२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारनेपालमा प्रभावकारी खोप ब्यवस्थापन

नेपालमा प्रभावकारी खोप ब्यवस्थापन


ओम प्रसाद उपाध्यय

विश्वमा खोपको इतिहास धेरै पुरानो छ । विश्व सँगसँगै नेपालमा पनि खोपको इतिहास त्यति भर्खरको होइन । स्व जंगबहादुर राणाले थापाथली दरबार खोप लगाउन लगाएको इतिहास छ । नेपालमा २०२४ सालमा बिफर उन्मूलन आयोजना लागु भयो । सोही योजना अनुरुप २०३४ सालमा बिफर उन्मूलन भयो । यसले खोपको प्रभावकारीतालाई पुष्टी ग¥यो ।

२०३५ सालबाट नेपालमा विस्तारित खोप आयोजनाको नामबाट तीनवटा जिल्लाबाट खोप कार्यक्रम प्रारम्भ गरियो । वि.सं. २०४८ सालमा नेपालभर विस्तारित खोप कार्यक्रम सन्चालनमा आयो । हाल नेपालमा विभिन्न रोगहरु विरुद्द एघार वटा एन्टिजेन खोप प्रदान गरिन्छ ।

निकट भविष्यमै नयाँ खोपहरु पनि क्रमसः विस्तार गर्दै जाने नेपाल सरकारको कार्यक्रम रहेको छ । खोप कार्यक्रम जनस्वास्थ्यका विभिन्न कार्यक्रमहरु मध्य सबैभन्दा लागत प्रभावकारी कार्यक्रम मानिन्छ । खोप कार्यमको मुख्य उद्देश्य लक्ष्यअनुसार बालबालिका र गर्भवती आमाहरुलाई शत प्रतिशत गुणस्तरीय खोप सेवा प्रदान गर्नु नै हो । बालबालिका तथा गर्भवती महिलालाई लगाउने खोप अति संवेदनशील हुने भएकोले खोप को भन्डारण ढुवानी खोप दिने विधी स्तरीय कार्य सन्चालन विधी अनुसार हुन आवश्यक छ ।

खोप सेवाको गुणस्तरीयता कायम राख्न विश्व स्वास्थ्य संगठन, यूनिसेफले विभिन्न समयमा विभिन्न मापदन्ड बनाएर लागू गर्न सदस्य राष्ट्रलाई सुझाव दिएका छन् । नेपालले पनि विश्व स्वास्थ्य संगठन, यूनिसेफको मापदन्डलाई ब्यवहारमा अनुसरण गरेको छ । सुरुमा प्रभावकारी खोप भण्डार व्यवस्थापन (इभिएमएस) नाम दिएर दश वटा मापदन्ड कायम गरिएको थियो । तत्पश्चात खोप व्यवस्थापन (भिइम) नाम दिएर एघारवटा मापदन्ड कायम गरियो ।

हाल प्रभावकारी खोप ब्यवस्थापन प्रभावकारी खोप व्यवस्थापन (इभिएम) कार्यान्वयनमा आएको छ । यूनिसेफ र डब्लुएचओले बृहत प्रभावकारी खोप ब्यवस्थापनको अबधारणा ल्याइसकेको अवस्था छ । नेपालमा प्रभावकारी खोप ब्यवस्थापनको प्रत्यक तीन तीन वर्षमा मुल्याङकन हुने गरेको छ । प्रभावकारी खोप ब्यवस्थापनको मापदन्ड कार्यान्वयन गाभीको अनुदान पाउने एक सूचक पनि हो ।

प्रभावकारी खोप ब्यबस्थापनका ९ वटा मापदन्ड तोकिएका छन् । नेपालमा यिनै मापदन्डको आधारमा स्तरीय कार्यसन्चालन विधी तयार गरी प्रत्येक तहमा कार्यान्वयनमा ल्याइएको छ । प्रभावकारी खोप ब्यवस्थापनका मापदन्डहरु यस प्रकार छन् ।

खोप अनुगमन विधी, खोप भन्डारण तथा तापक्रम खोप भन्डारण क्षमता, भवन कोल्डचेन उपकरण र ढुवानी ब्यवस्था, कोल्डचेन उपकरण तथा ढुवानी साधनको मर्मत सम्भार, माैजुदा भन्डार ब्यवस्थापन प्रभावकारी खोप ढुवानी ब्यवस्था खोप ब्यवस्थापन विधी र स्तरीय कार्यसन्चालन विधी सहयोगी ब्यवस्थापन विधी रहेका छन् ।

नेपालमा माथिका मापदन्डअनुसार प्रत्येक तहको स्तरीय कार्य सन्चालन विधी तय गरी सबैलाई तालिम समेत प्रदान गरिसकिएको अवस्था हो । स्तरीय कार्य सन्चालन विधीलाई पुनः २०७४ मा संशोधन गरिएको हो । खोप सेवा सम्बन्धमा ब्यवस्था गर्न बनेको ऐन २०७२ को दफा ८ मा खोप मापदन्ड बमोजिम हुनुपर्ने उल्लेख छ । त्यस्तै खोप एेनको दफा १४ मा खोपको ढुवानी भन्डारण वितरण सोको लागि प्रयोग गरिने उपकरण तथा खोप प्रयोग गर्दाको अवधिसम्म कायम राख्नुपर्ने तापक्रम मन्त्रालयले तोकेको मापदन्ड बमोजिमको हुनुपर्ने छ भन्ने ब्यवस्था गरिएको छ । नेपालको बहुवर्षीय खोप कार्य योजना २०१७–२०२२ मा पनि प्रभावकारी खोप ब्यवस्थापन कार्यान्वयनलाई जोड दिइएको छ ।

नेपालमा विगतमा बाल स्वास्थ्य महाशाखाको खोप शाखाले राष्ट्रिय खोप कार्यक्रमको नीति निर्माण योजना अनुगमन मुल्याङकन सुपरिबेक्षण कार्य गर्दै आएको थियो । त्यस्तै तत्कालीन आपूर्ति ब्यवस्था महाशाखाको मातहतमा रहेको खोप तथा कोल्डचेन वितरण शाखाले खोप प्राप्ति भन्डार, वितरणलगायत प्रभावकारी खोप ब्यवस्थापन सम्बन्धी कार्य गर्दै आएको थियो ।

संविधानले परिकल्पना गरेको तीन तहको सरकारअनुसार स्वास्थ्य सेवा विभागको पुनसंरचना गर्दा महाशाखा शाखा मर्ज गर्दा साविकअनुसारको काममा तादम्यता मिलाउन गाह्रो परिरहेको अबस्था छ । वि.सं. २०३५ सालमा तीन वटा खोप एन्टिजेन सुरु गर्दा कायम भएको जनशक्तिले एघार वटा एन्टिजेन कार्यान्वयनमा ल्याउने बेला थप जनशक्ति बढाउनुपर्ने समयमा भएको दरबन्दीमा भारी कटाैतीले कार्यक्रम सन्चालन गर्न थप कठिनाइ उत्पन्न भएको अवस्था छ । संघीयताको सफल कार्यान्वयन भएको छिमेकी देश भारतमा पनि खोप ब्यवस्थापन केन्द्र सरकारको मातहतमा रहेको छ । भारतमा स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयको मातहतमा नेष्नल कोल्ड चेन एण्ड भ्याक्सिन मेनेजमेन्ट इन्फरमेसन सेन्टर रहेको छ । खोप तथा कोल्डचेन सम्बन्धी सूचना प्रवाह गर्न नेसनल नेश्नल कोल्ड चेन इन्फरमेसन सिस्टम नामक सफ्टवेयर कार्यान्वयनमा ल्याइएको छ ।

नेपालमा तीन तहको सरकार रहेको अवस्था छ । एकातिर नयाँ आउने खोपहरु अत्याधिक महंगा र जमेर बढी बिग्रने खालका आइरहेका छन । अर्कोतर्फ स्थानीय सरकारमा फ्रिज रेफ्रिजिरेटोर किन्ने होडबाजी चलेको छ । अध्ययनहरुले जिल्लातह भन्दा स्टोर सब स्टोरमा बढी भ्याक्सिन बिग्रिने देखाएको छ । यस अवस्थामा कसरी प्रभावकारी खोप ब्यवस्थापन गर्ने चुनाैतीको विषय भएको छ ।

(उपाध्यय नेपाल सरकारको खोप सुपरभाइजर अधिकृत हुन् । )


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ