२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘बाहिरबाट आएका मान्छेलाई अब होम क्वारेन्टाइनमा पठाउनु उत्तम विकल्प हो’

‘बाहिरबाट आएका मान्छेलाई अब होम क्वारेन्टाइनमा पठाउनु उत्तम विकल्प हो’


सुदूरपश्चिम प्रदेश अहिले कोभिड–१९ को उच्च जोखिममा छ । प्रदेशमा हालसम्म ८६ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ । भारतबाट दैनिक सुदूरपश्चिमका चार नाका भएर नेपाली मजदूरहरु भित्रिरहेका छन् । तीमध्ये अधिकांश प्रदेश भित्रकै हुन् । तिनिहरुबाटै कोरोना संक्रमण फैलिने खतरा छ । कोरोना जोखिमको अवस्था र नियन्त्रणको लागि सरकारी स्तरबाट के प्रयास भइरहेको छन् भन्ने विषयमा केन्द्रीत रहेर सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीसँग हेल्थआवाजका लागि पदमराज भट्टले कुराकानीः


सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ को अवस्था के छ ?

सुुदूरपश्चिम प्रदेशमा आजका मितिसम्म हामीले ३३ हजार ८ सय ३७ जनाको परीक्षण गरिएको छ । जसमध्ये ८६ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ सात जना निको भएर घर फर्किसकका छन् भने २ जना अन्य प्रदेशमा उपचाररत छन् । अरु विभिन्न अस्पतालमा उपचारमा रहेका छन् । सुदूरपश्चिम प्रदेशमा २७ हजार १ सय ५४ ¥यापिड टेस्ट गरिएको छ भने २६ हजार ६ सय ५१ को नेगेटिभ आएको छ भने ५०३ जनाको ¥यापिड टेस्ट पोजेटिभ आएको छ । यसमध्ये १ सय १३ जनाको पिसिआर रिपोर्ट आइसकेको छ भने बाँकी को परीक्षणको क्रममा रहेको छ ।

प्रदेशमा जुन गतिमा परीक्षण हुनुपर्ने हो, त्यो गतिमा भैरहेका छैन । किन ? टेस्ट किटहरु अभाव भयो भन्ने कुरा यर्थात कुरा हो । अभाव किन भयो भन्ने कुरा पनि ध्यान दिनुपर्छ । संसारमा कोरोना महामारी आएको ५ महिना भयो, ५ महिनादेखि विश्वका वैज्ञानिकहरु कोभिड–१९ विरुद्ध खोपको आविष्कार तथा परीक्षण गर्ने किटहरु बनाउने र जाँच गर्ने अभियानमा लागेका छन् । ५ महिनाको बीचमा विश्वका सबै देशहरुमा जस्तैः अमेरिका, बेलायत, फ्रान्स इटली मात्रै होइन्, छिमेकी देश भारतमा समेत अभाव छ । नेपालमा हुनु स्वभाविक हो । नेपालमा यो किटहरु बन्दैन्, हामीले अन्तर्राष्ट्रिय बजारबाट ल्याउने हो । विश्वभरी लकडाउन छ, नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान गरेर जे जति अन्तर्राष्ट्रिय बजारमा उपलब्ध छ । त्यो नेपाल ल्याएर सातै वटै प्रदेशमा आपूर्ति गर्ने ब्यवस्था मिलाएको छ । यहाँले गरेको प्रश्न पनि सहि हो जुन गतिमा हुनुपर्ने हो, त्यो गतिमा हुन सकेको छैन । हाम्रो कारणले भन्दा पनि अन्तर्राष्ट्रिय कारणले हो । यो कुरा सबैले बुझिदिन हुन आग्रह गर्दछु ।

स्वास्थ्य निर्देशनालय र स्थानीय तहहरुबीचको समन्वय कस्तो छ ?
स्थानीय तहसँग समन्वय, प्रदेशसँग समन्वय र संघीय सरकारसँगका समन्वय एकदमै राम्रो छ । हरेक गाउँमा केही घटना घटेको, क्वारेन्टाइनहरु कति छन्, क्वारेन्टाइनमा कति मान्छे बसेका छन्, यी सबै कुराहरु स्थानीय तहका स्वास्थ्य संयोजकमार्फत, वडाध्यक्ष, गाउँपालिका÷नगरपालिका प्रमुखबाट जानकारी भइरहेको छ । उहाँहरुले हामीलाई सामाग्री चाहियो भनेर माग गरिराख्नुभएको छ । हामीसँग आपूर्ति भएको सामाग्रीहरु हामीले ९ वटै जिल्लामा पठाइरहेका छौं तर माग भएअनुसार आपूर्ति भइरहेको छैन ।

सुदूरपश्चिममा बैतडी र डोटीमा प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णयको कार्यान्वयनको अवस्था के छ ?
सबैभन्दा पहिले कोभिड–१९ नेपालमा परिक्षण हुँदैंन्थ्यो । पछि काठमाडौंमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण सुरु भयो । त्यसपछि सबैको प्रयासमा सुदूरपश्चिम प्रदेशमा पिसिआर मेसिन ल्याएर संचालनमा ल्याइएको हो । प्रदेश सरकारले यसको आवश्यकता महसुस गरी कोभिड–१९ परीक्षणको प्रयोगशाला स्थापना गर्नुपर्छ भनेर नीतिगत निर्णय गरेर बजेट विनियोजन गरेको छ । सेती प्रादेशिक अस्पताल, बैतडी जिल्ला अस्पताल र डोटी जिल्ला अस्पतालमा परीक्षण प्रयोगशाला स्थापना गर्ने हो । बजेट विनियोजन भइसकेपछि चाहिने उपकरणहरु खरिद ऐनको निश्चित मापदण्डअनुसार टेण्डर आह्वान गरिएको छ र छिट्टै हामी कहाँ आपूर्ति हुन्छ । सामाग्री मात्रै आपूर्ति भएर हुँदैन, डोटी अस्पताल, बैतडी अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रयोगशाला स्थापना गर्दा आवश्यक पर्ने भौतिक पूर्वाधार भवन, जसलाई हामी सेफ्टीक लेभल–२ भवन भन्छौ त्यसको स्थानीयस्तरमा तयारी गर्नुपर्ने हुन्छ । अर्को, जनशक्ति पनि अहिलेदेखि नै व्यवस्थापन गर्नुपर्ने हुन्छ किनभने उपकरणहरु किन्नु मात्रै ठूलो कुरा होइन् । भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापन अत्यन्तै महत्वपूर्ण छ ।

स्वास्थ्य क्षेत्र सबैभन्दा जटिल र संवेदनशील क्षेत्र हो । त्यसैले सबैथोक राम्ररी बुझेर गहिराईले अध्ययन गरेर एउटा प्याकेज निर्माण गर्नुपर्छ । तब मात्रै कार्यान्वयनको चरणमा जान्छ । आपूर्ति केन्द्रलाई जिम्मेवारी दिइएका मेसिनहरु जेठको अन्तिम हप्तामा सम्झौता हुने र नेपालमा आइसकेपछि असारको पहिलो हप्तामा हामी कहाँ आपूर्ति हुन्छ । त्यसपछि संचालन गर्न भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

सुदूरपश्चिम प्रदेशमा क्वारेन्टाइनहरुको व्यवस्थापन कसरी भइरहेको छ ?
क्वारेन्टाइन राख्ने की नराख्ने भनेर विश्वकै विकसित राष्ट्रहरुमा यसको एकदमै छलफल एवं बहस भएको छ । धेरै देशले क्वारेन्टाइन राखेका छन्, धेरैले लकडाउन गरेका छन् । धेरै देशले सुरक्षित हुनका लागि क्वारेन्टाइनलाई माध्यमको रुपमा मानेका छन् । सुदूरपश्चिम प्रदेशमा ८८ वटा स्थानीय तहहरुमा १ हजार ६ सय ३९ वटा क्वारेन्टाइनमा ७१ हजार २७५ बेडको ब्यवस्था गरिएको छ र त्यसमा ५९ हजार ५ सय ५४ जना बस्नुभएको छ । जसमध्ये ८ हजार ६ सय ३६ महिला छन् भने ५० हजार ९ सय १८ जना पुरुष छन् ।

स्थानीय तहले नै यसको जिम्मेवारी लिएका छन् । यसको व्यवस्थापनका लागि अत्यन्तै मेहनत गरेकोमा स्थानीय तहहरुलाई धेरै धन्यवाद दिन चाहन्छु । तर, क्वारेन्टाइनको निर्देशिकाअनुसार हाम्रो प्रदेशमा थुप्रै क्वारेन्टाइनहरु हुन सकेका छैनन् । त्यसकारण भौतिक पूर्वाधारको कमी हुनु, कतै पानीको व्यवस्था नहुनु, क्वारेन्टाइनहरु विद्यालयमा राखिएको हुँदा आवश्यकताअनुसार शौचालयको व्यवस्था छैन । स्थानीय तह पनि एउटा सरकार हो र आफ्ना तहका नागरिकको जिम्मेवारी लिएर काम गर्नु भएको छ । क्वारेन्टाइनमा बसेका मान्छेहरुमा धेरै असन्तुष्टी होलान्, थुप्रै कुरा नपुगे होलान् । तर, नेपालले ल्याएको नीतिअनुसार नै यो प्रदेशका स्थानीयहरुले व्यवस्थापन गरिरहेका छन् ।

क्वारेन्टाइनमा जसरी हामी कहाँ राखिएको छ । त्यो नेपाल सरकारको नीतिअनुसार नै राखिएको छ । क्वारेन्टाइनहरु व्यवस्थित छैनन्, रोग सार्ने माध्यम बनिरहेको छ । एउटै कोठामा २०–२५ जना राखिएका छन् । यदि तिनीहरुमध्ये एक जनालाई पनि संक्रमण भयो भने अरुलाई पनि सार्न सक्छ । त्यसैले क्वारेन्टाइनको अर्थ बुझेर बाहिरबाट आएका मान्छेलाई सम्झाई बुझाई गरेर होम क्वारेन्टाइनमा पठाउनु उत्तम उपाय हो । हरेक नेपाली नागरिकले त्यसको पालना गरिदिनुपर्छ ।

क्वारेन्टाइनमा किन जोखिम बढेको हो ?
देश बाहिर हुँदा नीति नियमको पालना गर्ने नेपालमा हुँदा नगर्ने प्रवृतिका कारण नेपालमा जोखिम बढ्दै गएको छ । सबैभन्दा उत्तम उपाय भनेको होम क्वारेन्टाइन हो । त्यसपछि पनि कुनै समस्या आएमा÷लक्षणहरु देखिएमा तुरुन्तै नजिकका स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्दछ ।

अब क्वारेन्टाइनलाई विस्थापित गरेर स्थानीय तहहरुले आइसोलेसनतिर ध्यान दिनु पर्दछ । आइसोलेसन र क्वारेन्टाइनमा फरक छ । किनभने, कोभिड–१९ पोजेटिभ देखियो भन्दैमा अस्पताल ल्याउनु पर्दैन । हामीले हिजोको पाठ सिकेर आजबाटै नीति बनाउनुपर्छ, जसले गर्दा भोलि राम्रो होस् । नीति, विधान संविधान अवस्थाअनुसार व्यवस्था गरिएको हो । कोभिड–१९ संक्रमितकै लागि छुट्याइएको शैय्या कोभिड–१९ को कुनै लक्षण पनि नभएको बिरामी बसेर अर्को थप उपचारको संक्रमितलाई अस्पताल भर्ना गर्नुपर्नेछ भने त्यसले ठाउँ नपाउने अवस्था छ । जस्तै : सेती अस्पतालमा ठाउँ नहुँदा महाकालीमा पठायौं, टिकापुरमा १२ शैय्या थियो त्यो पनि भरियो । प्रदेशमा भएका अस्पतालहरुले क्षमताअनुसार शैय्याहरु छुट्याएका छन् ।

लक्षणबिहीनलाई अस्पतालको आइसोलेसनमा राख्दा समस्या हुने देखियो होइन त ?
कुनै पनि लक्षण नभएको, उपचार आवश्यक नभएको संक्रमितलाई अस्पतालको आइसोलेसनमा भर्ना गरियो । अब त्यस्ता व्यक्तिलाई अस्पताल ल्याउन बन्द गर्नुपर्छ । क्वारेन्टाइनको नियम पूरा गरिसकेपछि विस्तारै मान्छेहरुलाई घर पठाउँदै नेपाल सरकारले बनाएको होम क्वारेन्टाइनको नियम पालना गर्नु पर्दछ । उपचार आवश्यक पर्ने बिरामीलाई अस्पताल ल्याउने नेपाल सरकार मार्गनिर्देशन जारी गरेको छ । यो मार्ग निर्देशनलाई यो प्रदेशमा पनि कार्यान्वय गरिनेछ ।

सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको उपलब्धता कस्तो छ ?
म स्वास्थ्य निर्देशकका रुपमा काम गरिरहेको छु । प्रदेश आपूर्तिको जिम्मेवारी पनि दिइएको छ । क्वारेन्टाइनस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्स हुनुपर्दछ । सरकारले बनाएको निर्देशिकाअनुसार क्वारेन्टाइनस्थलमा मेडिकल अफिसर राख्नुपर्ने भनिएतापनि गाउँमा हेल्थ असिष्टेन्ट पनि मिनी एमबीबीएस नै हो, त्यो जिम्मेवारी दिनुपर्दछ । उपलब्ध स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनस्थलमा सामान्य चेकजाँचको गरेर जानकारी गराउने हो । यस्तो अवस्थामा सम्पूर्ण तहका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनदेखि आइसोलेसनमा खटाउनुपर्छ ।

८८ वटै स्थानीय तहहरुमा मोटरबाटो नपुगेकाले सबै ठाउँमा एम्बुलेन्सहरु छैनन् । केही एम्बुलेन्सहरु विगतमा केही दातृ निकायहरु र मन्त्रालयले पनि खरिद गरेको विभिन्न स्वास्थ्य संस्थामा छन् । मन्त्रायले खरिद गरेका एम्बुलेन्स संक्रमितका लागि उपयुक्त छन् । सबै क्वारेन्टाइनसम्म मोटरबाटो नपुगेकाले स्थानीय तहहरुले प्रयास गरिरहेका छन् ।

लकडाउनपछि सुदूरपश्चिमका नाकाबाट मात्रै ७० हजार मान्छेहरु भित्रिएका छन् । भारतमा कोरोनाको जोखिम बढेपछि नेपालतर्फका नाका खोल्ने निर्णयमा सरकार चुकेकै हो त ?
कोरोनाका जोखिम बढेपछि नेपाल, भारतलगायतका देशहरुले लकडाउन सुरु गरे । त्यतिबेला भारतको थोरै ठाउँ मात्र प्रभावित भएका थिए । तर, भारतमा सबै राज्यमा पनि लकडाउन भइसकेको थियो । नेपालका सीमा नाका पनि बन्द भइसकेका थिए । कोरोनाबाट त्रसित भएर धेरै मान्छेहरु गलत बाटो तथा पौडिएर पनि नेपाल प्रवेश गरे । उनीहरु पनि कोरोनाको जोखिम ठाउँबाट आउँदै गर्दा हामीलाई जोखिमा नै पारेको थियो । पछि जब सीमा नाका खुलाउने निर्णय गरेपछि नेपाली नेपाल ल्यायो र भारतका नागरिक पनि फिर्ता गए । भारतीय नागरिक त्यति जोखिम भएको थिएन । नेपाल आएका ७० प्रतिशत नागरकिहरु कोरोना संक्रमण भएको ठाउँबाट आएकाले तिनीहरुमा पनि संक्रमण जोखिम भएकाले स्वास्थ्य क्षेत्रमा चुनौती देखा परेको छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ