२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारचिकित्सक सहकर्मी दिदीको मार्मिक पत्र पढेपछि…

चिकित्सक सहकर्मी दिदीको मार्मिक पत्र पढेपछि…


शान्ति दिदी,
तपाईंले छोरी र श्रीमानलाई लेखेका पत्रहरू पढेँ । एउटै संस्थामा तपाईंकै अन्तर्गत काम गर्दै रहेकी हुनाले तपाईंले लेखेका कतिपय कुरासँग म परिचित भए पनि कतिसँग चाहिँ म अनभिज्ञ नै रहिछु ।

वैशाख २८ गते अर्को व्यवस्था नभएसम्मका लागि भनेर भरतपुर अस्पतालबाट मलाई यस कोरोना विशेष अस्पतालमा खटाइयो । तपाईंले आफ्ना पत्रमा भनेजस्तै हामी महिलाहरूले वौद्धिक तथा भावनात्मक दुवै तरिकाले सोच्ने हुँदा मैले यो चुनौती स्वीकार नगर्न सकिनँ । यहाँ काम गर्न आउन अरुहरू डराएका कुरा मैले पनि नसुनेकी होइन ।

दिदी, म यस भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा आएको दिनदेखि नै जुन स्नेह र सद्भाव तपाईंले मप्रति देखाउनुभयो, त्यो म कहिले पनि बिर्सन सक्दिनँ । मैले यहाँ काम गर्न थालेको त धेरै भएको छैन, तर पनि जुन आफ्नोपन देखाएर तपाईंले यहाँ सबैसँग व्यवहार गर्नुभएको छ, त्योबाट म धेरै नै प्रभावित भएकी छु । तपाईंका लेखहरूमा तपाईंले यस अस्पतालमा भोगेको चुनौतीहरू देखिन्छ । तर मैले यी समस्या समाधानका लागि निरन्तर रूपमा तपाईंलाई प्रयासरत भएको देखेकी छु । यहाँ समस्या धेरै छन् । खानेपानीको अभावले गर्दा बिरामीलाई पानी पुर्‍याउनै गार्‍हो, कहिले पंखाको अभावले राती बिरामीलाई अप्ठ्यारो भयो कि भन्ने तनाव, कहिले फोटोकपी मेसिन बिग्रेर समयमा रिपोर्ट दिन नसक्ने परिस्थिति, कहिले जेनेरेटर बिग्रेर समस्या, कहिले टेलिफोन र इन्टनेट बिग्रेर सञ्चार नै अवरुद्ध ! फेरि कोरोना अस्पतालमा समस्या पर्‍यो भनेर कोही मर्मतका लागि आउन पनि नचाहने । अस्पतालकै अगाडिको बाटोमा हिँड्दा पनि दूरदूर गर्ने समाजमै तपाईं हामी बसेका छौं । तपाईं आफ्ना परिवार, आफ्ना छोराछोरी छोडेर यही समाजका लागि यहाँ आउनुभएको हैन र ?

यति हुँदाहुँदै पनि यहाँ रहेका बिरामीका हरेक साना—साना आवश्यकतालाई तपाईंले कति ध्यानपूर्वक हेर्नुभएको छ, त्यो मैले प्रत्यक्ष देखेकी छु । चाहे बिहानै आफै गएर भीटीएम ल्याउने काम होस् या बिरामीलाई कागती र गाँजर खान मन लाग्यो भन्दै आफ्नै घरबाट ल्याउने काम होस् । यी बिरामीलाई नुन, बेसार दिने, पानी तताउने भाडा र थर्मस दिनेजस्ता कुरा हेर्दा सामान्य लाग्लान् तर यिनैले बिरामीको आवश्यकता र मानसिकतामा कति ठूलो भूमिका राख्छन्, त्यो यहीँ काम गरेपछि मात्र थाहा हुन्छ ।

नेपालमै अधिकांश कोरोना संक्रमित व्यक्ति लक्षणविहिन देखिन्छन् । थोरैलाई सामान्य लक्षण मात्र देखिएका छन् । सामान्य अवस्थाका बिरामीलाई सीसीटिभी क्यामेरामा हेर्दै र फोनमार्फत कुरा गर्दा थाहा हुन्छ, उहाँहरू कति सजग र सहज हुनुहुन्छ भनेर । यस कुरामा हामी भाग्यमानी हौं । यस अस्पतालमै पनि सामान्य स्वास्थ्य समस्या भएका व्यक्तिलाई औषधी उपचारदेखि अन्य व्यवस्थापन गर्न हामीलाई यति गार्‍ह्रो छ भने यो रोगले गम्भीर रूप लिँदै गएमा स्थिति कति भयावह हुनेछ त्यो कल्पना गर्न पनि गाह्रो छ । यसर्थमा त सामान्य लक्षण भएका अथवा लक्षण नभएकालाई त घरमै स्वास्थ्यकर्मीको निगरानीमा आइसोलेसनमा राख्न सम्भव भएमा घरमै सुविधाजन्य वातावरण मिल्थ्यो कि जस्तो पनि हामीलाई नलागेको होइन । सामान्य अवस्थाका संक्रमितलाई पनि रातारात सुतिरहेका बेला एम्बुलेन्समा अस्पताल ल्याइँदा कोरोना रोगको त्रास जनसमुदायमा बढ्ने, संक्रमित, सम्भावित संक्रमित र स्वास्थ्यकर्मी समेत समाजमा अपहेलित भएर विभेद् भोग्ने अवस्था त आएको छैनजस्तो पनि लागेको छ ।

फेरि देशका विभिन्न ठाउँमा क्वारेन्टाइनमा बसेका लक्षण नभएका व्यक्ति एक्कासी बिरामी हुने र मृत्यु नै हुने घटनाहरू अत्यन्त दुःखद छन् । क्वारेन्टाइन, आइसोलेसन र परीक्षणमा सबैको ध्यान केन्द्रित हुँदा सामान्य संक्रमण, पौष्टिक र सन्तुलित आहार र स्वस्थ जीवनशैलीका अन्य उपायतर्फ पनि विचार गर्नुपर्नेजस्तो देखिन्छ ।

दिदी, कोरोना विरुद्धको यो लडाइँ तपाईं हामी सबैको हो । यति हुँदाहुँदै पनि दिनरात नभनी खटिने कर्मचारी यहाँ छन्, तिनलाई धन्यवाद दिनैपर्छ । अनर्गल विचार भएका अनुशासनहीन व्यक्ति अन्यत्रजस्तै यहाँ पनि नहोलान् भन्न सकिन्न । केही गैरजिम्मेवार प्रवृत्तिसँग पनि हतोत्साहित नभई कार्यमा डट्ने तपाईंजस्ता व्यक्ति यहाँ हुनु गौरवको विषय हो । तपाईंका लेख पढ्दा त्यहाँ नलेखिएका तर कयौं विषम परिस्थितिमा तपाईं अडिग हुनुभएका कुरा मेरा मनमा अनायास आए ।

कोरोनाको परीक्षणका लागि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले पनि मापदण्ड र निर्देशिका बनाएका छन् । सके त सबैको परीक्षण गर्न सकेको राम्रै हुन्थ्यो होला तर हाम्रोजस्तो सिमित स्रोत र साधन भएको देशमा त निर्देशिका अनुसारको परिक्षण गर्न पनि गाह्रै छ । यति हुँदाहुँदै पनि पहुँचकै आधारमा कोरोनाको परीक्षण गर्न आदेश दिँदै तपाईंलाई आउने फोनले मलाई पनि दिक्क बनाउँछन् । एकातिर भिटीएम् र रिएजेन्टको अभावमा हजारौं मानिसलाई क्वारेन्टाइनबाट त्यत्तिकै घर पठाइएका समाचार सुन्नुपर्छ भने अर्कातिर अनावश्यक परीक्षण गरेर किन स्रोत साधनको दुरुपयोग गर्ने भन्दै फोनमा तपाईंको आक्रोश सुन्नपर्दा म पनि अलमलमा परेकी छु । आफू स्वयंमको जाँच गराउन तपाईंले मापदण्ड पुग्छ कि पुग्दैन भन्दै यहाँ सल्लाह नगर्नुभएको पनि होइन । यस्तो अवस्थामा तपाईं एक्लैले मापदण्ड खोज्दै झगडा गर्नुपर्ने परिस्थितिको अन्त्य होला जस्तो लाग्दैन ।

दिदी, मलाई त अचम्म लाग्छ कोरोनाको परीक्षण गर्नु भनेको यसको उपचार हो र ? महिनौँ दिनसम्म हिँड्दै भारतका उच्च संक्रमित भएका ठाउँबाट आएर सीमाका क्वारेन्टाइनमा बसेकालाई परीक्षण गर्न सके पो संक्रमित पत्ता लाग्छ, संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्न सकिन्छ र सम्पूर्ण समाजलाई सुरक्षित गर्न सकिन्छ । अब तपाईं हामीले परीक्षण गर्दै किट सिध्याउँदै जाने र उच्च जोखिमका व्यक्तिलाई किटकै अभावमा घर फर्काउने गरेपछि जाँच गर्ने नगर्ने कोही पनि सुरक्षित भएनन् । सिमित स्रोत र साधनमा हरेक अनावश्यक जाँचसँगै हामीले आफैलाई रोग सर्ने डर बढाइरहेका छौं भन्ने कुरा जनमानसमा हामीले बुझाउन नसकेकै हो सायद । तर यी कुरा बुझाउन खोज्दा आफ्नै विरोध गरेजस्तो गर्ने जमात यहाँ सानो छैन । तैपनि त्यस्तै जमातसँग लड्न जुन आत्मविश्वासका साथ तपाईं अगाडि बढ्नुभएको छ, त्यो सह्रानीय छ ।

तपाईंले सधैँ भन्ने कुरा अहिले म सम्झिन चाहन्छु । सबैभन्दा ठूलो कुरा अनुशासन नै रहेछ । कतिपय मुलुकले कोरोनासँग कसरी विजय प्राप्त गरे भन्दा जनचेतना, शिक्षा र अनुशासन नै अगाडि आउँछन् । हाम्रो अस्पतालका बिरामीले पनि हामीलाई अत्यन्तै सहयोग गर्नुभएको छ । भनेकै बेलामा उहाँहरूले खोजेका कतिपय कुरा पुर्‍याउन नसक्दा पनि हामीप्रति उहाँहरूले कहिल्यै रिस द्वेष देखाउनुभएन । छिटै स्वास्थ्य लाभ गरेर आफ्ना परिवारसँग भेट गर्ने उहाँहरूको इच्छा चाँडै पूरा होस् भन्ने नै हाम्रो कामना हो ।

दिदी, तपाईंका व्यक्तिगत समस्या र पीरमर्कासँग म परिचित छु । एकल अभिभावक त्यसमाथि आफ्ना छोराछोरीसँग छुट्टिएर बस्नुपर्दाको पीडा मैले अनुभव नगरेपनि म तपाईंसँग सहानुभूति राख्छु । भिनाजुको बाटो हेरेर बस्दा एकैपटक शवगृहमा देखेको कुरा भक्कानिँदै सुनाउँदा मेरा आँखाबाट पनि आँसु आए । कयौं पारिवारिक समस्या हाम्रा एउटै छन् । तपाईंले भनेजस्तै यस पुरुषप्रधान समाजमा हामी महिलाका भोगाइ अधिकांश एकै हुन् । तपाईंले मलाई आफ्नो कार्यालयमा खटिएकी एक चिकित्सकमात्र नभएर आफ्नै बहिनी समान माया प्रेम र सम्मान दिनुभएको छ । यस्तो विषम परिस्थितिमा यस्तो ठाउँमा काम गर्दा यो मेरा लागि कति ठूलो उपहार हो, त्यो मलाई नै थाहा छ । यसका लागि म तपाईंप्रति कृतज्ञ छु । यस कोरोना रोगको नियन्त्रणका लागि तपाईंलाई मेरो सहयोग सधैं मिल्नेछ ।

(डा. रश्मि भरतपुरस्थित कोरोना विशेष अस्पतालमा कार्यरत छन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ