२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारनेपालमा ध्यान नपुगेका वास्तविक महामारी

नेपालमा ध्यान नपुगेका वास्तविक महामारी


म २०७६ साल बैशाख १ गते गुल्मीको दुर्गम गाउँपालिका पूरकोटमा साथीहरुसँग स्वास्थ्य शिविरमा थिएँ । नयाँ वर्षको पहिलो दिन विहानै हामीहरु मन्दिर जान भनेर हिड्यौं । अलि पर के पुगेका थियौं, पछाडिबाट एक जना युवक हतार–हतार गर्दै आउनुभयो । र, भन्नुभयो, ‘भर्खरै घरमै जन्मिएको नवजात शिशुले दूध नचुसेर स्वास्थ्य चौकीमा ल्याएका छन् ।’ बालरोग विशेषज्ञका नाताले म साथीहरुलाई बीचमै छोडेर स्वास्थ्य चौकीतिर फर्किए । स्वास्थ्य शिविर भने माथि स्कुलमा राखिएको थियो ।

नवजात शिशु हल्का शिथिल देखिन्थ्यो र उसलाई नशाबाट औषधी दिनु जरुरी थियो । स्वास्थ्य चौकीमा नवजात शिशुलाई लगाउने सानो क्यानुला रहेनछ, न त मिल्ने खालको औषधी नै । पैदल हिडेर एक किलोमिटर पर एउटा औषधी पसलमा पाउन सक्ने खबर पाएपछि मैले औषधी र पाउडर दूध लिन पठाएँ । नशाबाट औषधी र थोरै सलाइन (ग्लुकोज) पाएपछि शिशुलाई पाउडर दूध चम्चाले खुवाउने कोशिस गर्दा अलिअलि खायो ।

मैले अरु जाँच गर्न र उपचारको निम्ति नवजात शिशु सघन उपचार केन्द्र (एनआईसीयु) वा नर्सेरी भएको ठाउँमा लैजानुपर्ने सल्लाह दिएँ । एम्बुलेन्सलाई पनि खबर भयो । सबैभन्दा नजिक बुटवल पुग्न पनि ६ घण्टा लाग्ने त्यो पनि एम्बुलेन्समा ।

‘एम्बुलेन्सलाई मात्रै ८ हजार रे’ शिशुका हजुरबुवाले अर्कैतर्फ टाउको फर्काएँ । खर्च गर्न असमर्थ भएर उनीहरुले बच्चा बुटवल लैजान नसक्ने भए । बच्चाको बाबा घरमै बेरोजगार रहेछन्, आमा कलिलो उमेरकी । साँझसम्म अलि दूध चुस्न लागेपछि उनीहरुले बच्चालाई घरमै लगेछन् । भगवानको कृपाले उक्त बच्चा ठीकै रहेको खबर त्यहाँको अनमीले अर्को दिन मलाई सुनाइन् ।

दिनहुँजस्तो घट्ने यस्ता सत्य कहानीसँग कति कुरा जोडिएका छन्, आउनुहोस्, यिनै र यस्तै समस्या एकछिन केलाऔं । यस्तै स्वास्थ्य सम्बन्धी हाम्रो देशमा जनताले भोगिरहेका तर शासकले ध्यान नदिएका महामारी हुन् ।

नम्बर १
घरमै बच्चा जन्माउनु (होम डेलिभरी)

नेपालमा ४१ प्रतिशत बच्चाहरु घरमै जन्मिन्छन् । सन् २०१७ को एक तथ्यांकअनुसार पहाडी/हिमाली भेक र २ नंं. प्रदेशमा यो प्रतिशत झन बढी छ । यसले आमा र वच्चा दुवैको स्वास्थ्य उच्च जोखिममा पार्दछ । यो स्वास्थ्य सुचांकको एक महामारी नै हो ।

नम्बर २
स्वास्थ्य संस्थामा चाहिने स्रोत/साधन/जनशक्ति नहुनु

चार कोठाको भवन बनाएर स्वास्थ्य चौकी उद्घाटन गर्दैमा काम पूरा हुँदैन् । त्यहाँ नवजात शिशु पुर्‍याएका त हुन नि तर उपयुक्त जनशक्ति, उपयुक्त परिक्षण र औषधीहरुको व्यवस्था नहुँदा उपचार सम्भव नै हुँदैन् । यो सरकारी संरचनाहरुको वर्षौ पुरानो समस्या हो ।

नम्बर ३
एम्बुलेन्सको पहुँच र गुणस्तर नहुनु

समस्या परेर नजिकैको स्वास्थ्य संस्थामा गयो, ‘यहाँ हुँदैन अन्यत्र लैजानु’ भन्ने हाम्रो देशको अर्को महामारी हो । जसोतसो एम्बुलेन्सको व्यवस्था गरेपनि ‘लैजादैं गर्दा बाटोमा मृत्यु’ अथवा ‘अर्को अस्पताल पुर्‍याउँदा मृत घोषणा गर्‍यो’ भन्ने समाचार हाम्रा लागि नौलो हुन छाड्यो । एउटा एम्बुलेन्स भन्नासाथ गाडी मात्रै होइन्, जीवन बचाउने विभिन्न उपकरणका साथै एक स्वास्थ्यकर्मी साथमा हुनुपर्ने हो, जुन विकसित मुलुकहरुमा हुन्छ नै । स्वास्थ्य प्रणालीमा सुधार ल्याउन एम्बुलेन्समा हुनुपर्ने न्यूनतम मापदण्ड तोकेर प्रत्येक एम्बुलेन्समा टोली बनाउन अत्यन्त जरुरी हुन्छ । जुन कुरा विकसित देशहरुले लागु गरिसकेका छन् ।

नम्बर ४
नवजात शिशु मृत्युदर ज्यादै बढी हुनु

संयोगले गुल्मीका ती नवजात शिशु बाँचेपनि नेपालमा प्रत्येक १ हजार नवजात शिशुमध्ये २० जना मर्ने गर्छन् । केही वर्षअघिसम्म त यो तथ्यांक ३५ जना थियो । जुन नाभी मलम र नवजात शिशु स्याहार कार्यक्रमले अलि घटायो । विकसित देशहरुमा प्रत्येक १ हजार नवजात शिशुमध्ये २ वा ३ जनाको मात्रै मृत्यु हुने गर्छ र यी वच्चाहरु पनि जन्मिदैं मुटु, पेट वा छातीको वनावटमै समस्या भएर जन्मिएका हुन्छन् । अर्थात, हाम्रो नवजात शिशु मृत्युदर पनि १ हजारमा २/३ जनाभन्दा बढी हुनुभएन । नवजात शिशु मर्ने महामारी रोक्नैपर्ने पहिलो चुनौती हो ।

नम्बर ५
अन्य सुचांकहरु पनि ज्यादै कमजोर देखिनु

गुल्मीको त्यो ग्रामीण वस्तीमा जसरी शिशुको हजुरबुवाले एम्बुलेन्सले ८ हजार रुपैयाँ माग्ने बितिकै नवजात शिशुलाई अस्पताल नलैजाने निधो गरे । यसले हाम्रो देशमा गरिबी अर्को महामारीका रुपमा विद्यमान रहेको देखिन्छ । सन् २०१० को तथ्यांक हेर्दा २५ प्रतिशत नेपालीहरु अति गरिब छन् । कि त सम्पूर्ण स्वास्थ्य सेवा निः शुल्क हुनुप¥यो, कि त गरिबी हट्नुपर्‍यो । यो नहुँदा जनस्वास्थ्य सधैं खस्किरहन्छ । स्वास्थ्य क्षेत्रमा सरकारको मात्र ५.८ प्रतिशत बजेट छुटिन्छ । सम्पूर्ण स्वास्थ्य खर्चको ५९.६ प्रतिशत खर्च निजी संस्थामा हुन्छ अनि हाम्रा दीर्घकालीन महामारीसँग कसरी लड्न सक्छौं ? हामी मानव विकास सुचांकमा १९५ देशमध्ये १४५ औं स्थानमा छौं जुन अत्यन्तै गम्भीर कुरा हो । जनसंख्याको अनुपातमा स्वास्थ्यकर्मी कम हुनु र उत्पादिन डाक्टर तथा नर्सहरु पनि विदेश पलायन हुनबाट रोक्न नसक्नु हाम्रो ठूलो चुनौती हो ।

अहिले स्वास्थ्यमा प्रशस्त बजेट भएको बेला उपकरणसहितका स्वास्थ्य संस्था बनाउने, एम्बुलेन्सहरुको गुणस्तर विकास गर्ने, एम्बुलेन्समा स्वास्थ्यकर्मी अनिवार्य गर्ने, उचित नियमावली बनाएर गुणस्तरीय स्वास्थ्यकर्मीहरूलाई देशमै काम गर्न प्रोत्साहन गर्ने र विदेश पलायन हुनबाट रोक्ने गर्न सक्नुपर्दछ ।

अतः कोरोनाको महामारी नेपालमा आउला नआउला तर यही स्वास्थ्य संकटकालको मौका समातेर हामीले स्वास्थ्य प्रणाली जरैदेखि सुधार गर्न आवश्यक छ । त्यसका लागि दीर्घकालीन वैज्ञानिक योजनाहरु बनाएर अगाडि बढेमात्रै सम्भव छ ।

(डा. पोख्रेल आम्दा हस्पिटल बुटवलका बाल रोग विशेषज्ञ तथा नेपाल चिकित्सक संघ लुम्बिनी शाखाका महासचिव हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ