२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकोभिड–१९ : स्वास्थ्यकर्मी परिवार र सरकारसँग अपेक्षा

कोभिड–१९ : स्वास्थ्यकर्मी परिवार र सरकारसँग अपेक्षा


अहिले विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ विरुद्धको जैविक लडाइको फ्रन्टलाइनका सिपाहीका रुपमा स्वास्थ्यकर्मी छन् । अहिलेसम्म यो जैविक युद्धमा बिरामीपछि संक्रमणको शिकार स्वास्थ्यकर्मी हुने सम्भावना उच्च देखिन्छ । कतिपय ठाउँमा भैरहेका पनि छन् । वैज्ञानिक आविष्कार र उन्नत प्रविधीले लैस अहिलेको विश्व व्यवस्थाका लागि जैविक युद्ध निर्मम बनिरहेको छ । संसारका शक्ति राष्ट्रहरु पनि कोभिड–१९ को कम्प सहन विवश छन् ।

नेपालका लागि अझ यो लडाइ झन कठिन र चुनौतीपूर्ण हुने देखिन्छ । किनभने, हाम्रोजस्तो तेस्रो विश्वका कम विकसित देशहरुका उन्नत स्वास्थ्य प्रणाली छैन । न्यून अस्पताल, स्वास्थ्यकर्मी कम उपलब्धता छ । अस्पतालहरु सबै ठाउँ र जनताको पहुँचमा छैनन् । यो बेला जैविक युद्धका लागि सरकार त्यही न्यून स्रोत साधनलाई बचाउँदैं अगाडि बढ्नुपर्ने अवस्था छ । यसका लागि सरकारले आफ्ना उपलब्ध स्वास्थ्यकर्मीलाई सबैभन्दा पहिलो सुरक्षित बनाउनुपर्छ । कोभिड–१९ विरुद्धको अर्को कदम यसको प्रसार रोक्नु हो । त्यसका लागि लकडाउनलगायतका सरकारका केही कदमहरु प्रशंसनीय छन् ।

तर, नेपालमा अहिले सबैभन्दा बढी सरकारप्रति गुनासो गर्ने विषयका रुपमा बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीको देखिन्छ । यो संक्रामक रोगबाट बच्न उनीलाई अत्यावश्यक पर्ने पर्सनल प्रोटेक्टीभ इक्वीपमेन्ट (पीपीई)को अभाव अहिले देखिन्छ । सरकारले यो जैविक युद्धमा फ्रन्टलाइनमा रहने सबै स्वास्थ्यकर्मीलाई यो व्यक्तिगत सुरक्षा कवच उपलब्ध गराउने अग्रसरता तत्काल लिनुपर्छ । अहिले नेपालमा कोभिड–१९ जस्तो संक्रामक रोगका ५ वटा केसमात्रै देखिएका छन् । भावि दिनहरुमा यी केस बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले सबै तयारीहरु पूरा गर्नुपर्ने टड्कारो आवश्यकता भैसकेको छ ।

त्यसका लागि अब सर्वप्रथम बिरामीको सेवामा खटिने सबै स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराउनु पर्दछ । ताकि स्वास्थ्यकर्मीहरु आफ्नो स्वास्थ्यको प्रवाह नगरी दिनहुँ आउने बिरामीलाई बिना चिन्ता आफ्नो पूर्ण संकल्पका साथ सेवा गर्न सकून्, उपचारमा खटिन सकून । त्यसका लागि बिरामीको सेवामा दत्तचित्त रहेर समर्पित स्वास्थ्यकर्मीलाई सुरक्षा सामाग्री पीपीई (मास्क, चश्मा, ग्लब्स, क्याप, बुट) व्यवस्था तत्कालै गरिहाल्नुपर्छ । कोभिड–१९ को सन्त्रासका कारण कुनै समय खचाखच भरिएका काठमाडौंका हस्पिटल अहिले सुनसान छन् । अक्सिजन लगाएर स्वाँ स्वाँ गर्दै दम, डाइलाइसिस र आईसीयुमा उपचारार्थ बिरामीहरुको सेवामा न भोक प्यास भनी अहोरात्र खटिएका स्वास्थ्यकर्मीहरु कोभिड–१९ का बिरामीको उपचारमा हच्किनुपर्ने अवस्था छ । त्यसको कारण यो संक्रामक रोगका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामाग्री अभाव हो । सरकारले हस्पिटलमा नियमित आउने बिरामीको सेवामा खटिएका डाक्टर, नर्स, ल्याबका साथै सहयोगी र गेटमै सूचना दिने गार्डलाई पनि सुरक्षा सामागी पीपीई बन्दोवस्त गर्न आवश्यक देखिन्छ ।

नेपालमा चीनको वुहान र इटालीको रोमको अवस्था आउन नदिनका लागि पनि सरकारी तयारी समग्रतामा र स्वास्थ्यकर्मीका लागि दुई फरक तरिकाले गर्नुपर्छ । स्वास्थ्य सेवा सुचारु गर्न नियमित डटिरहेका स्वास्थ्यकर्मीको लागि आवश्यक सुरक्षा सामाग्रीलाई सरकारले तत्कालै पूर्ति गर्नुपर्दछ । यसले आफ्नो स्वास्थ्य प्रणालीलाई बलियो बनाउन सहयोग गर्नेछ । कोभिड–१९ भाइरस विदेशतिर दिन दुई गुणा, रात चौगुणाका हिसाबले फैलिरहेको अपडेट सुन्दा मुटु हल्लिन थालिक्सयो । कुनै पनि हस्पिटलले सामान्य रोगका बिरामी भर्ना नलिएर यताउति भौतारिरहेको सुन्दा ती बिरामीहरुको सेवाका लागि पनि सुरक्षा कवच जरुरी भैसकेको छ ।

एकातिर बिरामीले उचित उपचार पाउनका लागि स्वास्थ्यकर्मीका मनोबल बढाउन सुरक्षा उपकरणको जरुरी भैसकेका छ भने अर्कोतर्फ स्वास्थ्यकर्मीको स्वयंमको जीवन रक्षाका लागि पनि यो अत्यावश्यक देखिन्छ । स्वास्थ्यकर्मी, चिकित्सक, नर्स पनि कसैका छोरा, कसैका छोरी, कसैका आमा र कसैको बुवा हुन् । मेरा छोराछोरी पनि स्वास्थ्यकर्मी हन्, म स्वयंम स्वास्थ्यकर्मी हुँ । डियुटीबाट घर आउँदा न अंगालो हाल्न मिल्ने, न छुन नै मिल्ने । स्यानिटाइजरले चोख्याउनुपर्ने, छुनलाई पनि संकोच मान्नुपर्ने कस्तो अवस्था आइलागेको होला ? तर, बिरामीको हेरचाह र उपचारलाई आफ्नो पहिलो कर्तव्य ठानेकी न म रोकिनु सक्छु, न बिरामीको सेवालाई मूलमन्त्र बनाएर हिडेका छोराछोरीलाई रोक्न सक्छु । बिरामीको सेवामा समर्पित रहने उनीहरुको कर्तव्य हो । म आफ्ना सन्ततीहरुलाई कर्तव्यबाट च्यूत गर्न सक्दिन्, न त आफू नै हुन सक्छु । त्यसैले, हामी स्वास्थ्यकर्मीका लागि पीपीईको व्यवस्था गरियोस भन्ने हाम्रो अपेक्षा सरकारसँग हो ।

घरमा बिरामी बावुले छोराछोरी डयुटीमा जाँदा ‘स्टे सेफ’भन्दा यो कोभिड–१९ को महामारीमा कुन चाहिँ आमाको मनमा चिसो नपस्दो हो । तर, पनि बिरामीको सेवामा समर्पित हुन्छु भनेर कसम खाएकाले होला, बिरामीसँग अलग्गै नाता गाँसिएकाले गर्दा न भोक न प्यास न कोभिड–१९ भाइरस त्रासले नै हामीलाई रोक्न सकेको छ । सायद कसैले पनि सोचेको थिएन होला, कोभिड–१९ को लडाइमा डाक्टर, नर्स र स्वास्थ्यकर्मीले मात्रै मात्र लड्नुपर्छ भनेर । तर, अहिले परिस्थिती त्यस्तै आइपरेको छ । यतिबेला सरकार हामीलाई आवश्यक सुरक्षा उपकरण (पीपीई) खाँचो छ । यति गरिदिएमा हामी सहजताका साथ बिरामी सेवा र उपचारमा खटिन सक्छौं ।

-ललितपुर, कुसुन्ती


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ