२०८३ मंसिर १०, बिहिवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ उच्च अदालत पाटनद्वारा अस्पतालको सेवा प्रवाहमा अवरोध नगर्न जारी अल्पकालीन आदेशलाई निरन्तरता

उच्च अदालत पाटनद्वारा अस्पतालको सेवा प्रवाहमा अवरोध नगर्न जारी अल्पकालीन आदेशलाई निरन्तरता

ट्रेड युनियनलाई अस्पतालको सेवा तथा आम नागरिकको स्वास्थ्य उपचारमा अवरोध गर्न रोक


काठमाडौं — उच्च अदालत पाटनले नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने संवेदनशील क्षेत्र अस्पतालको सेवा प्रवाहमा अवरोध नगर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । बिहीबार न्यायाधीशद्वय श्रीधरा कुमारी पुडासैनी र शिवबहादुर रानाभाटको संयुक्त इजलासले अस्पतालको सेवा तथा आम नागरिकको स्वास्थ्य उपचारसम्बन्धी कार्यमा अवरोध पुग्ने कुनै पनि गतिविधि नगर्नू, नगराउनू भनी यसअघि जारी गरेको आदेशलाई निरन्तरता दिएको हो ।

स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा नेपाल एकीकृत स्वास्थ्यकर्मी युनियनका नाममा सेवा अवरुद्ध गर्ने गतिविधि हुन थालेपछि अस्पताल व्यवस्थापनले उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै ४ मंसिरमा उच्च अदालत पाटनका न्यायाधीश माधव धितालको एकल इजलासले अस्पतालको सेवा तथा आम नागरिकको स्वास्थ्य उपचारसम्बन्धी कार्यमा अवरोध पुग्ने कुनै पनि गतिविधि नगर्नू, नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

बिहीबार न्यायाधीशद्वय पुडासैनी र रानाभाटको संयुक्त इजलासले समेत यसअघिको आदेशलाई निरन्तरता दिँदै नेपाल एकीकृत स्वास्थ्यकर्मी युनियनलाई अस्पतालको सेवा प्रवाहमा अवरोध पुग्ने कुनै पनि गतिविधि नगर्न आदेश दिएको हो ।

यसअघि ९ कात्तिकमा नेपाल एकीकृत स्वास्थ्यकर्मी युनियनले अस्पताल व्यवस्थापनसमक्ष विभिन्न माग राख्दै ७  मंसिरदेखि हातमा कालोपट्टी बाँध्ने, धर्ना दिनेलगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । युनियनले अस्पतालको सेवा प्रवाहमा अवरोध पुग्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेपछि अस्पताल व्यवस्थापन न्यायिक उपचारका लागि उच्च अदालत पुगेको थियो ।

अदालतको अल्पकालीन अन्तरिम आदेशसँगै ट्रेड युनियनलाई अस्पतालको नियमित सेवा प्रवाह तथा आम नागरिकको स्वास्थ्य उपचारमा अवरोध पुग्ने गतिविधि गर्न रोक लागेको छ । यद्यपि, मुद्दाको अन्तिम फैसला भने भइसकेको छैन ।

यदि अन्तिम फैसलासम्म पनि उक्त आदेश कायम रहेमा अस्पतालको सेवा प्रवाहमा अवरोध पुग्ने गरी ट्रेड युनियनले आन्दोलनका कार्यक्रम सञ्चालन गर्न पाउने छैनन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ