२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारस्वास्थ्य क्षेत्रको सुरक्षा र कोरोना महामारी

स्वास्थ्य क्षेत्रको सुरक्षा र कोरोना महामारी


पछिल्लो समयमा विश्वलाई कोरोना महामारीले अझै त्रस्त र ग्रस्त बनाउँदैं लगिरहेको छ । भाग्यवस भनौ वा कुनै पत्ता नलागेको कारणले गर्दा नेपालमा महामारीको त्यस्तो संकटग्रस्त अवस्था सिर्जना भैसकेको छैन । तथापि छिमेकी मुलुक र विश्वकै ट्रेण्ड हेर्दा हामी चुपचाप बस्न सक्ने अवस्था छैन । र, हाल नेपाल सरकारले केही हदसम्म भएपनि पूर्व तयारी गरिरहेको देखिन्छ । कतिपयलाई यो सन्तोषजनक लाग्यो होला कतिपयलाई केही पनि नभएको लागेको होला । तर, जे जति भैरहेको छ त्यसलाई सकारात्मक रुपमा लिने, थप तयारी र व्यवस्थापन आवश्यक देखिन्छ ।

यो पूर्व तयारीमा मुख्यतयाः दुई पक्ष अंग्रपंक्तिमा उभिएका छन् । १) स्वास्थ्य संस्थाहरुमा दिनरात खटिएर काम गरिरहेका स्वास्थ्यकर्मीहरु र २) अर्को दिनरात सडकमा खटिएर सुरक्षा र लकडाउन कार्यन्वयनमा लागिरहेका सुरक्षाकर्मी । यही परिस्थितीबीच पछिल्लो समय केही स्थानहरुमा सडकमा खटिएका सुरक्षाकर्मीद्धारा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार, कुटपिट र हातपातसम्म भएका समाचार सार्वजनिक भैरहेका छन् । यसप्रकारका समाचार आउनु पक्कै पनि सुखद् मान्न सकिदैन् । यसले हाम्रो यस लडाइको पूर्व तयारी र महामारीमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल खस्काउँछ ।

पछिल्लो समय स्वास्थ्यकर्मीमाथी दुर्व्यवहार भएको भनेर समाचारहरु पढिरहँदा हाम्रो सुरक्षा अंगको यो महामारीसँग लड्नका लागि तयारी कस्तो छ त ? भन्ने समीक्षा गर्न जरुरी देखिन्छ । सडकमा सधैं उभिएर अहोरात्र खटिने प्रहरी जवानहरु के कस्तो तालिमसहित उभ्याइएका हुन्छन् भन्ने कुरा बुझ्न जरुरी देखिन्छ । सिमित तलब र तालिमका साथ दिनभर खटिनुछ र, समाजमा महामारीको यस्तो भयावह चित्रण छ कि कोरोना लाग्ने बितिकै खुत्रुक्कै मान्छे मर्छ । अब त्यो सडकमा उभिएर सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मीलाई न त कोरोनाबाट बच्ने उपायहरुबारे थाहा छ न रोगका बारेमा जानकारी नै रहेको छ । यो यतिमात्र जान्दछ कि यो महामारी लाग्यो भने उ फतक्क मरिहाल्छ । र, यसबाट बच्ने एकमात्र उपाय भिड जम्मा हुन नदिने हो भन्नेमात्र उसले जान्दछ ।

यति सिमित जानकारी र स्रोतकाबीच खटिदा कतिपय स्थानमा सुरक्षाकर्मीले संयम गुमाएको र दुर्व्यवहार भएको देखिने गरेको छ । यसलाई न्यूनीकरण गर्ने हो भने अब सुरक्षा निकायले आफ्ना स्कुलिङका सिद्धान्त परिवर्तन गर्न जरुरी देखिन्छ । देशको ऐन, कानुन, मानव अधिकार, व्यक्तिगत स्वतन्त्रताजस्ता विषयवस्तुहरु सोफामा बसेर सेमिनार र बैठक गर्ने ठूला सुरक्षा अधिकृतभन्दा सडकमा अहोरात्र खटिनुभएका सिपाहीहरुलाई पढाउन र जानकारी गराउन जरुरी देखिन्छ । यस्ता घटना दोहोरिन नदिने सुरक्षाकर्मीहरुलाई आवश्यक साइको सोसियल काउन्सिलिङ र सोसल एसेप्टेन्स सम्बन्धि अध्ययन गराउन पनि जरुरी देखिन्छ ।

यी दुर्व्यवहार र घटनाको श्रृखलाको अर्को पाटो पनि केलाउन जरुरी देखिन्छ । बुधबार ३ बैशाखमा साँझपख सुरक्षाकर्मीबाट पिटिएका भनिएका चिकित्सकहरु आवासीय चिकित्सक रहेका थिए । यहाँ शब्दबाट नै के प्रष्ट हुन्छ भने आवासीय चिकित्सक भनिसकेपछि यी ती वर्गका चिकित्सक हुन् जो सदैव जुनसुकै परिस्थितीमा अस्पतालमा उपलब्ध हुन सक्छन् र जस्तोसुकै आकस्मिक सेवा तत्कालै प्रदान गर्न सक्छन् भन्ने मान्यता हो । र, सोही मान्यतालाई स्थापित गर्न यस्ता चिकित्सकहरुलाई सम्बन्धित शैक्षिक संस्थाद्धारा नै अस्पताल हाताभित्र वा वरिपरि नै खानपिन र वासस्थानको व्यवस्था गर्नुपर्ने हुन्छ । तर, बिडम्बना नेपालका सबै सार्वजनिक शिक्षण संस्थामध्ये आवासीय चिकित्सकलाई बसोवास व्यवस्थापन गर्ने एकमात्र संस्था विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हो ।

माथि उल्लेखित घटनामा प्रहरीबाट पिटिनुभएका आवासीय चिकित्सकहरु सुरक्षाकर्मीको क्षणिक आवेगको शिकार त पक्कै पनि हुनुभएको हो तर, यस्तो परिस्थितीको सिर्जना वर्षौदेखि स्वास्थ्य क्षेत्रका नेतृत्वकर्ताले देखाएको अकर्मण्यताको उपज हो । तत्कालीन समाधान स्वरूप दुर्व्यवहार गर्ने टुकडीका नेतृत्वकर्ता प्रहरी नायब उपरिक्षकले माफी माग्नुका साथै निजलाई महानगरी प्रहरी कार्यलय तानिएकोछ। यो समाधानलाई ठ्याक्कै ठेट नेपालीमा भन्दा मोही माग्ने ढुंग्रो लुकाउने समाधान हो। न त दुर्व्यवहार ती नायब उपरिक्षकले गरेका थिए न त दुर्व्यवहारमा पर्नुभएका आवासीय चिकित्सक साथीहरूले भोगिरहनु भएका समस्यातर्फ सरोकारवालाको चासो देखियो।

आवासीय चिकित्सकहरुका लागि आवासको व्यवस्था गर्न नसक्ने तर काम कर्तव्य आवासीय चिकित्सक सरह नै खोज्ने यो परिस्थिती रहुन्जेलसम्म यस्ता घटना फेरि पनि दोहोरिरहन सक्छन् । त्रिवि शिक्षण अस्पतालभन्दा झन बिजोग अवस्था राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरूको छ । आवासको प्रश्न त अतिशोयुक्ती हुन्छ न्याम्सको हकमा, चिकित्सकहरूके लागि एउटा अलग क्यान्टिनसम्म पनि छैन। यो लकडाउनका बीच सम्पूर्ण होटल, रेष्टुरेन्ट बन्द हुँदा खुल्ला रहेको वीर अस्पतालका चिकित्सकले के कसरी खानेछन् भनेर त्यस प्रतिष्ठानका कुनै पनि पदाधिकारीले चासो लिएको देखिदैन् । तसर्थ, हरेक प्रतिनिधी घटनाको मात्र तत्कालिक समाधान गरेर यो समस्या दीर्घकालीन रुपमा समाधान हुन सक्दैन् । स्वास्थ्य क्षेत्रमा देखिएका कमजोरीहरुलाई क्रमसः सुधार्दै लैजान जरुरी छ ।

(डा. खत्री नेपाल मेडिकल काउन्सिलका कार्यकारी सदस्य हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ