२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारपीसीआरको विश्वसनीयता ७० प्रतिशतमात्रै, यी कारण आउँछ कोरोनाको गल्ती रिपोर्ट

पीसीआरको विश्वसनीयता ७० प्रतिशतमात्रै, यी कारण आउँछ कोरोनाको गल्ती रिपोर्ट


यतिबेला नेपालमा कोरोना भाइरस संक्रमितको ग्राफ उकालो लागिरहेको छ । यहिबीचमा कोरोना भाइरसको संक्रमण पहिचान गर्ने पीसीआर रिपोर्टको विषयलाई लिएर विभिन्न भ्रम पैदा भएका छन् ।

केही दिन अघिमात्र नेपालका केही निजी अस्पताल र प्रयोगशालामा गरिएको पीसीआर रिपोर्टमा गल्ती देखियो । ती अस्पताल र ल्याबमा कोरोना जाँच गरी नेगेटिभ रिपोर्ट आएर विदेश गएका केही युवा–युवतीहरुको विदेशमा गरिएको पीसीआर परीक्षणमा भने कोरोना संक्रमण पोजेटिभ पुष्टि भयो । यसले निजी अस्पताल तथा निजी ल्याबहरुले गलत रिपोर्ट दिए कि ? भन्ने प्रश्न चिन्ह खडा भएको छ । तर, कतिपय अवस्थामा भने विभिन्न कारणले गर्दा पीसीआर रिपोर्ट गलत आउन सक्छ ।

पहिलो कुरा कोरोना भाइरसको पीसीआर परीक्षण आफैंमा शत् प्रतिशत होइन । यसको विश्वसनीयता ७० प्रतिशत मात्र हो । त्यसैले कतिपय अवस्थामा पीसीआर परीक्षणको गल्ती रिपोर्ट आइरहेको हुन्छ । यो सँगै पीसीआर रिपोर्ट गल्ती आउन सक्ने कारणहरु निम्न छन् ः

‘विन्डो पिरियड’ भित्रै पीसीआर परीक्षण गर्नु

कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा पुगेका कतिपय मानिसहरु आत्तिएर आजको भोलि नै पीसीआर परीक्षणका लागि जान्छन् । जसले गर्दा पीसीआर रिपोर्ट गलत आइदिन्छ । कन्ट्याक ट्रेसिङमा परेका मानिसहरु कम्तीमा पनि ५ देखि ७ दिनपछिमात्र पीसीआर परीक्षण गर्न जानुपर्छ । किनभने भाइरस शरीरभित्र पसेर त्यो सक्रिय हुन ५ देखि ७ दिनको समय लाग्छ । यो अवधिलाई ‘विन्डो पिरियड’ भनिन्छ । तर, यो पिरियडमा पीसीआर परीक्षण गर्दा शरीरमा भाइरस छ भने पनि रिपोर्ट नेगेटिभ आउने सम्भावना बढी हुन्छ । त्यसैले सही रिपोर्ट प्राप्त गर्नका लागि कन्ट्याक ट्रेसिङमा परेको ७ दिनपछिमात्र कोरोना जाँच गर्नुपर्छ । विन्डो पिरियडमा कोरोना जाँच गर्दा शरीरमा भाइरसले आक्रमण गरेको भएपनि रिपोर्टमा देखिँदैन ।

स्वाब संकलनमा त्रुटी

पीसीआर रिपोर्ट गल्ती आउनुको अर्को मूख्य कारण भनेको स्वाब संकलनमा त्रुटी हुनु पनि हो । स्वाब लिँदा मुखबाट लिइयो कि अथवा नाकबाट लिइयो भन्नेमा पनि भर पर्छ । मुखबाट स्याम्पल लिँदा त्यसको सेन्सेटिभ ३० प्रतिशतमात्र हुन्छ भने नाकबाट लिइएको स्वाबको सेन्सेटिभ ६६ प्रतिशत हुन्छ ।

जसले गर्दा सेन्सेटिभ बढाउनका लागि सकेसम्म नाक र मुख दुवैबाट स्वाब लिनुपर्छ । यसो गर्दासही रिपोर्ट आउँछ । यदि दुवै ठाउँबाट स्वाब लिने व्यवस्था नभएका ठाउँमा नाकबाट स्वाब निकाल्न लगाउनुपर्छ । यदि मुखबाटमात्र स्वाब लिँदा शरीरमा भाइरस भएपनि गल्ती रिपोर्ट आउने सम्भावना उच्च रहन्छ ।

प्रयोगशालाको ‘कट अफ भ्यालु’

पीसीआर रिपोर्ट गलत आउनुमा प्रयोगशालाको ‘कट अफ भ्यालु’ मा पनि भर पर्छ । कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने प्रयोगशालाहरुले आ–आफ्नै ‘कट अफ भ्यालु’ राखेका हुन्छन् । ‘कट अफ भ्यालु’ ले कतिसम्मलाई पोजेटिभ र कतिसम्मलाई नेगेटिभ मान्ने भन्ने निर्देशित गर्छ ।

त्यसैले एउटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आउने र अर्कोमा गर्दा पोजेटिभ आउने कारण यहि हो । उदाहरणका लागि कुनै प्रयोगशालमा १००० आइयु प्रति एमएलसम्म भएको कीटले ९ सय आइयु प्रति एमएलसम्मको भाइरसलाई नेगेटिभ रिपोर्ट दिने भयो । तर, अर्को ल्याबले ५०० आयु प्रति एमएल डिटेक्सन लिमिट भएको किट प्रयोग गरेको छ भने ९०० आइयु प्रति एमएल भाइरसको रिपोर्ट पोजेटिभ देखाउने भयो । त्यसैले प्रयोगशालाको ‘कट अफ भ्यालु’ र कीटले पनि पीसीआर रिपोर्ट गलत देखाइदिन सक्छ ।

उपयुक्त तापक्रम नहुँदा

स्वाब संकलन पश्चात त्यसलाई उपयुक्त तापक्रममा नराख्दा पनि पीसीआर रिपोर्ट गल्ती आउने सम्भावना हुन्छ । यो आरएनए भाइरस भएकाले अस्थिर हुन्छन् । तापक्रम नमिल्दा भाइरस हट्न सक्छ ।

त्यसैले स्वाब कलेक्सन गरिसकेपछि राम्रोसँग कोल्डचेनमा राख्नुपर्छ । यदि राम्रोसँग स्टोर गरिएन भने बोर्डर लाइनमा भएका भाइरसहरु पोजेटिभ छन् भने पनि नेगेटिभ रिपोर्ट आउने सम्भावना हुन्छ । साथै, स्याम्पलमा पीसीआर इनिभिटर छ भने शरीरमा भाइरस भएतापनि पीसीआर रिपोर्ट नेगेटिभ आउन सक्छ ।

यसरी गरिन्छ पीसीआर परीक्षण

कोरोना भाइरसको पीसीआर परीक्षणका लागि सुरुमा स्वाब संकलन गरिन्छ । स्वाबलाई कोल्ड चेनमा राखेर प्रयोगशालामा लगिन्छ । प्रयोगशालामा पुगेपछि भीटीएमको बारकोड र नम्बरका आधारमा स्वाब पहिचान गरिन्छ । त्यसपछि भीटीएमबाट स्याम्पल लिएर भाइरसलाई आइसोलेट अर्थात आरएनए एस्ट्रेक्सन गरिन्छ ।

पीसीआर परीक्षण गर्नका लागि जेनेटिक मटरियल आरएनए निकाल्न २ देखि ३ घन्टा लाग्न सक्छ । त्यसपछि पीसीआर किटमा कोरोना भाइरस छ कि छैन भनेर रिएजेन्ट हुन्छ । त्यो रिएजेन्टमा आरएनए मिसाइन्छ । जसमा भाइरस जाँच गर्ने केमिकलहरु राखेर मास्टरमिक्स बनाइन्छ । सबै रासिकेपछि पीसीआर मेसिन चलाइन्छ । त्यसपछि २ घन्टामा रिजल्ट आउँछ । २ घन्टामा सीटी भ्यालु र डाटाजलाई विश्लेषण गरेर रिपोर्ट तयार पारिन्छ ।

पोजेटिभ/नेगेटिभ रिपोर्ट यसरी छुट्याइन्छ

कोरोना भाइरस पोजेटिभ अथवा नेगेटिभ रिपोर्ट दुई प्यारामिटरले छुट्याइन्छ । पीसीआर गर्दा ग्राफ र सीटी भ्यालु आउँछ । त्यही सीटी भ्यालु र ग्राफलाई विश्लेषण गरेर पोजेटिभ अथवा नेगेटिभ रिपोर्ट तयार गरिने हो । सीटी भ्यालु भनेको पीसीआर मेसिनलाई कतिपटक साइकल गर्दा रिपोर्ट पोजेटिभ आयो भन्ने हो ।

सामान्यतया पीसीआर मेसिनलाई ४० देखि ४५ साइकल रन गराइन्छ । कोरोना पोजेटिभ आएकाहरुको सीटी भ्यालु २० भन्दा कम आयो भने भाइरसको मात्रा बढी छ भनेर बुझिन्छ । सीटी भ्यालु जति कम भयो भाइरसको मात्रा त्यति नै बढी हुन्छ र भाइरसको मात्रा कम छ भने सीटी भ्यालु बढी देखिन्छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ