२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारक्रिटिकल केयर युनिटका चिकित्सकको अनुभवः मृत्युको मुखबाट नियालेको जीवन

क्रिटिकल केयर युनिटका चिकित्सकको अनुभवः मृत्युको मुखबाट नियालेको जीवन


बिहानबाटै टाउको भारी भएर आयो । शरीरको तापक्रम पनि बढिरहेको छ । दुई तीन दिनदेखि रुघाखोकी पनि लागिरहेको थियो । पेट कटक्क खान्छ र पाइखाना जाँदा पखाला चलेको छ । खुट्टाको पैताला पनि पोलिरहेकै छ । शरीरका हरेक जोर्नीहरूको मन्द दुखाइका कारण कसैले उचालेर पछारेझंै शिथिल दुखाइबोध भइरहेको छ । इमर्जेन्सीको ‘मर्निङ ड्युटी’ पनि जानु छ । यी सबै लक्षणबीच ड्युटी गएँ ।

ड्युटी भएपनि त्यो दिन प्रत्यक्ष रूपमा एकजना पनि बिरामी हेरिनँ । बरु अलग्गै आइसोलेट भएर ड्युटी गरें । ज्वरो झन—झन बढ्दै गइरहेको महसुस भयो । अनि ‘अँह म रिक्स लिन्नँ’ भन्दै तीन बजे अस्पतालमा नियमित गर्ने पिसिआर परिक्षणको लाइनमा बसेर स्याम्पल दिएँ । भोलिपल्ट दिउँसो तीन बजेतिर कोभिडबारे अपडेट गराउने साकार भाइको फोन आयो । ‘दाइ बधाई दिऊँ कि सरी’, उनले भने, ‘हजुरको रिपोर्ट पोजेटिभ छ । सिटी भ्यालु जम्मा १२ मात्रै छ ।’ आखिर ढिलो चाँडो एक दिन हुनु नै थियो । यो सुन्दा त्यसै शरीर सनन्न भयो । इमर्जेन्सी विभागमा काम गर्ने भएकोले होला यो त हुनु नै थियो । आखिर भयो पनि ।

कसैलाई नभनीकन आफ्ना लत्ता कपडा प्याक गरेँ र अस्पतालबाट कोभिड भ्यान बोलाए र अस्पतालको आइसोलेसन सेन्टरमा गएँ ।
मनमा निकै डर पैदा भएर आयो । मेरो लागि कोभिड–१९ नौलो भने थिएन । कोभिड आई.सी.यु.मा म पहिले नै म पूर्ण पीपीई लगाएर ३–४ पटक बिरामीको डायलाइसिस गर्नको लागि छिरिसकेको अवस्था थियो । हुन त एक इमर्जेन्सीमा काम गर्ने डाक्टरका लागि जन्म र मृत्यु भनेको एक संजोग मात्रै हो तर पनि कोभिड आई.सी.यु. मा मैले जिन्दगीमा पहिलो पल्ट मृत्युलाई नजिकबाट नजरअन्दाज गर्दै मृत्युसँग निकै त्रसित भएर निस्केको थिए ।

सिस्टरहरुले सब सेटअप मिलाइसकेपछि म पूर्ण पीपीई लगाएर कोभिड आई.सी.यू छिरेको थिए । डायलाइसिसको लागि बिरामीको सब तयार गरेर म निस्कने तरखर गर्दै थिए । नजिकै म डाक्टर भएकाले अन डियुटी सिस्टरले सुरुमा मलाई नै बोलाउनुभयो । डाक्टर मेसिनले राम्रोसँग काम गरेको छैन के गर्ने होला बिरामीको अक्सिजनको मात्र एकदमै म्यान्टेन भएको छैन । सिप्याप र हाई फ्लो न्याजल क्यानुलाको बारेमा अलि बढी ऐनेस्थेसियाको डाक्टर साबलाई जानकारी भएकाले मैले उहाँलाई बोलाउन भने र पुनः म पीपीई चेन्ज गर्न गए । यता, डायलाइसिसको बिरामीको भेन नभेटिएकाले म फेरि एकछिनमा पीपीई लगाएर छिर्नु पर्ने भो । जब, आई.सी.यु. कक्ष के छिरेको थिए ।

आई.सी.यु. दुई जना बिरामी हेर्दा हेर्दै आँखै अगाडि सिपिआर पाएर एक्सपाएर भए के गर्ने कसो गर्ने कुनै चाल नै पाउन सकिएन । उता, डायलाइसिस गरिरहेकी एक वयोवृद्ध महिलाको पनि शरीरमा केही चाल पत्तो छैन । ऐनेस्थेसियाको डाक्टरको मद्धतले धन्न मुखबाट कृत्रिम श्वासप्रश्वास प्रणाली भेन्टिलेटरमा राखियो । यसरी कोभिडको पहिलो गाँसमै तीनजना बिरामीको मृत्यु देखेको म आफै कोभिड संक्रमित हुँदा साच्चै भित्रैदेखि नै एकदमै कमजोर बनेको थिए ।

चाडवाडको बेला वा अस्पतालको इमर्जेन्सी विभागमा डाक्टरको अभाव हुँदा म जहिल्यै स्थानीय डाक्टर हँु । मलाई थाहा छैन, यो स्थानीय सम्बन्धलाई स्वयं थला पर्दा अस्पतालका मालिकले कसरी लिनुहुन्छ । प्रायः चाडबाडको बेला बिरामीको चाप ह्वात्तै बढ्छ र इमर्जेन्सी कक्षमा पाइला टेक्ने पनि ठाँउ हुँदैन । दसैंताकाका रातमा ड्युटी गर्दा इमर्जेन्सी कक्ष र आईसीयूका बेड भरिएको थाहा हुँदाहुँदै पनि म भने अस्पतालको कोलियामा छट्पटाइरहेका बिरामीलाई औंलाले सुम्सुम्याउँदै सिस्टरलाई पे्रस्क्रिप्सन फ्लो गर्न भन्दै थिएँ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशकै एक मात्र वैकल्पिक रिफरल सेन्टर हो । जहाँ तराईका जिल्लाहरू कैलाली, कंचनपुर, दाङ र बर्दिया तथा दूरदराज अछाम, बाजुरा, बझाङ, कालिकोट, जुम्ला, डोल्पा, रोल्पा, रुकुमलगायत विकट बस्तीका बिरामीको एक मात्र आशाको केन्द्रबिन्दु हो । यदि यहाँ उपचार सम्भव भएन भने पुँजी नहुने आम बिरामीहरुका लागि उपचार भनेको भगवान भरोसा नै हो । यस्तो अवस्थामा म कसरी बिरामी हेर्दैन भनौं ? प्रायः आईसीयु चाहिने बिरामी नै बाहिरबाट रिफर हुन्छन् । यता जिल्लामा रहेका अन्य ठूला अस्पतालमा पनि नेपालगन्जमा नर्सिङ होम र सरकारी अस्पताल भेरीमा जम्मा ६ बेडबाहेकको आईसियुको कुनै विकल्प नै हुँदैन । तसर्थ, बिरामीको कुरुवाले आफ्नो बिरामीको हाई रिक्स कन्सेन्ट लिएर एउटा औठा छापमा आफ्नो बिरामीको जिन्दगी साँची राखेर भएपनि आफ्नो बिरामीलाई यहाँ उपचार गराउन बाध्य हुन्छन् ।

दसैंको भोलिपल्ट । आईसीयु कुरेर इमर्जेन्सी वार्डमा बसेका छातीको एक्स–रे रिपोर्ट नआउँदै दुई बिरामीलाई छातीमा दाबेर सिपिआर दिनुपर्ने भयो । तर, पनि बिरामी बाँचेन । एक्स–रे रिपोर्टमा निमोनिया देखियो । समकक्षी डाक्टरहरूबीच केस डिस्कसन गर्दा कोभिड पोजेटिभ हुनसक्ने सम्भावना अत्याधिक छ भन्ने कुरा आयो । यता इमर्जेन्सीमा बिरामीहरुको अत्याधिक चाप बढेर सेक्युरिटी दाइले भिडभाड पन्छाउन नसकेर आत्मसमर्पण नै गरिसकेको अवस्था छ । मलाई आज लागिरहेको छ सायद यो भिडभाड र तिनै बिरामीका आफन्तबाटै म संक्रमित भएँ ।

संक्रमित भएकोमा म कत्ति पनि दुःखी छैन । कोरोनाको यो अवधिमा मैले हजारौं बिरामीको प्रत्यक्ष उपचार गरें । अस्पतालका इमर्जेन्सी र डायलासिस विभागमा मात्रै आफ्नो व्यक्तिगत र पारिवारिक जीवनलाई थाँती राखेर बिरामीको सेवार्थ दिनरात खटिइरहें । आफ्नो ज्ञान, सीप र विवेक प्रयोग गर्दै यो महामरीमा मैले समर्पण गरेको समय यही नै हो । पैसा त मैले सुगरले थलिएकी आमाले ‘बाबु भो, तैंले कमाउनुभन्दा पहिला पनि गुजारा चलेकै थियो । बुवाले भैसीको दूध बेचेर पनि पालिहाल्नुहुन्छ । यस्तो महामारीको बेला काम नगर न !’ भन्ने कुराबाटै हरेक दिन कमाइरहेकै छु । तर पनि विश्वभर स्वास्थकर्मीहरूले मात्रै लडेको यो युद्धमा म एउटा चिकित्सक कसरी पछाडि हट्न सक्थें होला र ?

औपचारिक रूपमा कोरोना संक्रमित भइयो । थाहा पाएका साथीभाइहरूले सामाजिक सन्जालमा ‘गेट वेल सुन’ भन्दै पोस्ट गर्नुभएछ । मेडिसिन विभागका वरिष्ठ फिजिसियन डा.श्याम बिकेबाट होम आइसोलेसनमा बस्नेका लागि औषधिको लामो लिस्टसहितको प्रोटोकल पाएँ, अनि अस्पतालको चिसापानीस्थित आइसोलेसनबाट दबाइ सुरु गरँे । क्रमसः तेस्रो, चौथो दिन बित्दै गयो । तर सुधारको कुनै संकेत देखिएन । आफन्त, शुभचिन्तक, अस्पतालका सर, सहकर्मी सबैले फोनमा स्वास्थ लाभको कामना गरिरहनुभएको छ । यता आफैं संक्रमित भएर निको हुनु भएका डा. सुमित पाण्डे, डा. निरज आचार्य, डा. विक्रम थापा सरहरूले आफूलाई कोरोना हुँदाको अनुभवसहित आत्मबल थपिरहनुहुन्छ । यसैगरी डा. दिपेन्द्र केसी, डा. शिशिर रेग्मी सर र डा. प्रवेश पन्त दाइले पनि फोनबाट चासो लिइराख्नु हुन्छ ।

चौथो दिनको अपरान्हसम्म पनि ज्वरो आउने र टाउको दुखाइले छाडेन । डा. श्याम दाइको सल्लाहअनुसार अस्पतालको कोभिड वार्डमा भर्ना हुने निर्णय गरें । आइसोलेसनमा मसँगै रहनुभएका डा. शिशिर र अनिता सिस्टरले सबैतिर को—अर्डिनेसन गरी मलाई कोभिड वार्डमा भर्ना गराउनुभयो । कोभिड वार्डमा फिजिसियन डा. प्रकाश नाग दाइको ड्युटी रहेछ । उहाँले म आउनुअगावै सबै कुराको व्यवस्था गरिसक्नुभएको रहेछ । त्यसपछि मलाई केकस्ता लक्षण छन् भनेर सोधेपछि मैले बताएँ । अनि छातीको एक्स–रे हेरेर भन्नुभयो, ‘चिन्ता नगर भाइ । औषधि चलाएको एक घण्टामा आराम हुने गरिदिन्छु ।’ नभन्दै त्यस्तै भयो । बिस्तारै ज्वरो र टाउको दुखाइ हरायो । राति डा. आसिम किद्वाईसँग म्यासेजमा कुरा भयो । उहाँले अब फ्यापिभिर दबाइ सुरु गर्ने सल्लाह दिनुभयो ।

यसरी पाँचौ दिनबाट अलि सहज हुँदै आएको छ । मेरो स्वास्थ स्थितिमा सुधार आएको देखेर डा.श्याम दाइलगायत घरपरिवार सबै जना खुसी हुनुहुन्छ । फेसबुकमा आइसोलेसन गएको दोस्रो दिन बनाएको एउटा टिकटक भिडियो पोस्ट गरेर सबै फेसबुकमा जोडिएका आफन्तजनलाई स्वास्थस्थिति सुधारोन्मुख रहेको भिडियो माई स्टोरीमा पोस्ट गरे । सबै राम्रो चलिरहेको छ अस्पताल भर्ना भएको पाँचौ दिनबाट सबै इन्जेक्सनबाट चल्ने दबाइहरु बन्द भयो । यता, अहिलेसम्म मलाई खासै कोभिड–१९ को सामान्य नै असर रह्यो बस् म यही कुरामा खुसी छु ।

यता कोभिड वार्ड भने म जस्तै अलि कम सिरियस बिरामीहरु छन् । सिस्टरहरुले पहिले नै हाम्रो इमर्जेन्सी डाक्टर साब आउँदै हुनुहुन्छ भनेर होला । बिरामीका आफन्तहरुले मलाई बिरामीको रिपोर्टहरु ट्रेस गराउनु हुन्छ । वार्डमा म आफै कोरोना संक्रमित भएपनि बिहान—बेलुका बिरामीको बेड साइडमै गएर बिरामीहरुको मनोबल बढाइरहन्छु । स्वास्थ अवस्थाले भ्याएसम्म तल आईसीयुमा पुग्छु । हरेक नाबीको चालसँग बज्ने टुकटुक मोनिटरको आवाजमा अड्किएको अक्सिजनको मात्र हेर्छु, हाई फ्लो र न्याजल प्रोब मेसिनमा राख्दा पनि अक्सिजनको मात्र मुस्किलले ९० प्रतिशत मात्रै छ । जीवन जिउन पनि मोनिटरको टुकटुक आवाजमा अल्झिनुपर्ने उफ ! जिन्दगी बस, अहिलेलाई म कोभिड वार्ड एक कोरोना संक्रमित बिरामी हुँ । पहिला आफू निको हुनु छ, त्यसपछि अर्को चरणमा मुलाकात गरौंला । म त अहिले एक निरिह हतियार बिनाको सैनिकजस्तै दुश्मनको आँगनमा परेड खेल्दैछु । यस्तै कुराहरु मनमा खेलाउँदै मोबाइलमा डाटा प्याक लगेर एउटा टिकटक भिडियो बनाए र पोष्ट गरे ।

अस्पताल भर्नाको आज सातौं दिन । अब एकै पटक १० औं दिन काटेर निस्किने सोच भयो । तर, अहँ कहिलेकाही जिन्दगीमा अपसोच भइदिदो रहेछ । रिकभर भइसकेको मलाई पुनः सातौं दिनमा क्रमसः ज्वरो आउने र टाउको दुख्ने एकसाथ सुरु भयो । मन एकदमै आत्तिएर आयो । भोलिबाट कोभिडमा डा. प्रवेश दाइको डियुटी छ । मैले डा. श्याम दाइलाई यो कुरा जानकारी गराए र उहाँको सल्लाह अनुसार एक्स–रे गरे । यता रातभर १००, १०१, १०२ डिग्री ज्वरोले तलतिर मेटो मार्ने सम्भावना नै देखाउदैन् । टाउको यति भारी भएको छ कि तीनवटा डोलोपार खाँदा पनि केही भाउ लागेन । मध्यरात छ यता शरीरमा अक्सिजन ९७–९८ प्रतिशत छ, भैगो आजको रात सहन्छु झोलामा आमाले घरबाट निस्किने बेला राखिदिएको रुमाल भेटाए लामो श्वास फेरे….. आमालाई सम्झँदै रुमाल टाउको बाँधेर कति खेर निदाए पत्तो पाएन ।

बिहान उठे पुन : थर्मामिटर काखीमा लगाए ज्वँरोले छाड्ने सम्भावना देखिएन । बिहानैबाट टाउको एकदमै भारी दुखेको छ र दुखाइको मात्र धेरै भएर होला ३–४ पटक मुखबाट उल्टी नै भयो । क्याबिनमा बसाइँ त झन् न गाह्रो हुन थाल्यो । ‘एक्स–रे को रिपोर्टमा निमोनिया देखियो देवेन्द्र तिमीलाई त अब रेम्डिसिभिर नै सुरु गर्नुपर्ने भयो,’ यता डा. श्यामले मलाई फोनबाट यसो भनिरहँदा सायद अब बाँचिन्न कि अब निमोनिया देखियो श्वास फेर्न गाह्रो हुने होला मनमा यस्तै—यस्तै नकारात्मक कुराहरु बढी खेल्न थाल्यो । मलाई हरेक श्वास फेर्दा अब एक जिन्दगीको महसुस हुन थालिसकेको थियो ।

घरमा फोन गरे । क्रमसः श्रीमती, आमा र बुवासँग कुरा गरे । मेरो कुराबाट श्रीमतीले बुझिसकेकी थिइन कि मलाई गाह्रो भएको छ । कुराहरु सकिएपछि मैले आँशु थाम्न सकिन श्रीमतीलाई फोन लगाए छोरी र भर्खरै बाबा भन्न सिकेको छोरालाई भिडियो कलमा हेरेर निकै बेर रोए । सायद एक्लै क्याबिनमा बस्ने भएकाले पनि होला म मनोवैज्ञानिक रुपमा पनि निकै नै कमजोर भइसकेको थिए । डा.श्याम, डा.असिम, डा. प्रवेश र डा. सुमित सरहरुको सल्लाहअनुसार मलाई कोभिड संक्रमण भएको आठौं दिनबाट रेम्डिसिभिर सुरु भयो ।

मभन्दा पनि मेरो स्वास्थलाई लिएर सुरुबाटै डा. श्याम दाइ र डा. सुमित पाण्डे सर निकै चिन्तित हुनुहुन्छ । ‘घरमा बुवालाई दम र आमालाई सुगर छ । स–साना दुईवटा बच्चा छन् । देवेन्द्र बहुत तनाव लागिरहेछ । घरमा कसैलाई लक्षण नदेखियोस ।’ डा. श्याम दाइ मलाई म छु नि भनेर भरोसा दिइरहनु हुन्छ । यता, मलाई इन्जेक्सन रेम्डिसिभिर चलाएको भोलिपल्टबाटै स्वास्थमा सुधार भइरहेको छ । बिस्तारै सुख्खा खोकी बाहेकका सबै लक्षणहरु हराउँदै गएको छ ।

बाहिर तिहारको माहोल व्यग्र मात्रामा झिलीमिली हुँदैछ । फेसबुक खोल्यो आफ्नो अनुपस्थितीको तिहार हेर्न पनि मन नलाग्ने रहेछ । जुम्लाबाट वर्षौपछि टिका लगाउन दिदी आउनु भएको छ । भाइटिकाको अघिल्लो दिन मलाई भेट्न अस्पताल आउनुभयो म उहाँसँग बोल्दा बोल्दा भक्कानिए । भोलिपल्ट दिदीहरुले नासो पठाउनुभयो । कोभिडले गराएको कमजोरी र मारेको स्वादले गर्दा जे पठाएपनि खानामा पटक्कै रुचि छैन । शरीर गलेर यतिसम्म कमजोर भएको छ कि शरीर एकातिर, शरीरको रगत र पानी एकातिर मत्थर गरेर फाँलेजस्तै भएको छ । यो बीचमा मलाई गाह्रो हुँदा मैले मेरा सम्पूर्ण प्रिय मानिसहरुलाई सम्झिए । जिन्दगी हरतरहले गलिसकेको थियो । बस् यति मात्रै चिन्ता थियो कि मलाई अक्सिजन चढाउन नपरोस् । मनोवैज्ञानिक रुपमा यति कमजोर भए कि साथीभाइ, फूपूहरु मुगु, जुम्लामा कुल पुजा गर्ने गाउँमा कुल देवतालाई समेत पुकार्न पठाइयो । धन्न्, भगवान सुधार भयो ।

‘बाबु, शरीर गलेको छ, टाउको एकदमै दुखिरहेको छ । हल्का ज्वरो पनि आइरहेको छ,’ बिहानै आमाले फोनमा यसो भनिरहँदा अब मबाट कोरोना मेरो परिवारलाई स¥यो भन्नेमा म भने विश्वस्त नै भए । सबै चेकजाँच गरेर रिपोर्ट हेर्दा आमाको फोक्सोमा निमोनिया देखियो र कोभिड–१९ जाँच गर्दा कोभिड पोजेटिभ । अन्ततः आमालाई पनि डा. श्यामको सल्लाहअनुसार मसँगै अस्पतालमा भर्ना गर्नुपर्ने भयो ।

आमालाई त्यति गाह्रो छैन । यस्तो बेलामा बुवालगायत घरमा अरुलाई सुरक्षित राख्न र आमाको निमोनिया निको पार्न भएपनि आमालाई भर्ना गर्नुपर्ने भयो । यता, घरमा बुवा र श्रीमतीलाई अर्कै खालको मानसिक तनाव हुँदैछ । अब मेरो १४ औं दिन पूरा भएर रेम्डिसिभिरको मात्र पनि पूरा भएर अस्पतालबाट डिस्चार्ज भए । आमाको तेस्रो दिन भएकाले कम्तीमा पाँच दिन ऐक्स–रे हेरेर डिस्चार्ज गरौँला भनेर डा.श्याम दाइले भन्नुभयो । म निस्कँदै गर्दा यता आमा भने एक्लै खल्लो बनेर मलाई पर पुगुन्जेल हेरिरहनुभयो । म सँगै आईसीयुको गोमा सिस्टर, सिर्जना सिस्टर र कोहलपुरको नेकपाकी अध्यक्ष दिदी बसन्ती अधिकारी पनि सँगै निस्कियौं । एक हप्ता अस्पतालको क्वार्टरमा होम आइसोलेसनमा बसेर २१ दिनपछि पिसिआर टेस्ट गर्ने सोचका साथ म होस्टेलको ४०८ नं. कोठामा आइसोलेट भएर बसेको छु । यता, आमाको स्वास्थ स्थिति बारे हरपल अपडेट छु ।

मनमा लामो सिरेटोले चस्स नमज्जा सँग घोचिरहन्छ । म एउटाले गर्दा घरमा कुनै दुर्घटना त हुने होइन । अहँ, यस्तो नहोस् बस्, आफ्नो कुल देवता भगवानलाई सम्झँदैं म मलाई आडस दिने आदणीय डा. श्याम दाइ र डा. सुमित सरलाई बेला—बेला फोन गरिरहन्छु । बुवाको स्वास्थ स्थिति बिग्रन नपाओस् भनेर कोरोनाको बेला प्रयोग गर्ने सम्पूर्ण दबाईहरु पहिले नै प्रयोग गर्न भनेको छु । सबैभन्दा बढी समस्या त बुवालाई हुन्छ । दमको बिरामी पहिले नै फोक्सो सामान्य रहँदैन् । त्यसै माथि यदि केही गरी कोरोना लाग्यो भने ? विश्व नै तहस—नहस भएको छ । डर, त्रास मनमा एक साथ पैदा हुन्छ । आफू रिकभर भइरहँदा मैले गर्दा घरपरिवारमा केही अप्रिय नभइहालोस् बस् यही पुकार म आइसोलेसनबाट हरपल गर्दैछु ।

यसबीचमा मेडिकल फिल्डभन्दा बाहिरका धेरै साथीहरूले ‘साँच्चै कोरोना लाग्यो भने कस्तो हुँदो रहेछ ?’ भन्ने जिज्ञासा राख्नुभएको छ । यसको जवाफ कोभिड–आईसीयुको भेन्टिलेटरमा अचेत अवस्थामा रहेका बिरामी जसले अक्सिजन प्राप्त गर्न एकै रातको दसौं हजार खर्च गर्दा पनि शरीरलाई अक्सिजन पुग्दैन् । म उनीहरूलाई सम्झन्छु । जब पूर्ण सावधानी अपनाएर बिरामी हेर्दा पनि म एक चिकित्सकजस्तो मान्छे थला परेर आत्मबल नै गिराउने अवस्थामा पुग्छु । अनि आफ्नो थला परेको शरीरलाई उहाँहरूको जवाफ सोध्छु ।

समाजमा एकथरि मानिसहरु छन्, जसले कोरोना हाउगुजी हो भन्दै भम्र फैलाइरहेका छन् । ‘नमरी स्वर्ग देखिन्न’ भनेझैं जब उनीहरू स्वयं वा तिनका कोही आफन्त संक्रमित भए भने अनि बल्ल थाहा वास्तविकता । थाहा हुन्छ कोभिडको पीडा । आजभोलि कोभिडबाट बच्नको लागि हरेक कलमा रिङटोन नै सन्देशमुलक राखिएको छ । नियमित साबुन पानीले मिचीमिची हात धुने, गुणस्तरीय सेनिटाइजरले बेलाबखत हात सफा राख्ने । र, नियमित मास्कको प्रयोग गर्ने र घर, समुदायमा कसैलाई ज्वरो आउने, टाउको दुख्ने, नियमित रुघाखोकी लाग्नेजस्ता कोरोना सम्बन्धि मिल्दो—जुल्दो लक्षण भए तुरुन्तै नजिकैको स्वास्थ संस्थामा सम्पर्क गरेर पिसिआर परिक्षण गरिहाल्ने ।

यता परिवारको तनाव छुट्टै छ । बावुआमाको एक्लो छोरा । कति सपना बुनेर डाक्टर पढाउन जिन्दगीको सम्पूर्ण कमाइ नै ममाथि लगानी गर्नुभयो । आज त्यही छोरा दमले थलिएर बसेका बुवा र सुगरले थलिएकी आमाको आडभरोसा अनि सपनालाई साँचेर कोरोना परास्त गर्न डटिरहेको छु । आफ्नो पढ्ने इच्छा चाहनालाई ममा नै समर्पण गरेकी श्रीमती र म घरमा नहुँदा मुस्कान हराएको दूधे बालकको मुस्कान फर्काउन ‘भोलि’ पर्खिरहेको छु । हरेक जन्मदिनमा बाबाकै हातबाट केक काटेर जन्मदिन मनाएकी छोरीलाई भोलिको जन्मदिनमा के उपहार दिऊँ ? फगत ! यो देशमा डाक्टरको पीडा सुनिदिने सरकार छैन् । कसलाई पोखूँ मेरो वेदना ?

म कस्तो देशमा डाक्टर भएँ र एउटा अन्धकार भविष्य लिएर अगाडि बढ्दैंछु ? मसँगै अहिले मेरो परिवार त सरकारको हरेक दिन प्रेस विज्ञप्तीमा जारी हुने गणनामा कोभिड पोजेटिभको एक केस न हुँ ? भोलि कोभिड पोजेटिभको फाइलको गणनामा कि त एस्पाएर कि त डिस्चार्ज यहि दुई वटा त सिमित रहनेछ । मेरो र मजस्तै कोरोना पोजेटिभ स्वास्थकर्मीको यो देश र जनताप्रतिको समर्पण ?

(डा. देवेन्द्र आचार्य नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको इमर्जेन्सी विभागमा कार्यरत छन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ