२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकोरोना महामारी र हामी स्वास्थ्यकर्मी

कोरोना महामारी र हामी स्वास्थ्यकर्मी


कोरोना कहरले यतिबेला सिङ्गो संसार आक्रान्त छ । २१ औं शताब्दीको जैविक युद्धमा फ्रन्टलाइनका रुपमा स्वास्थ्यकर्मीहरु क्रियाशील छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ग्रामिण स्वास्थ्य चौकी फटकशिलामा कोभिड–१९ सँगै हामी रोकथाम र नियन्त्रणमा जुट्यौं ।

पछिल्ला ८ महिनामा नेपालमा पनि कोरोना महाव्याधिको प्रसार व्यापक बन्यो । कोरोनाको फैलावटमा वृद्धि भएसँगै हामी स्वास्थ्यकर्मीको क्रियाशीलता पनि बढ्यो । नेपालको ग्रामिण स्वास्थ्यका आफ्नै समस्याहरु छन् । सिमित स्रोत साधनबीच पनि काम गर्नुपर्ने चुनौति महामारीका बेला झन् कठिन बन्न जान्छ । तर, जैविक युद्धमा खटिएका म र हामीजस्तै स्वास्थ्यकर्मीहरु सिमित साधन स्रोतका बाबजुद पनि कर्तव्य ठानेर बिरामीको उपचारमा तल्लिन छौं ।

कोभिड–१९ विरुद्धको युद्ध मैदानमा हामी व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र अन्य सुरक्षाका मापदण्ड अपनाएर खटिएका छौँ । अभाव र आफैं संक्रमित हुने डरका बाबजुद पनि हामीलाई यो बेला अरुबेलाभन्दा अझ बढी जिम्मेवारी बोध भएको छ । विगत ४ वर्षदेखि बिरामीको उपचार र सेवामा जुटिरहेकी मलाई यो महाव्याधिमा झन् सक्रिय हुनुपर्ने आवश्यकता छ ।

मेलम्ची नगरपालिकाको सीमा नाका र प्रवेशद्वारमा खटिएर हामी यहाँका स्वास्थ्यकर्मी सम्भावित कोभिड जोखिमलाई न्यूनिकरण गर्न लागि परेका छौं । विश्वका समृद्ध मुलुकहरु नै कोभिड–१९ विरुद्धको युद्धमा फिका साबित भैरहेको बेला नेपालजस्तो तेस्रो विश्व विकाशोन्मुख देशका लागि कोभिड नियन्त्रण फलामको चिउरा सरह भएको छ । तर, एउटा स्वास्थ्यकर्मीका रुपमा हामी सदैव दिनरात नभनी यसको न्यूनीकरण लागि सरकारले थालेका प्रयासहरु कार्यन्वयन गर्न खटिरहेका छौं ।

ग्रामिण स्वास्थ्य दुरुहपूर्ण अवस्थाका बाबजुद पनि अहिले हाम्रा पहाडी जिल्लाका ग्रामिण भागहरुमा कोरोनाको संक्रमण त्यति विस्तारित हुन सकेको छैन । यसका भौगोलिक, जनसंख्या बनावट लगायतका कारण त छँदैछन्, त्यसबाहेक ग्रामिण क्षेत्रका स्वास्थ्य व्यवस्थापनमा जुटेका स्वास्थ्यकर्मीको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । म जस्तै हजारौं स्वास्थ्यकर्मी अहिले पनि कोभिड–१९ का बिरामीको उपचार र यसको नियन्त्रणमा लागिरहेका छौं ।

कोरोना कहरले संसारका धेरै कुराका परिवर्तन ल्याएको छ । मानिसहरुको जीवनशैली बदलिएको छ । कार्यालयका कामहरु घरबाट सम्पादन हुन थालेका छन् । तर, यी सबै बदलाबका बाबजुद हामी स्वास्थ्यकर्मी जिम्मेवारी र कार्यशैलीमा कुनै परिवर्तन भएको छैन । बिरामीको सेवा गर्नुपर्ने हाम्रो दायित्व अहिले झन् गहन बनेको छ। यो दायित्व निर्वाह गर्दागर्दै कयौं स्वास्थ्यकर्मी कोरोना संक्रमित हुनु भएको छ । कतिले त ज्यानै गुमाउनु परेको छ । तैपनि स्वास्थ्यकर्मीहरु अविचलित रुपमा फ्रन्टलाइनमा रहेर कोरोनाविरुद्ध डटिरहेको छौँ ।

चीनको वुहानलाई उदगमस्थल बनाएर संसारभर फैलिएको कोरोना अहिलेसम्म विश्वका २ सय १६ देशमा फैलिसकेको छ । नेपालमा पनि कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । अहिलेसम्म विश्वमा झन्डै ५ करोडको हाराहारीमा मानिसहरु संक्रमण भएका छन् । नेपालमा झन्डै डेढ लाख बढी कोरोना संक्रमित भएका छन् भने झन्डै १ हजारले ज्यान गुमाउन परेको छ ।

यसले एकातिर मानिसको स्वास्थ्यमा गम्भीर संकट सृजना गरिरहेको छ । त्यसबाहेक मानव जीवनका बहुलपक्षहरुमा पनि दुरगामी प्रभाव पार्न थालेको छ । विश्वका अर्थतन्त्र संकटग्रस्त हुन पुगेको छ । वेरोजगारी वृद्धि भएको छ । थुप्रै व्यवसाय, राजनीतिक, साँस्कृतिक, पर्यटनजस्ता क्षेत्रमा व्यापक असर पारेको छ । यसले मानव जीवनमा निरासा ल्याएको छ । रोगभन्दा भोक ठुलो अवस्था सृजना भएको छ । कतिपय व्यक्तिहरुले चरम निराशामा पुगेर आत्महत्याको बाटो समेत रोज्न विवश भएका छन् ।

मानव विकाससँगै आधुनिक सभ्यता मानिएको पश्चिमी सभ्यतामाथि नै प्रश्न उठेको छ । यसले पूर्वीय सभ्यताको वैज्ञानिकतालाई पनि उजागर गरेको छ । नेपालमा कोरोना संक्रमण फैलावटको मुख्य कारणका रुपमा खुला सिमाना हो । खुला सिमा नाका कभर नगरिनुका कारण कोरोना नियन्त्रणका हाम्रो प्रयासहरु सफल हुन सकेका छैनन् ।

यसका अलवा जनचेतनाको अभाव संक्रमण विस्तारको अर्को कारण बनेको छ । विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गर्दा पनि हामीले आम जनमानसमा पर्याप्त रुपमा कोरोनाबाट बच्ने उपायहरुबारे जानकारी दिन सकेनौं । अर्कोतर्फ, यो भाइरसलाई सर्वसाधारणले सामान्य रुपमा लिँदासमेत यसको नियन्त्रण प्रभावकारी बन्न सकेन ।

हामी सिंगो शक्ति कोभिड–१९ विरुद्धको लडाईँमा लडिरहँदा यहाँनेर के भुल्नु हुँदैन भने हरेक चुनौतीसँगै अवसरहरु पनि हुन्छन् । यो महामारीले पनि हामीलाई त्यस्तै केहि अवसरहरु दिएको छ । यतिबेला हामीलाई हाम्रो स्वास्थ्य संरचनालाई आधुनिनीकरणसँगै विस्तार र व्यवस्थित गर्ने अवसर छ । स्वास्थ्यप्रति आम मानिसमा बढेको चासो अभिवृद्धि गर्न स्वास्थ्यकर्मीको भूमिका पनि बढेको छ ।

रेमिट्यान्सनिर्भर सहरमुखी बन्दै गएको अर्थतन्त्रलाई कृषिमा निर्भर बनाउनका लागि पहल जरुरी देखिन्छ । यतिबेला कोभिड–१९ का कारण सहरमा रेमिट्यान्सबाट जीवन निर्वाह गरेर सहरमुखी भएका परिवारहरु गाउँ फर्किएका छन् भने विदेशको मरभुमीमा पसिना बगाइरहेकाहरु गाउँघर फर्किएका छन् । उनीहरुका लागि राज्यले उचित कृषि प्याकेजको घोषणा गरेर कृषि कर्ममा लगाउन जोड दिनुपर्छ । कोभिडका कारण कृषि क्षेत्रप्रति मानिसहरुको रुचि पनि बढ्दै गएको छ ।

त्यसैले कृषि उत्पादनमा रहेको परनिर्भरता हटाउनका लागि पनि राज्यस्तरबाट ठोस पहल कदमी जरुरी भैसकेको छ । अर्को महत्वपूर्ण अवसर प्रविधि विस्तार हो । कोभिड–१९ का कारण धेरै कुराहरु प्रविधिमैत्री बनेका छन् । यहीबेला हामीले पनि धेरै कुरालाई प्रविधिमैत्री बनाउनका सहर केन्द्रित प्रविधिलाई गाउँ–गाउँमा विस्तार गर्नुपर्छ ।

अन्त्यमा, कोभिड–१९ कारण अस्तव्यस्त बनेका शिक्षा, स्वास्थ्य, सामाजिक, धार्मिक एवं सांस्कृतिक क्षेत्रमा पारेको प्रभावलाई आत्मसात गर्दै दैनिक जिजिविषा चलाउनका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्दछ । यहाँ सबैभन्दा बढी भूमिका कोभिड–१९ नियन्त्रण रोकथाम र उपचारका फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको हुन्छ ।

अहोरात्र मोर्चामा खटिएका स्वास्थ्यकर्मीलाई थप प्रोत्साहन गर्नु आम समुदायको पनि कर्तव्य हो । केही ठाउँमा स्वास्थ्यकर्मीलाई हतोत्साही गर्ने किसिमका व्यवहारहरु पनि भए । सेवामा खटिँदा संक्रमित भएका स्वास्थ्यकर्मीलाई घृणा र दुव्र्यवहार गरिएका घटनाहरु दुःखद् थिए । यति हुँदा हुँदै पनि हामी स्वास्थ्यकर्मीहरु आफ्नो कर्तव्यबाट बिमुख नभएर निरन्तर बिरामीको उपचारमा डटिरहेका छौं ।

यी सबैका बाबजुद मुहारमा आशा र ओठमा मुस्कान लिएर सुनौलो बिहानीको प्रतिक्षा गर्दै हामी सबै स्वास्थ्यकर्मी नागरिकको जीवनरक्षा आफ्नो पहिलो कर्तव्य सम्झेर सेवामा तल्लीन छौं ।

अब कोभिड–१९ विरुद्धको यो लडाई जित्नका लागि स्वास्थ्यकर्मी डटेरमात्र पुग्दैन । आमसमुदायले पनि कोरोना नियन्त्रणका लागि सरकारले तोकेका जनस्वास्थ्यका मापदण्डहरुको कडाइका साथ पालना गर्नुपर्छ । सरकार, स्वास्थ्यकर्मी र आम समुदायकै साझा प्रयासबाट मात्रै कोरोना नियन्त्रणको यो लडार्इँमा जित सम्भव छ । त्यसैले सरकारको नेतृत्वमा स्वास्थ्यकर्मी कोरोना संक्रमितको उपचारमा केन्द्रित हौँ, आमसमुदाय स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरौँ । कोरोनाविरुद्ध लडाईमा जित हाम्रो हुनेछ ।

(सुनिता घोरासैनी मेलम्ची नगरपालिका–१३, फटकशिला स्वास्थ्यचौकीमा कार्यरत अ.हे.ब. हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ