२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारमहामारी, मिडिया र स्वास्थ्यकर्मी

महामारी, मिडिया र स्वास्थ्यकर्मी


सम्पूर्ण विश्व अहिले कोरोमा संक्रमणको महामारीबाट आक्रान्त भइरहँदा हाम्रो नेपाली समाज अर्को संक्रमणको सिकार हुँदै गइरहेको छ, नकारात्मक समाचार र अविश्वासको संक्रमण । अहिले केही मिडियाहरु, विशेषगरी केही युट्युव र अनलाइन संस्करणमा आधारित मिडिया, सामाजिक संजाल आदि मार्फत एक प्रकारको खतरानाक संक्रमण र अविश्वासको वातावरण फैलिदै र फैलाइदैछ, चिकित्सक एवं स्वास्थ्यकर्मी र सार्वजनिक स्वास्थ्य संस्थाहरु विरुद्ध ।

चिकित्सक एवं स्वास्थ्यकर्मीले बिरामी हेर्न मानेनन्, स्वास्थ्य संस्था एवं अस्पतालहरुले बिरामी लिन मानेनन आदि इत्यादि कुरा र समाचारहरु अहिले नियमित जस्तो सुनिने र पढिने प्रसंगहरु बनेका छन् ।  अस्पताल आइपुगेका बिरामीहरुको उचित परिक्षण, निदान एवं उपचार हुनुपर्छ । यो जन अपेक्षा हो, जुन संविधान प्रदत्त आधारभूत अधिकार पनि हो । यो अधिकारलाई कुण्ठित गरिनु हुन्न भन्ने कुरामा दुई मत हुनु हुँदैन ।

कोभिड–१९ को महामारीको वर्तमान अवस्थामा बिरामीको परिक्षण र उपचारमा खटिने, विशेष गरी कोरोना संक्रमणका शंकास्पद बिरामीको जाँच र उपचारमा अग्रपंक्तिमा खटिने चिकित्सक एवं स्वास्थ्यकर्मीका लागि उचित व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र पर्याप्त सुरक्षा प्रवन्ध हुनु पर्छ, अनि मात्र बिरामीको परिक्षण र उपचार एवं महामारी नियन्त्रण गर्न सम्भव छ । यो सम्पूर्ण चिकित्सक एवं स्वास्थ्यकर्मीको माग र धारणा हो, जुन कतै नाजायज छैन । यो विषयलाई विश्व स्वास्थ्य संगठनले समेत विशेष महत्व दिएर चिकित्सक एवं स्वास्थ्यकर्मीको सुरक्षालाई (संक्रमणविरुद्ध) उच्च प्राथमिकतामा राख्न लगातार सुझाव दिइरहेको छ ।

अब आउँछ मिडियाकर्मीहरुको महत्वपूर्ण र गेम डिसाइडिङ भूमिका । चिकित्सक एवं स्वास्थ्यकर्मीले बिरामी हेर्न मानेनन, आफ्नो पेशागत, व्यवसायिक र पदीय जिम्मेवारीबाट पन्छिए, फलानो सरकारी अस्पतालले लापरबाही गर्यो भन्ने आशय सञ्चार गर्ने । वा उचित व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र पर्याप्त सुरक्षा प्रवन्धको अभावमा बिरामीहरुको परिक्षण एवं उपचार प्रभावित, चिकित्सक एवं स्वास्थ्यकर्मीका साथसाथै बिरामीहरु पनि संक्रमणको उच्च जोखिममा भन्ने यथार्थपरक र दबाबमुलक सूचना प्रवाह गर्ने सिर्जनात्मक भूमिका खेल्ने ।

युट्युवमा भ्यु, अनलाइन न्युज साइटको भिजिट, कमेन्ट र कमेन्टमा वाहवाहीका शव्दहरुको वर्षा, पपुलिज्म र व्यक्तिगत हिरोइज्म त अवश्य पनि पहिलो नकारात्मक भूमिकाले नै बढाउँछ होला । तर त्यसको तत्कालीन र दूरगामी असर बारेमा चाहिँ हाम्रो समाजका यस प्रकारका कथित ‘नायक’हरु सचेत हुनु्हुन्छ कि हुनुहुन्न ? वा सचेत हुँदाहुँदै नाटक मञ्चन गर्दै हुनुहुन्छ अथवा हिरोइज्मको आशक्तिले त्यो सोच्ने क्षमतालाई लुप्त गराइदिएको छ? यसो भनिरहँदा यस विषम परिस्थितिलाई सही मनन गरि सकारात्मक र सिर्जनात्मक भूमिका खेल्ने मिडिया र मिडियाकर्मीप्रति सम्पूर्ण स्वास्थ्यकर्मीको तर्फबाट हार्दिक नमन पनि व्यक्त गर्दछौं ।

अब समस्याको वास्तविकता के हो? सञ्चार र विश्वासमा खाडल कसरी बन्यो र कसरी त्यसलाई पुर्ने भन्ने कुरा महत्वपूर्ण हुन आउँछ । यसको एकमात्र समाधान भनेको सम्बन्ध, समभाव र सञ्चारको उचित र सचेत प्रयोग नै हो ।

जबसम्म चिकित्सकलगायतका हामी स्वास्थ्यकर्मीहरुले व्यक्तिगत सुरक्षा उपकरणलाई केवल हाम्रो आफ्नो व्यक्तिगत वा पेशागत सुरक्षाको मात्र विषय बनाएर हामीलाई संक्रमणविरुद्ध उचित सुरक्षा प्रवन्ध नभएसम्म बिरामी हेर्दैनौ भन्ने आशयको भाषा बोली राख्छौ, तबसम्म यो विषय हामीविरुद्ध नकारात्मक समाचारको रुपमा प्रवाहित भै नै रहन्छ ।

मुख्य सवाल त के हो भने के चिकित्सक एवं स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई)लगायतका व्यवस्था केवल हामी स्वास्थ्यकर्मी मात्रको सुरक्षाको प्रवन्ध हो त? यो बिरामी र समग्र समुदाय एवं देशको सुरक्षासँग जोडिएको छैन र? हामीहरुले हाम्रो सुरक्षा प्रवन्ध नभएसम्म बिरामी हेर्दैनौ भनेर सधैं छुच्चो र स्वार्थीपन (केही मिडिया र सर्वसाधारणको बुझाइमा) मात्र देखाउने कि यो सँग जोडिएर आउने बिरामी र समुदायसँग को सम्बन्ध र सुरक्षाको पाटोलाई पनि उजागर एवं वकालत गर्ने?

वास्तविकतामा, स्वास्थ्यकर्मीहरुको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र पर्याप्त सुरक्षा प्रवन्ध (महामारीबाट संक्रमीत भएका, शंकास्पद र अन्य बिरामीलाई छुटाउने र सुरक्षित परिक्षण, पहिचान र उपचार गर्ने प्रवन्ध) कहिल्यै पनि स्वास्थ्यकर्मीहरु मात्रको व्यक्तिगत सुरक्षाको विषय होइन । यो त समग्र स्वास्थ्य संस्था, त्यहाँ आउने बिरामीहरु र ती बिरामी पुग्ने परिवार र समुदायको स्वास्थ्य र सुरक्षाको विषय हो ।

स्वास्थ्यकर्मीहरुको सुरक्षाको विषय यस अर्थमा मात्र महत्त्वपूर्ण छैन कि स्वास्थ्यकर्मीहरु संक्रमित वा बिरामी भए भने बिरामीको परिक्षण र उपचार गर्ने जनशक्तिमा कमी आइ स्वास्थ्य सेवा प्रभावित हुनेछ, बरु यस कारण बढी महत्वपूर्ण छ कि एउटा संक्रमित स्वास्थ्यकर्मी सो संक्रमण फैलाउने सबैभन्दा खतरानाक, छिटो र सजिलो माध्यम बन्न पुग्ने छ । उचित सुरक्षा प्रवन्धको अभावमा संक्रमित एउटा स्वास्थ्यकर्मीले उसको सम्पर्कमा आउने सबै बिरामी र उनीहरुमार्फत सम्पूर्ण समुदाय र देशभरी संक्रमण फैलाउने सम्भावना रहन्छ । स्वास्थ्यकर्मीमार्फत फैलने संक्रमण सामान्य संक्रमितमार्फत फैलने संक्रमणभन्दा कैयौं गुणा द्रुत र खतरापूर्ण हुन्छ ।

त्यसैले हामी स्वास्थ्यकर्मीहरुले पनि पीपीईलगायतका सुरक्षा प्रबन्धलाई अहिले जस्तो हामी स्वास्थ्यकर्मी मात्रको लागि भनेर वकालत गर्नुको सट्टा यो महत्वपूर्ण पक्ष उजागर गर्नुपर्ने र सोही अनुसार सञ्चार गर्नुपर्ने होइन र? जबसम्म हामी स्वास्थ्यकर्मी हाम्रो हाम्रो भन्छौ तबसम्म अरु पक्षले तिम्रो मात्र भनेर बुझ्नेछन् । किनकि मानव स्वभावैले तबसम्म गम्भीर बन्दैन, जबसम्म उ आफूलाई जोखिममा रहेको महसुस गर्दैन ।

स्वास्थोपचार र संक्रमण नियन्त्रणमा विश्वास र मनोबल सबैभन्दा महत्वपूर्ण हतियार हो । केही मिडियाहरुले स्वास्थ्यकर्मी र सरकारी संस्थाविरुद्धका नकारात्मक समाचारमार्फत खनेको अविश्वास र घृणाको खाडलको मूल्य समग्र समुदाय र देशले चुकाउनु पर्नेछ । यो अवस्थाले समग्र समुदाय र देशको रोग प्रतिरोधी र संक्रमणविरुद्धको क्षमतामा ह्रास ल्याउने छ । यस महामारीको अवस्थामा अधिकांश निजी स्वास्थ्य संस्थाहरु विभिन्न कारण देखाउँदै बन्द रहँदा निरन्तर सेवामा रहेका सरकारी तथा सार्वजनिक स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुको केही मिडियाकर्मीहरुले गरेको खेदाइले उनीहरु प्रतिको जनविश्वासमा थप क्षय ल्याउने छ । फलस्वरूपः भोलिका सामान्य दिनहरूमा सरकारी स्वास्थ्य संस्थाहरु थप कमजोर र असन्तुलित बन्नेछन् । जसका कारण सर्वसाधारणहरुले स्वास्थोपचारका लागि महंगो मूल्य तिर्नुपर्नेछ ।

सम्बन्धित मिडियाका साथीहरुलाई प्रश्न छ, के तपाईहरुलाई यो अवस्था मन्जुर छ ? के तपाईहरुले चाहेको यहि नै हो त? हो भने त भन्नू पर्ने केही रहेन । यदि त्यो सम्भावित अवस्था मन्जुर छैन वा उद्देश्य त्यो होइन भने तपाईहरुले आफ्नो तरिका र भूमिका बदल्नुपर्ने अवस्था होइन र यो ?

त्यसैले यो विषम परिस्थितिमा हामी स्वास्थ्यकर्मीहरुले उचित सञ्चार शैली र प्रस्तुति दिनु जरुरी छ, सबैले बुझ्ने र स्वामित्व एवं सम्बन्ध महसुस गर्ने गरी । अनि मिडियाकर्मीज्यूहरु आफ्ना प्रस्तुतीहरुमा थप चनाखो हुनु जरुरी छ, स्वास्थ्यकर्मीप्रति समभाव राख्नु जरुरी छ, समुदाय र स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन र सकारात्मकता फैलाउनका लागि । कोरोना संक्रमण विरुद्धको यो महायुद्धमा चिकित्सक एवं स्वास्थ्यकर्मीहरु अवश्य पनि अग्रमोर्चाका सिपाही हुन तर यो महायुद्ध एक बहुआयामिक लडाइ हो । जसका लागि चिकित्सक, स्वास्थ्यकर्मीका अलवा मिडियाकर्मी र आम नागरिकले आफ्नो सकारात्मक र सिर्जनात्मक भूमिका खेल्नु जरुरी छ, सिपाही रुपी स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन जरुरी छ । अनि मात्र जित्ने छौं, हामीले कोरोना महामारीविरुद्धको यो महायुद्ध ।

(लेखक मेडिकल रेडियो–इमेजिङ्ग टेक्नोलोजिष्ट हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ