२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारलकडाउनको समयमा स्वस्थ रहन योग गरौं !

लकडाउनको समयमा स्वस्थ रहन योग गरौं !


अहिले विश्वको जनजीवन कोरोना (कोभिड–१९) भाइरसका कारण अस्तव्यस्त छ । नेपालमा अहिले हामी संक्रमणको दोस्रो चरणमा छौं । आजको दिनसम्म आइपुग्दा १६ जना संक्रमित नेपालमा भेटिएका छन् । यो भयावह स्थिति दिनहुँ मिडियामा हामीले सुन्दै आएका छौं र केही त्रसित पनि भइरहेका छौं । यस लकडाउनका अत्यासलाग्दा दिनहरुमा आफूलाई शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आत्मिक आन्नदको अनुभूत गर्नका लागि आत्मविश्वासका साथ घरमै बसेर योग गर्न सकिन्छ ।

संस्कृतको युज् धातुबाट बनेको योगको अर्थ हुन्छ जोड्नु । आत्माको परमात्मासँगको मेल नै योग हो । ‘योगःचित्तवृत्ति निरोध’–पतञ्जली, अर्थात चित्त–मन) का वृत्तिको निरोध नै योग हो । विश्व स्वास्थ्य संगठनका अनुसार पूर्ण रुपमा स्वस्थ हुन शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रुपमा समेत स्वस्थ हुनुपर्ने व्याख्याले योगको महत्व अझ बढाउँदछ ।

शरीर, इन्द्रिय, मन र आत्माको संयोग नै आयु हो । विभिन्न मानसिक विकारहरुलाई नियन्त्रण गर्दै चेतनाको विस्तार गर्दै आत्मा र परमात्माको मेल गराउँदा, योगमार्फत शान्ति प्राप्त हुन सक्छ । अष्टांग योग भित्र पर्ने विभिन्न आसन, प्राणायम, ध्यानमार्फत यस लकडाउनमा हुन सक्ने अव्यवहारिक जीवनशैलीमा परिवर्तन गराउँदैं मानिसमा असल जीवनयापनका पद्धतिहरु विकास गर्न मद्दत गर्दछ ।

आसन

लकडाउनमा आउने विभिन्न समस्याका लागि विभिन्न आसनहरु उपोयोगी हुन सक्छन् । घरभित्रै एकै ठाउँमा लामो समयसम्म बस्दा मानसिक तनाव, अजीर्ण, अनिद्रा, कम्मर तथा टाउको दुख्ने समस्याहरु उत्पन्न हुन सक्छन् । जसका लागि तपसिलका आसनहरु गर्न सकिन्छ ।

मानसिक तनावमा उपयोगी आसन
मत्स्यासन, सर्वांगासन, हलासन, पवनमुक्तासव, धनुराशन, शीर्षासन आदि ।

अनिद्रामा उपयोगी आसन
हलासन, शीर्षासन, सर्वांगासन, सवासन, योगमुद्रा आदि ।

अजीर्ण र अपचमा उपयोगी आसन
मयूरासन, मत्स्यासन, धनुरासन, सर्वांगासन, उष्ट्रासन आदि ।

कम्मर दुखेमा उपयोगी आसन
भुजंगासन, सुप्तबज्रासन आदि

टाउको दुखेमा उपयोगी आसन
शवासन, नाडीसोधन आदि ।

प्राणायम

अष्टाङ्ग योगअन्तर्गत नै रहने प्राणायमले पनि लकडाउनको समयमा शरीरमा ओजको वृद्धि गराई मनको चञ्चलतालाई निर्मूल पार्न सहयोग गर्छ । आसनमा रही श्वास प्रश्वासको गतिलाई यथाशक्ति नियन्त्रण गर्नुलाई प्राणायम भनिन्छ । मन, इन्द्रिय र बुद्धिलाई बशमा राख्दै यस महामारीको घडिमा डर र चिन्ता रहित रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्न समेत यो लाभदायक रहन्छ ।

ध्यान

अहिलेको समयमा हामी घरबाहिर जान त बन्देज छौं तर यसै अवस्थामा एकाग्र भई शान्तिमय स्वरुपमा आफू भित्रै गएर ध्यानमार्फत डुब्न सक्छौं । सम्पूर्ण नाडी एवं चक्रहरुको शुद्धीकरण हुँदै यस बखत मन पूर्ण रुपमा एकान्त र शान्त रहन सक्छ । ध्यान अघि गरिने प्राणायम, अनुलोम, विलोम र कपालभातीले अझ यस महामारीमा आउन सक्ने दुःखहरुबाट मुक्ति मिल्छ । ध्यानका लागि अर्थपूर्वक ओमकार जप गर्दा आन्नदमय र ज्योतिर्मय स्वरुप प्राप्त हुन्छ ।

यसरी सु–स्वास्थ्य एंव साधनामार्फत योगले यस कोरोना महामारीको विषम परिस्थितिमा व्यक्ति, समाज, राष्ट्र र विश्वमा नै शान्ति, सहिष्णुता, एकता, मानवता र भातृत्वको भावना जागृत गर्न समेत मद्दत पु¥याउँदछ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ