२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारक्रिटिकल केयर युनिटबाट : कोरोनाका सिरियस बिरामीको जीवन बचाउँदा

क्रिटिकल केयर युनिटबाट : कोरोनाका सिरियस बिरामीको जीवन बचाउँदा


सघन उपचार केन्द्र (आईसीयु)को विशेषज्ञ भएकाले विश्वमा कोभिड—१९ को संक्रमण फैलिन थालेदेखि नै मनमा एक दृढता थियो । लाग्थ्यो—मैले कुनै दिन यसको रोकथाम होइन्, उपचारमा संलग्न हुनुपर्छ । त्यसकारण संक्रमित मुलुकहरुका स्थापित अस्पतालहरुमा विशेषज्ञले कसरी उपचार गरिरहेका छन् भन्ने कुरा मैले भेटेसम्म अध्ययन गर्थे । धेरैभन्दा धेरै जानकारी हासिल गर्ने भोक हुन्थ्यो ।

नभन्दैं नेपालमा पनि कोभिड—१९ को संक्रमण विस्तारै बढ्न थाल्यो । लक्षणमुक्त बिरामीहरु बुटवलमै बढी देखिन थाले । क्रिमसन अस्पतालमा भेन्टिलेटरमा भएका गुल्मीका बिरामीमा कोरोना पोजेटिभ आएपछि सरकारी अस्पतालको आईसीयुमा सार्ने कुरा चल्यो । त्यो सुनेपछि नै मानसिक रुपमा म भेन्टीलेटरमा कोभिड—१९ पोजेटिभहरुको उपचार गर्न तयार हुँदैं गएको थिए । मन बलियो बनाउँदैं गए, आत्मविश्वास बढ्दैं गयो ।

तर, घटना योजनावद्ध रुपमा घट्दो रहेनछ । घटनाको विशेषता नै आकस्मिकता हुँदो रहेछ । जसबसम्म आउँछ, आकस्मिक रुपमा केही मिनेटभित्र आफू तयारी भएर उपचारमा संलग्न भैसक्नुपर्ने रहेछ । बुधबारको दिन अर्थात १४ जेठ ठ्याक्कै त्यस्तै भयो ।

विहान करिब ९ बजेको थियो । डा. सुदर्शन थापा दाइको फोन आयो । भन्नुभयो, ‘डा. समिर एउटा बिरामी सिरियस अवस्थामा हाम्रो कोरोना विशेष अस्पतालको आईसीयुमा पुग्दै हुनुहुन्छ । तिमी पनि त्यहाँ तुरुन्तै पुगिहाल्नुपर्‍यो ।’

‘हुन्छ दाइ म ५ मिनेटमैं पुगिहाले,’ मैले यति भन्दैं फोन राखे । हतार—हतार तयार भए । घरमा म कोरोनाको बिरामी सिरियस भएर कोरोना आईसीयुमा जान लागेको भन्दैं निस्किए । त्यो यति हतारको क्षण थियो कि मैले परिवारका सदस्यहरुको अनुहारमा मेरो जानकारीले पारेको प्रभाव समेत हेर्न भ्याइन् ।

घरबाट गाडी निकाले । सडकमा जब एक्लै गाडी चलाउँदै थिए । मनमा अलिअलि डर पनि लागेको थियो । नेपालमै सायद पहिलो पटक कोभिड—१९ पोजेटिभ बिरामीलाई इन्टुबेसन गरी भेन्टिलेटरमा राख्नुपर्ने थियो । इन्टुबेट गर्नुपर्‍यो भने कतै आफैलाई कोरोना सर्ने त होइन भन्ने भय पनि मनमा उत्पन्न भयो ।

म त्यहाँ पुग्दा डा. दिनेश गौतमलगायतको टिमले बिरामीलाई आफै बोकेर आईसीयु कक्षभित्र लिएर जाँदैं हुनुहुन्थ्यो । त्यो दृश्य देखेपछि मेरो मनमा हुडुलिरहेको डर र भय गायब भैसकेको थियो ।

कपिलवस्तु तौलिहवाको क्वारेन्टाइनबाट आएका २२ वर्षीय बिरामी भाइ हाम्रो आईसीयुका लागि पहिलो बिरामी थिए । हुन त हामीले ती बिरामी आउनुभन्दा अगाडि पटक—पटक अस्पताल र आईसीयुमा गएर बिरामी आयो भने के गर्ने ? भन्ने रिहर्सल गरेका थियौं । सामानहरु सबै तयारी अवस्थामा राखेका थियौं । तर, रिहर्सल र यथार्थ फरक कुरा रहेछन् । हाम्रो आईसीयुको पहिलो बिरामी अति सिरियस भएकोले होला हामी अलिकलि हडबडाएका थियौं । अहिले लाग्छ, त्यो स्वभाविक नै थियो ।

सहकर्मीहरु कोही बिरामीलाई मोटिनर जोड्दैं थिए त कोही अक्सिजन लगाउनमा व्यस्त हुनुहुन्थ्यो । म पनि हतार—हतार व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगाएर आईसीयु कक्षभित्र गए । हुनत पीपीई लगाउन धेरै पटक प्रयाक्टिस गरेका थियौं । तर, त्यो बेला बिरामीको अवस्था देख्दा मैले ‘पर्पर’ तरिकाले पीपीई त्यति छिटो कसरी लगाएर र आईसीयुमा छिरे थाहा नै पाइन ।

म आईसीयु भित्र छिर्दा बिरामी एकदमै गाह्रोसँग श्वास फेरिरहेका थिए । अक्सीजन ‘हाई फ्लो’मा लगाउँदा पनि बिरामीको अक्सिजनको मात्रा ७० प्रतिशत मात्र थियो । बिरामीको विपी सुनिएकै नै थिएन । बिरामीलाई औषधी दिन भेन ओपन ग¥यौं साथै बिरामीको कन्सीयस लेभल नाजुक भएको हुँदा इन्टुबेसन गर्न तयार भयौं । पहिले कहिले पनि पीपीई लगाएर काम गर्ने बानी नभएकाले होला काम गर्न हामीलाई एकदमै गाह्रो महसुस भैरहेको थियो । भाइजर भरी वाफ आएको हुनाले झन भिजिबिलिटी नै गाह्रो हुने रहेछ । तर पनि हामी बिरामीलाई जसरी पनि बचाउनु पर्छ भन्ने उद्देश्यले डटिरह्यौं । बिरामीलाई इन्टुबेट गरेर भेन्टिलेटरमा जोड्न सफल भयौं ।

बिरामीको रक्तचाप बढाउने औषधीलगायतका सबै औषधीहरु चलाउन सुरु गर्‍यौं । रक्तचाप विस्तारै बढ्न थाल्यो । झण्डै चार घण्टापछि बिरामीको अवस्था अलि स्थिर भयो । म बाहिर निस्किए । चार घण्टा पीपीई लगाएर बस्दा त साह्रै गाह्रो हुने रहेछ । तर पनि मनमा बिरामीलाई जसरी पनि बचाउनुपर्छ भन्ने दृढ चाहना थियो । सबैजना स्टाफहरुमा पनि हाम्रो मेहनत देखेर हौसला बढेको थियो । त्यो बेला हामी आईसीयुभित्र रहेका ५ जनामा नै कोरोनाको डर भागेको मैले महसुस गरे ।

भेन्टीलेटरमा त राखियो । तर, कोरोना अस्पतालबाट फोन बज्ने बितिकै जतिबेला पनि मुटुको ढुकढुकी बढ्दो रहेछ । पक्कै त्यही बिरामीलाई नै गाह्रो भयो होलाजस्तो लाग्ने । फोन उठाएपछि अरु नै कामले रैछ भने मन ढुक्क हुने । तर पनि त्यो बिरामीको बारेमा सोचेर पल—पल अवस्था बुझ्न मन लाग्ने रहेछ । अब मेरो सपना नै त्यो बिरामीलाई कृत्रिम श्वास फेराई (भेन्टीलेटर)बाट जतिसक्दो छिटो बाहिर निकाल्ने हुन थालेको थियो ।

भगवानको कृपा र हाम्रो टिमको मेहनतले गर्दा बिरामीको अवस्था क्रमसः सुधार हुँदैं गयो । र, तीन दिनपछि हामीले ती बिरामीलाई भेन्टीलेटरबाट बाहिर निकाल्न सफल भयौं । बिरामीले आफै श्वास लिन सकेको र हामीले भनेको कुराहरु गर्न सकेको देख्दा मलाई साह्रै आनन्द महसुस भयो । आज (शुक्रबार) १६ दिनका दिन ती बिरामी भाइ हँसिलो अनुहार लिएर अस्पतालबाट घर जाँदैं गरेको दृश्य देख्दा मन प्रफुल्लित भयो । खुशी, उत्तेजना र गौरव सबै एकैसाथ प्रस्फुटन भयो ।

उपचारमा संलग्न भएको दिनदेखि अहिलेसम्म परिवारको साथमा नबसेका हामी अस्पतालका कर्मचारी आफैमा छुट्टै परिवारजस्तै भइसकेका थियौं । यही परिवारबीच एक बिरामीलाई जीवन दिलाउन सकेको खुशी साट्यौं । आज यो लेखमार्फत पनि म उहाँहरुसँग खुशी साट्न चाहन्छु ।

कोभिड—१९ जस्तो संक्रमित रोगमा पनि होसियारीपूर्वक हिम्मतका साथ यस्ता बिरामीहरुको समयमै उपचार गरेमा निको गराउन सकिन्छ भन्ने विश्वास हाम्रो टिममा बढेको छ । यसरी नै सम्पूर्ण स्वास्थ्यकर्मीलाई टिम स्प्रीटमा काम गर्न अनुरोध गर्न चाहन्छु । अहिले एउटा बिरामीलाई निको पार्न सकेको एक चिकित्सकका नाताले यो खुसी अनवरत रुपमा फ्रन्टलाइनमा खटिरहेका चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीमा बाँडन चाहन्छु ।

(डा. आचार्य बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत छन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ