२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशबुर्तिवाङ र आँपपीपल अस्पताल प्रदेश मातहत ल्याउने तयारी, कुर्दै संघीय सरकारको सहमति

बुर्तिवाङ र आँपपीपल अस्पताल प्रदेश मातहत ल्याउने तयारी, कुर्दै संघीय सरकारको सहमति

प्रदेश अस्पताल भएमा ६ विशेषज्ञ चिकित्सक र १४९ स्वास्थ्यकर्मी तथा कर्मचारीको दरबन्दी थपिने


पोखरा—गण्डकी प्रदेशका २ स्वास्थ्य संस्थालाई प्रदेश मातहत ल्याएर सञ्चालन गर्ने तयारीका साथ गण्डकी प्रदेश सरकारले संघ सरकारको सहमति मागेको छ । गोरखाको आँपपीपल अस्पताल र बागलुङको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी प्रदेश मातहत ल्याउने निर्णय गण्डकी प्रदेश सरकारले पुस पहिलो साता नै गरेको थियो ।

लगतै, उसले त्यसका लागि संघीय सरकारसँग सहमति मागेको छ । दुवै अस्पताललाई ५० शैय्यामा स्तरोन्नतीका लागि संघीय सरकारसँग प्रस्ताव गरिएको गण्डकी स्वास्थ्य मन्त्रालयका प्रवक्ता सुरज गुरौले जानकारी दिए । उनका अनुसार १५, २५ वा ५० कति बेड स्वीकृत हुन्छ, त्यसैका आधारमा स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी थप हुनेछन् । अस्पताल प्रदेश मातहत आउँदा कार्यक्रम प्रदेशका कार्यान्वयन हुने तर तलब भत्ताको व्यवस्था भने संघीय सरकारले गर्नुपर्नेछ ।

नीति तथा कार्यक्रममा नै २ स्वास्थ्य संस्थालाई स्तरोन्नती गरी प्रदेश मातहत सञ्चालन गर्ने भनिएको थियो । प्रदेश मातहत ल्याउन गठित अध्ययन कार्यदलले गत साउन मसान्तमा प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको थियो । २ स्वास्थ्य संस्था स्तरोन्नती तथा प्रदेश मातहत ल्याउनेबारे सम्भाव्यता अध्ययनका लागि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक खिमबहादुर खड्काको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

गण्डकीका स्वास्थ्य सचिव डा. विनोदविन्दु शर्माका अनुसार प्रदेश सरकारको मागअनुसार स्वीकृत भए ६ जना विशेषज्ञ चिकित्सक र १ सय ४९ स्वास्थ्यकर्मी तथा कर्मचारीको दरबन्दी थपिनेछ ।

सन् १९५२ सालमा डिस्पेन्सरी सेवाबाट सुरु भएको आँपपीपल अस्पताल वि.सं. २०५७ बाट १५ शैय्यामा स्तरोन्नती भएको थियो । हाल आँपपीपल १५ शैय्याभन्दा बढीको सेवा दिइरहेको छ । कार्यदलले आँपपीपललाई जिल्ला अस्पताल जसरी चलाउने वा साझेदारी मोडलमा चलाउने वा भएको संरचनामा सञ्चालन गर्ने र प्रदेशले सहयोग गर्ने भन्ने विभिन्न मोडलबारे छलफल गरेको थियोे ।

बुर्तिवाङ प्राथमिक उपचार केन्द्र ५ शैय्याको अस्पताल हो तर सेवा भने २५ शैय्यासम्मको दिइरहेको छ । ४५ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमध्ये ११ जनाको तलब सुविधा संघीय सरकारले दिने गरेको छ ।

गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय मातहत संक्रामक तथा सरुवा रोग अस्पताल, मातृशिशु मितेरी अस्पताल, धौलागिरी अस्पताल, गोरखा अस्पताल, बेनी अस्पताल, दमौली अस्पताल, स्याङ्जा अस्पताल, पर्वत अस्पताल, मध्यविन्दु अस्पताल, मनाङ अस्पताल, लमजुङ अस्पताल र मुस्ताङ अस्पताल रहेका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ