मधेसको मैथिली संवाददेखि राष्ट्रिय नीतिसम्म : परिवार नियोजनमा पुरुषको सहभागिता बढाउने समय
‘अहाँ परिवार नियोजनक साधन किएक नहि अपनबैत छी ?’
‘हमरा की जरूरत छै ? बच्चा नहि होय, तऽ ओहि लेल औरते दवाई खायत। हम तऽ ठीक छी ।’
‘मुदा बच्चा तऽ दुनू जनाक होइत छै । जिम्मेवारी सेहो दुनू जनाक नहि होबाक चाही ?’
“लोक की कहत ? मर्द भऽ कऽ नसबन्दी करायब ? फेर तऽ सब हँसी उड़ायत ।”
मधेसको एउटा गाउँमा स्वास्थ्यकर्मी र स्थानीय पुरुषबीच हुन सक्ने यो प्रतिनिधिमूलक संवादले परिवार नियोजनको एउटा गम्भीर सामाजिक यथार्थ उजागर गर्छ । गर्भधारण महिलाको शरीरमा हुन्छ तर त्यसको जिम्मेवारी महिलाकै मात्र हो भन्ने सोच समाजमा अझै बलियो छ । पुरुषले परिवार नियोजनका साधन प्रयोग गर्नु कमजोरी, पुरुषत्वमा कमी वा सामाजिक प्रतिष्ठामा आँच आउने विषय हो भन्ने धारणा पनि कतिपय समुदायमा पाइन्छ ।
यो सोच केवल मधेसको समस्या होइन । नेपालको समग्र परिवार नियोजन कार्यक्रममै पुरुषको सहभागिता अपेक्षाकृत कमजोर देखिन्छ । प्रश्न पुरुषले साधन प्रयोग गरेनन् भन्ने मात्र होइन; परिवार नियोजनको निर्णय, खर्च, स्वास्थ्य जोखिम र सेवा प्राप्तिको भार महिलामाथि किन बढी परेको छ भन्ने हो ।
समस्या कसरी विकसित भयो ?
नेपालमा परिवार नियोजन कार्यक्रमले लामो यात्रा तय गरेको छ । परिवारको आकार व्यवस्थापन, मातृ तथा शिशु स्वास्थ्य सुधार र अनिच्छित गर्भ रोकथामका लागि सरकारले विभिन्न गर्भनिरोधक साधन र सेवा विस्तार गरेको छ । स्वास्थ्य संस्थामार्फत पिल्स, सुई, इम्प्लान्ट, आईयूसीडी, कन्डम र स्थायी बन्ध्याकरणका सेवा उपलब्ध छन् ।
तर, कार्यक्रमको ऐतिहासिक विकासक्रममा महिलालाई लक्षित साधन र सेवाले बढी प्राथमिकता पाउँदै आए । गर्भधारण र प्रसूति महिलाको शरीरसँग प्रत्यक्ष सम्बन्धित भएकाले परिवार नियोजनको जिम्मेवारी पनि महिलाकै हो भन्ने संस्थागत र सामाजिक बुझाइ बलियो बन्यो । पुरुषलाई परिवार नियोजनका निर्णयमा सहभागी गराउने प्रयास भए पनि उनीहरूलाई आफ्नै प्रजनन स्वास्थ्यको जिम्मेवार सेवाग्राही बनाउने अभ्यास पर्याप्त संस्थागत हुन सकेन ।
यसको अर्को पक्ष पुरुषत्व सम्बन्धी सामाजिक मान्यता हो । धेरै पुरुषले पुरुष बन्ध्याकरणले यौन क्षमता, शारीरिक शक्ति वा पुरुषत्व घटाउँछ भन्ने भ्रम पालिरहेका छन् । कतिपयले कन्डम प्रयोगलाई यौन सम्बन्धमा अविश्वास वा आनन्दमा कमी आउने विषयका रूपमा बुझ्छन् । परिवार नियोजनबारे खुला छलफल गर्न लाज मान्ने प्रवृत्तिले पनि समस्या बढाएको छ ।
तथ्याङ्कले के भन्छ ?
राष्ट्रिय तथ्याङ्क कार्यालय र युनिसेफ नेपालको सहकार्यमा गरिएको नेपाल बहुसूचक सर्वेक्षण (NMICS) २०२४–२५ ले परिवार नियोजनको साधन प्रयोगमा महिला र पुरुषबीचको असमानता देखाउँछ । सर्वेक्षणअनुसार आधुनिक गर्भनिरोधक साधनको प्रयोगमा महिलाले प्रयोग गर्ने विधिहरूको हिस्सा पुरुषले प्रयोग गर्ने विधिभन्दा धेरै ठूलो छ ।
परिवार नियोजनका साधनको प्रयोगको तथ्याङ्क हेर्दा गर्भनिरोधक सुई सबैभन्दा बढी लोकप्रिय देखिन्छ, जसलाई १२.३ प्रतिशतले प्रयोग गर्छन् । त्यसपछि महिला बन्ध्याकरण ८.५ प्रतिशतमा रहेको छ । इम्प्लान्ट र पिल्स दुवै ३.८ प्रतिशतका दरले प्रयोग भएका छन् । आईयूसीडीको प्रयोग २.२ प्रतिशत र पुरुष कन्डमको प्रयोग २.० प्रतिशत रहेको छ । सबैभन्दा कम प्रयोग भएको साधन पुरुष बन्ध्याकरण हो, जसको हिस्सा जम्मा १.७ प्रतिशत मात्र छ । यसरी महिला बन्ध्याकरणको तुलनामा पुरुष बन्ध्याकरणको प्रयोग निकै न्यून देखिन्छ, जसले परिवार नियोजनको भार मुख्यतः महिलामाथि नै परेको संकेत गर्छ । यी विधिहरूको प्रयोग दरले विधि छनोटको असमानता देखाउँछ; यसलाई पुरुषको व्यक्तिगत अनिच्छाको प्रत्यक्ष मापनका रूपमा बुझ्नु हुँदैन । स्रोतः नेपाल बहुसूचक सर्वेक्षण २०२४-२५, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा युनिसेफ नेपाल ।
यी तथ्याङ्कले परिवार नियोजनको भार महिलाले बढी बहन गरिरहेको संकेत गर्छन् । महिला बन्ध्याकरणको प्रयोग पुरुष बन्ध्याकरणभन्दा पाँच गुणाभन्दा बढी छ । पुरुष कन्डमको प्रयोग पनि सीमित छ । यसले पुरुषको प्रत्यक्ष सहभागिता बढाउनुपर्ने आवश्यकता देखाउँछ ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले अर्को महत्त्वपूर्ण पक्ष उजागर गरेको छ । १५–४९ वर्ष उमेर समूहका ९९.८ प्रतिशत पुरुषले कुनै न कुनै परिवार नियोजनको साधनबारे सुनेका थिए । ९९.२ प्रतिशत पुरुषले पुरुष कन्डमबारे र ८६.७ प्रतिशतले पुरुष बन्ध्याकरणबारे जानकारी रहेको बताएका थिए । अर्थात् समस्या साधनको नामै नसुनेको मात्र होइन; जानकारीलाई व्यवहारमा रूपान्तरण गर्न नसकेको पनि हो ।
सन् २०२५ मा BMC Public Health मा प्रकाशित नेपाल DHS २०२२ को तथ्याङ्कमा आधारित अध्ययनले १५–४९ वर्षका २ हजार ६४९ विवाहित पुरुषको विश्लेषण गरेको थियो । अध्ययनमा सबै पुरुषले कम्तीमा एउटा आधुनिक गर्भनिरोधक विधिबारे जानकारी राखेको देखिए पनि केवल ३३.७ प्रतिशतलाई महिलाको डिम्बोत्सर्जन चक्रबारे सही जानकारी थियो । स्वास्थ्यकर्मीसँग परिवार नियोजनबारे छलफल गरेका पुरुषमा आधुनिक गर्भनिरोधक प्रयोगको सम्भावना तुलनात्मक रूपमा १.७२ गुणा बढी देखिएको थियो । यसले सूचना, परामर्श र स्वास्थ्यकर्मीसँगको सम्पर्कले पुरुषको सहभागिता बढाउन सक्ने देखाउँछ ।
यस अध्ययनको अर्को महत्त्वपूर्ण निष्कर्ष सामाजिक धारणासँग सम्बन्धित छ । गर्भनिरोधक प्रयोग गर्ने महिलालाई चरित्रका दृष्टिले गलत ठान्ने धारणासँग असहमत पुरुषमा आधुनिक गर्भनिरोधक प्रयोगको सम्भावना बढी देखिएको थियो । यसले परिवार नियोजन केवल स्वास्थ्य सेवाको विषय नभई लैङ्गिक समानता र सामाजिक सोचसँग पनि जोडिएको पुष्टि गर्छ ।
पुरुष किन पछि हट्छन् ?
पहिलो कारण पुरुषत्वसम्बन्धी गलत बुझाइ हो । पुरुष बन्ध्याकरण गरेपछि यौन इच्छा घट्छ, शरीर कमजोर हुन्छ, पुरुषत्व समाप्त हुन्छ वा यौन क्षमता गुम्छ भन्ने भ्रम व्याप्त छ । चिकित्सा विज्ञानले यस्तो धारणा पुष्टि गर्दैन । अमेरिकाको नेसनल इन्स्टिच्युट अफ चाइल्ड हेल्थ एन्ड ह्युमन डेभलपमेन्टका अनुसार भ्यासेक्टोमीले टेस्टोस्टेरोन उत्पादन, यौन इच्छा, लिङ्ग उत्तेजना वा वीर्य स्खलन क्षमतामा असर गर्दैन ।
दोस्रो कारण सामाजिक प्रतिष्ठा र साथीभाइको दबाब हो । कतिपय पुरुषले पुरुष बन्ध्याकरणलाई आफ्नो सामाजिक पहिचानसँग जोडेर हेर्छन् । स्वास्थ्य संस्थामा गएर परिवार नियोजनबारे परामर्श लिनु पनि लाजको विषय मान्ने प्रवृत्ति छ ।
तेस्रो कारण सेवा प्रवाहको संरचना हो । स्वास्थ्य संस्थामा परिवार नियोजनसम्बन्धी परामर्श र सेवा महिला केन्द्रित देखिन्छ । पुरुषलाई लक्षित परामर्श, सहज सेवा समय, पुरुष स्वास्थ्यकर्मी वा प्रशिक्षित परामर्शदाता र समुदायमा पुरुषसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम पर्याप्त छैनन् ।
चौथो कारण परिवार नियोजनलाई दम्पतीको साझा निर्णयका रूपमा बुझाउने अभ्यास कमजोर हुनु हो । महिला गर्भवती हुने भएकाले गर्भनिरोधकको जिम्मेवारी पनि महिलाकै हो भन्ने सोचले पुरुषलाई निष्क्रिय बनाएको छ । तर, गर्भधारण रोक्ने निर्णय दुवैको साझा जिम्मेवारी हो ।
अन्तर्राष्ट्रिय अनुभवबाट के सिक्ने ?
बंगलादेशको अनुभव नेपालका लागि उपयोगी हुन सक्छ । त्यहाँ पुरुषमैत्री परिवार नियोजन सेवा विस्तारका लागि स्वास्थ्यकर्मीलाई पुरुषको प्रजनन स्वास्थ्य, लैङ्गिक समानता र यौन स्वास्थ्यसम्बन्धी तालिम दिने, समुदायमा समूह छलफल सञ्चालन गर्ने र स्वास्थ्य संस्थामा पुरुषका लागि सहज सेवा वातावरण बनाउने प्रयास गरिएको थियो । पुरुष बन्ध्याकरणबारे गलत धारणा हटाउन दृश्य सामग्री र प्रत्यक्ष परामर्शसमेत प्रयोग गरिएको थियो ।
बंगलादेशसम्बन्धी अर्को अध्ययनले समुदायका स्वास्थ्यकर्मीबाट परिवार नियोजनबारे जानकारी पाएका पुरुषमा सहभागिता बढी हुने देखाएको छ । यसले स्वास्थ्यकर्मीको भूमिका केवल साधन वितरणमा सीमित नभई सामाजिक व्यवहार परिवर्तनसम्म विस्तार गर्नुपर्ने देखाउँछ ।
विश्व स्वास्थ्य संगठनले पनि पुरुष र किशोरलाई परिवार नियोजन तथा प्रजनन स्वास्थ्यमा सहभागी गराउँदा उनीहरूलाई महिलामाथि निर्णय थोपर्ने भूमिकामा होइन, समानता र सम्मानमा आधारित साझेदारका रूपमा जोड्नुपर्ने बताएको छ । पुरुषलाई सहभागी गराउनुको उद्देश्य महिलाको निर्णय गर्ने अधिकार कमजोर पार्नु होइन; दुवैको अधिकार र जिम्मेवारी सुनिश्चित गर्नु हो। स्रोतः WHO
नीतिगत कमजोरी : कार्यक्रम छ, तर पुरुष कहाँ छन् ?
नेपालमा परिवार नियोजनका साधन उपलब्ध गराउने कार्यक्रम छन् । तर, कार्यक्रमको सफलता साधन वितरणको संख्याबाट मात्र मापन गर्ने प्रवृत्ति पर्याप्त छैन । पुरुषको सहभागिता, दम्पतीको साझा निर्णय, पुरुषले प्रयोग गर्ने विधिको पहुँच र सेवाप्रतिको विश्वासलाई पनि परिणाम सूचक बनाउन आवश्यक छ ।
स्थानीय तहमा स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सञ्जाल छ । तर, पुरुषलाई लक्षित नियमित संवाद र परामर्शको स्पष्ट कार्ययोजना कमजोर छ । स्वास्थ्य संस्थामा आउने महिलालाई साधनबारे जानकारी दिइन्छ तर उनका श्रीमान् वा पुरुष साझेदारलाई परामर्शमा जोड्ने अभ्यास व्यवस्थित छैन ।
अर्को कमजोरी तथ्याङ्कमा छ । परिवार नियोजनको कुल प्रयोग दर मात्र हेरेर पुरुषको वास्तविक सहभागिता बुझ्न सकिँदैन् । पुरुष कन्डम र पुरुष बन्ध्याकरणको प्रयोग, पुरुषले परामर्श लिएको अवस्था, दम्पतीले संयुक्त निर्णय गरेको अवस्था र पुरुषले महिलाको गर्भनिरोधक प्रयोगमा सहयोग गरेको अवस्थालाई छुट्टाछुट्टै मापन गर्नुपर्छ ।
अब के गर्ने ?
सरकारले राष्ट्रिय परिवार नियोजन रणनीतिमा पुरुष सहभागितालाई स्पष्ट लक्ष्य र सूचकका रूपमा समावेश गर्नुपर्छ । प्रत्येक स्थानीय तहमा पुरुषमैत्री परामर्श सेवा, पुरुष बन्ध्याकरणबारे नियमित जानकारी, कन्डमको सहज उपलब्धता र प्रशिक्षित स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्छ । स्वास्थ्यकर्मीलाई पुरुषत्वसम्बन्धी भ्रम, यौन स्वास्थ्य र दम्पती परामर्शबारे तालिम दिनुपर्छ । पुरुष बन्ध्याकरण सुरक्षित र स्थायी विधि हो भन्ने जानकारी दिँदा त्यसको प्रकृति, स्थायित्व, सम्भावित जोखिम र वैकल्पिक विधिबारे निष्पक्ष परामर्श अनिवार्य हुनुपर्छ ।
प्रदेश र स्थानीय सरकारले मधेसका मैथिलीभाषी समुदायसहित विभिन्न भाषिक समुदायमा स्थानीय भाषामै संवाद र व्यवहार परिवर्तनका कार्यक्रम सञ्चालन गर्नुपर्छ । मस्जिद, मन्दिर, सामुदायिक संस्था, युवा क्लब, सहकारी, किसान समूह र स्थानीय अगुवालाई जिम्मेवार साझेदार बनाउन सकिन्छ । पुरुषलाई लक्षित स्वास्थ्य शिविर र गोप्य परामर्श सेवाले पनि पहुँच बढाउन सक्छ ।
निजी क्षेत्र र सञ्चारमाध्यमले पुरुष बन्ध्याकरणसम्बन्धी भ्रम हटाउने तथ्यमा आधारित सामग्री तयार गर्नुपर्छ । लोकप्रिय कलाकार, खेलाडी, शिक्षक र स्थानीय प्रभावशाली पुरुषलाई जिम्मेवार पितृत्व र साझा परिवार नियोजनको सन्देश प्रवाहमा सहभागी गराउन सकिन्छ । कार्यस्थलमा पुरुष कामदारका लागि प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी र परामर्शको व्यवस्था गर्न सकिन्छ ।
नागरिकले परिवार नियोजनलाई महिलाको मात्र जिम्मेवारी ठान्ने सोच बदल्नुपर्छ । श्रीमान्–श्रीमतीले सन्तानको संख्या, जन्मान्तर र गर्भनिरोधक विधिबारे खुला छलफल गर्नुपर्छ । पुरुषले कन्डम प्रयोग गर्ने, आवश्यक परामर्श लिने र स्थायी विधि अपनाउने निर्णयमा जिम्मेवार भूमिका खेल्नुपर्छ । तर, कुनै पनि विधि अपनाउने निर्णय स्वेच्छिक, सूचित र दुवैको अधिकारको सम्मान गर्ने हुनुपर्छ।
अन्त्यमा : जिम्मेवारी साझा नभएसम्म समानता कसरी ?
परिवार नियोजनको सफलता महिलाले कति साधन प्रयोग गरे भन्ने तथ्याङ्कले मात्र मापन गर्न मिल्दैन । पुरुषले कति जिम्मेवारी लिए, दम्पतीले कति साझा निर्णय गरे र महिलाको शरीर तथा स्वास्थ्यमा परेको भार कति घट्यो भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छन् ।
मधेसको त्यो प्रतिनिधिमूलक संवादमा पुरुषले भनेझैँ, ‘मर्द भएर नसबन्दी गराउने ?’ भन्ने प्रश्नको जवाफ स्वास्थ्य विज्ञानले धेरै अघि दिइसकेको छ । अब समाजले दिन बाँकी छ । पुरुष बन्ध्याकरणले पुरुषत्व समाप्त गर्दैन; बरु परिवारको स्वास्थ्य र भविष्यप्रति जिम्मेवारी लिने एउटा विकल्प दिन्छ । तर, पुरुषको सहभागिता भनेको महिलामाथि अर्को निर्णय थोपर्नु होइन, महिलाको स्वायत्तता र अधिकारलाई सम्मान गर्दै जिम्मेवारी बाँड्नु हो ।
अन्ततः प्रश्न यही हो—सन्तान दुवैको, परिवार दुवैको, भविष्य दुवैको; तर परिवार नियोजनको जिम्मेवारी महिलाकै मात्र किन ?
(रोका परिवार कल्याण महाशाखाका डेमोग्राफर । तथ्याङ्क अधिकृत हुन् ।)