२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारतग्रिदैंछ नरदेवी आयुर्वेद अस्पताल

तग्रिदैंछ नरदेवी आयुर्वेद अस्पताल


वैशाख शुक्ल तृतीया अर्थात १५ बैशाख वि.सं १९७४ मा नरदेवी आयुर्वेद अस्पतालको स्थापना भएको हो । सम्पूर्ण आयुर्वेद प्रेमीका लागि त्यो दिनले अति नै महत्वपूर्ण र गौरवपूर्ण इतिहास बोकेको छ ।

नरदेवी आयुर्वेद अस्पताललाई १०३ औं स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनमा उत्तरोतर प्रगति हुँदै जाओस् भन्ने शुभेच्छा प्रकट गर्न चहान्छु । साथ साथै यस अस्पतालका केही कमजोरी, सुधारका प्रयास र चाल्नुपर्ने कदमहरुलाई समेत केलाउन चाहन्छु ।

आयुर्वेद चिकित्सा पद्धति प्राचीनकालदेखि नै स्वस्थ, सबल, रोगमुक्त जीवनको चिन्तनद्वारा आरोग्य स्थापनाका निमित्त स्थापित छ । त्यसकै निम्ति देशकै पुरानो नरदेवी आयुर्वेद अस्पतालको स्थापना भएको हो । निःशुल्क रुपमा आयुर्वेदिक उपचार पाइने यस अस्पतालको जनरल वार्डमा १०० शैय्या र १८ ओटा विशेष कक्ष रहेका छन् । एउटा शल्यक्रिया कक्ष समेत रहेको छ । १२५ जना कर्मचारी रहेको यस केन्द्रीय अस्पतालले समयक्रम सँगै सोचेजतिको गति लिन सकेको थिएन । अस्पताल व्यवस्थापन समितिमा हुने चरम राजनीतिक नियुक्ति जसका कारण कर्मचारी र चिकित्सक नियुक्ति गर्दा हुने राजनीतिक भागवण्डाले दिन प्रतिदिन यस्को साख घट्दै गइरहेको थियो । अस्पतालमा बेला—बेलामा भ्रष्टाचारको प्रसंग पनि चर्चामा रहन्छ ।

नयाँ—नयाँ उपकण र बिरामीको सही उपचारमा उचित ध्यान दिन सक्ने दक्ष जनशक्तिको समेत व्यवस्थापन हुन सकेको थिएन । काठमाडौंको मुटुमा अवस्थित भएर पनि यहाँ पाइने सहज र सुलभ दरका चिकीत्सकीय सेवाबाट धेरै जनसमुदाय बेखबर थिए । जसका कारण रंगीन विज्ञापनका भरमा निजी क्लिनीकमा धाएर महंगो शुल्कमा आयुर्वेद सेवा लिन बिरामीहरु बाध्य थिए ।

तर, डा. प्रदीप केसीले नरदेवी अस्पतालमा अस्पतालको नेतृत्व सम्हालेपछि पछिल्लो समय सुधारका संकेतहरु देखिएका छन् । १०३ वर्षको इतिहास बोकेको यो अस्पताल लामो समयको लथालिंग अवस्थाबाट तंग्रिन थालेको अनुभूति त्यहाँ कार्यरत र सेवाग्राही सबैलाई हुँदै आइराखेको छ । फोहोर तथा ढल व्यवस्थापनबाट सुरु गरिएको सुधार अभियानका कारण अहिले सफा वातावरण, व्यवस्थित पार्किङ, सहज उपचारको व्यवस्था नरदेवी अस्पतालको पछिल्लो परिचय बन्न थालेको छ । इन्टर्न चिकित्सकहरुको नियमित ड्युटी र केस प्रिजेन्टेसन कक्षाहरुले पनि नव आयुर्वेद चिकित्सकहरुका लागि नरदेवी अस्पताल सिकाइको उचित थलो बन्दै गैराखेको छ ।

साथै हालको कोरोना महामारीसँग लड्न स्वास्थ्य मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागसँग सहकार्य गर्दै आयुर्वेद औषधीबाट हुन सक्ने रोकथाम र उपचारका लागि समेत अस्पताल प्रयासरत छ । बिहानले दिनको संकेत गर्छ भने झै भएगरेका तमाम सकारात्मक कदमले बिरामीको भरोसा जित्न अस्पताल अघि बढेको कुरा जनाउँदछ । तर, यति मात्र काफी छैन, अस्पताल सुधारका लागि थप सहकार्य आवश्यक छ ।

स्वास्थ्य मन्त्रालयले ध्यान दिनुपर्ने कुराहरु

स्वास्थ्य मन्त्रालयको सिधै पहुँच नपुग्ने र बिनियोजन हुने बजेट र नीति तथा कार्यक्रममा एलोपेथी अस्पतालका अघाडि सधै ओझेलमा पर्ने हुनाले पनि नरदेवी अस्पताल अझै आकर्षणको केन्द्र बन्न सकेको छैन । र, नरदेवी अस्पतालको जुन रुपमा विकास र विस्तार गर्न स्वास्थ्य मन्त्रालयले ध्यान दिनुपर्ने हो त्यो कदापि दिन सकेको छैन । नरदेवी अस्पताललाई नेपालको आयुर्वेद चिकित्साको धरोहरका रुपमा विकास गर्न विषयगत अनुसन्धान तथा प्रयोगका साथै विज्ञहरुको सभामा संवाद, विचार विमर्श, संशोधन परिष्कारसहित विशिष्ट शोधग्रन्थहरुको प्रकाशन तथा वितरणसँगै सामाजिक तथा संस्थागत प्रतिबद्धतासहित कार्ययोजना, आर्थिक व्यवस्थापन समेत चाहिन्छ । साथसाथै सरोकार सम्पूर्णले गुणस्तर, व्यवसायिकता, भौगोलिक सन्तुलन र सामाजिक न्याय कायम गर्ने उद्देश्यसमेत बोक्नु पर्छ ।

पीजी अध्ययन गर्ने राम्रो केन्द्रका रुपमा विकसित गरेर न्याम्स (वीर अस्पताल)कै अवधारणामा समेत यसलाई लैजान सकिन्छ । चारैतिरबाट उपचारमा हार खाएपछि मात्र अन्तिम विकल्पका रुपमा आयुर्वेद चिकित्सा अपनाउन नरदेवी अस्पताल आउनेहरुलाई प्रारम्भिक अवस्थामा नै यसको महत्व बुझाउन सके, उपचार पद्धति प्रभावकारी बन्नुको साथै बिरामीले समेत कष्ट व्यहोर्नु पर्दैन थियो । जण्डिस, ग्यास्ट्राइटिस, पाइल्स, फिस्टुला, फिसर आदिले मात्र नेपाली समाजमा चिनिएको नरदेवी अस्पतालमा अथाह रोगहरुको उपचार सजिलै हर्बल तथा हर्बो मिनरल औषधी, पञ्चकर्म, अक्युपञ्चर तथा अन्य थेरापीहरुका माध्यमबाट हुने कुरा सबै जनसमुदायमा बुझाउनु पनि जरुरी छ ।

शरीरका विभिन्न प्रक्रियाहरु जस्तै दोष, अग्नि, धातु, मल क्रियालाई, सम अवस्थामा राखी आत्मा, इन्द्रिय र मनको प्रसन्न राख्नु वा आफ्नो सच्चिदानन्द स्वरुपमा फर्कनु नै स्वास्थ्य हो । जसका लागि पनि आयुर्वेद अपरिहार्य छ । ऋषिमुनिहरुको शाश्वत चिन्तन र साधनाबाट मानवजातिकै आदिम सभ्यतासँगै विश्वभरि फैलिएको सर्वप्राचीन जीवनविज्ञान वा चिकित्सा विधा आयुर्वेद, आजको आवश्यकता हो भन्ने कुरा नकार्न सकिदैन् । त्यसैले सम्पूर्ण बिरामीको मन, आयुर्वेद चिकित्सा प्रणालीबाट जित्न नरदेवी अस्पतालको समसामयिक र अपेक्षित सुदृढीकरण आवश्यक छ । साथै औषधिको माग व्यवस्थापन गर्न संघीय,प्रादेशिक र स्थानीय निकायहरुले जडिबुटीलगायत आधिकारिक स्रोतसाधनहरुको परिचालन गर्नुपर्ने जरुरी छ । औषधी आफैंले उत्पादन गर्दै आएको यस अस्पतालमा औषधी उत्पादन गर्ने मेसिनको पनि अभाव रहेको देखिन्छ । यसका लागि समेत मन्त्रालयले ध्यान दिनुपर्ने देखिन्छ । साथै, निजी क्लिनिकमा बिरामी लगेर उपचार र महंगो औषधी भिडाएर बेइमानी गर्नेहरुलाई नियन्त्रण गर्न दण्ड दिने व्यवस्था र असल चिकित्सकलाई पुरस्कृत गर्ने व्यवस्थासमेत मन्त्रालयले गर्नुपर्छ ।

लामो समय लुछाचुडी र राजनीतिक खिचातानीले अस्तव्यस्त बनेको यस अस्पतालले धेरैपछि राहतको लामो सास फेरेको छ । छोटो अवधिमा नै निर्देशकहरु परिवर्तन हुने समस्या पनि विकराल बन्दै आइरहेको थियो । तर, पदभार ग्रहण गरेको न्यून समयमा नै नरदेवी आयुर्वेद अस्पतालको सर्वांगीण विकासमा कोशेढुंगा सावित हुँदैछ, डा. केसीको कार्यकाल । तर, नरदेवी अस्पतालको अझ विकास र विस्तारका लागि सरकारी स्तर, दातृनिकाय र आयुर्वेद सम्बद्ध सबै सरोकारवाला निकायहरु समयमै जवाफदेही हुनु पनि नितान्त जरुरी छ । स्थापना दिवसले सबैमा जोश र प्रेरणा जागृत हुँदैं जाओस्, मुरी मुरी शुभकामना ।

(१५ बैशाखमा पर्ने नरदेवी अस्पतालको स्थापना दिवसको अवसर पारेर डा. घिमिरेले यो लेख लेखेका हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ