२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकोरोना कहर नियन्त्रणका लागि नेपालले हिड्नुपर्ने बाटो

कोरोना कहर नियन्त्रणका लागि नेपालले हिड्नुपर्ने बाटो


राज्य र राज्य इतर पक्षबाट कोरोना विरुद्ध हालसम्म रोकथाम र नियन्त्रणमा मात्र पूराका पूरा ध्यान गयो भन्दा अत्युक्ति हुँदैन् । हुन त विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नै कोभिड विरुद्धको मुख्य रणनीति नै यही भनेको थियो । यति गर्दागर्दै पनि एक दिन भयावह स्थिती आउनेछ र प्राथमिक उपचारको लागि पनि हम्मे–हम्मे पर्छ भन्ने सोच सम्बन्धित निकायलाई नआएको त पक्कै हैन होला । तर, सो अनुसारको तयारी गर्न चुकेको कुरामा दुई मत छैन । अमेरिका, युरोपले गर्न नसकेको हामीले कसरी गरौंला भन्ने सोच हावी भएको जस्तो पनि देखिन्छ ।

अब आएर मास्क लगाऊ, भौतिक दुरी कायम गर, नियमित हात धोऊ, हात नमिलाऊ भनेर सूचना प्रचार–प्रसार गरेर मात्र पुग्दैन् । दोस्रो भागको यो लकडाउनको १ साताभित्र लक्षण नभएका कोरोना संक्रमितलाई कहाँ कसरी आइसोलेसनमा राख्ने र लक्षण देखिएका बिरामीहरुलाई कसरी सहज ढंगमा अस्पतालमा शैय्या उपलब्ध गराउने र आवश्यकताअनुसार कसरी आईसीयु र भेन्टिलेटरको माध्यमबाट उपचार गर्ने भन्ने कुराको ठोस रणनीति बनिसक्नुपर्छ । अहिले पनि चुकेको खण्डमा तयारीको अर्को मौका फेरि आउनेछैन् भन्दा अतिशयोक्ति नहोला ।

पिसिआर पोजिटिभ आएका तर लक्षण नदेखिएका व्यक्तिहरुलाई होम आइसोलेसनको कुरा आएको छ । तर, नेपालजस्तो देशको सन्दर्भमा संक्रमितको लागि छुट्टै कोठा र बाथरुमसहितको सुविस्ता कत्तिको सम्भव होला भनेर प्रश्न उठ्न थालिसकेको छ । सम्भव भएकाहरुलाई पनि उनीहरुको अवस्था बुझ्नका लागि घर–घरमा स्वास्थ्यकर्मी कसरी खटाउने, लक्षण देखिएपश्चात् सम्पर्क राख्ने निकायको जानकारी कसरी दिने, थप उपचारको लागि जान पर्ने अस्पताल र सो अस्पतालमा बेड र आईसीयुको उपलब्धता के हुनेजस्ता यावत् गम्भीर प्रश्नहरुले पनि होम आइसोलेसनको सान्दर्भिकतामा शंका गर्न सकिन्छ । होम आइसोलेसन कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको लागि उचित व्यवस्था भएपनि पिसिआर पोजिटिभ आएका व्यक्तिहरुको लागि नेपालजस्तो देशमा सही मान्न सकिन्न । तैपनि घरमा बन्दोबस्ती भएका व्यक्तिहरुलाई केही भयो भने अस्पतालमा उपचार हुने सुनिश्चिततासहित, होम आइसोलेसनमा राख्दा भने धेरै नबिग्रिएला ।

होम आइसोलेसनबारे जति बहस गरेपनि अहिलेको आवश्यकता भनेको आधारभूत सुविधासहितको आइसोलेसन सेन्टर नै हो । काठमाडौं महानगरपालिकाको १ हप्तामा ५००० वेडसहितको व्यवस्थित आइसोलेसन सेन्टर बनाउने प्रतिवद्धता आएझै देशैभरीका स्थानीय निकायहरुले यथाशक्य उचित पूर्वाधार र जनशक्तिसहितको एकीकृत आइसोलेसन सेन्टर छिटो बनाउन ढिला गर्नु हुन्न । भौतिक पूर्वाधार भएर पनि सञ्चालनमा आउन नसकेका अस्पतालहरु जस्तै जनमैत्री, महेन्द्रनारायण निधि, आर्मी भेटेरान अस्पताललगायतलाई सामान्य लक्षणसहितका कोरोना संक्रमितलाई उपचार गर्ने गरी आइसोलेसन सेन्टर बनाउन सकिन्छ ।

सरकारले हरेक निजी अस्पतालले समेत २०% बेड कोरोनाका बिरामीको लागि छुट्ट्याउनु भनेको आशय राम्रो हो । तर, ती २०% बेड कोरोना संक्रमितको लागि नभएर कोरोनाको आशंका गरिएका बिरामीहरुको लागि हुनुपर्छ । कुनै अस्पतालले कोरोनाको शंका लाग्नासाथ बिरामीलाई आफ्नो अस्पतालमा उपचार सुरु नै नगरी कोरोना हब अस्पतालमा बिरामी प्रेषण गर्ने गरिएको छ र यसरी बिरामी यता र उता चहार्दा–चहार्दै उपचार नै नपाएर ज्यानसमेत गुमाउनु परेको अवस्था छ । यो अवस्था चिर्न पनि सबै अस्पतालले कम्तिमा २०% बेड कोरोनाको शंका गरिएका बिरामीहरुको लागि राख्नुपर्छ र कोभिड पुष्टि भएपश्चात् मात्र कोभिड अस्पतालसँग समन्वय गरेर थप उपचारको लागि बिरामीलाई प्रेषण गरिनुपर्छ ।

स्थलगत, क्षेत्रगत, जनसंख्या, उपलब्धता, सुविधा, जनशक्ति आदिका आधारमा सबै अस्पताललाई कोभिड र नन कोभिड अस्पतालमा वर्गीकरण गरिनैपर्छ । यसो गर्दा कोभिडका बिरामीलाई उपचार गर्न आईसीयुसहितको थप बेड संख्या बढ्छ भने नन कोभिडका बिरामीहरुले पनि नन कोभिड अस्पतालबाट उचित उपचार पाउने सुनिश्चितता हुन्छ । निजी अस्पताललाई कोभिड अस्पताल बनाउँदा सकेसम्म आफ्नै अक्सिजन प्लान्ट भएका, आईसीयु र भेन्टिलेटरको सुविधा भएका, क्रिटिकल केयरको सेवा दिन सक्ने स्वास्थ्यकर्मीको व्यवस्था भएका अस्पताललाई प्राथमिकतामा राख्नु सान्दर्भिक देखिन्छ । आवश्यकताअनुसार कुनै मेडिकल कलेजलाई कोभिड र कुनैलाई नन कोभिड बनाउँदा कोरोना संक्रमित र अन्य रोगका बिरामी दुवै वर्गले उपचार पाउने सुनिश्चित हुन्छ । कोभिडका बिरामीहरुलाई लाग्ने सबै उपचार खर्च राज्यले व्यहोर्ने हुँदा कोभिड उपचार गर्ने निजी अस्पतालहरुलाई यो विषम परिस्थितीमा सक्दो कम शुल्कमा उपचारको व्यवस्था गरेर सामाजिक उत्तरदायित्वको भूमिका निभाउने अवसर पनि छ ।

सरकारी संयन्त्र यति नाजुक छ कि सामान्य अवस्थामा समेत बिरामीले साधारण बेड पाउन हम्मे–हम्मे हुन्छ र भएका सीमित आईसीयु बेड सधै भरिभराऊ हुने हुँदा सरकारी अस्पतालमै बिना भनसुन आईसीयु बेड पाउनु आफैमा भाग्यमानी ठान्नुपर्ने अवस्था छ । कोभिडको महामारीले राज्यलाई छोटो समयमै सरकारी संयन्त्र भित्रै सुविधा सम्पन्न राष्ट्रिय र प्रादेशिक क्रिटिकल केयर अस्पताल खडा गर्ने चुनौती आएको छ । यो कुराभन्दा र सुन्दा आनन्द लागे पनि गर्न कठिन छ । तर, राज्यले हिम्मत गरेर आँट्ने हो भने असम्भव पनि छैन । दृढ भएर लाग्ने हो भने उपत्यकाको हकमा अक्सिजन प्लान्टको पहुँच भएका, छेउमै क्रिटिकल केयरसहितका बहु विशेषज्ञतासहितको अस्पताल रहेका वीर अस्पताल पछाडिको जापान सरकारले बनाइदिएको जाइका भवन र टिचिङ अस्पताल परिसरको प्रस्तावित सुरेश वाग्ले क्यान्सर अस्पताललाई हाल कोभिडको लागि क्रिटिकल केयर अस्पताल बनाउन कठिन छैन । जनशक्तिको सन्दर्भमा उपलब्ध सिमित क्रिटिकल केयर स्पेसलिस्टहरुबाट अन्य चिकित्सकलगायतका स्वाथ्यकर्मीलाई क्रिटिकल केयरको द्रुत तालिम दिने हो र राज्यबाट पर्याप्त व्यक्तिगत र आर्थिक सुरक्षाको प्रत्याभूति हुने हो भने आवश्यकताअनुसारका चिकित्सक र नर्स जुटाउन कठिन हुँदैन् ।

त्यसबाहेक नेपाल सरकारका क्रिटिकल केयर सम्बन्धी दक्ष स्थायी चिकित्सक र नेपाल सरकारबाट छात्रवृत्तिमा स्नातकोत्तर गरेका चिकित्सकहरुको सहयोग लिन सकिन्छ । छात्रवृत्तिमा स्नातकोत्तर गरेका चिकित्सकलाई कोभिड विरुद्ध खटिए बापत करार अवधीमा सहुलियत दिदै प्रोत्साहन गर्न पछि हट्नु हुन्न । बिग्रिएका भेन्टिलेटर राष्ट्रिय आविष्कार केन्द्रसँग मिलेर बनाउने, प्रयोग नभएका भेन्टिलेटरलाई प्रयोगमा ल्याउने र नयाँ मेसिन किन्ने तयारी गर्न पनि बिर्सनु हुँदैन ।

उपचारको हकमा अक्सिजन र डेक्सामिथासोनजस्ता औषधीको सहज र पर्याप्त उपलब्धतामा विशेष ध्यान दिनुपर्छ । विभिन्न अनुसन्धानले प्लाज्मा थेरापीको परिणाम मिश्रित देखाएको र नेपाल अनुसन्धान परिषद्ले प्लाज्माबाट गरिने उपचारबारे गरिरहेको क्लिनिकल ट्रायलको दायरा अझ फराकिलो बनाउनुपर्छ । कोभिड विरुद्धको लडाइ जितेका व्यक्तिहरुलाई आफ्नो प्लाज्मा दान गर्न हौस्याउने सन्देशहरु प्रसारित हुनुपर्छ ।

अलि प्रभावकारी देखिएको रेम्डेसेभिर भन्ने औषधीको पनि क्लिनिकल ट्रायल सुरु गरिएको सन्दर्भमा समेत अझै यो औषधीको कालो बजारी भै नै रहेको छ । सर्वसुलभ उपलब्धता नभएकोले बिरामीका आफन्तले अचाक्ली महंगोमा किनेर यो औषधी प्रयोग गरिरहनुपरेको अवस्था छ । संकट र सामान्य अवस्थामा एउटै नीति लागु हुनु हुन्न । रेम्डेसेभिर औषधीको सहज र सस्तो उपलब्धताबारे सम्बन्धित पक्षले ध्यान दिनुपर्ने देखिन्छ । यदि आयुर्वेदलगायतका वैकल्पिक चिकित्साका उपचार पद्दतीलाई समावेश गरी एकीकृत उपचार प्रणालीको विकास गर्न सकिन्छ भने यही बेला त्यो पनि गर्नबाट पछि हट्नु हुँदैन् ।

कोभिड पूरै नयाँ रोग भएकोले यसको प्राकृतिक इतिहास कसैलाई थाहा छैन । यो रोग कसरी सकिन्छ अनुमान लगाउन कठिन छ । तर, विगतका विश्वव्यापी रुपमा फैलिएका यस्तै अन्य महामारीबाट शिक्षा लिने हो भने कोभिडको कहर कम हुन कि त हर्ड इम्युनिटीमा जानुपर्छ कि यो भाइरसले आफ्नो रुप फेरेर कमजोर प्रकृतिको भाइरसमा म्युटेसन हुनुपर्छ । कि प्रभावशाली भ्याक्सिन पत्ता लगाएर यसको द्रुत र सहज विश्वव्यापीकरण हुनुपर्छ । सन् १९१८ मा स्पेनिस फ्लुको महामारी हर्ड इम्युनिटी पश्चात कम भएको थियो । हाल रसियाले बनाएको भनेर दाबी गरेको भ्याक्सिन पनि विवादित नै छ तर अपेक्षा गरौं सो भ्याक्सिन प्रभावकारी हुनेछ । अथवा अरु कुनै ल्याबमा कोभिड विरुद्धको भ्याक्सिन छिटो पत्ता लगाइने छ ।

उपचार व्यवस्था र उपचार पद्दतीको विकास गर्दैगर्दा कोभिड रोकथामको लागि गरिनुपर्ने प्रक्रियाहरुलाई सबैले जीवनको एउटा अभिन्न बानी बनाउनुपर्छ भने नेपाल भारतको खुल्ला सीमानाबाट हुने आवतजावतलाई वैज्ञानिक किसिमले नियन्त्रण गर्न पनि उत्तिकै आवश्यक छ । कोभिड अहिले आएर एउटा भयावह महामारी मात्र नभएर कुटिल राजनैतिक मुद्दा पनि भएको छ । तसर्थ, रोकथाम, नियन्त्रण र उपचारमा यस कोभिड कहरलाई थप राजनीतिकरण गर्ने त्रुटि सच्याउँदैं सबै राजनैतिक दल र सम्बन्धित नेताज्यूहरु सत्तापक्ष र प्रतिपक्ष नभनी एक ठाउँमा उभिएर कोभिड विरुद्ध सबै एक रहेको सन्देश दिनु जरुरी छ ।

आफ्नै मानसिक र भौतिक स्वास्थ्यका प्रतिकूल अवस्थाका बावजुद स्वास्थ्यकर्मीहरु भित्री पेशागत मनोबलले गर्दा मात्र कोभिड विरुद्ध लडिरहेको अवस्था छ । राज्यपक्षबाट स्वास्थकर्मीलाई प्रोत्साहित गर्न यथेस्ट गुणस्तरीय व्यक्तिगत सुरक्षा सामग्री र जोखिम भत्ता वितरण हुनैपर्छ । सबै स्वास्थ्यकर्मीको कम्तीमा १ करोडको कोभिडको जीवन बिमा गरिनुपर्छ । एउटा स्वास्थ्यकर्मी बचाउन सकियो भने सयौं अन्य बिरामी बचाउन सकिने हुँदा कोभिड संक्रमित स्वास्थ्यकर्मीको लागि अलग्गै आईसीयुसहितको उपचार कक्षको व्यवस्था गरिनु उचित देखिन्छ ।

यो गर्नुपर्छ, त्यो गर्नुपर्छ धेरैलाई अवगत छ । तर, सोचलाई कार्यान्वयनमा ल्याउन धेरै चुनौती अवश्य हुन्छन् । राज्यले गर्ने भनेर निर्णय लिएका कामहरु पनि कि सुरु नै हुँदनैन् यदि सुरु भयो भने कहिले सकिने टुंगो हुँदैन । कोभिडमा यही परिणती दोहोरिन नदिन हरेक कामका लागि मन्त्रालयका कर्मचारी बाहेकका पनि सक्रिय र फिल्डमै खट्न सक्ने व्यक्तिहरु सम्मिलित विभिन्न समिती बनाइनु सान्दर्भिक देखिन्छ । महासंकटले असाधारण कामहरुको सुत्र दिन्छ भनिन्छ । अहिले सारा संसारसँगै नेपाल पनि संकटमा रहेको तथ्यसँगै असाधारण काम गर्ने चुनौती र अवसर दुइटै छ । कोभिड विरुद्ध अग्रपंक्तिमा खटिने सबै योद्धाहरुलाई र नीति नियम बनाउने ठाउँमा हुनुभएका व्यक्तित्वहरु सबैलाई शुभकामना । हामी जित्ने छौं । कोरोना भाइरस हार्नेछ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ