२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकोरोना महामारी चुनौती र अवसर

कोरोना महामारी चुनौती र अवसर


चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) हालसम्म विश्वका २१२ देशमा फैलिएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म ४१ लाख भन्दा बढी मानिसहरुमा यसको संक्रमण फैलिएको छ । भाइरसका कारण २ लाख ८० हजार बढीको मृत्यु भएको छ भने नेपाल पनि यसबाट अछुतो रहन सकेन ।

हालसम्म नेपालमा १ सय २० जनालाई कोरोना संक्रमणको पुष्टि भइसकेको छ । भाइरसको सबैभन्दा बढी प्रभाव अमेरिका र युरोपमा परेको छ । विश्वका महाशक्ति भनिने राष्ट्रहरु पनि भाइरसका कारण निरिह भएका छन् । आजको २१ औं शताब्दीमा यो महामारी विज्ञान र प्रविधिको अकल्पनीय आविष्कार र प्रगतिमाथि एउटा फरक धावा बनेर प्रस्तुत भएको छ । भाइरस कति समय सक्रिय रहने हो यो अहिले नै अनुमान गर्न गाह्रो छ ।

कोरोनाले पारेको प्रभाव

कोरोना महामारीले अहिले विश्वमा ठुलो क्षति पुगेको छ । संसारभर करिब एक तिहाई मान्छे लकडाउनले घरमा बस्न विवश छन् । उद्योगधन्दा, कलकारखाना, विद्यालय, कलेज, मनोरञ्जनका क्षेत्रहरु, हवाई तथा अन्य यातायातका साधनहरु बन्द भएका छन् । कोरोनाको कारण विश्वभर करिब २५ मिलियन नागरिकले जागिर गुमाउने आईएलओको प्रक्षेपण छ । झण्डै ४५ लाख नेपाली वैदेशिक रोजगारीका लागि देश बाहिर छन् । कोरोनाका कारण वैदेशिक रोजगारीमा रहेका नेपालीमाथि पनि असर पर्ने स्पष्ट देखिदैंछ । कोरोनाको कारण अहिले अधिकांश उद्योग धन्दा बन्द हुँदा लाखौं नेपालीले रोजगारी गुमाएका छन् ।

नेपालजस्तो विकासोन्मुख देशको लागि त यो अझै ठुलो चुनौतीको रुपमा रुपमा खडा भएको छ । रेमिट्यान्स आधारित अर्थतन्त्र रहेको विश्व बजारमा लकडाउनपछि अर्थतन्त्र २५ देखि ३० प्रतिशतले खस्कने हुँदा हाम्रो अर्थतन्त्र पनि प्रभावित हुने देखिन्छ । रोजगारी गुमाउँदा धेरैको दैनिक गुजारामा समस्या परेको छ भने उनीहरुसँग आश्रित परिवारको विचल्ली हुने स्थिति छ । अबको मुख्य समस्या कोरोनाबाट हुने मृत्युभन्दा डरलाग्दो अवस्था भोकमरीबाट हुने देखिन्छ । विश्व बैकले यो शताब्दीकै ठुलो आर्थिक मन्दी हुने प्रक्षेपण गरेको छ । साथै विश्वको आर्थिक, सांस्कृतिक, राजनीतिक क्षेत्रमासमेत यसको नराम्रो प्रभाव पर्न निश्चित देखिन्छ । यसैपनि बढ्दै गएको बेरोजगारी र आर्थिक भार एवं डिप्रेसनलगायत अन्य कारणले लकडाउनको दुई महिना भित्र हाम्रो देशमा करिब ५ सय जनाले आत्महत्या गरेका छन् । यसले बढदो मनोसामाजिक असरको चित्रण गर्दछ ।

उसो त हाम्रो स्वास्थ्य क्षेत्र निकै कमजोर रहेको छ । त्यसमा पनि अहिलेको महामारीमा आवश्यक पूर्व तयारी नहुँदा अर्को चुनौती थपिदिएको छ । सानो संख्यामा संक्रमित भेटिदा त पर्याप्त मात्रामा परीक्षण किट नहुँदा परीक्षणलाई व्यापक रुपमा विस्तार गर्न सकिएको छैन । विश्व स्वास्थ्य संगठनको अवधारणा थ्री टी (ट्रेस, टेस्ट र ट्रिट) अनुसार समुदायस्तरमा फैलिएको महामारीलाई जतिसक्दो धेरै परीक्षण गर्नुपर्ने आवश्यकता देखिन्छ तर पनि बेलाबेलामा हुने टेस्ट किटको अभाव र यसको गुणस्तरमा उठेका प्रश्नहरुले चुनौती थपिएको छ ।

त्यस्तै, भारतसँगको सीमा नाका बन्द हुँदा समेत लुकीछिपी सीमा पार गरी नेपाल भित्रिएका नागरिकहरुलाई क्वारेनटाइनमा राखी यथेष्ट मात्रामा टेस्ट गर्न सकिएको छैन । साथै महामारी बढ्दै गएको अहिलेको अवस्थामा सिमाना क्षेत्र कडाइका साथ निगरानी गर्नुको साथै पर्याप्त मात्रामा आवश्यक जनशक्ति, आइसोलेसन बेड र आईसीयु वेडको पूर्व तयारी गर्नुपर्ने देखिन्छ । कोरोनाले जनस्वास्थ्यको क्षेत्रमा ठूलो चुनौती थपेको छ । भाइरस विरुद्धको खोप र औषधीबारे खोज अनुसन्धान भैरहँदा यसले विज्ञानको उपलब्धीलाई पनि चुनौती दिएको छ । यसको साथै लकडाउन खुकुलो भएसँगै काठमाडौँ लगायत अन्य ठाउँमा भइरहेको मानिसहरुको जमघटले यस महामारी अर्को उचाईमा चुलिने होकी भन्ने डर थपिएको छ ।

कोरोनाले ल्याएको अवसर

विश्वका हरेक संकटले अवसर पनि बोकेर आएको हुन्छ भनेझैं महामारी पश्चात् हुने परिवर्तनलाई अवसरका रुपमा बदल्न सकिन्छ । अहिले अधिकांश मानिस आफ्नो गाउँ फर्केका छन । कोरोनाले पुनः एक पटक गाउँको महत्व बुझाएको छ । गाउँका खेतबारी बाँझो राखी सहर पसेका युवाहरुलाई गाउँमै भविष्य देखाएको छ । कृषिमा युवाको आकर्षण नभएको समयमा सम्भावना देखाएको छ । विस्तारै डाँडापाखा हरियाली बन्दैछन् । प्रकृति पुनः आफ्नै लयमा फर्किदैछ । स्वच्छ वातावरणले मानिसको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पारेको छ । परिस्थितिले प्रणालीमा सन्तुलन कायम गरेको छ । परम्परागत ज्ञान, सीपको उपयोग गर्दै मौलिक उत्पादनले हाम्रो पहिचान समेत झल्काउनेछ ।

देशमै युवाहरुलाई रोजगारी सिर्जना गर्ने यो उपयुक्त अवसर पनि भएको छ । रोजगारी र उद्यमशीलताले ग्रामीण अर्थ व्यवस्थालाई दिगो र भरपर्दो पनि बनाउने छ । वैदेशिक रोजगारी माथिको परनिर्भरतामा कमी ल्याउनेछ । सरकारलाई पुनः एकपटक कृषि, कलकारखाना, शिक्षा र स्वास्थ्यमा राज्यको लगानी बढाउनुपर्ने कुरा सिकाएको छ ।

आम नागरिक पनि आफ्नो स्वास्थ्य र दैनिकीप्रति निकै सजग हुन थालेका छन् । हालको लकडाउन पश्चात् आएको वातावरणीय परिर्वतनले मानिस प्रकृति रक्षक हुनु पर्दछ भन्ने महत्वपूर्ण कुरा सिकाएको छ । मानवता हराई सकेको विश्वमा भाइचारा कायम गरी, दुःखमा सबै एकजुट भएर सहकार्य गर्नुपर्छ भन्ने भावना जगाएको छ । जाजरकोट लगायत देशका अन्य ठाउँमा बेला-बखतमा महामारीको पुर्वतयारी गर्न र कमजोर स्वास्थ्य प्रणाली मजबुद बनाउने यो एउटा ठुलो अबसर पनि हो ।

अबको बाटो

रोजगारीका विभिन्न क्षेत्रहरु खोजी गर्ने । कुर्सीमा बसेर अफिसियल काम गर्ने मानसिकताको अन्त्य गरी उद्यमशीलता र रोजगारीका नयाँ अवसर र सम्भावना पहिल्याउने । वैदेशिक रोजगारीबाट पर्केकाहरुको ज्ञान, सीप, पूँजीलाई साना तथा मझौला उद्योगमा लगानी गर्न सहुलियत कर्जा उपलब्ध गराउने । एग्रो बेस इको टुरिज्मको प्रवर्द्धन गर्ने ।

कृषिलाई प्रविधिसँग जोड्दै उत्पादित वस्तुलाई स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको पहुँचसम्म पु¥याउने । अनलाइनमार्फत कृषि उपजको बजारमा सहज उपलब्ध हुने व्यवस्था मिलाउने । प्राकृतिक चिकित्सा एवं आयुर्वेदिक उपचार पद्धतीको विकास र विस्तारमा जोड दिने । सूचना प्रविधिको प्रयोग गर्दै नयाँ नयाँ प्रविधिअनुसार उद्यमशीलता विकास गर्ने ।

देशमा नेता भ्रष्ट र कर्मचारी निकम्मा भयो भनी आलोचना गर्नुको साटो उनीहरुको खराब कामको भण्डाफोर गर्ने । श्रमप्रति सम्मान गर्ने संस्कृतिको विकास गर्ने । विदेशको मोह त्यागी आफ्नो गाउँ आफै बनाउने संकल्प गर्ने । परिश्रमी, सिर्जनशील र मिहिनेती युवाहरुलाई देशमै बस्ने वातावरणको विकास गर्ने ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ