२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकोभिड–१९ : स्वास्थ्यकर्मीलाई संक्रमणको जोखिम र पीपीईको महत्व

कोभिड–१९ : स्वास्थ्यकर्मीलाई संक्रमणको जोखिम र पीपीईको महत्व


नेपाल कोभिड–१९ विश्व महामारीको दोस्रो चरणमा पुगेको छ । विश्व स्वास्थ्य संगठनकाअनुसार महामारीका चार चरण छन् । पहिलो चरणमा रोग फैलिएको देशबाट आएका व्यक्तिमा मात्र रोगको संक्रमण देखिएको हुन्छ । यो बेला देश भित्र्ने व्यक्तिमा विशेष ख्याल गर्नुपर्ने हुन्छ । दोस्रो चराण हाल नेपालको अवस्था हो, यतिबेला विदेशबाट आउने व्यक्तिमा मात्र नभई त्यो व्यक्तिसँग सम्पर्कमा आएका मानिसहरू (जस्तै, परिवारका सदस्य, साथीभाई)मा पनि संक्रमण देखिन्छ । तेस्रो चरण समुदायमै फैलिएको अवस्था हो भने चौथो चरणको अवस्थामा देशभरी नै संक्रमण फैलिएको हुन्छ । यो बेलामा महामारी रोकथामको जिम्मेवारी थपिएको छ भने देश अझ बढी सचेत भएर योजनाबद्ध तरिकाले सबैको साथ लिएर अघि बढ्नु पर्ने हुन्छ।

कोभिड–१९ को महामारीमा स्वास्थ्यका कर्मचारीलाई लडाइमा जाने सिपाहीसँग तुलना गरिएको पाइन्छ । सिपाहीलाई लडाइको मैदानमा पठाइनु पूर्व गर्नुपर्ने तयारीजस्तै स्वास्थ्यकर्मीलाई कोभिड–१९ को चेकजाँच तथा उपचारमा चाहिने सामाग्री र योजनाबद्ध कार्यको निर्देशिकामा कमी हुनुहुँदैन । यदि १ जना स्वास्थ्यकर्मीलाई यो रोग लाग्यो भने उसँग सम्पर्कमा आएका सयौं सर्वसाधारण जोखिममा पर्नेछन् । कोभिड–१९ बाट ग्रस्त देशमा स्वास्थ्यकर्मी संक्रमित र मृत्यु हुँदा देशलाई कति गाह्रो हुँदो रहेछ भन्ने हामीले बुझिसकेका छौं ।

लनसेट म्यागेजिनको मार्च २१ को एक लेखमा भनिएको छ, ‘विश्वभरका लाखौं मानिसहरू कोरोना भाइरसको संक्रमण कम गर्न घरमै बसेका छन् । तर, स्वास्थ्य सेवाका कर्मचारीहरूले ठीक विपरित गरेका छन् । तिनीहरू अस्पतालहरूमा गई आफूलाई कोभिड–१९ को उच्च जोखिममा राख्छन् । (लनसेट, भोल्यूम ३९५, इस्सुः १०२२८, पृ.९२२)

कोभिड–१९ को संक्रमणको जोखिममा चेकजाँच र उपचारमा संलग्न स्वास्थ्यकर्मी साथै ल्याब सेवाका कर्मचारी पर्दछन् । यसका साथसाथै अस्पतालजन्य फोहोर व्यवस्थापनमा खटाइएका व्यक्ति र एम्बुलेन्स चालक पनि जोखिममा पर्न सक्ने कर्मचारी हुन् ।

रोग मुख्यतः तीन तरिकाबाट सर्ने गर्दछ (१) सम्पर्क (प्रत्यक्ष र अप्रत्यक्ष), (२) श्वास प्रश्वास तथा थुकका छिटाहरु र (३) वायुजन्य संक्रमित कणहरु । उचित सुरक्षात्मक कपडाको चयन र प्रयोगले धेरै हदसम्म यी रोग सर्ने तरिकाबाट जोगिन सकिन्छ ।

के हो पीपीई?

संक्रमणको जोखिम हुने अवस्थामा व्यक्तिले प्रयोग गर्ने ‘सुरक्षा कवच’ लाई पीपीई भनिन्छ । यसले संक्रमण र चोटपटक लाग्नबाट जोगिन मद्धत गर्दछ । लगाउने व्यक्तिलाई मात्र नभई उक्त व्यक्तिबाट अरु स्वस्थ व्यक्तिलाई समेत सर्नबाट रोकी सर्ने चेनलाई ब्रेक गर्दछ ।

यसमा टाउकोदेखि खुट्टासम्म लगाउने कपडा, आँखा छोप्ने चस्मा, पूरा अनुहार छोप्ने अनुहार–ढाल, खुट्टामा ठूलो जुत्ता, आदि पर्दछन् । सबै काममा एउटै खाले पीपीई प्रयोग हुँदैन, कामको प्रकृती हेरेर कस्तो खालको पीपीई प्रयोग गर्दा आफू सुरक्षित भइन्छ भन्ने कुरा सबै स्वास्थ्यकर्मीले बुझ्नु पर्दछ ।

पीपीईमा निम्न सामग्रीहरु प्रयोगमा आउँदछन्

गाउन र कभरअल्स 

यो तरल पदार्थ प्रतिरोधी शरीर ढाक्ने कपडा हो । समग्रमा ढाक्ने कपडालाई कभरअल्स भनिन्छ । आंशिक रुपमा शरीर ढाक्ने गाउन स्वास्थ्यकर्मीहरुले अस्पतालमा धेरै ठाउँमा प्रयोग गर्ने हुनाले यो लगाउन सजिलो लाग्छ । खोल्नलाई नि सजिलो साथै कभरअल्सको तुलनामा कम गर्मी हुने गर्छ । तर, यी दुईको प्रभावकारिता तुलना गरिएको अध्ययन अहिलेसम्म भएको भेटिएन ।

गाउन र कभरअल्स जीव प्रतिरोधको लागि परीक्षण गरिएको फेब्रिक कपडाबाट बनाउनुपर्छ, जसले रगत वा शरीरको तरल पदार्थ वा रक्तजन्य रोग सर्नबाट रोक्दछ । एक पटक मात्र प्रयोग गर्न मिल्ने डिस्पोजेबल, पानी नछिर्ने कपडालाई प्राथमिकता दिइन्छ तर, यदि उपलब्ध छैन भने तिनीहरूलाई उचित रूपमा सफागरी कीटाणुरहित बनाइ पुनः प्रयोग गर्न सकिन्छ । पीपीई बनाउँदा र प्रयोग गर्दा शरीरलाई मिल्ने उचित आकार, सम्भव भएसम्म मौसम अनुकूल, सजिलै लगाउन र खोल्न सकिनेजस्ता कुरामा ध्यान दिनुपर्दछ ।

जुत्ता

पानी नछिर्ने खालको लगाउनुपर्छ (जस्तैः रबर वा गमबुट)

टाउको छोप्ने कपडा
घाटी र टाउको दुवैलाई एउटै कपडाले छोप्ने खालको बनाउन नि सकिन्छ या छुट्टै टाउको मात्र छोप्ने नि प्रयोग गर्दा हुन्छ । तर, यो गाउन र कभरअल्ससँग भने नजोड्दा राम्रो हुन्छ ।

मास्क
मास्क लगाउनु संक्रमण रोक्ने एक राम्रो उपाय हो । यसले श्वास प्रश्वास तथा थुकका छिटाहरुको माध्यमबाट सर्ने रोगलाई सर्नबाट रोक्दछ, तर यसको प्रभावकारिता बढाउनका लागि हात साबुनपानीले बारम्बार धुनु पर्दछ । मास्क लगाएपछि बारम्बार हातले छुने, नाक या मुख मात्र छोप्ने गरी लगाउने, अनुहारमा पूर्ण रुपमा नटसाइकन लगाउने, एक पटक मात्र प्रयोग गर्न मिल्ने डिस्पोजेबल मास्क या उचित सफा नगरी बारम्बार त्यही मास्क लगाउनेजस्ता नबुझेर गरिने कार्यले मास्कको प्रभावकारितालाई असर पु¥याउँदछ ।

ग्लोभ (पन्जा)
ग्लोभ लगाउँदा, त्यो लगाएको हातले अरु ठाउँलाई दुषित गराउन हुँदैन । त्यही हातले मोबाइल उठाउने गर्नु पनि हुँदैन । ग्लोभ लगाउनुअघि र फुकालेपछि हात साबुनपानीले धुनुपर्दछ या सेनिटाइजर प्रयोग गर्नुपर्दछ ।

चस्मा

यसले आँखाबाट कीटाणुहरूलाई सम्पर्कमा राख्नबाट बचाउँदछ साथै कसैले आफ्नो आँखा हातले छुने बानी छ भने पनि रोक्दछ ।

तर, माथि बताइएका सुरक्षा समाग्री यदि हामीले लगाउछौ भने उचित तरिकाले लगाउने र खोल्ने साथै डिस्पोजल गर्ने बारेमा समेत जान्नुपर्दछ । एउटा बिरामीले प्रयोग गरेको मास्क, ग्लोभ, गाउन सार्वजनिकस्थलमा फालिएमा कतिलाई असर गर्ला ? त्यो हामीले सोच्नै पर्दछ ।

महामारीको बेला व्यक्तिगत सुरक्षात्मक उपकरण कम हुने डर हुन्छ नै । यस्तो अवस्थामा निम्न उपाय अवलम्बन गर्न सकिन्छ ।

१) दुरुपयोगलाई निरुत्साहित गर्नेः सत्यता जे जति भएपनि सामाजिक सन्जालमा दुरुपयोगका घटना धेरै देखिन्छन् । मनको डरले खादा सबैले पीपीई साथै एन९५ मास्क नै प्रयोग गर्न पाए हुन्थ्यो जस्तो हुनु स्वभाविक हो । तर, जसलाई हुनुपर्ने हो उसैले नपाएको अवस्थामा भने दुरुपयोग गर्नु हुँदैन । एक पटक मात्र प्रयोग गर्ने वाला समान केवल फोटो खिचाउन प्रयोग गरेर खेर फाल्नु राम्रो होइन् ।

२) स्थानीय तवरमा निर्माण गर्न जोड दिनेः कपडा तथा गार्मेन्ट फ्याक्ट्रीहरु तथा अन्य संस्थाबाट उत्पादन गर्न सकिन्छ भने सरकारकोको तर्फबाट सहजीकरण गर्ने ।

३) नयाँ ढाँचाका चेक गर्ने बुथ (स्टेसन) बनाउनेः अहिले दक्षिण कोरियामा प्रयोगमा आएको बुथ नेपालमा पनि राष्ट्रिय आविष्कार केन्द्रले बनाउन सुरु गरेको छ । यो बुथले बिमारीबाट स्वास्थ्यकर्मीलाई दूरीमा राख्छ, चेक गर्नुको साथै स्वाब पनि लिन मिल्छ भने सबै पीपीई फेर्नु पर्दैन । यो काम अति नै राम्रो हुनाले सरकारका तर्फबाट यसमा ध्यान जान जरुरी देखिन्छ ।

४) अस्पतालमा मानिसको चाप कम गर्नेः अस्पतालले कोरोना टेस्ट गराउने या शंका गर्ने अवस्थाको निर्देशिका सार्वजनिक तरिकाले नै सबैको पहुँचमा पु¥याउने ताकि कोही सामान्य मानिस अस्पताल गएर ‘तपाईलाई केही भएको छैन, कोरोनाको जाँच गर्नु पर्दैन’ भनेको सुन्नुपर्ने अवस्था कम होस् । कति स्वास्थ्यकर्मीले आ–आफ्नो नम्बर सार्वजनिक गरी निःशुल्क परामर्श गरिरहनुभएकोपनि छ, यो अति नै राम्रो काम हो । अस्पतालबाट स्वस्थ्य मानिसले जिवाणु लिएर नि फर्कन सक्ने डर हुँदा अति आवश्यक नपरी अस्पताल नजान अनुरोध गर्ने । बरु, सम्भव भएसम्म बिमारीको घर वा क्वारेन्टइनस्थलबाट नै नमूना संकलन गर्ने ।

५) मास्कको सवालमा : मास्क लगाउँदा फाइदा आफ्नै ठाउँमा छ तर त्यो भन्दा महत्वपूर्ण समाजिक दूरी कयम गर्नु हो भनेर सर्वसाधारणलाई बुझाउन प्रयास गर्ने । नियमित साबुन पानीले हात धुने, जताततै नथुक्ने, सिगान नफाल्ने र आफ्नो हात नाक, आँखा आदि ठाउँमा लगिरहने गर्नु हुँदैन भन्नेबारे सबै जानकार हुनुपर्दछ । मास्क लगाएको छु भनेर ढुक्क हुने अवस्था छैन । लक डाउन हटाइ हालेमा भने हाम्रो सहरमा हुने सार्वजनिक सेवास्थल र गाडीको भीडबारे सरकारले सोच्नै पर्दछ । त्यो बेला झनै मास्कको प्रयोग हुने देखिन्छ ।

६) प्रभावकारी व्यवस्थापनः पीपीईको सिफारिस, खरिद, गुणस्तर नियन्त्रण, स्टकसहित को निश्चित प्रणाली स्थापना गर्नुपर्दछ । जसले गर्दा अभावको प्रारम्भिक रिपोर्टिङ समेत हुने गर्छ ।

पीपीईको विषयलाई सम्बोधन गर्दै नेपाल चिकित्सक परिषद्ले गाइडलाइन तयार गरेको छ । तर, केही बुँदामा स्वास्थ्यकर्मीको चित्त नबुझेको देखिन्छ । कोभिड–१९ को लागि नमूना होस् वा अरु कुनै सरुवा रोगका लागि स्वास्थ्यकर्मीले काम गर्दा जहिले पनि आवश्यक पर्ने सुरक्षाका पक्ष पूर्ण छ कि छैन भनेर ख्याल गर्नुपर्दछ । आफू बाँचेर अरुलाई बचाउन खोज्नुपर्छ । ‘व्यवसायिक सुरक्षा र स्वास्थ्य प्रशासन’ (ओएसएचए)ले रोजगारदाताहरूलाई पत्ता लागिसकेका खतराहरूबाट मुक्त काम गर्ने ठाउँ प्रदान गर्नुपर्ने कुरा प्रस्ट भनेको छ ।

आज फेज २ मा भएको देश भोलि ३ मा नपुग्नलाई हामी सबैले आ–आफ्नो तर्फबाट हर सम्भव प्रयास गर्नुपर्दछ । स्वास्थ्यकर्मीको मनोबल बढाएर कोरोनाको विरुद्ध सबैजना स्वतस्फूर्त लड्ने वातावरण बनाउनु सरकारको कर्तव्य हो । अस्पतालमा स्वास्थ्यकर्मीको अवस्था बुझ्न नेपाल चिकित्सक संघले अनुगमन गर्नु अति नै सरहानीय काम हो । नेपाल चिकित्सक परिषदबाट पनि चिकित्सकले अभिभावकत्वको महसुस गर्न सक्ने अवस्था आउनुपर्दछ । त्यसैगरी नेपाल स्वास्थ्य व्यवसायी परिषद, नेपाल नर्सिङ परिषद, नेपाल फार्मेसी परिषद र स्वास्थ्यकर्मीसँग सम्बन्धित सघ र संगठनहरुले पनि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ । अब सबै मिलेर अघि बढ्नु जरुरी छ ।

स्वास्थ्यकर्मीलाई हौसला दिन विदेशका के कस्ता समाचार आइरहेका छन् भन्नेबारे हामी सबै जानकार छौं । भारतका प्रधानमन्त्रीलगायत दिल्लीका मुख्यमन्त्रीको वक्तव्य, आयरल्याण्डका प्रधानमन्त्री हप्तामा एक दिन स्वास्थ्यकर्मीसँगै काम गर्ने प्रतिबद्धता सुन्दा लाग्छ हाम्रा समबन्धित निकायबाट पनि अझ राम्रो योजना र हौसला हामी बीच आउने नै छ । तर, छिट्टै आओस्, अहिलेलाई हामी यही कामना गरौं ।

(डा. काफ्ले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुका कन्सल्टेन्ट प्याथोलोजिस्ट हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ