२०८३ भदौ २१, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारबाढीमा बगेको जीवन र दीर्घरोगको मौन महामारीः प्राथमिक स्वास्थ्य सेवाको नयाँ सकस

बाढीमा बगेको जीवन र दीर्घरोगको मौन महामारीः प्राथमिक स्वास्थ्य सेवाको नयाँ सकस


भोटेकोशी कोरिडोरका डाँडापाखा खसिरहँदा र उर्लेको बाढीले रसुवाका तटीय बस्तीहरू ध्वस्त गरेका छन् । यसबेला हाम्रा नजरहरू स्वाभाविक रूपमा ध्वस्त भएका पुल, बगेका घर र खोज–उद्धारका दृश्यमा अडिन्छन् । विपद्को त्यो भयावह क्षणमा हाम्रो प्राथमिक ध्यान पनि चोटपटक लागेकाहरूको उद्धार, झाडापखाला वा सरुवा रोगको सम्भावित जोखिम रोक्नमै केन्द्रित हुन्छ । बाढीको धमिलो पानीले सडक सञ्जाल विच्छेद गरेको यस अवस्थामा ती बस्तीहरू अलगिएका छन् । त्यसैले त्यहाँ अर्को एउटा मौन तर घातक सङ्कट सुरु भएको छ । त्यो सङ्कट हो, नियमित जीवनरक्षक औषधिको पर्खाइमा छटपटाइरहेका दीर्घरोगका बिरामीहरूको ।

रसुवाका ती विकट गाउँहरूमा बाढीले केवल बाटो मात्र छेकेको छैन । स्वास्थ्य संस्थाहरूका भवन, विद्युत्, सञ्चार र कोल्ड चेन (Cold Chain) जस्ता अत्यावश्यक भौतिक पूर्वाधारहरू नै ध्वस्त पारिदिएको छ । जब स्वास्थ्य चौकी आफैँ पहिरोको जोखिममा पर्छ वा बाढीले भवन ढल्छ, तब त्यहाँ रहेका सीमित औषधिहरू पनि पुरिन्छन् वा नष्ट हुन्छन् । विद्युत् सेवा ठप्प हुँदा इन्सुलिन जस्ता चिसोमा राख्नुपर्ने (Cold Chain) जीवनरक्षक औषधिहरू प्रभावकारी हुँदैनन् ।

अर्कोतर्फ टेलिफोन र इन्टरनेट सञ्जाल काटिँदा कुन स्वास्थ्य संस्थामा कुन औषधिको अभाव छ भन्ने सूचनासम्म माथिल्लो निकायमा पुग्न सक्दैन । अनि नियमित औषधि सेवन गर्नुपर्ने दिर्घरोगका बिरामीहरुलाई दोहोरो समस्या हुन्छ । हप्ता दिनदेखि ‘एमलोडिपिन’ वा ‘मेटफर्मिन’ खान नपाएर अचानक हृदयघात वा पक्षाघातको जोखिममा पुगेका वृद्धवृद्धाहरू वा हर्मोन र मिर्गौलासम्बन्धी औषधि नपाएर गम्भीर जटिलतातिर धकेलिएका बिरामीहरूको कथा कुनै पनि बाढीको भौतिक क्षतिभन्दा कम कारुणिक हुने छैन । विपद्का बेला ‘ट्रमा’ र ‘सरुवा रोग’लाई मात्र प्राथमिकतामा राख्ने हाम्रो परम्परागत जनस्वास्थ्यको चश्माले यस्ता गैर–सरुवा रोगका बिरामीहरूलाई प्रायः ओझेलमा पार्छ ।

यो समस्या केवल रसुवा वा नेपालको मात्र एकांकी कथा भने होइन । अन्तर्राष्ट्रिय अनुभवहरूले पनि विपद् र दीर्घरोगको यो भयानक सम्बन्धलाई पटक–पटक पुष्टि गरेका छन् । सन् २००५ मा अमेरिकाको न्यू अर्लिन्समा आएको विनाशकारी ‘कटरिना’ समुद्री आँधी होस् या हालैका वर्षहरूमा विभिन्न देशहरूमा भएका सशस्त्र द्वन्द्व र प्राकृतिक विपत्ति, प्रत्यक्ष असरभन्दा बढी मृत्यु नियमित स्वास्थ्य सेवा र औषधिबाट वञ्चित भएका दीर्घरोगका बिरामीहरूको भएको पाइएको थियो । कटरिना आँधीपछि अस्पताल भर्ना भएकामध्ये ठूलो संख्या आकस्मिक चोटपटकका होइनन्, बल्कि सुगर र प्रेसर नियन्त्रणबाहिर गएर ‘मेटाबोलिक कोल्याप्स’ भएका बिरामीहरूको थियो । हाम्रो देशमा पनि कोभिड–१९ को लकडाउनका बेला यातायात ठप्प हुँदा प्राथमिक स्वास्थ्य केन्द्रहरूसम्म पुग्न नसकेर अकालमा ज्यान गुमाएका दीर्घरोगका बिरामीहरूको संख्या कम थिएनन् ।

विश्वव्यापी रूपमा हेर्ने हो भने पनि अहिले जनस्वास्थ्यको नक्सा आमूल परिवर्तन भइसकेको छ । नेपालमा हुने कुल मृत्युको लगभग ७१ प्रतिशत गैर–सरुवा रोगहरूले ओगटिसकेको तथ्याङ्कले छ । हुनत् दिर्धरोगका बिरामीहरुको उमेर बढी भएर पनि हो । तर, यस तथ्यांकले हामी अब ‘सङ्क्रामक रोग’को युगबाट सरेर ‘दीर्घरोगको महामारी’को कठोर मोडमा उभिएका छौँ भन्ने स्पष्ट पारेको छ । तर, विडम्बना के छ भने हाम्रो प्राथमिक स्वास्थ्य सेवा प्रणाली (PHC Network) को जग अझै पनि पुरानै ‘संक्रामक रोग नियन्त्रण’को मानसिकताबाट पूर्ण रूपमा माथि उठ्न सकेको छैन । गाउँका प्राथमिक स्वास्थ्य केन्द्रहरूमा आज पनि कुनै बिरामी पुग्दा उसको ‘भाइटल साइन’ लिने क्रममा रक्तचाप नाप्ने वा रगतमा सुगरको मात्रा हेर्ने कुरालाई अनिवार्य ‘क्लिनिकल रुटिन’ बनाउन सकिएको छैन । हामी अहिले पनि बिरामी अङ्ग–भङ्ग भएर वा जटिलता लिएर टर्सरी अस्पताल नपुगेसम्म पर्खिने ‘प्रतिक्रियात्मक’ (Reactive) स्वास्थ्य प्रणालीमा अभ्यस्त छौँ । तर, हामीलाई चाहिएको छ पूर्व–सक्रिय (Proactive) र रोकथाममा आधारित प्राथमिक सेवा ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले अघि सारेको ‘पेन प्याकेज’ (WHO–PEN Package) ले प्राथमिक तहका स्वास्थ्यकर्मीहरूलाई मार्गदर्शन गर्छ । तर,त्यसलाई केवल कागजी प्रोटोकलमा सीमित नराखी क्लिनिकल अभ्यासको अंश बनाउनु अहिलेको मुख्य चुनौती हो । प्राथमिक तहमा कार्यरत चिकित्सक, नर्स तथा जनस्वास्थ्यकर्मीहरूले प्रत्येक बिरामीलाई एउटा समग्र इकाईका रूपमा हेर्नुपर्छ । ४० वर्ष कटेका हरेक बिरामी स्वास्थ्य संस्थामा छिर्दा उसको ‘१० वर्षे कार्डियोभास्कुलर जोखिम’ मूल्याङ्कन गर्ने, ओभर–द–काउन्टर (OTC) औषधि किन्ने बानीलाई रोकेर गाइडलाइनमा आधारित ‘¥याशनल फार्माकोथेरापी’ लागू गर्ने र जटिलता देखिनुअघि नै सही समयमा रेफर गर्ने क्लिनिकल सुझबुझ प्राथमिक स्वास्थ्य सेवाको मेरुदण्ड हुनुपर्छ ।

यसका साथै, रसुवा र भोटेकोशी जस्ता भौगोलिक रूपमा संवेदनशील र विपद्को उच्च जोखिममा रहेका क्षेत्रहरूका लागि हामीले ‘इमर्जेन्सी एनसिडी केयर प्लान’ (Emergency NCD Care Plan) को अवधारणा तुरुन्त लागू गर्नुपर्छ । बाढी वा पहिरोले बाटो काट्नुअघि नै स्थानीय स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक दीर्घरोगका औषधिहरूको कम्तीमा तीन महिनाको लागि पर्याप्त मौज्दात (Buffer Stock) राख्ने पद्धति राख्नु पर्छ । मौजदात भएका स्वास्थ्यसंस्थाका औषधि, रेकर्ड हराएको हुन सक्छ । त्यस अवस्थामा तुरुन्त केन्द्रमा भएका रेर्कडका आधारमा औषधि पु¥याउनु पर्छ । अहिले कतिपय कागजी पुर्जा हराएको हुन सक्छ । यस्ता पनि बिरामीको ‘मेडिकल हिस्ट्री’ का आधारमा औषधि उपलब्ध गराउने । र भविष्यमा यस्तो हुन नदिन सुरक्षित रहने गरी डिजिटल ई–हेल्थ प्रणालीको सुरुवात गर्ने गर्नुपर्छ । महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई गाउँमा रहेका दीर्घरोगका बिरामीहरूको लगत राख्न परिचालन गर्ने हो भने जुनसुकै विपद्मा पनि जीवनरक्षा गर्न सकिन्छ ।

विपद्का बेला सिर्जना हुने अर्को गम्भीर पाटो भनेको ‘वित्तीय विनाश’ (Financial Toxicity र मानसिक तनावको दुष्चक्र पनि हो । बाढी–पहिरोले घरबार वा रोजगारी खोसिएका परिवारका लागि जब स्थानीय स्वास्थ्य संस्थामा औषधि पाइँदैन । तब उनीहरू महँगो मूल्यमा निजी मेडिकलबाट औषधि किन्न वा ठूला सहर धाउन बाध्य हुन्छन् । आर्थिक अभावकै कारण धेरैले बीचैमा औषधि छाड्छन् (Non–compliance), जसले गर्दा केही समयमै मिर्गौला फेल हुने वा मस्तिष्काघात (Stroke) हुने जस्ता महँगा जटिलताहरू थपिन्छन् । अर्कोतर्फ, विपद्ले निम्त्याउने तीव्र मानसिक तनाव (Post–Traumatic Stress) ले शरीरमा कोर्टिसोल जस्ता हर्मोनहरू बढाउँछ, जसले सुगर र प्रेसरलाई झनै अनियन्त्रित बनाइदिन्छ । प्राथमिक तहमा क्लिनिकल सेवा दिँदा स्वास्थ्यकर्मीले शारीरिक औषधिसँगै यो मानसिक पक्षलाई नजोडेसम्म उपचार अधुरै रहन्छ ।

सेतो कोट लगाउने स्वास्थ्यकर्मी केवल अस्पतालको कोठाभित्र बसेर प्रेस्क्रिप्सन लेख्ने प्राविधिक मात्र होइनन् । उनीहरू समाजको बदलिँदो स्वास्थ्य परिदृश्यलाई बुझ्ने र विपद्को अग्रपंक्तिमा उभिने संवाहक पनि हुन् । भोटेकोशीको धमिलो बाढीले बगाएको केवल सडक वा पुल मात्र छैनन् । यसले हाम्रो प्राथमिक स्वास्थ्य प्रणालीमा रहेका गम्भीर छिद्रहरूलाई पनि उदाङ्गो पारिदिएको छ । अब पनि हामीले प्राथमिक स्वास्थ्य सेवालाई दीर्घरोग व्यवस्थापन र विपद् पूर्वतयारीसँग जोड्न सकेनौँ भने आगामी दिनमा आउने प्राकृतिक वा गैर–प्राकृतिक सङ्कटहरूमा हामीले अझ धेरै अदृश्य ज्यानहरू गुमाइ रहनु पर्नेछ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ