२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारआश अझै मरेको छैन

आश अझै मरेको छैन


आफूले नदेखेको कुरा विश्वास गर्न गाह्रो पर्छ । नभोगेको कुरा महसुस गर्न कठिन हुन्छ । आफूलाई नपरिकन अरुको दुःख बुझ्न सजिलो कहाँ छ र ? जब आपतको बेला आउँछ, हामी खोज्छौं अनेकौं बाटाहरु, उपायहरु, आफूलाई ढाडस दिनको निम्ति । सायद त्यसैले होला हामीले सोच्ने, ‘मलाई केहि हुँदैन ।’ ‘कोरोना हल्ला मात्र हो , यो त साधारण रुघाखोकी जस्तो मात्र हो, घरेलु उपचारले नै निको हुन्छ ।’ ‘जो मरेर गए, उनीहरु अर्कै रोगका कारण मरेर गएँ, म निरोगी छु, मलाई केहि हुँदैन ।’ आदि इत्यादि ।

आपतको बेला हामीले गर्ने अर्को काम–अरुलाई दोष दिने । ‘यसले यस्तो गरेर यस्तो भयो, त्यसले यस्तो गर्नुपर्ने थियो, गरेन । सरकार नालायक भयो ।’ यस्तै–यस्तै सोचहरुबाट हामीलाई क्षणभरको लागि ढाडस मिले पनि समस्या समाधान हुने होइन् । अरुलाई दोष दिएर आफ्नो दोष लुक्दैन्, न नै बदलिन्छ यथार्थ । कोरोना महामारी यथार्थ हो , हामीले नपत्याएर यो बदलिन्न । हामी मुर्ख हौं, हामीले नस्वीकारे यो सत्य पनि फेरिन्न । भौतिक दूरी कायम गर्न, मास्क लगाउन, अनावश्यक ठाउँमा अनावश्यक काममा घुइँचो नगर्न हामीलाई किन गाह्रो? महामारी रहून्जेलका निमित्त हामी यति पनि गर्न सक्दैनौ भने यो महामारी पनि छिट्टै र सजिलै रोकिन्न । यथार्थ यही हो । जति रोइलो गरे पनि यथार्थ बदलिन्न ।

मेरो उचाइ नगण्य छ, त्यो आकाश सामु । जति उफ्रे पनि कुनै सहायता बिना मैले त्यो आकाश छुन सक्दिनँ । मेरो देशले पनि सक्दैन्, यो महामारीको विरुद्ध लड्न, हामीले नै लड्न छोडेपछि । हेक्का रहोस्, देश केवल भौगोलिक नक्सा होइन, फगत सरकार होइन । देश हाम्रो हो, हामी नै देश हौं । हाम्रो आफ्नै असहयोगले हामी आफैं हार्दैछौं ।

दुई हप्ताको निरन्तरको कोभिड ड्युटी र थप एक हप्ताको एकल वासपछि हरेक महिना जब घर फर्कन्छु , मलाई लाग्छ म दुई भिन्न संसारमा आलोपालो गरी बाँचिरहेछु । अस्पतालको गेटभित्रको संसार अलग्गै छ, दुःख छ , जोखिम छ, निरन्तर युद्ध चलिरहने युद्ध मैदान भाँती छ । एम्बुलेन्समा भित्रिनेहरु आँखाभरी आँश, मनभरी त्रास बोकेर भित्र पसिरहेका हुन्छन् । बाहिरिनेहरु उल्लास लिएर निस्किरहेका हुन्छन् । कोहि छोडेर जिन्दगी यतै, लाश बनेर बिदा भैदिन्छन्, हामीलाई आफ्नो यात्राको साक्षी बनाएर । त्यहाँ आज कुन बार हो? कति गते हो झट्ट याद हुन्न कसैलाई । सबैजना एकोहोरो सेवामा लागि परेको प¥यै, आफैलाई लगभग भुलेर ।

म सधैँ सोच्ने गर्थे, यन्त्र मानव मा भावना मिसियो भने कस्तो बन्ला ? गेट भित्रको संसारमा म आफैलाई मेरो परिकल्पनाको त्यो यन्त्र मानवको रुपमा पाउँछु, जसले नियमित तोकिएको काम गर्नु पर्छ । आइपरेको काम गर्नुपर्छ, जे–जे उसलाई गर भनिन्छ । त्यो उसले गर्नुपर्छ, भोकको, निन्द्राको, सौचको उसले जिकिर गर्न मिल्दैन् । यन्त्र मानव जसरी नै ऊ खट्नुपर्छ । तर, उसँग भावना पनि हुन्छ, दुःख देख्दा मुटु दुख्छ । आँशु झर्छ । नरमाइलो लाग्छ । गेटपारीको संसारमा भएका आमाबाको चिन्ता लाग्छ । र उ कतै न कतै चुक्छ । सतप्रतिशत त्रुटिरहित यन्त्र बन्नबाट ।

गेट बाहिरको म संसार बिल्कुलै भिन्न पाउँछु । यहाँ डर छैन धेरैलाई किनकि उनीहरुले त्यो संसार देखेका छैनन्, भोगेका छैनन् । संक्रमितमध्ये पनि धेरैलाई साधारण लक्षण मात्र देखिएको होला । ‘आगो के हो ?’ भनेर नचिनेको सानो अबोध बालकलाई आगोसँग डर नालाग्नु स्वभाविक हो । आफूलाई परेपछि मात्र दुःख देख्ने मानवीय स्वभाव पनि हुन सक्छ । म कामना गर्दछु सकेसम्म थोरै, सम्भव भएसम्म कोहि पनि त्यो गेटभित्र प्रवेश गर्न नपरोस् ।

तर, म आफै जोखिममा रहेको बबुरोको कामना कसले पुरा गर्दिने ! जब–जब म घर फर्कन्छु, मलाई धेरै डर लाग्छ । मेरै कारणले मेरो घरपरिवारमा पनि संक्रमण फैलिन्छ कि भनेर । मेरै परिवारको कुनै सदस्यको अवस्था जटिल भयो भने उपचार गर्ने कसरी ? भन्ने अर्को डर पनि मनमा छ । अझ उहाँहरु मध्य कसैलाई केहि भैहाल्यो भने ? म भित्र कार्यरत रहेकै बेला मजस्तै एक मेडिकल अधिकृत साथीको बाबासहित स–परिवार अस्पतालमा भर्ना हुनुहुन्थ्यो । उहाँको बाबाको अवस्था जटिल थियो । उहाँलाई हामीले बचाउन सकेनौं । अन्तिमपल्ट आफ्नो बाबाको मुहार हेर्न आएको उसको आँखामा मैले केवल आँशु देखिन, असिमित पीडा, ग्लानी, हिनताभाव, पश्चाताप सबै–सबै देखें ।

मुस्किलले पाइने सुत्ने समयमा पनि म त्यो दिन अनि आउने केहि दिनहरु राम्ररी सुत्न सकिन । ‘सरी बाबा…’ आफ्नो बाबाको पाउमा अन्तिम पल्ट उसले शिर राखेर आँशु झार्दै गरेको उसमा मैले आफैलाई पाउँछु र झस्किन्छु अझै पनि । आफू स्वयंम बिरामी भएर अस्पतालमा भर्ना भएको बेला त्यो असिम पीडाको सामना उसले कसरी गर्यो होला । आफ्नी बिरामी आमालाई उसले कसरी सम्हाल्यो होला । म कल्पना गर्न सक्दिनँ ।

हाम्रो पेशा नै यस्तो छ । जिन्दगीको झिनो अस्तित्व हरेक दिन स्मरण गराउने अनि वास्तविकतासँग नजिक सायदै अर्को पेशा होला । मैले जीवनभर भुल्न नसक्ने अर्को घटनाले मलाई धेरै दिनसम्म धेरै पिरोलिरह्यो । पढ्ने र काम गर्ने क्रममा धेरै पल्ट जीवन र मरणसँग मेरो प्रत्यक्ष साक्षत्कार भएको छ । तर, आफ्नै अस्पतालमा कार्यरत अग्रज चिकित्सकज्यूकै आमाले आफ्नै आँखा अघि देह त्याग गर्दा, उहाँ भक्कानिएको देख्दा मलाई के महाशुस भयो, म वर्णन गर्न सक्दिनँ । सम्झँदा मेरो आङ सिरिङ्ग हुन्छ । ‘हामी केका लागि , कसका लागि, किन यसरी अफ्नो र आफ्नाको जिन्दगी हातमा लिएर दिन रात लागि परिरहेका छौं ?’ म सँग चित्तबुझ्दो उत्तर छैन ।

मलाई धेरै रिस पनि उठ्छ सबैसँग । गत चैतदेखि सतप्रतिशत जोखिम भत्ता दिने बाचा गरेर आठ महिना बित्दा समेत ट्वाल्ल परेर बसेको सरकारसँग । सरकारले गरेको बाचा पूरा गर्नतर्फ उचित पहलकदमी नगर्दिने जिम्मेवार निकायसँग । हाम्रो मेहेनतलाई, हाम्रो विवशतालाई नबुझिदिने र हामीलाई हेयभावले हेर्न आम जनमानससँग । चोक–चोकमा देखिने भिडसँग । ठेलमठाल गरेर किनमेल गरिरहेका झुण्डसँग । फेसबुकमा नानाथरी भ्रम छर्ने विदवानहरुसँग । मास्क नलाई निर्धक्क हिड्ने मुहारहरुसँग । विपतको समयमा कालोबजारी गर्न ब्यापारीहरुसँग । अनि सबैभन्दा बढी आफैँसँग ।

तर, निको भएर घर फर्कदै गरेका बिरामीहरुको मुहारले अर्कै अनुभूति हुन्छ । सायद त्यसैका निम्ति हो हामी यति धेरै खट्ने पनि । तर, हाम्रो मेहनतको कदर कहाँ छ ? हाम्रो काम नै यहि हो, यो नगरी हामीलाई खान पुग्दैन् । त्यसैले हामीलाई आफ्नो र आफ्ना परिवारको स्वास्थ्य जोखिममा राखेर भएपनि काम गर्ने बाध्यता छ भनेर सोच्ने पनि यहाँ नभएका हैनन् । अरुले सोचेर वास्तविकता बदलिने होइन् । देश अहिले आपतमा छ, यस आपतको समयमा आफ्नो ज्यानको बाजी लगाएर खटिने स्वास्थ्यकर्मीहरुलाई इतिहासले सम्झेला नसंझेला । निको भएर जाने र निको नभएर जानेहरुका आफन्तले सम्झिने नै छन् ।

देशले आफूलाई के दियो भन्दा पनि आफूले देशलाई के दिन सकिन्छ भनेर सोच्नु भनेर सिकियो सानैबाट । आज खुसी लागेको छ, देशलाई केही दिन सकेकोमा । त्यही ‘देश’ मै अटाएका छन् आपतको समयमा पनि भ्रष्टाचार गर्नेहरु । स्वास्थ्यकर्मीको नाममा आएको भत्ता पचाउनेहरू । लाज पचाउनेहरु । सबै–सबै महात्माहरु । उनीहरु नै कोहि बिरामी भएर गेट पारीको त्यो संसारमा आउन नपरोस्, आइहाले पनि सबै निको भएरै फर्किउन, मनभरिको कामना छ ।

भन्न त कति धेरै कुरा थियो मनभरि । तर, केवल भन्नको लागि भनेर के फाइद ा? मात्र केही प्रश्नहरु छन्, उत्तर खोज्न मद्धत गरिदिनुहोला ।

१) हाम्रो जस्तो सानो देशले युद्धमा कुनै ठूलो देशलाई जित्न सक्ला नसक्ला, कुनै ठुलो देशले हामी माथि आक्रमण गर्ला नगर्ला, नदेखिने सुक्ष्म जीवाणुहरुले पक्कै आक्रमण गर्छन् भन्ने कुरा प्रस्ट भैसकेको यो अवस्थामा देशले हातहतियार र सैन्य शक्तिको विकासमा जस्तै स्वास्थ्यकर्मीरुपी सेनाहरुको वृद्धि विकासमा ध्यान पु¥याउनु पर्ने होइन र ? हरेक वर्ष कति हजारको संख्यामा सुरक्षा निकायमा विभिन्न पदमा भर्ना खुल्छ । स्वास्थ्यकर्मीहरुको भर्ना नखुलेको कति वर्ष भयो ?

२) स्वास्थ्यकर्मीलाई बाचा गरिएको भत्ता नदिएपनि उनीहरु सेवामै रहेको बेला उनीहरुको परिवार संक्रमित हुन पुगेमा उनीहरुको परिवारको उपचारको जिम्मा सरकारले लिइदिनुपर्ने होइन र ?

३) स्वास्थ्यकर्मीहरु कति जोखिममा काम गरिरहेका हुन्छन् भन्ने कुरा अलिअलि उजागर भएको मात्रै हो अहिले । यसअघि पनि विभिन्न प्राणघातक र अति संक्रमणजन्य रोगहरुसँग जोखिम मोलेर काम गर्दै आएका स्वास्थ्यकर्मीप्रति राज्यको कुनै दायित्व छ कि छैन ? स्वास्थ्यकर्मीहरुले पाउँदै आएको तलव सुविधा साँच्चै पर्याप्त छ ?

४) हामी स्वास्थ्यकर्मीहरु मात्रको प्रयासले यो महामारी रोकिन्छ र ? कि हामीलाई फरक पर्दैन अब ? आफ्नो घरमै आफ्नै कोही केही नभएसम्म हाम्रो चेत नखुल्ने हो ?

१४ दिन निरन्तर चौबिसे घण्टा तैनाथ रहेर, १६–१८ घण्टा प्रति दिन काम गर्न साँचै नै गाह्रो छ । मासिक ३६ हजार चानचुन तलवमा आफ्नो र आफ्नो परिवारको स्वास्थ्य जोखिममा राखेर यसरी खटिएर कम गर्नुपर्ने न मेरो रहर हो न बाध्यता । मुर्खता मात्र हो कि ? तर, ८ महिना भइसक्यो, अझै कति महिना हुन्छ हेर्न बाँकीं नै छ । सेवाको नि लत लाग्दोरहेछ । यस देशमा जन्मिएको, हुर्किएको भाडा तिरेको सोचेरै काम गरौंला । कम्तिमा, हामीले यसरी काम गरिरहेका छौं भन्ने मात्र सबैले बुझिदिने हो भने र सुरक्षाका सामान्य नियमहरु पालना गरिदिने हो भने यस विषम परिस्थितिबाट छिट्टै नै पार पाइन्थ्यो कि ? हामी पनि साधारण जीवनशैलीमा फर्किन पाइन्थ्यो कि ? आश अझै मरेको छैन ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ