२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकोरोना भाइरसको अन्त्य कहिले हुन्छ ?

कोरोना भाइरसको अन्त्य कहिले हुन्छ ?


कोरोना भाइरस (कोभिड-१९) को अन्त्य दुई तरिकाले हुन सक्छ । पहिलो हर्ड इम्युनिटी डेभलपमेन्ट । हर्ड इम्युनिटी भनेको यदि कुनै समाजमा अधिकांश मानिसहरुमा कोरोनासँग लड्ने एन्टीबडी (इम्युनिटी) उत्पन्न भइसकेको छ भने त्यो समाजमा कोरोना भाइरस छिर्दैन् । यो हर्ड इम्युनिटी कुन बेला हुन सक्छ, जब त्यो समाजका अधिकांश मानिसहरु कोरोनाबाट निको भैसकेका हुन्छन् । अब यो निको हुनका लागि ८० प्रतिशत बढी मानिसहरुलाई संक्रमण हुनुपर्छ ।

र, अहिले संसारभरका वैज्ञानिकहरुले हर्ड इम्युनिटीलाई एकदमै ठूलो जोखिमको कुरा मानेका छन् । किनभने, यदि समाजका प्रत्येक व्यक्तिलाई संक्रमण भएर निको हुनेसम्म यदि सोचियो भने यसले हजारौं, लाखौं मानिसको ज्यान जान सक्छ । यदि ०.५ प्रतिशत पनि कोरोनाको जोखिमबाट मानिसको मृत्यु भयो भने पनि धेरै मानिसहरु हातहात हुन्छ ।

अर्को कुरा, एकै पटक धेरै मानिसहरुमा संक्रमण हुन थाल्यो भने उपचार नपाएर, हस्पिटलको वेड नपुगेर मान्छेहरुको मृत्यु हुने सम्भावना बढी हुन्छ । हर्ड इम्युनिटी एक हप्ता, दुई हप्ता वा एक दुई महिनामा भइहाल्ने होइन् । देशभरिकै मान्छेहरुलाई संक्रमणको प्रक्रिया लामो समयसम्म रहन्छ । पहिले यहाँ, त्यसपछि अर्को र त्यसपछि अर्को ठाउँमा । त्यसकारण हर्ड इम्युनिटी कोरोना नियन्त्रणको उपाय होइन् । यदि कोरोना नियन्त्रणका सबै उपाय फेल भयो भने यो अन्तिम उपाय हो । हर्ड इम्युनिटीले इम्युनिटी विकास हुन कम्तिमा एकदेखि दुई वर्षसम्म लाग्न सक्छ ।

संक्रमणबाट जोगिने सबैभन्दा महत्वपूर्ण तरिका भ्याक्सिनले हर्ड इम्युनिटी प्रोड्युस गर्नु हो । अहिले धेरै ठाउँमा भ्याक्सिन बनाउने प्रयत्न भैरहेको छ । यदि हामीले भ्याक्सिन प्राप्त ग¥यौ भने हाम्रो शरीरमा लामो समयसम्म र ठूलो परिणाममा एन्टीबडी हुन्छ, जसले हामीलाई कोरोनाबाट बचाउन सक्छ ।

अनुसन्धानहरुले माइल्ड र कम लक्षण भएका वा लक्षण नभएका कोभिड—१९ का बिरामीहरुको शरीरमा एन्डीबडीको मात्रा थोरै हुने र धेरै दिनसम्म नजाने ठूलो चिन्ताको विषयका रुपमा देखाएको छ । दुई तीन महिनापछि त्यस्ता व्यक्तिलाई फेरि संक्रमण हुने डर भएका कारणले संक्रमणबाट इम्युनिटी प्राप्त गर्नुभन्दा पनि भ्याक्सिनको इम्युनिटी दूरगामी र प्रभावकारी हुन सक्छ । जुन हिसाबले भ्याक्सिनहरुको सुरुवाती रिजल्टहरु आइरहेको छ, त्यसले हामीलाई चाहिएकोजस्तो इम्युनिटी दिन सक्छ भन्ने देखाउँछ । तर, यो भ्याक्सिन ठूलो र सस्तो दरमा हाम्रोजस्तो तेस्रो विश्वका गरिब देशका जनताले पाउने गरी उत्पादन गर्न समय लाग्न सक्छ । सबै जनाले भ्याक्सिन प्राप्त गर्न अर्को एकदेखि दुई वर्षसम्म लाग्न सक्छ । अहिले चर्चामा रहेका भ्याक्सिनहरु सफल भए भने एकदेखि दुई वर्षपछि मात्रै कोरोना भाइरसको अन्त्य हुन सक्छ ।

हर्ड इम्युनिटीबाहेक अर्को महत्वपूर्ण के छ भने वातावरणले नै भाइरसलाई नियन्त्रण गर्न सक्छ । इतिहास पल्टाएर हेर्ने हो भने अहिलेसम्म श्वासप्रश्वासमा असर गर्ने भाइरसहरु स्पेनिश फ्लूकै कुरा गरौं, यी भाइरसहरु बिना भ्याक्सिनको आफै वातावरणबाट लोप भए । आखिर किन लोप भए त ? गहिरिएर हेर्दा भाइरसहरुलाई वातावरणले नियन्त्रण गर्छ । धेरै वातावरणीय कुराहरुले भाइरसको जीवनचक्रलाई निर्धारण गर्छ । अहिलेसम्म इतिहासमा के देखिएको छ भने यस्ता भाइरसहरु आयो, गयो । यो आफै जान्छ । किनभने, यो भाइरस जब जनावर वा मानिसको शरीरमा प्रवेश गर्छ, त्यो व्यक्ति र जनावरलाई संक्रमण हुन्छ । र, त्यसपछि यो भाइरसले आफ्नो स्वरुप परिवर्तन गर्छ । जसलाई हामी ‘जेनेटिक ट्रान्सफर्मेसन’ भन्छौं । स्वरुप परिवर्तन गरेपछि यो भाइरस कि त बढी भाइरुलेन्स हुन्छ, कि त कम भाइरुलेन्स हुन्छ । भाइरुलेन्स भनेको यसले कति कडा र धेरैलाई संक्रमण लगाउन सक्छ, यो संक्रमण लगाउने एजेन्टको भाइरुलेन्टमा निर्भर हुन्छ । अर्कोको शरीरबाट निस्केपछि यसको भाइरुलेन्ट घट्ने सम्भावना एकदमै धेरै हुन्छ ।

इटलीमा पहिले कति धेरै मान्छेहरु संक्रमणका कारण मरे । अहिले त्यो दर कति धेरै कम भइसकेको छ । भाइरसको भाइरुलेन्ट घट्दैं जाने यो एउटा स्वभाविक प्रक्रिया हो । जब वातावरणले यसलाई नियन्त्रण गर्छ, एक समयमा यो मानिसको शरीरका लागि निस्क्रिय हुन सक्छ । हामीलाई संक्रमण नहुन सक्छ वा साधारण रुघाखोकी लागेर निको हुन सक्छौं । यसको सम्भावना पनि एकदमै उच्च छ । धेरै कुराहरु हेर्दा यो भाइरसको जीवनचक्र पनि एकदेखि दुई वर्ष हो । दुई वर्षभित्र जसरी भएपनि यो भाइरसको निर्मुल हुने सम्भावना देखिन्छ । त्यो समय घटेर एक डेढ वर्षमा पनि आउन सक्छ ।

अहिले धेरै जनाको सोच यो भाइरससँगै बसेर जाने हो, यो भाइरस हामी सबैलाई लाग्ने हो भन्ने छ । तर, यो सोच यतिबेला सही छैन । अहिले संक्रमण हुनु र एकवर्षपछि संक्रमण हुनुमा धेरै फरक छ । किनभने, फ्रेबुअरी, मार्चमा जति उपचारका पद्धतिहरु थिए, अहिले त्योभन्दा धेरै उपचारका पद्धतिहरु छन् । प्लाज्मा थेरापी, डेक्सामेथासोन, रेम्डेसिभिरजस्ता उपचार पद्धतिबाट धेरै मानिसहरुको जीवन जोगिरहेको छ । आउँदा ६ महिनामा अझ धेरै उपचारका पद्धतिहरु विकास हुनेछन् । धेरै सुविधाहरु इम्प्रुभ हुनेछन् । अर्को कुरा भाइरस पनि कमजोर हुँदै जानेछ ।

अहिले कसैलाई संक्रमण हुनु र एक वर्ष ६ महिनापछि हुनुमा जीवन र मृत्युमा धेरै गुणाको फरक पार्ने भएकाले अहिले हामी सबै धैर्यपूर्वक बस्नुपर्ने आवश्यकता छ । किनभने, प्रकृतिसँग सबै कुराको साँचो छ । प्रकृतिले सबै कुराको व्यवस्थापन गर्छ । यो कुरामा मानिसका आ—आफ्ना विश्वासहरु होलान् । तर, म प्रकृतिमा एकदमै विश्वास गर्छु । मेडिकल नलेजका आधारमा जब हेर्छु, सबै कुराको नियन्त्रण प्रकृतिमा रहेछ । हामीले आधुनिकीकरणका नाममा प्रकृतिलाई वेवास्ता गर्‍यौं, प्रकृतिलाई सखाप पार्‍यौं । हामीभन्दा अगाडिको पुस्ता प्रकृतिलाई ध्वस्त पारे, त्यसको परिणाम हाम्रो पुस्ताले भोगिरहेको छ । हामीले जंगलमा बस्ने जनावरलाई ल्याएर घरमा राख्यौं । त्यसको मासु खाने भएपछि कोरोनाजस्तो महामारी उत्पन्न नभएर के हुन्छ त ? त्यसकारण यही प्रकृतिले स्वतस्फूर्त यो भाइरसलाई नियन्त्रण गर्ने सम्भावना देखिन्छ ।

त्यसकारण के अनुरोध गर्छ चाहन्छु भने अहिले कोरोना भाइरस विस्फोटका रुपमा आइरहेको छ । यो बेला सक्दो सावधानी र सर्तकर्ता अपनाऔं । हामीले आगामी एक वर्षसम्म आफूलाई जोगाएर राख्यौं भने हामीसँग त्यतिबेलासम्म धेरै उपायहरु भैसकेका हुनेछन् । यसलाई सामान्य रुपमा नलियौं, अर्को एक दुई महिनामा यो सकिने कुरा होइन् । सबै कुरा राम्रो र सोचेकैअनुरुप रेस्पोन्स भयो भने कम्तिमा एक वर्ष कोरोना नियन्त्रण हुन लाग्छ । त्यसकारण सरकार, समाज र परिवार सबैले कम्तिमा पनि एक वर्षको योजना बनाउनुपर्छ । ‘होप फर द वेष्ट बट टेक फुल प्रिकसन्स’ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ