२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्य‘किन नर्सिङ पेशा अपहेलित छ हाम्रो नेपालमा?’

‘किन नर्सिङ पेशा अपहेलित छ हाम्रो नेपालमा?’


हिजोआज म आफूलाई उमेरको हिसाबले अलि पाको भएको महसुस गर्दैछु । अर्धशतकको वरिपरि भएर हुन सक्छ । मानवीय  सेवाको पेशा नर्सिङमा रहेर अनेकन अनुभूतिहरुले पनि हुन सक्छ । आफ्नो आँखा अगाडि मानवको मुकुण्डो ओढेका, विद्वान, महान समाजसेवी, ठूला नेता, मन्त्री आदि भनाउँदाहरुबाट अपहेलित भएको पाउछु । आफ्नो अनुभव र कार्य दायराको वर्तमान उत्तरदायित्व वहन गरिएको अभिभावकत्वको भूमिकाको परिवेशले गर्दा होस्, अति कठोर र कता—कता त्यस्ता कार्य गर्ने व्यवहार देखाउनेप्रति अति ह्रिंसक हुँदै त गएको छैन भन्ने अनुभूति गर्दैछु ।

किनकी, नेपालको संविधान भाग ३ मौलिक हक र कर्तव्य अन्तर्गत अनुच्छेद १६ .१ प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हकको व्यवस्था छ । त्यस्तै, अनुच्छेद १७.२ (क) विचार र अभिव्यक्तिको स्वतन्त्रता, (ख) बिना हात हतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, (ग) राजनीति दल खोल्ने स्वतन्त्रता, (घ) संघ र संस्था खोल्ने स्वतन्त्रता आदिहरू उल्लेखित छन् । के नर्स पेशाकर्मीहरुले आत्मसम्मान पूर्वक बाँच्न पाउने अधिकार उपभोग गर्न पाइएको छ र?

मलाई मेरा सहकर्मीहरू, शुभचिन्तकहरु, अति नजिकका मित्रहरुले अलि संयम, शान्त हुनुहोस् भन्ने गर्दछन् । केही समय भएपनि प्रतिवाद नगर्नुहोस् भन्दछन् । हुँदाहुँदै मातहतका आफ्ना फ्याकल्टीहरुले पनि मानिस स्वार्थी प्राणी हो, आफूलाई मात्र हेर्दछ, आफ्नो स्वार्थ परिपूर्ति गर्न मात्र अग्रसर हुने गर्दछन् । खै तपाईलाई कसले साथ दिएका छन् र ? भनेर प्रश्न गर्छन् ।  भारी सभामा सबै नर्स पेशाकर्मीहरुका लागि सशक्त नियम कानुन युक्तिसंगत प्रतिकार गर्दैगर्दा, पेशालाई सम्मान गर्दैगर्दा, भित्रि मनबाट नै कुरा दह्रोसँग राख्दै गर्नु हुँदा त्यस समयमा तपाईंको सही र समय सापेक्ष कुरामा पनि कसले साथ दियो र भनेर उल्टै प्रश्न राख्ने गरिएको छ ।

तरपनि कुरा राख्न छाडिएको छैन, कारण यो नर्सिङ पेशाको अस्मितासँग गाँसिएको छ । हुँदाहुँदै अति जंगली र असभ्य पाराले आम बैठकमा थर्काउन पो थालेका छन् ।

तपाईंका कुरा कसले सुन्ने गर्दछन् भन्नसम्म पनि भ्याए । आज मेरो अति प्यारो विद्यार्थी जसलाई पिसिएल नर्सिङ पढ्दा धेरै राम्रोसँग चौतर्फी रुपमा निःस्वार्थको साथ ईश्वर साक्षी राखी गुरुको भूमिका निभाउने गरेको थिएँ । अभिभावकको रुपमा यथा सक्दो सहयोग गरेको थिए । स्नातक पढ्दा उनलाई हरेक कुराको सहयोग गरेको थिए । एक अभिभावक र गुरुको हैसियतबाट क्याम्पस प्रमुख र उनका केही चम्चाहरुले गरेका गलत व्यवहारको पनि कडा प्रतिकार गरेको थिए । तर, तिनै विद्यार्थीले आफ्ना साथीहरुबीच म सहभागी भएको छलफलमा मेरो कुरा काटे । र, म हेरेको हेरै नै भए । तर, आज मैले त्यो बारे कुरा राखे । उल्टै उत्तर पाए तपाईंको कुरा कसैले सुन्दैनन् भनेर !

योभन्दा लगभग एक महिनाअघि हाम्रै विद्यार्थी जो स्नातकोतर अध्ययन गर्दा हामीहरूले राम्रोसँग उहाँहरुलाई संरक्षक, अभिभावकको रुपमा एक असल शिक्षकको हैसियतबाट धेरै मिहेनत र इमान्दारिताको साथ पढाएका थियौं । उनैले एक जुम मिटिङमा इज्जत दिन सकिएन रे । उनको आफ्ना स्टाफहरुबीच बेइज्जत गरियो रे । एक्कासी आदरपूर्वक व्यवहार गरी रहेकाले उल्टो अनादर व्यवहार, सर भन्ने आदरपूर्वक सम्मानजनक शब्दबाट सिनियर दाजु भनेर पो सम्बोधन गरेको पाए । आफू एक राम्रो संस्थामा आफ्ना श्रीमान् र केही शक्तिका पुजारीहरु, नेताहरुको अति नजिक हुँदैमा उनीबाट गरिएको व्यवहारबाट म अवाक भए ।

आज उनका व्यवहारका कारणले अतीत आजभन्दा ४–५ वर्षअघिको कुरा सम्झने गर्दछु । त्यो बेला ग्याँसको हाहाकार थियो । त्यस्तै, आफू काम गर्ने स्थानमा जनस्वास्थ्य र नर्सिङ विज्ञबीच कसले स्नातकोत्तर नर्सिङ अध्ययन–अध्यापन गराउने कलेजमा आधिकारिक क्यम्पस प्रमुख चलाउने भित्री रस्साकस्सी चलेका कुरा भएको थियो होला । अहिलेको त्यो समयको घटना याद गर्दैछु ।

त्यो बेला जनस्वास्थ्य विज्ञ क्यम्पस प्रमुख थियो । उसैको दूत बनेर मेरा सह हृदय मित्र मसँग छलफल गर्न मलाई खबर गरी भेट्न आउनुभएको थियो । हामी भरतपुरको हाकिम चोकमा लगभग एक घण्टा गहिरो बहस ग¥यौ । उहाँको कोसिस थियो मैले वर्तमान जनस्वास्थ्य विज्ञलाई सहयोग गर्नुपर्ने, नर्सिङको विज्ञको रुपमा स्वीकार गर्नुपर्ने । खासमा यो कुरा बहस बन्नुपर्ने । मेरो साथ आवश्यक पनि थिएन भन्ने मलाई लागेको थियो । किनकि म त्यो कुराप्रति अनभिज्ञ नै थिए । मेरो कुनै खराब नियत, खराब चाल उहाँप्रति बिलकुलै थिएन । तर, त्यो अनावश्यक मेरो सोच बाहिरको बहसले मलाई सचेत पक्कै गरायो । मेरो प्रतिज्ञा पुनः बोध गरायो । अन्तरहृदयमा गढिएको नर्सिङ पेशाप्रति प्रतिज्ञा पालन गर्न बाध्य बनायो ।

मैले उहाँलाई खुलेर नै भने, ‘म नर्स हुँ । मैले नर्सिङ पेशाप्रति वकालत गर्ने नै छु । यो मेरो धर्म हो । कुनै पनि विषम परिवेश किन नहोस्, कुनै पनि क्षण किन नहोस् नर्सिङ पेशा प्रति एक इन्च पनि आँच आउने दिने छैन ।’ यो मेरो प्रतिज्ञा हो भनी खुलेर उहाँलाई भन्नुपर्ने अवस्था सिर्जना भयो पनि ।

हो, यो नै फरक छ, पुरुषविहिन नर्सिङ पेशामा । हो यो नै अति ठूलो खाडल छ, यो नै अति ठूलो विभेद छ । स्वास्थ्य सेवा प्रणालीमा पुरुषविहिन नर्सिङ पेशा हुनुमा ।

कारण नर्सहरू चाहे अति नै नाम चलेका संस्था, अति नै सुविधा प्रदान गरेका, राम्रो भविष्य बोकेका संस्थाहरुमा किन कार्यरत नहोस्, त्यसभित्र नर्सिङप्रति गरिएको व्यवहार बाहिर हल्ला चलेजस्तो राम्रो छैन । यसलाई इमान्दारीपूर्वक मापन गर्ने हो भने मापन गर्ने साधन नै लज्जाबोध गरी टुक्रा–टुक्रा भै भाँच्चिने छ ।

आज त्यही छोरी मान्छेहरु जसले आफू नर्स भएर श्रीमानको इज्जत, श्रीमानको हरेक काममा साथ निभाएको छ । तर, त्यही श्रीमानपछि ठूलो मान्छे स्वास्थ्य सेवा प्रणालीमा हुन गएमा आफूलाई महान पुरुष सम्झी उनका गुण, उनका योगदान सबै माटोमा मिलाएका छन् । यो मेरो अनुभूति ती नर्सहरुको साथ संगतमा काम गर्दाको क्षण र ती श्रीमान्ले गरेका व्यवहार आदि संस्मरण गर्दा विकास भएको यो अनुभूति हो ।

नत्र किन नर्सहरू माथि अत्याधिक बहुआयामिक क्षेत्रबाट शोषण गर्ने आँट गर्ने गर्दछन् ? न त किन ती नर्सहरुमाथि विभेदपूर्ण व्यवहार गर्ने गर्दछन् ?

कतिसम्म म कठोर हुँदै छु, मलाई सम्पूर्ण नर्स पेशाकर्मीका अभिभावकहरु बुवा, मुमाहरुसँग प्रश्न राख्न मन छ, ‘तपाईंहरु आफ्नो नर्स छोरीलाई सोध्ने गर्नुहोस्, काम गर्ने स्थानमा उनीहरूलाई आर्थिक, सामाजिक, मानसिक, भौतिक र आध्यात्मिक रूपमा सुरक्षित भएको, आत्म गौरव बढेको, आत्म सम्मान सुरक्षित भएको पाउनु भएको छ कि छैन भनेर ?’ त्यस्तै, नर्सिङ अध्ययन गर्दै छन् भने त्यही प्रश्न राख्ने गर्नुहोस् सिकाइको दौरानमा आफूलाई सुरक्षित, सम्मानित महसुस गर्न पाएका छौं भनेर । यदि विवाहित नर्स हुनुहुन्छ भने उहाँका श्रीमानहरुलाई यही प्रश्न आफ्नो नर्स श्रीमतीसँग राख्ने गर्नुहोस्, त्यस्तै नर्सका छोराछोरीहरु वयस्क नागरिक हुनुहुन्छ भने तपाईंहरू यही प्रश्न आफ्ना नर्स पेशाकर्मी आमाहरुलाई राख्ने गर्नुहोस् ।

मैले बाध्य भएर लेख्दै छु, म पुरुष नर्स भएर अहिले नर्सले भोगेका अनेक कष्टहरुबारे निर्धक्क निडर साथ अभिव्यक्त गर्दैछु । आफूलाई मर्द, पुरुष सम्झने र नर्सहरु माथि हेयका दृष्टिले हेर्नेहरु प्रति, सहकर्मी नर्सिङ पेशाकर्मी माथि गिद्दे नजर लगाउने अन्य स्वास्थ्य पेशाकर्मीप्रति, मात्र मुकुण्डो मानिसको व्यवहार कामुक बोकाको हुनेहरु जो कोहीहरु प्रति यो खुलेर चुनौतीका साथ सोध्न, भन्न आँट गरुन भनेर लेख्दैछु ।

कोही हुनुहुन्छ यहाँ आफूलाई पुरुष भनेर गर्व गर्ने अनि नर्सहरूलाई मान्छे नै नगन्ने? कोही हुनुहुन्छ यहाँ नर्स पेशाकर्मीहरु शिक्षक, अस्पतालमा कार्यरत विभिन्न तहका नर्सिङ स्टाफहरुलाई तह लगाउँछु भन्ने? यदि असल आमाको सपुत हौं भने खुल्ला चुनौती नै दिने छु । आउनुहोस् खुलेर मिडिया, सञ्चारकर्मी, न्यायाधीश, वकील, मानव अधिकारकर्मी, समाजसेवी आदिहरुलाई साक्षी राखी उहाँहरूकै बीच बहस गरौँ । त्यसको लागि म नेपाल नर्सिङ संघको वरिष्ठ उपाध्यक्षको र नर्सिङ शिक्षकको हैसियतबाट नर्सहरुको अभिभावकको भूमिका निभाउन सदा तयार छु ।

नत्र यो पनि खुलेर भन्ने गर्दछु पछाडि बसेर सकुनीको कुटिल चाल रच्ने नगर्नुहोस्, यो नर्सहरुको चौतर्फी पीडा सहने सक्ने सीमाको बाँधले पनि अति भै सक्यो भनेर बारम्बार भन्न थालिसक्यो । यो किन भनी रहनु परेको छ, नर्स शिक्षकहरुलाई हपारेर, सोझा नर्स शिक्षकहरुलाई जागिर खाइदिन्छु भनेर  तर्साएर, नर्सिङ स्टाफहरुलाई हप्काएर आफू ठूलो पुरुष, ठूलो हुने खाने पहुँचवाला नेता नबन्नुहोस् ।

अरु स्वास्थ्यकर्मी र प्रसासनबाट भएको कमी–कमजोरी, केही ठूला गल्तीहरू लुकाउँदै त्यो कुरो नर्सहरू माथि आक्षेप लगाउँदै ‘फोहर फाल्ने रद्दी टोकरी’झैं व्यवहार नदेखाउन कसैले पनि कार्य नगरुन् । यस कार्यमा नर्सिङका उपल्लो तहमा रहेका क्यम्पस प्रमुख, नर्सिङ शिक्षक, वरिष्ठ नर्सिङ प्रशासक, नर्सिङ प्रमुख मोहरा नबनुन्, फलामले फलाम काट्छ भनेझै नर्सहरुको बहुआयामिक शोषण गर्ने मतियारको रुपमा आफूलाई कुनै पनि समय कुनै पनि रुपमा प्रयोजन नहोउन्, पुरुष भनाउँदाहरुलाई यो कुरामा पनि ख्याल राख्न विशेष आग्रह गर्दछु ।

के छोरी मान्छेहरू सस्तोमा, दैनिक ज्यालादारीमा काम गर्ने (Unskilled Human Resources)  मजदुरभन्दा कम रकममा काम गरी दिनुपर्ने? के नर्सिङ शिक्षकहरुले आफूले पढाएका स्टाफ नर्स (सरकारी तलब)भन्दा कम तलबमा काम गरिदिनुपर्ने?

यो कहिलेसम्म ? के नेपालका विभिन्न पार्टीका नेताहरु अनपढ छन्, बहिरा छन्, अन्धो छन्?  किन नर्सिङ पेशा आजसम्मअति अपहेलित हाम्रो नेपालमा? किन २०७५ सालमा १५ प्रतिशत पुरुष नर्सहरुको लागि संरक्षित कोटा पूरा गर्न सकी रहेको छैन प्रत्येक शैक्षिक वर्षमा प्रत्येक नर्सिङ कलेजहरूमा?

किन नेपाल नर्सिङ सङ्घ, नेपाल नर्सिङ परिषद,  नेपाल स्वास्थ्य अनुसन्धान परिषद, नेपाल स्वास्थ्य मन्त्रालय आदिमा पुरुष नर्सहरुलाई उपल्लो दर्जा अध्यक्ष, सचिव जस्तो निर्णायक पदमा लैजाने निति निर्माण गरिएको पाइएको छैन?

के सत्य कुरो बोल्नु, लेख्नु पर्दा छोरी मान्छेहरु मात्र नर्सिङमा जोड दिनुको प्रमुख कारण यसरी नै सदा बहु-आयामिक तवरबाट शोषण र दमन गर्न निरन्तर पाई रहु भन्ने भित्रि मनशाय त होइन ?

यसमा उल्टै हाम्रा सिनियर नर्सिङ गुरु आमा, दिदीहरू पनि त्यही कुरोमा ध्यान नदिएर यो गलत प्रवृति प्रति समर्थन जनाइएको पाइएको छ।

कुनै कुरोमा जीवित, सम्मानजनक पहिचान यस अर्थमा पाइन्छ जसमा परिवर्तनको धार समाहित गर्ने, परिवर्तनलाई सम्मान गर्ने क्षमता विकास भएको आभास सबैले प्रत्यक्ष अनुभूति गरिएको हुनु पर्दछ। त्यसैले अति सीमा नाघी सक्यो, समय प्रतिवाद गर्ने पनि अति ढिलो भै सकियो ।

अब पनि यो नर्सिङ पेशालाई जीवित चलायमान, सम्मानित, मर्यादित र व्यावहारिक बनाउनु छ भने पुरानो सुगा रटाइ नर्सिङ महिलाहरूले मात्र नेतृत्व गर्ने पेशा हो भन्ने सोच त्याग्न सक्नु पर्दछ।

यस विषय अध्ययन गर्न कोटा तोकिने होइन कि अझ वैज्ञानिक समय सापेक्षित बनाउँदै उत्तिकै पुरुषहरुको सहभागिताको संख्या बढाउने योजना र रणनितीको साथ अगि बढाउनु पर्दछ।

कारण नर्सिङ पेशाको अस्मिता जोगाउनु छ, कारण नर्सिङ पढ्दा भोगेको अनेक पीडा र त्यसबाट लिएको प्रतिज्ञा पूरा गर्नु छ।

नर्सिङ अन्य कुनै पेशाको सहयोगी पेशा होइन र बनाउनु पनि हुँदैन, त्यसको लागि समाजमा भएका अभिभावक सबैलाई परिचालित गर्न सक्नु पर्दछ।

यो कार्य हामी सम्पूर्ण नर्सहरु मिलेर गरौँ, हामी सबैको शितल मनले खाएको साझा  चौतारी नर्सिङ सङ्घ प्रयोजन गरौँ। यसलाई आजको मितिसम्म अन्य पेशाकर्मीहरुले “ विभाजन गर र साशन गर“ भन्ने ब्रिटिश साम्राज्यको नीति नर्सिङ पेशाकर्मी माथि गर्दै आएका छन् यसलाई सदाको लागि अन्त्य गरौँ र, गराऔं।

नर्स भएर नर्सिङ पेशाको अस्मिता जोगाऔं, हामी सम्पूर्ण नर्सहरुले नर्सिङ सेवामार्फत आम मानिसहरूको स्वास्थ्यस्थिति मजबूत बनाउन खाएको प्रतिज्ञा पूरा गरौँ र गराऔं।

नर्सिङ पेशा यस्तो समाजको अत्याधुनिक वैज्ञानिक समय सापेक्षित मजबुत हतियार हो जसले मानवीय समवेदनाहरुको बहु-आयामिक क्षेत्रहरू(सामाजिक, आर्थिक, भौतिक, सांस्कृतिक, मानसिक, आध्यात्मिक, शैक्षिक, बौद्धिक आदी) बाट सम्बोधन गर्दै स्वास्थ्यको संरक्षण, प्रबर्धन गर्दै विभिन्न रोगको समयमा पहिचान गर्दै उपचार गर्ने र निको बनाउने गर्दछ। त्यस्तै, व्यक्ति, परिवार, समाज, राष्ट्रको स्वास्थ्य स्थिति मजबूत बनाउने गर्दछ। त्यसैले नर्सिङ पेशाको अस्मिता उच्च पार्न सक्नु नर्सिङ पेशा कर्मीहरुको प्रतिज्ञा पूरा गर्नु हो, यो प्रतिज्ञा पूरा गर्नु भनेको नर्सिङको सही अर्थ, सही स्वरूप पूरा गर्नु हो।

त्यसैले, समाजको एक असल नागरिक भएर आ-आफ्नो अस्मिता, प्रतिज्ञा उच्च पार्दै नर्स र नर्सिङ प्रति सकारात्मक सोचको विकास गरौँ।  नर्स पेशाकर्मीहरुले पनि आफ्नो आत्म उच्च सम्मान पार्दै आम नागरिक सरह आफ्नो मौलिक अधिकार नेपालको संविधान २०७२, श्रम ऐन २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ उपभोग गर्न पाउनु पर्दछ। साथै, वर्तमान समयमा प्रमुख समस्या बनेको यो विश्वव्यापी कोरोना महामारी सदाको लागि अन्त्य गर्न सबैजना लाग्नु पर्दछ।


क्याटेगोरी : अन्य, ब्लग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ