२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटस्वास्थ्य बिमामा बैंकहरुबीच प्रतिस्पर्धा, खातावाल बन्दा लाखौंका स्वास्थ्य बिमा

स्वास्थ्य बिमामा बैंकहरुबीच प्रतिस्पर्धा, खातावाल बन्दा लाखौंका स्वास्थ्य बिमा


अहिले बिमा मानिसको रोजाइमा पर्न थालेको थियो । बजारमा अनेकथरि बिमा स्कीमहरु उपलब्ध छन् । बिमा कम्पनीहरुले बिमाका अनेकन स्कीमहरु ग्राहकहरुलाई दिइरहेका छन् । आम मानिसहरुबीच स्वास्थ्य बिमाको विशेष आकर्षण छ ।

स्वास्थ्य बिमाका विभिन्न स्कीमहरु बिमा कम्पनीहरुसँगै नेपालका ठूला भनिएका बाणिज्य बैंकहरुले पनि उपलब्ध गराइरहेका छन् । हेल्थआवाजले बैंकहरुले उपलब्ध गराइरहेका केही स्वास्थ्य बिमाका स्कीमहरु केलाउने प्रयास गरेको छ ।

१. मेगा बैंक

मेगा बैंकमा तलबी खाता भएका खातावालाहरुले ७ लाखको दुर्घटना बीमा र १ लाखको स्वास्थ्य बीमा पाउँछन् । बैंकमा मेगा माया बचत खाता छ भने परिवारका ४ सदस्यले दुर्घटना तथा स्वास्थ्य उपचार बीमा दाबी गर्न पाउँछन् । यो खाता तीन किसिमको छ । १० हजारको जनरल खाता खोलेमा ३० लाख बराबरको दुर्घटना बीमा, १ लाख स्वास्थ्य उपचार तथा १८ घातक रोगको उपचारका लागि १० लाख रकम पाउँछन् ।
२० हजारको स्ट्याण्डर्ड खाता खोलेमा ४० लाख बराबरको दुर्घटना बीमा, ५ लाख स्वास्थ्य उपचार तथा १८ घातक रोगको उपचारका लागि २० लाख रकम पाउँछन् । ३० हजारको सुपर खाता खोलेमा १ करोड बराबरको दुर्घटना बीमा, १० लाख स्वास्थ्य उपचार तथा १८ घातक रोगको उपचारका लागि ४० लाख रकम पाउँछन् । यी तिनै किसिमका खातावालाले आफ्नो खातामा भएको रकमको १० गुणा सम्म रकम दाबी गर्न सक्छन् । यो बैंकमा मेगा जीवन साथी बचत खाता र मेगा सर्वप्रिय बचत खाता भएका ग्राहकहरुले भने स्वास्थ्य बीमा बापत क्रमशः ५० हजार र एक लाख रुपैयाँ पाउँछन् ।

२. नविल बैंक

प्रिमियम बचत खाता खालेका सेवाग्राहीका लागि नविल बैंकले अधिकतम ३ लाख स्वास्थ्य उपचार शुल्क उपलब्ध गराउँछ । १३ घातक रोगको उपचारका लागि यो रकम दाबी गर्न पाइन्छ । यसका लागि न्यूनतम २५ हजार रुपैयाँ अनिवार्य खातामा हुनैपर्छ । प्रिमियम खाता खोलेका सेवाग्राहीको मृत्यु भएमा (प्राकृतिक मृत्युसमेत) बैंकले ७५ हजार रकम दिन्छ । न्युनतम ५ हजार खातामा हुनैपर्ने गरी बचत खाता खोलेकाहरुको दुर्घटनाका कारण मृत्यु भएमा वा अंगभंग भएमा बैंकले अधिकतम १० लाख रुपैयाँ उपलब्ध गराउँछ ।

३. नेपाल बैंक

नेपाल बैैंकमा नागरिक बचत खाता खोलेका बचतकर्ताहरुले बैंकबाट बिमा रकम पाउँछन् । त्यसका लागि १० हजारको नागरिक बचत खाता खोलेको हुनुपर्छ । खाता खोलेपछि १० लाखसम्मको दुर्घटना बीमा तथा २५ हजारसम्मको औषधि उपचार बिमा पाइने बैंकका सहायक प्रबन्धक संगम न्यौपानेले जानकारी दिए ।

४. सानिमा बैंक

सानिमा बैंकमा बचत खाता हुने सबैले ६ घातक रोगको उपचारका लागि ३ लाख रुपैयाँ प्राप्त गर्न सक्छन् । यसका लागि खातावालाको खातामा १ लाख रुपैयाँ अनिवार्य भएको हनुपर्छ । यस्तै बैंकमा दीर्घायु बचत खाता भएकाले वार्षिक ५ हजार स्वास्थ्य परिक्षणका लागि तथा १ लाख स्वास्थ्य सेवा बिमा बापत प्राप्त गर्छन् । यो खाता हुनेले दुर्घटना बिमा बापत २० लाख तथा प्राकृतिक मृत्युमा २५ हजार पाउँछन् । यो खाता खोल्नका लागि न्युनतम मौज्दात १० हजार आवश्यक पर्छ ।

५. बैंक अफ काठमाडौं

यो बैंकले कार्यालय र कम्पनीलाई लक्षित गरी स्वास्थ्य उपचार योजना सञ्चालन गरेको छ । कुनै कार्यालय तथा कम्पनीले २५ वा सोभन्दा बढी कर्मचारीको तलब खाता खोलेमा प्रत्येक खातावालाले अधिकतम ७ लाख रुपैयाँ उपचारका लागि पाउँछन् । यसका लागि सुपर स्यालरी खाता वा प्रिमियम स्यालरी खाता खोलेको हुनुपर्छ । यो खाता १८ देखि ५८ वर्ष उमेरसम्मका मानिसले खोल्न पाउने छन् । यस्तै बैंकमा आत्मीय बचत खाता खोलेका अन्य खातावालाहरुले पनि विभिन्न १५ रोगको उपचारका लागि १ लाखसम्म उपचार शुल्क पाउँछन् । यी दुवै सेवा एक पटक मात्र लिन पाइन्छ । यो खाता अन्तर्गत कुनै पनि कारणले मृत्यु भएमा १ लाख बिमा र १० हजार किरिया खर्च पाइन्छ ।

६. प्रभु बैंक

प्रभु बैंकले वेलकम सेभिङ एकाउन्ट र स्यालरी एकाउन्ट खोलेका सेवाग्राहीहरुका लागि मेडिकल हेल्थ इन्स्योरेन्सको व्यवस्था गरेको छ । दुई पटक गरी अधिकतम १ लाखसम्मको स्वास्थ्य उपचार सेवा पाइन्छ । बिरामी भएर कम्तिमा २४ घण्टा अस्पताल भर्ना भएका खातावालाहरुले आफ्नो खातामा जम्मा भएको रकमको २५ प्रतिशत रकम उपचारका लागि बैंकको तर्फबाट पाउँछन् । सवारी दुर्घटना भएर खातावालाको मृत्यु भएमा बैंकले अधिकतम १० लाख दिन्छ । तर, हुलदंगा वा अन्य कारणले व्यक्तिको मृत्यु भएमा भने यो रकम दाबी गर्न पाइँदैन ।

७. एभरेस्ट बैंक

एभरेष्ट बैंकले २५ हजारको प्रिमियम खाता खोलेका सेवाग्राहीका लागि बैंकले औषधि उपचारका लागि १ लाख दिने व्यवस्था गरेको छ । यो वान टाइम सर्भिस हो । बैंकले सवारी दुर्घटनामा परी मृत्यु भएमा ५ लाखको बिमा सेवा पनि उपलब्ध गराउँछ । सबै खातावालाहरुको लागि स्वास्थ्य उपचार सेवाको व्यवस्था गरेको छैन ।

८. हिमालयन बैंक

हिमालयन बैंकले ‘जीवन सुरक्षा बचत खाता’ अन्तर्गत ७ जटिल रोगको उपचारमा अधिकतम १ लाख दिन्छ । एक पटक मात्र दाबी गर्न पाइने यो योजनामा सामेल हुनका लागि आफ्नो खातामा अनिवार्य ७ हजार भएको हुनुपर्छ । यहि खाता अन्तर्गत नै सवारी दुर्घटनाका कारण मृत्यु भएमा वा अंगभंग भएमा १ लाख पाइन्छ भने अन्य कारणले हुने मृत्युमा ५० हजार रकम पाइन्छ । साथै अन्य सबै खाले बचत खाता हुने सेवाग्राहीहरुले पनि दुर्घटनाका कारण मृत्यु भएमा ५ लाख पाउँछन् ।

९. सनराइज बैंक

सनराइज बैंकले बचत खाता खोलेका आफ्ना सबै सेवाग्राहीलाई स्वास्थ्य उपचार सेवा दिँदै आएको छ । यस बैंकमा बचत खाता खोलेकाहरुले ३ पटकमा अधिकतम १ लाख रकम उपचारका लागि पाउँछन् । बैंकले सेवाग्राहीलाई आफ्नो खातामा भएको रकमको २५ प्रतिशत रकम उपचारका लागि दिने व्यवस्था गरेको बैंकका ब्रान्ड म्यानेजमेन्ट डिभिजन म्यानेजर सुमन थापाले जानकारी दिए । उनका अनुसार सवारी दुर्घटनाका कारण मृत्यु भएमा वा अंगभंग भएमा पनि बैंकले आफ्ना बचतकर्तालाई अधिकतम ५ लाख रुपैयाँ प्रदान गर्ने गरेको छ ।

१०. कुमारी बैंक

कुमारी बैंकमा परिवार सुरक्षा बचत खाता खोलेमा १० रोगको उपचारमा अधिकतम १ लाख औषधि उपचार बिमा पाइन्छ । यो खातामा २ बच्चा तथा १८ देखि ६५ वर्षका दम्पत्ती सहभागी हुन पाउँछन् । उपचार बापतको रकम खातामा भएको रकमको ३ गुणा पाइन्छ । साथै घातक रोग लागेमा ५ लाखसम्म पाइन्छ । श्रीमान÷श्रीमतीमध्ये एकको वा दुवैको मृत्यु भएमा वा आजीवन अशक्त भएमा प्रतिव्यक्ति १०÷१० लाख दुर्घटना बिमा पाउने बैंकको डिपोजिट मार्केटिङ डिपार्टको रिलेसनसीप म्यानेजर सुजाता श्रेष्ठले जानकारी दिइन् । साथै २५ जनासम्मको खाता खोलेमा, ७ लाखको दुर्घटना बिमा, १ लाखको मेडिकल बिमा, २ लाखको घातक रोगको उपचार रकम पाइने पनि उनले बताइन् । यो रकमहरु वर्षमा एक पटक मात्र दाबी गर्न पाइन्छ ।

११. सिभिल बैंक

सिभिल बैंकको ‘सम्मान बचत खाता’मा भने अधिकतम ७ लाखको मृत्यु बिमा र १ लाखको उपचार बिमा पाइने बैंकले जनाएको छ । साधारण बचत खाताहरुमा अधिकतम ५ लाखको दुर्घटना बिमा पाइन्छ । बैंकले खातावालाको बैंक खातामा भएको रकमको ४ गुणा रकम प्रदान गर्छ ।

१२. नेपाल क्रेडिट एण्ड कमर्श बैंक

यो बैंकमा बचत खाता खोलेकाहरुले स्वास्थ्य उपचारका लागि अधिकतम १० हजार रुपैयाँ पाउँछन् । कुनै रोग लागेमा वा दुर्घटनामा परेर घाइते भएमा यो सेवा लिन सकिन्छ । बैंकको यो सेवा लिन अस्पतालबाट डिस्चार्ज भएको २५ दिनभित्र रकमका लागि दाबी गरिसक्नुपर्छ । खाता खोलेको १ वर्ष कटेको सेवाग्राहीले मात्र यो सेवा लिन पाउँछन् ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ