद्मा बंगलादेशको साथ, नुवाकोटपछि रसुवामा राहत वितरण गर्ने

बाढी पीडितका लागि औषधिदेखि सोलार बत्ती, कपडा, सरसफाइ सामग्रीसम्म सहयोग


काठमाडौं—भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा बंगलादेशी चिकित्सकसहितको टोली नेपालमै आएर सहयोग उपलब्ध गराएको छ । एसिया प्यासिफिक एलाइन्स फर डिजास्टर म्यानेजमेन्ट, बंगलादेश, कम्युनिटी इनिसियटिभ सोसाइटी र ढाका कम्युनिटी हस्पिटल ट्रष्टले जापानको परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा बाढी पीडितहरुलाई राहत उपलब्ध गराएका हुन् ।

जापानको परराष्ट्र मन्त्रालयको सहकार्यमा सञ्चालित अभियानअन्तर्गत राहत तथा स्वास्थ्य सहायता टोली २९ अगस्ट २०२६ मा काठमाडौं आइपुगेको थियो । नेपाल आइपुगेलगत्तै टोलीले बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न तथा तत्काल आवश्यक राहत र स्वास्थ्य सेवाको पहिचान गर्न सम्बन्धित सरोकारवालासँग उच्चस्तरीय छलफल थालेको थियो ।

टोलीले बाढी प्रभावित क्षेत्रको भौगोलिक जोखिम, तत्काल देखिएको स्वास्थ्य समस्या, औषधिको अभाव तथा प्रभावित समुदायको आवश्यकताको मूल्यांकन गर्दै आवश्यक सामग्री परिचालन गरिरहेको जनाएको छ।

जारी अभियानअन्तर्गत टोलीले नुवाकोटका त्रिशूली बजार, विदुर र देवीघाटलगायतका बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक गैरखाद्य सामग्री तथा स्वास्थ्य सामग्री वितरण गरेको छ। टोलीले प्रभावित नागरिकलाई सोलार प्यानल तथा बत्ती, साबुन, कपडा, तौलिया, मास्क, सेनेटरी न्यापकिन र जीवाणुरोधी साबुनलगायतका सामग्री उपलब्ध गराएको टोलीका एक सदस्य डा. एमडी नाजमुल हुसेनले जानकारी दिए ।

उनकाअनुसार नियमित औषधि सेवन गर्नुपर्ने दीर्घरोगका बिरामी तथा नसर्ने रोगका बिरामीका लागि आवश्यक औषधि समेत वितरण गरिएको छ । बाढीका कारण स्वास्थ्य सेवा तथा औषधिको पहुँच प्रभावित भएका नागरिकलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले औषधि सहायता प्रदान गरिएको उनले बताए ।

अब रसुवाका अति प्रभावित क्षेत्रमा पुग्ने

नुवाकोटमा सहायता पुर्‍याएपछि टोलीले अब रसुवा जिल्लाका अति प्रभावित क्षेत्रमा राहत तथा स्वास्थ्य सहायता विस्तार गर्ने तयारी गरेको छ । विशेषगरी बेत्रावती बजार, धुन्चे र कालिकास्थानलगायतका क्षेत्रमा आवश्यक राहत सामग्री तथा स्वास्थ्य सहायता पुर्‍याइने टोलीले जनाएको छ ।

बाढीबाट प्रभावित समुदायको तत्कालीन आवश्यकतालाई प्राथमिकतामा राख्दै स्वास्थ्य, सरसफाइ र अत्यावश्यक सामग्री वितरणलाई निरन्तरता दिने डा. एमडीले जानकारी दिए ।

नेपालमा सञ्चालित यो अभियानले प्राकृतिक विपद्का बेला क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाबीचको मानवीय सहकार्यको उदाहरण प्रस्तुत गरेको छ । प्रभावित समुदायको वास्तविक आवश्यकता पहिचान गरी सोहीअनुसार राहत तथा स्वास्थ्य सामग्री पुर्‍याउने अभियानको मुख्य उद्देश्य रहेको छ।

अभियानमा एसिया प्यासिफिक एलाइन्स फर डिजास्टर म्यानेजमेन्ट, बंगलादेशका कार्यकारी निर्देशक एमडी गोलाम मोस्तफा, कम्युनिटी इनिसियटिभ सोसाइटीका निर्देशक रञ्जित हाल्दर तथा कार्यक्रम व्यवस्थापक डा. एमडी नाजमुल हुसेनलगायत सहभागी छन्।

टोलीले नेपालमा जारी आपत्कालीन प्रतिकार्यलाई निरन्तरता दिँदै बाढीबाट सबैभन्दा बढी प्रभावित समुदायसम्म आवश्यक राहत, स्वास्थ्य तथा सरसफाइ सहायता पुर्‍याउने प्रतिबद्धता जनाएको छ । डा. एमडीले यो अभियानमा नेपाल चिकित्सक संघ (एनएमए) र डा. कालुसिंह खत्रीले संयोजनमा सहयोग गरेको बताए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ