२०८३ असार २, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु

स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु


काठमाडौं –स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न नियामक परिषद्, अनुसन्धान निकाय, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा स्वास्थ्य बीमा बोर्डका रिक्त पदाधिकारी पदका लागि आवेदन आह्वान गरेको छ।

मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार सम्बन्धित ऐन तथा नियमावलीमा तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा, सिंहदरबारमा वा मन्त्रालयको वेबसाइटमार्फत पेश गर्न सकिने जनाइएको छ।

मन्त्रालयले नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद्, नेपाल मेडिकल काउन्सिल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा स्वास्थ्य बीमा बोर्डका विभिन्न पदमा नियुक्तिका लागि प्रक्रिया अघि बढाएको हो।

सूचनाअनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् तथा नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष र रजिस्ट्रार पदका लागि आवेदन माग गरिएको छ। यस्तै, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सदस्य र सदस्य–सचिव, नेपाल नर्सिङ परिषद्मा अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रार पदका लागि आवेदन खुला गरिएको छ।

त्यसैगरी, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशक तथा स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष र कार्यकारी निर्देशक पदका लागि समेत आवेदन माग गरिएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य क्षेत्रका महत्वपूर्ण नियामक तथा सेवा प्रदायक संस्थाहरूमा नेतृत्व चयनको प्रक्रिया सुरु भएसँगै योग्य र अनुभवी व्यक्तिहरूलाई आवेदन दिन मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयका अनुसार आवेदनसँग पेश गर्नुपर्ने आवश्यक कागजात तथा कार्यविधि मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध छन्।

स्वास्थ्य क्षेत्रका प्रमुख संस्थाहरूमा नेतृत्व चयन हुन लागेकाले यस प्रक्रियालाई स्वास्थ्य प्रशासन, स्वास्थ्य सेवा व्यवस्थापन तथा नीति निर्माणसँग जोडेर चासोका साथ हेरिएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ