×
२०७७ साउन २२, बिहीबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअन्तर्वार्ता / विचारकर्णाली प्रदेशका सामाजिक विकासमन्त्री भन्छन्, ‘सरकारको पहिलो प्राथामिकता स्वास्थ्य परेको छ’

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री भन्छन्, ‘सरकारको पहिलो प्राथामिकता स्वास्थ्य परेको छ’


दल रावल कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री हुन् । कोभिड—१९ संक्रमण कर्णाली प्रदेशमा अन्य प्रदेशको तुलनामा पछि मात्रै देखिएको हो । तर, पछिल्लो समय कर्णालीमा कोभिड—१९ संक्रमितको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । सामाजिक विकास मन्त्री रावलसँग कर्णालीमा कोभिड—१९ को अवस्था, परीक्षण, व्यवस्थापनमा देखिएका समस्या, स्वास्थ्य अवस्था, बजेटलगायतका यावत विषयमा केन्द्रित रहेर हेल्थ आवाजका लागि चन्द्रा कँडेलले गरेको कुराकानीः

कोरोना भाइरस नियन्त्रणमा कर्णालीमा प्रदेशमा कसरी काम भैरहेको छ ?
कोरोना भाइरस नयाँ रोग हो । अहिले संसार यसको ठूलो चुनौतीसँग जुधिरहेको छ । कर्णाली प्रदेश पनि स्वास्थ्य संरचनाका हिसाबले निकै कमजोर प्रदेश हो । स्वास्थ्य जनशक्ति पनि अत्यन्तै अभाव भएको ठाउँमा हामीले जे जति गर्न सक्यौं । त्यो उल्लेखनीय काम गरेउ भनेर त म भन्दिनँ तर निकै ठूलो प्रयत्न गरेकोजस्तो मलाई लाग्छ ।

हामीले कोरोना भाइरस नियन्त्रण तथा रोगथामका लागि ९ फागुनमा बैठक बसेर छलफल गर्‍यौं । फागुन २३ गतेको क्याबिनेटबाट सबै स्थानीय तहसँग समन्वय गर्ने, रकम पठाउने, क्वारेन्टाइन व्यवस्थापनको तयारीदेखि लिएर जिल्ला अस्पतालहरुमा आइसोलेसन व्यवस्थापन गर्ने तयारी गर्‍यौं ।

अन्य तयारीहरु कसरी अगाडि बढे ?
प्रदेश अस्पताल सुर्खेत, जुम्लाको स्वास्थ्य विज्ञान प्रतिष्ठान र चौजहारी अस्पताललाई कोभिड—१९ स्पेशल हस्पिटलको रुपमा तोक्ने काम गर्‍यौं । यसका साथै जिल्ला अस्पतालहरुमा ५ देखि १० वटा आइसोलेसन बेडहरु तयार पार्न निकै ठूलो प्रयत्न गर्‍यौैं । यो देशमा सबैभन्दा अगाडि सीमा नाकाहरुमा हेल्थ डेस्क राखेर स्वास्थ्य परीक्षणको दायरा फराकिलो हामीले नै बनाएका हौं ।

त्यस्तै प्रदेशका ७ सय १८ वटै वडामा पुगेर स्याम्पल संकलन गरेर टेष्ट गर्‍यौं । चैतभन्दा अगाडि भारतलगायत तेस्रो मुलुकबाट आउनुभएका दाजुभाइको स्वास्थ्य परीक्षण पनि गर्‍यौं । जसले गर्दा कर्णाली निकै लामो समयसम्म ‘ग्रीनजोन’का रुपमा राख्न सफल भएका थियौं ।

तर, त्यो लामो समय किन टिकाउन सकिएन ?
भारतमा लकडाउन खुकुलो भयो, रेलसेवा संचालनमा आएपछि सोचेभन्दा पनि धेरै संख्यामा नागरिकहरु स्वदेश आउनुभयो धेरै समय सीमा नाकाहरुमा रोकिनुपर्ने बाध्यता पनि भयो । रेलमा र गाडीमा आउँदा हुलमुलको अवस्था थियो । त्यसैले उतैबाट संक्रमित भएर आएको हुँदा हामीले सावधानी अपनाउँदा—अपनाउँदैं पनि संक्रमितको संख्या बढ्दैं गयो ।

विशेषगरी सुर्खेत, दैलेख र सल्यानका नागरिकहरु निकै धेरै संख्यामा आउनुभयो । जेठपछि मात्र करिब ४४ हजार नागरिक कर्णालीमा आइसक्नुभएको छ । त्यहीअनुसार संक्रमितको संख्या पनि बढिरहेको छ । तर, हामीले परीक्षणको दायरा बढाउने, पिसिआर टेष्ट गर्ने, आरडिटी टेष्ट गर्ने र एउटा मापदण्ड बनाएर स्वास्थ्यकर्मी परिचालन गर्ने, अस्पतालहरुको स्तरोन्नती गर्न निकै खटेर लागिरहेका छौं ।

कोभिड—१९ नियन्त्रण कसरी प्रभावकारी बनाउन सकिन्छ ?
पैसा र स्वास्थ्य सेवाले मात्रभन्दा पनि प्रत्येक नागरिकको आत्मअनुशासनबाट नियन्त्रण प्रभावकारी बनाउन सकिन्छ । यो रोगको फैलावट रोक्न आत्मअनुशानबाट सबैभन्दा सहज उपाय हो । हामी सबै अनुशासित भएर स्वास्थ्य मापदण्डमा बस्न सक्यौं भने यो रोग हामी नियन्त्रण गर्न सक्छौं ।

क्वारेन्टाइन र आइसोलेसनहरुको अवस्था के छ ?
हामीले ५ असारसम्म १ हजार ३४ स्थानमा ४४ हजार ८ सय २९ वेड संख्याको क्यारेन्टाइन निर्माण गरेका छौं । क्वारेन्टाइनमा २१ हजार १ सय सात जना बसिरहनुभएको छ । त्यस्तै प्रदेशभर आइसोलेसन वेड १४ सय छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसन वेड १ सय २० थियो, अब त्यसलाई बढाएर २ सय पुर्‍याउने योजनामा छौं । प्रदेश अस्पताल सुर्खेतमा १ सय थियो, अबको दुई हप्ताभित्र बढाएर ३ सय पुर्‍याउने तयारीमा छौं । त्यस्तै प्रत्येक जिल्ला अस्पताललाई ५० देखि १०० आइसोलेसन वेड तयार पार्दैछौं । यतिमात्र नभएर प्रदेशभरका २४ वटा स्थानीय रणनीतिक अस्पतालहरुमा ५०/५० वेडका दरले आइसोलेसन वेड तयार गर्ने गरी निर्णय गरेर पठाइसकेका छौं । अब हामी करिब २५ सय आइसोलेसन बेड तयार पार्नुपर्छ भन्ने तरिकाले लागेका छौ र १४ सय बनिसकेको छ ।

कोभिड—१९ का क्रिटिकल बिरामीहरुका लागि आवश्यक पर्ने आईसीयु र भेन्टिलेटरको अवस्था के छ ?
अहिलेसम्म प्रदेश अस्पताल सुर्खेत र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरेर आईसीयुको संख्या ४० र १७ वटा भेन्टिलेटर तयारी अवस्थामा छन । यसलाई पनि बढाउनको लागि टेन्डर भइसकेको छ । प्रत्येक जिल्ला अस्पतालमा ५ वटा आईसीयु र एउटा भेन्टिलेटर तयार पार्ने गरी काम अगाडि बढेको छ । साउनपछि थप ५ वटा आईसीयु र दुईटा भेन्टिलेटर तयार पार्ने लक्ष्य रहेको छ । भाग्यले अहिलेसम्म हामीले प्रयोग गर्नुपर्ने अवस्था आएको छैन । अहिलेसम्म ५ सय बढी संक्रमित निको भएर घर फर्किसक्नु भएको छ भने सात सय बढी आइसोलेसनमा हुनुहुन्छ । चिकित्सकका अनुसार उहाँको अवस्था पनि अत्यन्तै राम्रै छ, उहाँहरुलाई कुनै लक्षण देखिएको छैन ।

कर्णालीमा स्वास्थ्य जनशक्तिको अवस्था कस्तो छ ? कति जनशक्ति हुनुहुन्छ ?
अहिलेसम्म प्रदेशभर करिब ३३ सयको हाराहारीमा स्वास्थ्य जनशक्ति हुनुहुन्छ । जसमध्ये १ सय २७ जना चिकित्सक रहनुभएको छ । कतिपय ठाउँमा मेडिकल अफिसरसमेत खटाउन नसकेर पारामेडिक्स, स्टाफ नर्सहरु खटाइएको अवस्था छ । अझै नपुगेर भोलेन्टिएर संस्थाहरुले केही स्वास्थ्यकर्मीको व्यवस्था गरिदिनुभएको छ । कर्णाली प्रदेशमा अझै पनि स्वास्थ्यकर्मीको अभाव छ । पूर्तिका लागि संघीय सरकारलाई अनुरोध पनि गरेका छांै । यति भएन भने साउन सुरु भएसँगै स्थायी करारमा विज्ञापन गरेर भर्ना लिने तयारीमा छौं ।

क्वारेन्टाइनबाट घर पर्किसकेपछि मृत्यु हुने र मृत्यु पछिमात्र पिसिआर टेष्ट गर्दा संक्रमण पुष्टि हुने गरेको देखिन्छ ? यस्तो अवस्था किन देखिएको हो ?
दुर्भाग्य नै भन्नुपर्छ, चार जनाको कोरोनाका कारण मृत्यु भयो । त्यो हाम्रो लागि दुर्भाग्य हो । मृत्यु पहिले कोरोना पुष्टि हुन पाएको भए ‘क्रिटिकल केयर’ गर्ने हस्पिटलमा ल्याएर उपचार गर्न सक्थ्यौं । आरडिटी गर्दा नेगेटिभ देखिने घर फर्किएपछि एक्कासी मृत्यु हुने अथवा त्यस्तो कुनै लक्षण नदेखिएरै मृत्य हुने र पछि पिसिआर परिक्षणमा पोजेटिभ देखिने देशभरकै अवस्था त्यस्तै छ । त्यसैले १४ दिन क्यारेन्टाइनमा राखेर आरडिटि टेष्ट गर्ने र नेगेटिभ देखिएपनि जटिल खालका बिरामी, दीर्घ रोगका बिरामी, वृद्धवृद्धाहरु र भर्गवती आमाहरुको पिसिआर जाँच गरेर मात्र छोड्ने गरेका छौं ।

आइसोलेसनमा बसेकामा कुनै लक्षण नदेदिएकाहरुको १४ दिनमा पिसिआर गर्ने र नेगेटिभ देखिएपनि पुनः १९ दिनमा टेष्ट गरेर मात्र घर पठाउने व्यवस्था मिलाएका छौं । प्रदेश अस्पताल सुर्खेतमा एउटा सानो र एउटा ठूलो मेसिन, जुम्लाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठूलो मेसिन २४ घण्टा चलाएका छांै । दैलेखको नारायण नगरपालिकाकोे पहलमा थप एउटा पिसिआर मेसिन पालिकामा पुगिसकेको छ भने चौरजहारीले खरिदका लागि नोटिस गरेको छ । प्रदेश अस्पतालमा पनि मेसिन थप गर्न टेन्डर भइसकेको छ ।

पिसिआर परीक्षणलाई फराकिलो बनाउने लक्ष्य पूरा गर्न अबको एक हप्तापछि प्रदेशमा साना ठूला ६ वटा मेसिन चल्छन् । पिसिआर नै भरपर्दो भएकाले यसैलाई प्राथामिकता दिने प्रदेश सरकारको लक्ष्य छ ।

कर्णालीको समग्र स्वास्थ्य अवस्थालाई कसरी हेर्नुहुन्छ ?
कर्णाली सबै हिसाबले र खासगरी स्वाथ्य सेवाका हिसाबले निकै पछाडि थियो । धेरै पटक विभिन्न महामारीसँग पनि जुध्दै आएको हो । अहिले पनि विभिन्न महामारी झेल्नुपरेको अवस्था छ । तर, हिजोका दिनभन्दा आजको कर्णालीको स्वास्थ्य सुचांक हेर्ने हो भने मातृ तथा बाल मृत्युदर घटेको अवस्था छ । हैजा, झाडापखालाजस्ता रोगबाट मृत्यु हुनेको संख्या पनि निकै घटेको छ । एकजना सुत्केरी आमाले पाउनुपर्ने प्रजनन अधिकार गुमाउनुपर्ने अवस्था थियो । अहिले हामीले राज्यको खर्चमा दुर्गम ठाउँबाट पनि गर्भवती तथा सुत्केरी आमाहरुको ज्यान जोगाउने रणनीति बनाएका छौं । त्यसले गर्दा पनि मातृ तथा बाल मृत्युदर घटेको अवस्था हो ।

तर, अहिले विशेषगरी हामी कोभिड—१९ मा नियन्त्रणमा फोकस भएकाले अन्य बिरामीलाई समस्या आउन सक्ने कुरामा पनि प्रदेश सरकार सचेत छ । अन्य स्वास्थ्य सेवाका लागि पनि उचित प्रबन्ध गरेका छौं । योसँगै आउँदो आर्थिक वर्षभित्रै जिल्लाका अस्पतालहरुलाई साधनस्रोत सम्पन्न बनाउँदैछौं । जसले गर्दा कर्णालीका जनताले सहजै स्वास्थ्य सुविधा लिनसक्ने अपेक्षा राखेका छौं । सबै खालको स्वास्थ्य परीक्षणको दायरालाई बढाउँदै लगेका छौं । हिजोभन्दा आज कर्णालीमा स्वास्थ्य सुविधा राम्रोे छ तर यतिमात्र काफी छैन । फेरि पनि रणनीतिक रुपमा थप्न जरुरी छ । स्वास्थ्यका नीति तथा कानुनलाई पनि छिटो रुपमा अगाडि बढाएका छौं ।

स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले बजेट गरेको सम्बोधन वैज्ञानिक छ ?
भर्खरै मात्र प्रस्तुत बजेटमा पनि रोग, भोक र रोजगारी तीन वटा कुरालाई प्राथामिकतामा पारेका छौं । अरु सबै खालका रोग र विशेषगरी कोभिड—१९ निर्मुलनको लागि करिब डेढ अर्ब जति बजेट राखेका छुट्याएका छौं । हाम्रो मन्त्रालयले पनि ७१ प्रतिशत बजेट स्वास्थ्यमा राखेको छ । अहिलेको अवस्था र भविष्यको प्रभावका हिसाबले पनि यो बजेट राखेका हौं । प्रदेश सरकरको पहिलो प्राथामिकतामा स्वास्थ्य नै परेको छ ।

भारतलगायत तेस्रो मुलुकबाट आउने सम्भावित नागरिकको तथ्यांक पहिले प्रदेश सरकारले गरेको अनुमानभन्दा निकै फरक देखियो । किन ?
हो, एकदमै हामीले गरेको अनुमानभन्दा ठ्याक्कै उल्टो भयो । वास्तविक के थियो भने दुई वटा सरकार भारत सरकार र नेपाल सरकारबीच जुन देशका नागरिक जहाँ छन्, त्यही देशले राहात तथा उद्धारको काम गर्ने र उनीहरुको केयर गर्ने भन्ने एउटा निर्णय भएको थियो । त्यो भयो भने सिजनअनुसार काम गर्न जाने मानिसहरु २४/२५ हजारको हाराहारीमा फर्किनुहुन्छ, जो लामो समय उतै बस्ने मानिसहरु फर्किनुहुन्न भन्ने हाम्रो सोच थियो । तर, भारतमा धेरै संक्रमण बढ्न थालेपछि अन्तिममा मान्छेले आफ्नो जन्मथलो, आफ्नो घर नै सम्झिइदो रहेछ । आफ्नै माटोमा जाउ भन्ने भावनात्मक सोच हुने रहेछ । त्यही भएर जब भारतमा लकडाउन खुकुलो भयो, रेलसेवा सुरु भयो, सबै नागरिक स्वदेश फर्कन थाले । त्यही भएर कर्णालीमा पनि हामीले आँकलन गरेको भन्दा ठूलो जनसंख्यामा दाजुभाइहरु आउनुभयो । हाम्रो अनुमानभन्दा झण्डै दोब्बर जनसंख्या स्वदेश फर्कियो । अझै ८६ हजारदेखि १ लाखसम्म आउन सक्ने अनुमान हाम्रो छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार


तपाईको प्रतिक्रिया दिनुहोस