२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारलकडाउनमा मृत्यु कम : के अस्पताल नै दोषी हुन् ?

लकडाउनमा मृत्यु कम : के अस्पताल नै दोषी हुन् ?


अहिले केही अनलाइन समाचारहरुमा आर्यघाटमा लाशको संख्यामा आएको कमीको तथ्यांक देखाउँदैं त्यसलाई अस्पताल बन्द हुनुसँग जोडिएको छ । त्यसमा पनि अझ निजी अस्पताल बन्द भएर मृतकको संख्यामा कमी आएको भन्दैं कोभिड—१९ को विश्व स्वास्थ्य संकटका बेला अस्पताल र स्वास्थ्यकर्मीलाई बिना आधार यमराजको संज्ञा दिदैं धेरै ब्रुजुकहरुले सामाजिक सन्जालमा पोष्ट गरेको पाइएको छ ।

नेपालमा मृत्युका कारणहरु हेर्ने हो भने सन् २०१७ को तथ्यांकअनुसार दीर्घरोगहरु (मधुमेह, उच्च रक्तचाप, बाथ आदि) पछि दोस्रो नम्बरमा सडक दुर्घटना/चोटपटक तथा तेस्रो नम्बरमा सरुवा रोगहरु (भाइरल ज्वरो, निमोनिया, फ्लू, टाइफाइड) आदि हुन् ।

अहिले दीर्घरोगीहरुलाई सरकारले नै घरमै बसेर औषधी सेवन गर्नु र अप्ठ्यारो परेमा मात्र अस्पतालको आकस्मिक विभागमा आउन भनेको छ । लकडाउनको कारणले चोटपटक र सडक दुर्घटना करिब सतप्रतिशतले कमी भयो । जुन अकाल मृत्युको पनि प्रमुख कारण हो । त्यसैगरी, लकडाउनकै कारणले तमाम सरुवा रोगहरु (कोरोना मात्र होइन) मौसमी रुघाखोकी, निमोनिया, झाडा पखाला, म्यादे ज्वरो (टाइफाइड)लगायतका धेरै किसिमका भाइरल ज्वरोहरुको संक्रमण पनि नियन्त्रण भएको छ । यो हाम्रो देशमा मृत्युको तेस्रो कारण हो । भोजभत्तेर, सामाजिक जमघट, भेलाहरुले यो रोगहरुको संक्रमण बढाउँछ । जुन लकडाउनले प्रायः शुन्य बनाएको छ । अनि मृत्युदर कम हुँदैन त ?

मेडिकल क्षेत्रमा भएको सुधारले गर्दा नै नेपालीले औसत आयु पहिलेको भन्दा वृद्धि भएको तथ्यलाई पनि हामीले भुल्न मिल्दैन् । नेपालीको औसत आयु बढेर अहिले ७०.६ वर्ष पुगेको छ । त्यतिमात्रै होइन नेपालमा बालमृत्युदर, मातृमृत्युदर कमी आउनुका साथै सरुवा रोगबाट हुने मृत्युमा कमी आएको छ । के यसलाई हामीले स्वास्थ्यका सकारात्मक सुचांक नमान्ने ? त्यसमा मेडिकल क्षेत्रको भूमिकालाई कसरी नजरअन्दाज गर्न सकिन्छ ?

अस्पताल बन्द हुँदा कस्तो असर पर्ने रहेछ भनेर अध्ययन गर्ने नै हो भने अन्य सबै कुरा चलेको बेलामा अस्पताललाई मात्र बन्द गराएर हेर्नुहोस् । मृत्युको भयावहस्थित त्यसपछि बल्ल थाहा लाग्छ । जहाँसम्म निजी अस्पताल बन्द भएर भन्ने भ्रम फैलाइदैंछ । यो अझ नितान्त गलत हो । जनरल ओपीडी बन्द गर्ने पहिलो अस्पताल त्रिवि शिक्षण अस्पताल महाराजगन्ज हो । सरकारीमा पनि अरु बिरामी नआउनु, इमर्जेन्सी मात्रै आकस्मिक विभागमा र ज्वरो आएका ज्वरो क्लिनिकमा मात्र चेकजाँच गर्नु भन्ने निर्देशन छ । बिरामीको चाप यसै पनि अहिले कम छ र खुलेका ज्वरो क्लिनिकमा पनि धेरै बिरामी छैनन ।

सरकारी, निजी जे—जे भनेपनि काम गर्ने प्रायः धेरैजसो डाक्टर उही नै हुन्छन् । लगभग सतप्रतिशत सरकारी डाक्टर नै निजीमा काम गर्छन् (विहान/बेलुका) निजी क्लिनिक होस् वा निजी अस्पतालमा । तिनै डाक्टर सरकारीमा सही र निजीमा गलत कसरी भए ? अझ निजीमा एक जना मात्रै बिरामीको मृत्यु भयो भने त्यो अस्पतालको छवि बिग्रिने उत्तिकै डर हुन्छ र त्यसपछिको गाली गलौज अस्पताल तोडफोडजस्तो झन्झटमा फस्न कसलाई रहर लाग्छ र ? कुनै पनि अस्पताललाई बिरामी मारेर केही पनि फाइदा हुँदैन । बरु, सामाजिक छवि बिग्रिएर घाटामात्रै होला ।

अतः यस्तो विषम परिस्थितीको बेला कुनै पनि स्वास्थ्यकर्मी र अस्पतालको मनोबल उच्च राख्न आम वुद्धिजीवि नेपाली, आमसञ्चार जगतको महत्वपूर्ण भूमिका रहन्छ । कपोकल्पित र मन गढन्ते कुरा गरेर आम मानसिकतामा नकारात्मक कुरा भरिदिने भन्दा पनि तथ्यमा आधारित कुरा गरेर सकारात्मक सोचका साथ स्वास्थ्यकर्मीहरुसँग होस्टेमा हैसे मिलाउनु अहिलेको आवश्यकता हो ।

(डा. पोख्रेल आम्दा हस्पिटल बुटवलका बालरोग विशेषज्ञ तथा नेपाल चिकित्सक संघ लुम्बिनी शाखाका महासचिव हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ