२०८३ मंसिर ९, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय ट्रमा सेन्टरमा एक वर्षमा १ लाख २४ हजार १२२ जनाले लिए ओपीडी सेवा, ८ हजार १४२ शल्यक्रिया

राष्ट्रिय ट्रमा सेन्टरमा एक वर्षमा १ लाख २४ हजार १२२ जनाले लिए ओपीडी सेवा, ८ हजार १४२ शल्यक्रिया


काठमाडौं—राष्ट्रिय ट्रमा सेन्टरमा एक वर्षमा १ लाख २४ हजार ११२ जना बिरामीले ओपीडी सेवा लिएका छन् । मंगलबार राष्ट्रिय ट्रमा सेन्टरको वार्षिकोत्सवका अवसरमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले आर्थिक वर्ष २०८२/०८३ मा १ लाख २४ हजार ११२ जनाले ओपीडी सेवा लिएको जानकारी दिएका हुन् ।

मुलुककै एक्लो रेफरल ट्रमा सेन्टरका रुपमा राष्ट्रिय ट्रमा सेन्टरमा गत आर्थिक वर्षमा १९ हजार २७१ जनाले इमर्जेन्सी सेवा लिएका थिए ।

यस्तै, गत वर्षमा ट्रमामा ८ हजार १ सय ४२ शल्यक्रिया भएकामध्ये २ हजार १२४ शल्यक्रिया विस्तार कार्यक्रम (ईएचएस)अन्तर्गत भएका छन् । डा. मरासिनीकाअनुसार जुन संख्या सात वर्षयताकै उच्च हो । ‘हामीले गत आर्थिक वर्ष ३ हजार ८३३ मेजर र सुपर मेजर सर्जरी, १ हजार ४९३ मध्यम किसिमका सर्जरी, २ हजार ३०१ माइनर सर्जरी र ५१५ रिभिजन सर्जरी गरेका छौं,’ डा. मरासिनीले भने ।

२०० शय्या स्वीकृत भएर १८१ शय्या सञ्चालनमा रहेको राष्ट्रिय ट्रमा सेन्टरको शय्या अकुपेन्सी ९०.७३ प्रतिशत छ । यो आर्थिक वर्षमा ६ हजार ७५७ जना बिरामीले इनप्यासेन्ट सेवा लिएका छन् । आर्थिक वर्ष २०८२/०८३ मा सेन्टरमा १ लाख २० हजार ३३९ जनाले रेडियोग्राफी एक्जामिनेसन सेवा लिएका छन्, जुन दैनिक औसतमा ३३० जना हुन्छ । यो अवधिमा २ लाख ५३ हजार ८३५ जनाले ल्याब्रोटोरी सेवा लिएका छन्, जुन औसत प्रतिदिन ६९६ जना हुन्छ ।

डा. मरासिनीकाअनुसार गत आर्थिक वर्षमा १४ हजार १८२ जनालाई सेन्टरले फिजियोथेरापी सेवा प्रदान गरेको छ । सामाजिक सेवा एकाइ (एसएसयू) मार्फत तीन हजार ३१ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् ।

गत आर्थिक वर्षमा ट्रमा सेन्टरले सेवा तथा पूर्वाधार विस्तारमा पनि काम अगाडि बढाएको उनले जानकारी दिए । जसमा १२६ स्लाइसको सिटी स्क्यान र ३टेस्ला एमआरआई खरिद प्रक्रिया अगाडि बढाएको छ भने आन्तरिक पदहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण पनि गरिएको छ । यस्तै, अस्पताल डिजिटलाइजेसनको काम अगाडि बढाइएको बताउँदैं डा. मरासिनीले अस्पतालका सूचकहरुमा सुधार गर्दै कुल खर्च प्रगति ९७ प्रतिशतभन्दा बढी हासिल भएको जानकारी दिए ।

वि.सं. २०७१ सालबाट सञ्चालनमा आएको राष्ट्रिय ट्रमा सेन्टरमा चिकित्सक, नर्सलगायतका ७०० बढी कर्मचारी कार्यरत छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ