२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकोरोना भाइरस संक्रमणमा आयुर्वेदीय विश्लेषणात्मक दृष्टिकोण र जडिबुटीको सम्बन्ध

कोरोना भाइरस संक्रमणमा आयुर्वेदीय विश्लेषणात्मक दृष्टिकोण र जडिबुटीको सम्बन्ध


आयुर्वेद चिकित्साको मुख्य उद्देश्य शरीर निर्माणको आधारभूत स्तम्भको रुपमा रहेको धातु अर्थात् सामान्य बुझाइमा तन्तुहरुको साम्य अवस्थामा राख्नु हो । शरीरको निर्माणमा आधारभूत धातुहरु जस्तैः शरीरको जलीय तत्वहरु रगत, मासु, वोसो, हड्डी, मज्जा आदि शारीरिक अवयवहरुलाई सन्तुलित गरेर यसको कार्यमा निरन्तरता दिनु आयुर्वेदीय शास्त्रको प्रयोजन हो । (च.सू.१।५३, चक्र.)

शरीरमा यिनै सुक्ष्म रुपमा रहेको तन्तुहरुको विषमता वा सामान्य अवस्थाभन्दा बढी या घटीको अवस्थामा रोग उत्पत्तिको मुख्य कारण हुन्छ । तर, जब यो शरीरको आधारभूत धातुहरु समान रुपमा आ-आफ्नो कार्य गर्दछन् । तब स्वस्थ भएको अनुभुति हुन्छ । यो शरीरको प्राकृत अवस्था हो भने धातुहरुको विषमता रोगको उत्पत्तिको मुख्य कारण हो । धातुहरुको विषमता हुनु रोग उत्पत्तिको कारण बन्न सक्छ । तर, रोग नै भने उत्पन्न गर्छ भन्ने कदापि होइन । धातुहरु या तन्तुहरु शरीरमा परिवर्तनमय भइरहेको हुन्छ । यदि यस्तो अवस्थामा धातुको स्वरुपमा विविध कारणहरुले असर पारी घट्दो क्रम भएमा धातुमा या तन्तुको स्वरुपमा त विषमता हुन्छ । तर, रोग भने उत्पन्न भएको हुँदैन् । यस्तो अवस्थामा पनि शरीरले त्यो काम निरन्तर पूर्ण क्षमताको साथ गर्न सक्छ, जुन सन्तुलित अवस्थामा रहेको तन्तुमय शरीरले गरिरहेको हुन्छ ।

(च.सू.९।४, चक्र.)

शरीर भित्र रहेको शरीर निर्माणका आधारभूत तत्वहरु कोष, तन्तु, धातुहरुको विषमताले हुने व्याधि या रोगहरुको संख्या अनगिन्ती हुन्छन र रोगहरु शरीरको निर्माणभूत धातुहरुमा आधारित भई उत्पन्न भएका हुन्छन् र ती तत्वहरुबाहेक रोग उत्पन्न हुन सक्दैन पनि । शरीरमा वायु, अग्नियुक्त तत्व या पित्त र क्लेदयुक्त तत्व या कफसँग सम्बन्धित भई यी रोगहरु रहेका हुन्छन् । एक अर्को प्रकारको रोगमा शरीरको भित्री आधारहरु भन्दापनि बाहिरी कारणबाट रोगको उत्पत्ति हुन्छ । यसमा शरीर निर्माणको धातुरुप अंशहरुको विषमता कारण नभई बाहिरी या आगन्तुज कारणको प्रभावले रोग उत्पन्न हुने हुन्छ । (अ.स.सू. २२।६),

(सु.सू.१।२२)

यस शास्त्रीय अध्ययनमा कोरोना भाइरसलाई आगन्तुज या बाहिरी कारणले रोग उत्पन्न गरेको हो भनि निर्क्योल गर्न सकिन्छ ।

आगन्तुज रोगहरु वा बाहिरी कारणबाट उत्पन्न भएको रोगहरु भएमा त्यसले शरीरको आन्तरिक आधारभूत तन्तुहरु या धातुहरुसँग सम्बन्ध बनाई आन्तरिक सन्तुलित अवस्थामा रहेका तन्तुमय शरीरलाई प्रभाव पारी सम्पूर्ण शरीरमा आगन्तुज रोगको समान लक्षण देखाई शरीरलाई रोगमय बनाइ अस्वस्थ बनाउँछन् ।

(च.सू.१९।७)

यस तथ्यबाट बुझ्न सकिन्छ कि रोेग उत्पत्तिमा आगन्तुज या बाहिरी कारण मानिएको कोरोना भाइरसले शरीरलाई प्रभाव गरी शरीरमा लक्षणहरु देखा पार्न थाल्दछन् । विना लक्षण कारोना भाइरस शरीरमा रहनु भनेको धातुगत या तन्तुमय शरीरमा यसको प्रभाव त विषमता रुपमा हुन्छ । तर, रोग कै लक्षण भने देखाएको हुँदैन जसमा शरीरको धातु क्षीण भएता पनि रोगको लक्षण नदेखिएको हुनाले शरीरलाई सन्तुलित अवस्थामा राखेर सामान्यझै काम गर्ने क्षमता बनाउँदछ । तसर्थ, कारोना भाइरस लागेका व्यक्तिहरु जसमा लक्षण देखा परेको हुँदैन्, त्यसले शरीरलाई ठूलो नोक्सानी गर्न सक्दैन भनिएको हो ।

वौद्ध दर्शनको एक प्रमुख वादमा स्वभावोपरमवाद हो । जसमा जुन कारणले शरीरको तन्तुहरुको पुष्टि हुन्छ यदि त्यस कारणमा विषमता आएमा शरीरमा तन्तु, कोष, अंगहरुमा विषमता आउनु स्वभाविक हुन्छ । यदि कारणमा समता हुन्छ भने शरीर पनि सामान्य अवस्था रहन्छ । यो स्वभावले नै हुन्छ । यसरी यो वादको मतलाई उल्लेख गर्दा सम्पूर्ण रोगहरुको उत्पत्तिमा कारण उपलब्ध हुन्छ । तर, त्यसको अन्त्यमा कुनै कारण हुँदैन त्यो स्वतः अन्त्यको गतिमा हुन्छ ।

(च.सू.१६।२७-२८)

जब अन्तमा कुनै कारण र उपचारको आवश्यत्ता नै पर्दैन भने यो कोरोना महामारीमा उपचारको किन खोजी अनुसन्धानको आवश्यता पर्छ त ? तब आयुर्वेदशास्त्रले यो स्वभावतः अन्त हुन्छ भन्ने वौद्ध दर्शनको मतलाई तर्कसंगत प्रस्तुत गर्दै उल्लेख गर्दछ कि चिकित्साको उद्देश्य भनेको शरीरमा धातु, तन्तु या कोषहरुको क्रियामा समता ल्याउनु हो । शरीरमा धातु, कोषहरुको समान रुपमा कार्य गर्न सक्ने बनाउनु, कुनै प्रकारको शरीर भित्र र आगन्तुज या बाहिरको कारणबाट रोग हुन नदिनु र जुन—जुन प्रकारबाट शरीरको सामान्य अवस्थामा कार्य गर्न सक्छ । त्यो बनाउनु आयुर्वेद चिकित्साको उद्देश्य हो ।

(च. सू. १६ । २९-३६, चक्र)

स्वभावले रोग नष्ट हुन्छ भन्ने सिद्धान्तको तर्कपूर्ण प्रस्तुत गर्दै कोषहरु, धातुहरुको विषम हुनमा जुन कारणहरु छन्, त्यसलाई छोडेर कोष र धातुहरुको सामान्यावस्थामा राख्ने कारणहरु जस्तैः आहार, औषधि, योग, मनोरञ्जन, मनको उपचार र हितकर विहार आदिलाई पालना गर्नाले शरीरमा रहेका विषम धातुहरु र विषम कोषहरुको सहजताले नष्ट हुन्छ र शरीर सामान्यावस्थामा रहन्छ तथा कुनै रोगको लक्षणहरु देखा पर्दैनन् ।

कोष, तन्तु या धातुहरुको विषमता क्षणभरको लागि हुन्छ भनि वौद्धदर्शनको क्षणभङ्गुरवादले भन्दछ । कुनै निश्चित समयपश्चात् त्यस विषम धातुले आफ्नो समान अनेक विषम तन्तुहरु, कोषहरु तथा धातुहरुको उत्पन्न गर्छ । सुरुमा कुनै लक्षण उत्पन्न नगरिकनै सामान्य रुपमा कार्य गरेको धातुहरुले यसरी वृद्धि हुँदै जाँदा पूराना विषम तन्तुहरु या धातुहरुको नष्ट गर्नु भन्दा अगाडि अनेक तत् तत् विषम धातुहरुको उत्पन्न गर्छ । पुरानो धातुहरुले स्वयंम आफूलाई नष्ट गर्दछ । यसरी लक्षण नदेखिकन धातु तथा तन्तुुहरुले अब पूर्व अवस्थाभन्दा फरक अवस्थामा अब विस्तारै—विस्तारै लक्षणहरु समेत देखा पर्न थाल्छ ।

जसरी कोरोना महामारीमा दूरी कायम गर्नु, माक्स लगाउनु, सेनिटाइजरको प्रयोग गर्नु आदि इत्यादि उपायहरुलाई पालन गर्नु भनिन्छ । त्यो कोरोना लाग्ने कारणको त्याग गर्ने वा सामान्य तरिकाबाट शरीरलाई विषमता हुन नदिनु र समता बनाइ राख्ने उपायहरु हुन् । यस्ता अनेक उपायहरु यसमा पर्दछन् । त्यस्तै कोरोना लागि हालेता पनि आहार र औषधिहरुको माध्यमबाट यसलाई लक्षणविहिन बनाउनु या लक्षण देखिएतापनि हानिकारक प्रभाव पार्न नदिनको लागि चिकित्सा कर्महरु आवश्यक हुन्छ । प्रथमतः कोरोना लाग्नै नदिनको लागि अनेक उपायहरु अपनाइन्छ । लागेतापनि लक्षण नदेखियोस् भन्ने उपायहरु अपनाइन्छ । लक्षणै देखिएता पनि त्यसले अधिक हानी शरीरमा नगरोस् भन्ने उपायहरु अपनाइन्छ ।

यो संक्रमण रोगहरुको लागि भनिएको शास्त्रीय मत हो, जुन हाल पूर्ण रुपमा कोरोनाजस्तो संक्रमणमा पालन गर्ने र गराउने कोशिस गरिदैंछ । जसरी कोरोना लाग्न नदिनको लागि अपनाइने उपायहरुमा पटक—पटक साबुन पानीले हात धुनु, मानिस मानिस बीचको दूरी कायम गर्नु, धेरै भिड भएको ठाउँमा नजानु, माक्सको प्रयोग गर्नुजस्ता उपायहरु अपनाउँदैं कोरोनाबाट बच्ने कोशिस गरिन्छ । कोरोना लागि हालेता पनि आयुर्वेदीय जडिबुटी जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, त्यसको प्रयोग गरिन्छ । लक्षणसहित देखिएको कोरोना संक्रमणमा रोग प्रतिरोधात्मक औषधिहरु, आइसोलेसन, अस्पताल भर्नाजस्ता अनेक उपाय अपनाई सकेसम्म रोगीलाई कोरोनामुक्त गर्ने कोशिष गरिन्छ । यी उपायहरु आयुर्वेद सिद्धान्तअनुसार नै हुने गर्दछ ।

कोरोना भाइरसले शरीरमा संक्रमणको कुन अवस्थामा पुगेको छ, लक्षण छ वा छैन ? लक्षण भए कुन अवस्थामा रहेको छ? के यो अवस्था संक्रमणको जटिल अवस्था हो? कसरी यो अवस्थाबाट मुक्त पाउन सकिन्छ या यो संक्रमणको कारण मृत्युु निश्चय नै हुन्छ ? भनेर छुट्याउन सक्नु अति महत्वपूर्ण हुन्छ ।

यस प्रकारको आगन्तुज संक्रमणजन्य रोगहरु परीक्षा तथा त्यसको पश्चात् सही औषधिको छनोट गर्नुपर्छ । तसर्थ, चिकित्सकले ज्ञानपूर्वक मात्र चिकित्सा कार्य प्रारम्भ गर्नुपर्दछ । आयुर्वेद चिकित्सा वैज्ञानिक चिकित्सा पद्धति हो भन्ने आधारमा अनुसन्धान तथा सांखिकी तथ्यहरुको प्रयोग भएको पाइन्छ । जसमा चिकित्सा कर्ममा भनिएको छ कि चिकित्सा कर्म कुनै काकतालीमा गरिएको विधि होइन् । मनोमानी रुपमा चिकित्सा गरेमा वा चिकित्सकले रोगलाई नबुझिकनै उपचारमा तल्लीन भएकोमा यद्यपि त्यस चिकित्सकलाई प्रचुर मात्रामा औषधिको ज्ञान छ भने पनि उपचार निश्चित रुपमा सफल हुन सक्दैन । निको भएपनि यो केवल संयोग मात्र हुनेछ । संयोग जस्तो शब्दहरु चिकित्सामा सफलता ल्याउन सक्दैन्, केबल भ्रम मात्र उत्पन्न गर्छ न कि उपचारको पूर्ण सफलता । हाल कोरोना भाइरस संक्रमणमा भएको यही हो । सुरुको केही महिना त केवल यो कस्तो संक्रमण हो भनेर अनुसन्धान गरेर नै समय बित्यो ।
(च.सू.२०।२०-२२)

तथा संक्रमणको बारेमा जानकारी त पाइयो । तर, हाल चिकित्सा कुन विधिको हुने भनि अन्योल कायमै रहेको छ । यस समयमा यो चिकित्सा सही हो भन्नु मुर्खता हुनेछ । विज्ञान सम्मत हुनेछैन् । उपचारले केहीलाई निको पारेको हुन सक्ला तर त्यो नै सही उपचार पद्धति हो भन्न सकिदैन् । यसलाई आयुर्वेद चिकित्साले ‘यदृच्छया सिद्धि’ अर्थात् निश्चित् रुपमा यो नै चिकित्सा हो भन्न नसक्ने अवस्थामा चिकित्सा गर्नु भनेको केही व्यक्तिहरुलाई कोरोना संक्रमणमुक्त हुनु तर निश्चित रुपमा उपचारको वकालत गर्न नसक्नु हो । यस्तो चिकित्सा आयुर्वेदसम्मत मान्य छैन ।
(च.सि.२।२८)

यो आधुनिक चिकित्सा पद्धतिको पनि मत हो । चिकित्साको निश्चित सफलता तब पाइन्छ जब चिकित्सक रोगलाई विशेष रुपमा जान्ने र चिन्ने अवस्थामा पुग्छ । सबै प्रकारको औषधिको विधानलाई जान्ने, चिन्ने, असर आदिको बारेमा परिचित हुन्छ । समय, ठाउँ, देश, भूगोलअनुसार औषधिको प्रमाण पहिचान गर्न सक्छ । यस्तो चिकित्सकहरुले चिकित्सा गर्दा निश्चित् रुपमा सफलता प्राप्त गर्न सक्दछन् । कोरोना भाइरसको संक्रमणमा हालसम्म रोगको त पहिचान भयो तर चिकित्सा विधि औषधिहरु, भुगोलअनुसार यसको असर, मात्रा, प्रभाव आदिको बारेमा पूरा संसार अनविज्ञ छ । तसर्थ, यस अवस्थामा चिकित्सा गर्नु भनेको केबल चिकित्सा कर्मको लागि मात्र हुन्छ, निश्चित सफलताको लागि हुनेछैन । यसको उपचार त तब सम्भव हुन्छ जब चिकित्सा विधि वैज्ञानिक छ भने मात्र मान्य हुन्छ । जसरी आयुर्वेदले वर्णन गरेको पाइन्छ । चिकित्सा पेशामा तर्क—वितर्क गर्ने चिकित्सक नभए चिकित्सा कर्म नै फितलो हुन्छ । तर्क—वितर्कले यस सन्दर्भमा वैज्ञानिक ढंगबाट विषयवस्तुको अध्ययन, अनुसन्धान तथा प्रस्तुतीकरण गर्न सक्ने क्षमताको अर्थमा लिइन्छ । तर्क वितर्कजस्ता अनुसन्धानात्मक विषयहरुबाट बाहिर रहेका शास्त्रहरु वैज्ञानिक र चिकित्सासम्मत छैन भनी आयुर्वेद चिकित्सा पद्धतिले व्याख्या गर्दछ ।
(च.सू.२०-२२, चक्र.)

चिकित्सा कर्म चिकित्सकहरुको परम धर्म हो । चिकित्सकहरुले चिकित्सा कर्म शरीरको स्थिति, तन्तुहरु तथा धातु, वातावरण, समय आदिको स्थिति बुझेर चिकित्सा गर्नुपर्दछ । कुनै रोगको चिकित्सा प्रारम्भ गर्दा त्यसको परीक्षा नगरी चिकित्सा कदापि सुरु गर्नु हुँदैन । रोग र रोग लागेकाहरुको विषयमा अनविज्ञ भएतापनि चिकित्सा गर्छु भन्ने मानसिकता चिकित्सकले लिएमा त्यो केबल ‘यदृच्छ’ भाव अर्थात् पूर्ण अनुसन्धानरहित मनोभावनाले ग्रसित भएर चिकित्सा गरेको मानिनेछ । यो चिकित्सा कर्मबाट सफलता निश्चित भने हुँदैन, केही सफलता मिलेमा केवल संयोग मात्र हुनेछ ।
(अ.हृ.सू.२९।८०, सर्वाङ्ग सुन्दरी, आयुर्वेद रसायन व्याख्या)

अनुसन्धानमा तल्लीन रहने चिकित्सक, खोजमा तल्लीन चिकित्सकहरुको समूह र तर्कपूर्ण वचनयुक्त चिकित्सकले अनुसन्धानको दायरामा रहेर नभनिएको रोगहरु, कम उल्लेख भएका रोगहरु तथा नयाँ रोगहरुको विषयमा चिन्तन र चिकित्साको सिद्धान्त बनाउन सक्छन् । चिकित्सा कर्मको प्रारम्भ गर्न सक्छन् । जो अध्ययन—अनुसन्धानमा कुनै रुचि राख्दैन, तर्क गर्न सक्ने क्षमताको कमी छ, शास्त्रको ज्ञानको अभाव छ, अल्प वुद्धि छ त्यस्तो चिकित्सक वा चिकित्सक वर्गहरुले वुद्धिजीवी चिकित्सक समूहले निर्देश गरेका सल्लाह र सुझावलाई मनन गर्दै पच्छाउनु र चिकित्सा गर्नु नै श्रेयकर हुन्छ । अज्ञात रोगहरुमा अल्पवुद्धि भएका र अनुसन्धानमा रुचि नभएका चिकित्सकहरुले उपचार गर्नु भनेको मारक हुनेछ र चिकित्सा कर्ममा सफलता उपलब्ध हुन सक्ने छैन । तसर्थ, यस्ता चिकित्सक समूहहरु जसलाई रोगको बारेमा ज्ञानको अभाव छ । तिनीहरुले वुद्धिमान चिकित्सक समूहको तर्कलाई मान्नुपर्छ । यसमा सबैको हित हुन्छ ।
(च.वि.८, चक्र.)

यसरी अध्ययन—अनुसन्धान, तर्क, कुशल चिकित्सक भएमा आयुर्वेद चिकित्साले कोरोनाजस्तो अनेक अनुक्त या उल्लेख नभएको संक्रमणजन्य रोगहरुमा उपचार गर्न सक्दछन् भनिएको छ । तर, अल्प वुद्धि भएका, अनुसन्धानमा कुनै पनि रुचि नराख्ने, चिकित्सा पेशामा गहिरो अध्ययनको अभाव भएका, वैज्ञानिक तर्क—वितर्कको अभाव भएका, रोग र रोग लागेका बिरामीको परीक्षा समेत गर्न नजानेका चिकित्सकहरुको समूहले वा आफूलाई चिकित्सक भन्दै हिड्ने समूहले चिकित्सा कोरोनाजस्तो संक्रमणको गर्नु भनेको रोगीको प्राणको हरण गर्नु निश्चित समान हो ।

मानवलाई समय कालखण्डअनुसार अनेक व्याधिहरुले आक्रान्त पारेको इतिहास साक्षी छ । यसरी उत्पन्न भएका सबै रोगहरुको गणना गर्नु भनेको असम्भव समान नै हो । एक रोगको वर्णन रोग उत्पत्ति स्थान, लक्षण, वर्ण, बनावटको आधारमा अनेक स्वरुप देखाउन सक्छ । त्यसको अवस्थाअनुसार नामाकरणको कुनै आवश्यता हुँदैन । तसर्थ, लक्षण मिल्दो रोगहरुको एक समूहमा संग्रह गरिन्छ । चिकित्सा कर्ममा सहजता हुन सकोस् । यो रोगहरुको समूहलाई एक स्थानमा संग्रह गर्नाले समान स्वरुप भएका रोगहरुलाई समान चिकित्सा विधिले चिकित्सा कर्म गर्न सकियोस् भन्ने हो ।
(च.सू.१८।४२-४३, चक्र.)

यसै नियमलाई पछ्याउँदैं कोरोना भाइरस संक्रमणलाई आगन्तुज रोगमा या बाहिरी कारणले उत्पन्न संक्रमणजन्य रोगमा राखिन्छ भने उपचारमा कोरोना भाइरसको लक्षणमा विचार गरेर लाक्षणिक चिकित्साको विधि अपनाइएको छ । त्यस्तै, कोरोना संक्रमणले मानव शरीरमा व्याधिक्षमत्वमा प्रभाव पार्ने भएकोले त्यसलाई पनि सन्तुलन गर्न र श्वास—प्रश्वासजन्य रोगहरुको लक्षण देखिने भएकाले त्यसको लाक्षणिक उपचारको लागि अनेक औषधिहरुको निर्देश गरिएको छ ।
संक्रामकजन्य किटाणुहरु, जीवहरु, परजीवीहरु, अदृश्य सुक्ष्म ब्याक्टेरिया, भाइरसहरुको शरीरमा प्रवेश मात्रले रोग उत्पन्न गर्छ भन्ने हैन । त्यस जीवहरुले शरीरको क्रियात्मक तथा रचनात्मक संरचनाहरुलाई नकारात्मक प्रभाव गर्दछन् । शरीरको व्याधिक्षमत्वलाई अवरोध गरेर रोगको उत्पत्तिमा कारण भूमिका खेल्दछन् । यस क्रममा शरीर निर्माणको आधारभूत तत्वहरु जस्तैः कोष, तन्तु या धातु, वायु, उर्जा उत्पन्न गर्ने तत्वहरु या पित्त, शरीरको संरचनालाई बनाई राख्ने तत्वहरु या कफको बनावट र कार्यमा असर गरेर अनेक रोगहरुको उत्पन्न गर्दछन् । यसरी यसै जुन आधारभूत स्वरुपलाई नष्ट गर्छ, त्यस रोगको नाम त्यो आधारभूत शरीर निर्माणको अंशको आधारमा राखिन्छ ।
(च.सू.१९।५, चक्र.)

यसरी लक्षण, शरीरमा प्रभाव तथा असर, स्वरुप आदिको आधारमा कोरोना भाइरस आयुर्वेदसम्मत कफ—पित्तज व्याधिको रुपमा उल्लेख गर्न सकिन्छ । यो पनि एक अवस्था विशेष मात्र हो । रोगको शरीरमा प्रभाव पर्ने आधारमा व्याधिको स्वरुपमा पनि परिवर्तन हुन्छ ।
व्याधिक्षमत्व या रोगप्रतिरोधात्मक क्षमत्वको आयुर्वेदमा उल्लेख प्रष्ट रुपमा गरेको पाइन्छ । व्याधिक्षमत्व भनेको रोग लाग्न नदिनु या रोग प्रतिरोधात्मक क्षमताको विकास गर्नु हो ।

व्याधिक्षमत्व या रोग प्रतिरोधात्मक औषधिको मुख्य उद्देश्य भनेको कुनै रोग शरीरमा लागेमा वा बाहिरी संक्रमणको कारण शरीर आक्रान्त भएमा रोगको बललाई कम गर्ने र त्यस रोगले उत्पन्न गर्ने अनेक लक्षणहरुलाई कम गर्ने हो । अनुक्त या पहिचानमा नभएका रोगहरुमा भने रोग उत्पत्ति नै हुन नदिनु तथा लक्षण उत्पन्न भएतापनि त्यसलाई दबाएर शरीरको रक्षा गर्नु हो । (चक्र.)

व्याधिक्षमत्वले रोगको नष्ट गरी शरीरलाई सामान्य अवस्थामा पूनः ल्याउन सक्ने बनाउँछ । रोगको आफ्नो क्षमतालाई नष्ट गर्न सक्ने क्षमत्व व्याधिक्षमत्व हो । (च.नि.४)

शरीरको स्वस्थ अवस्थाको तुलना त्यो शरीरमा रोग प्रतिरोधात्मक शक्तिको आधारमा हुन्छ । जीवनको आधार पनि रोगहरुले आक्रान्त पारेको शरीरमा त्यस रोगसँग लड्ने रोग प्रतिरोधात्मक शक्तिमा निर्भर हुन्छ । शरीरमा रोगसँग लड्ने शक्ति भएमा शरीरको बल कायम रही कुनै रोगले पनि आक्रमण सहजै गर्न सक्दैन ।

शरीरको यस प्रकारको रोगसँग लड्ने शक्तिको विकासको वृद्धि चाडैं गर्नको लागि आहार—औषधि, नैमितिक रसायन (सामान्य मानिसलाई व्याधिक्षमत्व वृद्धिको लागि समयानुसार अपनाइने रसायन विधि), ध्यान, मौसमानुसारको खानपिन आदिमा विचार गर्नुपर्छ । त्यस्तै दैनिकी खानपानमा विचार, मौसमानुसारको आहार सेवन, योग, प्राणायम, चिकित्सकले तोकेका आहार सेवन, दैनिकी क्रियाकलापमा नृत्य, गान, सत्संग, भजन—कृतन, भक्तिमा लिनजस्ता कार्य गरेर रोग प्रतिरोधात्मक शक्तिको वृद्धि गरिन्छ ।

आयुर्वेदमा उल्लेख भएका अनेकौं जडिबुटीहरुमध्ये हाल कोरोना भाइरस संक्रमणको समयमा प्रख्यात जडिबुटीमा गुर्जाे, अश्वगन्धा, शुठो, मरिच, पिप्पली, दालचिनी, बेसार, धनियाँ, जिरा, लसुन, ज्वानो, तुलसी पर्दछन् । योसँगै योगाभ्यास, व्यायाम, लघु भोजन, नस्य (नाकमा औषधिय गुणयुक्त तेल जस्तैः तिल, तोरीको तेलको प्रयोग), मन तातो पानीले मुख कुल्ला गर्ने, मनतातो पानीको प्रयोग गर्ने, च्यवनप्राशको प्रयोग आदि उपायहरु उल्लेख छन् ।

शुठो, मरिच, पिप्पलीको प्रयोग सामान्यतयाः श्वासप्रश्वास प्रणालीमा प्रभाव गर्ने रोगहरु जस्तैः कास, श्वास रोगहरुमा गरिन्छ । शुठोमा उडनशील तेल १—३ ५, जिन्जेरोल, शोगोल नामका प्रख्यात रासायनिक तत्वहरु हुन्छन । मरिचमा पाइपरीन, पाइपरीडिन तथा चविसीन, उडनशील तेलजस्ता रसायनिक तत्वहरु हुन्छन् । पिप्पलीमा भने उडनशील तेल, पाइपरीन ५—६.४५, पाइपरीडीन, चविसीन हुन्छ । यो रसायनिक संगठनहरुले शरीरको श्वासप्रश्वास प्रणालीलाई मजबुत बनाउँदै रोग सहजै लाग्न नदिने हुन्छ । शरीरको प्रतिरक्षा प्रणाली वृद्धिमा महत्वपूर्ण भुमिका राख्दछन् । कोरोना संक्रमणमा श्वासप्रश्वास प्रणालीलाई प्रत्यक्ष असर पार्ने भएकोले लाक्षणिक उपचारको रुपमा यो जडिबुटीहरुको प्रयोग गरिन्छ साथै शरीरको रोग प्रतिरोधात्मक क्षमताको वृद्धि हुने गर्दछ । यो अनुसन्धानबाट प्रमाणित भएको जडिबुटीहरु हुन ।

यो जडिबुटीको प्रयोग कोरोना उपचारको लागि प्रयोग गर्न सकिन्छ कि सकिदैन भन्ने अध्ययन—अनुसन्धान भने हुँदैछ । गुडूची या गुर्जाेमा गिलोइन, गिलोइनिक, गिलोस्टेरोल, स्टार्चजस्ता अनेक रासायनिक तत्वहरु पाइन्छ । यो पोषक औषधिय गुणयुक्त जडिबुटी हो । यसको प्रयोग ज्वरोमा, रोग लागेपछि उत्पन्न भएको शारीरिक दुर्वलता हटाउनको लागि र शरीरको बल वृद्धि गर्दै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नमा प्रयोग गरिन्छ । अश्वगन्धा आयुर्वेदमा उल्लेख भएका जडिबुटीमध्ये श्रेष्ठ मानिन्छ । यसमा विथेनियाल नाम पदार्थ पाइन्छ । यो जडिबुटीले शरीरमा बल दिने, रसायन, शरीर वृद्धिकर, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्दछ । वेसारमा करक्यूमिन नाम एक पहेलो पदार्थ हुन्छ । साथसाथै उडनशील तेल, करक्यूमेन, स्टार्च २४५, अल्ब्युमिनाएड्स ३०५ हुन्छ । यी रसायनिक तत्वहरुको मुख्य काम भनेको श्वास प्रश्वासजन्य रोगहरुको प्रभावलाई कम पार्नु हो ।

ज्वानोमा एपोईल नामकको पदार्थ, जीरामा उडनशील तेल ३.१—७५, धनियाँमा कोरियन्ड्रोल ४५—५५५, उडनशील तेल १५, तुलसीमा ०.७५ उडनशील तेल, तेजपातमा उडनशील तेल, राल ४५, लिगनिन, ब्यासोरीनजस्ता रसायनिक संगठनहरु हुन्छन् । यी सम्पूर्ण रसायनिक तत्वहरुले श्वासप्रश्वासजन्य रोगहरु कम गर्नमा प्रत्यक्ष भुमिका खेलेका हुन्छन् । तसर्थ, कोरोना भाइरसजस्ता अनेक श्वासप्रश्वास संक्रमणजन्य रोगमा यिनीहरुको प्रयोग हुन्छ । हाल कोरोना संक्रमणमा यी जडिबुटीहरुको व्यापक प्रयोग भएको छ ।

योगाभ्यासले श्वासप्रश्वासको क्षमता वृद्धि गर्छ । नृत्य, संगीतले मनमा आनन्द बनाउँछ भने ध्यानले मनलाई एकाग्र बनाउँछ, चिन्तित हुन दिदैन, मनलाई प्रसन्न राख्दछ । त्यसैले यी क्रियाहरु गर्नाले मानिसले सहजै रोगबाट मुक्ति पाउँदछन् र सुखकर जीवन बिताउँदछन् । यो हाल कोरोनाजस्तो संक्रमणमा अधिक प्रयोग भएको चिकित्सा पद्धतिहरु हुन ।

(च.सूू, च.वि, चक्र., च. सि. शब्दहरु आयुर्वेदको मुख्य पुस्तक चरक संहिताको सूत्र, विमान, सिद्धि स्थानहरु हुन् । जुन संस्कृत भाषामा उल्लेख भएका छन्, सहजताको लागि यहाँ नेपाली अनुवाद गरिएको छ ।)

(डा. पौडेल, बीएएमएस, एमडी, राष्ट्रिय आयुर्वेद संस्थान जयपुर )


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ