२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारवीर अस्पताल कसरी सुधार्न सकिन्छ ?

वीर अस्पताल कसरी सुधार्न सकिन्छ ?


व्यस्थापनका दुई तरिका हुन्छन्—एक अभ्यस्त व्यवस्थापन । यस्तो व्यवस्थापनमा जुन काममा मानिसहरु अभ्यस्त भइरहेका हुन्छन्, त्यसैमा काम गर्छन् । त्यसमा धेरै कुराहरु गर्नु पर्दैन् । पियन पनि बिहान आउने जागिर खाने बुझेको हुन्छन्, अन्य कर्मचारीले पनि त्यही बुझेका हुन्छन् । यो एक कर्मकाण्डी किसिमको व्यवस्थापन हो । यसमा पियन सबैभन्दा पहिले आएर ढोका खोल्छ, त्यसपछि अन्य कर्मचारी आउँछन् र अन्तिममा हाकिम आउँछ । साँझ फर्किने बेलामा पनि हाकिम सबैभन्दा पहिले घर फर्किन्छ, त्यसपछि विभिन्न विभागका कर्मचारी जान्छन् र अन्तिममा ढोका बन्द गर्ने पियन हुन्छ । रुटिङमा गर्नैपर्ने काम भइरहेका हुन्छन्, त्यसमा नवीनता हुँदैन् । नयाँ के गर्ने, आजभोलि कसरी राम्रो गर्नेभन्दा नियमित शैलीमा संस्था चलिरहेको हुन्छ । पुनरावलोकन गर्ने बारे खासै कुरा हुँदैन ।

वीर हस्पिटल मोर्डन मेडिसिनको जननी हो । त्यो सँगै स्थापित भएका विश्वका अरु हस्पिटलहरु कहाँ पुगे ? तर, वीर अस्पताल अपडेट भएन । आधुनिकतालाई समात्दै जाँदाखेरि आउटडेटेड हुँदैन, जब हामी अपडेट हुँदैनौं आउटडेटेड हुन्छौं । त्यो हिसाबले हाम्रो संस्था गएन कि भन्ने चिन्ता हो । मुख्य कुरा अहिलेको मोर्डन म्यानेजमेन्ट सिस्टममा नवीनता थपिनुपर्छ । हिजोभन्दा आज के नयाँ गरियो भन्ने कुरामा ध्यान दिनुपर्छ । आजभन्दा भोलि के नयाँ गर्ने भन्ने सोच्नुपर्छ । त्यो समग्रतामा हुनुपर्छ । समग्रतामा मुख्य नेतृत्वको मनमा आएर मात्रै हुँदैन । तर, त्यो मुख्य नेतृत्वको मनमा आउनु पहिलो शर्त हो । तर, तलदेखि माथिसम्म व्यवस्थापकीय काममा नवीनता आउनुपर्छ । त्यसलाई सुरु गर्ने र स्वीकार गर्ने काम मेजर पोष्ट होल्डरबाट सुरु हुनुपर्छ । नेतृत्वबाट नभए हुँदैन, किनभने नेतृत्वमा अथोरिटी हुन्छ । त्यो अथोरिटीले नै काम सञ्चालन हुने हो । अथोरिटीसँग इच्छाशक्तिसँगै जोश, जाँगर पनि हुनुप¥यो । अख्तियार लिएको व्यक्तिले जिम्मेवारी पनि बहन गर्नुपर्छ ।

वीर अस्पतालको आफ्नै इतिहास मात्रै होइन्, सरकारी स्वास्थ्य संस्थाहरुमा विशिष्ट स्थान पनि छ । देशकै अग्रणी स्वास्थ्य संस्था हो । वीर अस्पताल जति ठूलो अस्पताल देशमै छैन । यतिको सर्वसुलभ स्वास्थ्य सेवा दिने अस्पताल अर्को छैन । यति ठूलो जनशक्ति भएको ठाउँ पनि छैन । सहरको मध्यभागमा छ । सबै हिसाबले राम्रो लोकेसनमा छ । अब वीर अस्पतालमा दिनका दिन नयाँ गर्दै जानुपर्छ । अहिलेसम्म सुतेको अवस्थाबाट माथि जानका लागि अरुभन्दा बढी काम गर्नुपर्छ । अरुले थोरै मिहेनत गर्दा हुन्छ भने वीर अस्पतालमा धेरै मिहेनत गर्नुपर्छ ।

वीरका चुनौती

वीर अस्पतालमा तीन प्रकारका व्यवस्थापकीय चुनौती छन् । वीरमा पहिलो हस्पिटल सेवा, दोस्रोमा एकेडेमिक सेवा र तेस्रोमा रिसर्च एण्ड इनोभेसन । यी तीन वटा पिल्लरलाई सँगै लिएर जानुपर्छ, अनिमात्र मोर्डन टेक्नोलोजी इक्विपमेन्ट भएका संस्थाहरुसँग कम्पिटिसन गर्न सक्छ । पहिलो जनतासँग प्रत्यक्ष जोडिएको हस्पिटल सेवा अर्थात स्वास्थ्य सेवा हो । त्यसमा राज्यले गरेको लगानी र प्रतिफललाई हेर्नुपर्छ । राज्यले अर्बौ खर्च गरेको संस्था र एउटा प्राइभेट संस्था तुलना गरेर हे¥यौं भने हामीले लगानीअनुसारको प्रतिफल पाएका छैनौं । भौतिक पूर्वाधार, जनशक्तिमा लगानीको अनुपातमा लाभान्वित सेवाग्राहीको संख्या छ कि छैन ? सेवाग्राहीको संख्या मात्रैं हेरेर पुग्दैन्, उनीहरुले साँच्चिकै सेवा पाएका छन् कि छैनन् ? यसलाई क्वालिटी र क्वान्टीटी दुवैमा हेर्नुपर्छ । संख्यामा हामीले धेरै बिरामी हेरेपनि गुणस्तरमा चुकेको देखिन्छ । डाक्टरलाई भेटेर फर्किएका बिरामीहरुको अनुहारमा खुसी छ त ? आम बुझाइले छैन । अबको चुनौती यसको तादाम्यता मिलाउने हो । यसका लागि व्यवस्थापनले वैज्ञानिक योजना बनाउनुपर्छ । वीर हस्पिटलको गेटबाट हेर्दा बिरामीको अनुहार सन्तुष्टि देखिनुपर्छ । त्यो बनाउनुपर्छ, त्यसमा चुनौती छ ।

बिरामीलाई सन्तुष्ट पार्नका लागि गेटदेखि स्टाफको व्यवहार, ट्वाइलेट जाँदा गर्ने अनुभव, डाक्टरहरुले बोलीचालीका क्रममा गर्ने भाषाको प्रयोग, शल्यक्रिया कक्षमा सुतेर निस्कँदासम्मका अनेकन अनुभवहरु समेटिन्छन् । बिरामीमा यो अस्पताल ठीक छ, म निको हुने भएँ, राम्रो ठाउँमा आएँ भन्ने अनुभव यी सबै कुराले गराउने हुन् । व्यवस्थापनको चुनौती भनेकै यी सबै ठाउँमा कसरी सेवाग्राहीलाई खुशी बनाउने र गुणस्तर कसरी कायम गर्ने भन्ने हो । हस्पिटलको व्यवस्थापन त्यही कारण चुनौतीपूर्ण छ । अन्य व्यवस्थापन र हस्पिटलको व्यवस्थापनमा के फरक छ । हस्पिटल मानवीय संवेदनासँग जोडिएको छ, दुःख र पीडा बोकेर आएका मान्छेहरुको जमघट हुने थलो हो । त्यही भएर यो चुनौतीपूर्ण बनेको हो । त्यसकारण हाम्रा व्यवहार र आचरणले महत्वपूर्ण अर्थ राख्छ । भौतिक सुविधा, प्रयोग गर्ने भ¥याङ, ट्वाइलेट, बिरामीमाथि प्रयोग हुने औजार र मेसिनहरुको गुणस्तर पनि कायम गर्नुपर्छ । यी सबै एकै ठाउँमा राख्नलाई जनशक्तिको प्रयास पनि त्यहीअनुसार हुनुपर्छ । हस्पिटलको दैनिक व्यवस्थापन महत्वपूर्ण चुनौती हो ।

दोस्रो, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) छ । वीर अस्पतालको शीरमा देशमा विशेषज्ञ जनशक्ति पु¥याउने हिसाबले प्रतिष्ठान बनाइएको हो । यसले त्यही हेतुका साथ काम पनि गरिरहेको छ । प्रतिष्ठान वीर अस्पतालको अर्को महत्वपूर्ण पाटो हो । जुन आम नागरिकले त्यति नदेखेका हुन सक्छन् । तर पनि न्याम्स बनिसकेपछि १५—१६ वर्षमा यसले उत्पादन गरेका जनशक्तिले देशभर विशेषज्ञ सेवा पु¥याउन भूमिका खेलेको छ । त्यो पब्लिकको नजरमा एकदमै नदेखिएको लुकेको पाटो हो । त्यसको गुणस्तरीयता र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको जनशक्ति तयार गर्ने जुन अभियान छ, त्यसमा पनि केही चुनौतीहरु थपिएका छन् । किनभने यो एउटा अस्पताललाई आधार मानेर बनाइएको प्रतिष्ठान, त्यो प्रतिष्ठानमा एकेडेमिक कामहरु गर्दाका चुनौतीहरु छन् । सानो ठाउँमा रहेर यति ठूलो जनशक्ति उत्पादन गरिसकेको छ । राज्यले त्यसलाई अलि उचाइबाट हेर्नुपथ्र्यो । त्यो अलिकति कम भएको छ । न्याम्सलाई ठाउँको समस्या छ । सहरको मुख्य भागमा रहेकाले साँघुरो वातावरण छ । त्यहाँ पढ्नेहरुलाई यथोचित वातावरण र भौतिक सुविधा दिन सकेका छैनौं । रेजिडेन्ट ड्युटी गर्नेहरुका लागि आराम गर्ने र बस्ने व्यवस्था छ कि छैन् ? खाना, आवास र आरामका कुराहरु पनि हामीले ध्यान दिन सकेका छैनौं । यसको व्यवस्थापनले पनि धेरै कुराको निर्धारण गर्छ । त्यसमा पनि हामी अलि पछाडि परेका छौं । त्यसकारण रेजिडेन्ट कार्यक्रमलाई हेर्नुपर्ने उचाइ अलि पुगेको छैन् ।

धेरैतिर खुलेका प्रतिष्ठानहरुका कारण राष्ट्रियस्तरको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई अलि छायाँ पार्न खोजिएकोजस्तो देखिन्छ । हुनत सरकारले छाता प्रतिष्ठान ऐन ल्याउने भनेको छ यस्तै कुराहरु सम्बोधन गर्नका लागि होला । त्यो नआउन्जेल न्याम्सले गर्नुपर्ने काम त उसले गर्नुपर्छ । त्यसकारण त्यहाँ पनि अलिकति चुनौती छ । भौतिक पूर्वाधार र वातावरणसँग आर्थिक पक्ष पनि जोडिएर आउँछ । यसअघि न्याम्सले आफै इन्ट्रान्स, परीक्षा लिन्थ्यो, त्यो अधिकार चिकित्सा शिक्षा आयोगमा गइसकेपछि यो चुनौती पनि थपिएको छ । त्यो हुँदा प्रोफेसरहरुलाई जसरी न्याम्सले व्यवहार गर्न सक्थ्यो, स्वायत्त हुँदा इन्ट्रान्स र परीक्षासँग जोडिएका आर्थिक कुराहरु पनि उसैका अधिनमा थिए । अहिले आयोगले न्याम्सका यस्ता धेरै अधिकार लगेपछि प्रतिष्ठानमा चुनौती अझ थपिएको छ ।

तेस्रो, रिसर्च एण्ड इनोभेसन । न्याम्स स्थापना गर्दा नयाँ कुरा अन्वेषण गर्ने थलोका रुपमा यसको परिकल्पना गरिएको थियो । यसले समग्र देशको चिकित्सा क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्छ भन्ने जुन अपेक्षा गरिएको थियो । राष्ट्रिय प्रतिष्ठान भएकाले ट्रिटमेन्टको भागमा जस्तो नेपालमा मुटुको उपचार कस्तो र कसरी गर्ने ? चोटपटकको व्यवस्थापन कसरी गर्ने ? लगायत यसले मार्गनिर्देशन गर्नुपर्ने सबै खालको नीतिलाई पनि गाइड गर्ने खालका अनुसन्धानहरु हुनुपर्ने, क्लिनिकल म्यानेजमेन्ट अथवा हरेक प्रकारका रोगहरुको व्यवस्थापन वा प्रिभेन्सनमा यसले भूमिका खेल्न सक्नुपथ्र्यो । त्यो तेस्रो आयाममा पनि चुनौतीहरु छन्, अपेक्षित भूमिका खेल्न सकेको छैन ।

कसरी अगाडि बढ्ने ?

अहिलेको व्यवस्थापनलाई जिरो तहबाट नवीनतम बनाउन लाग्नुपर्छ । केही सकारात्मक कुराहरु पनि छन् । वीर अस्पताललाई सरकारले हरेक कुरामा पहिलो प्राथमिकतामा राख्छ । त्यो प्रायोरिटीमा राखेको कुरालाई क्यास गर्नु सक्नुप¥यो । र, संस्थाको अनुकूल र हितमा त्यसलाई प्रयोग गर्नु सक्नुप¥यो । कोभिड—१९ को अहिलेको बेला चुनौती थियो । चुनौतीकाबीच पनि अवसरहरु थिए । कोभिड—१९ का बेला सरकारले पहिलो प्राथमिकतामा राखेर पहिले कोभिड चलाउन दियो । सरकारले दिएको यो जिम्मेवारीलाई हामीले अवसरका रुपमा लिदैं राज्यले दिएका सुविधाहरु लिएर आफूअनुकूल ल्याउन सकिन्थ्यो ।

अहिले पनि वीर अस्पताल राज्यको पहिलो प्राथमिकतामा छ । त्यसकारण ट्रिटमेन्टका हिसाबले अवसरहरुलाई अनुकूल प्रयोग गर्ने एउटा नेतृत्व संस्थामा चाहियो । एकेडेमिक हिसाबले पनि केही नयाँ कार्यक्रम आउँदा वीरबाट सुरु गरौ भन्ने हुन्छ । त्यसको फाइदा पनि छ ।

अहिले अर्को नयाँ सर्जिकल ब्लक बनिरहेको छ । फागुनको पहिलो हप्ता उद्घाटन हुने कुरा सुनिरहेका छौं । अहिले वीरमा हामीले बेड पाएनौं, अप्रेशनको पालो पाएनौं भन्ने सबैभन्दा ठूलो समस्या हो । त्यो सर्जिकल ब्लक सञ्चालनमा आएपछि ५ सय बेड थपिन्छ । त्यसपछि यो समस्या तत्कालीन अवस्थामा अलिकति भएपनि कम हुन्छ । त्यो ब्लकलाई एक स्पीडमा व्यवस्थित तरिकाले चलाउन सकियो भने अवसर पनि छ । समग्रतामा वीर अस्पताललाई सुधार्नका लागि अभियान नै चलाउनुपर्छ । यसलाई एउटा सानो संस्थाको व्यवस्थापनका रुपमा भन्दा पनि अभियानका हिसाबले वीर अस्पतालको व्यवस्थापन लानुपर्छ ।

केही समयअघि एउटा संघर्ष समिति बनेर आन्दोलन सुरु भयो । वार्ता भयो । त्यो क्रममा मैले त्यो संघर्ष समितिलाई वीर अस्पताल सुधार अभियानका रुपमा लैजानुपर्छ भनेर भने । व्यवस्थापन निदाएको छ भने झकझकाउनुप¥यो, ब्युझाउनुप¥यो । हिड्न सकिरहेको छैन भने सहयोग गरेर हिडाउनुप¥यो । त्यसमा त्यो संघर्ष समितिको पनि भूमिका छ । ततः ठाउँबाट एउटा सरसफाइ गर्ने कर्मचारी होस् वा पारामेडिक्स होस् अथवा नर्स वा विशेषज्ञ डाक्टर नै किन नहोस्, सबैले आफ्नो भूमिका हेर्नुपर्छ । एउटा प्राविधिक मात्र नभएर वीरको व्यवस्थापनमा आफ्नो ठाउँबाट पूर्ण साथ दिनुपर्छ । वीर अस्पताल राम्रो भयो भने त्यहाँका डाक्टर, नर्स, पारामेडिक्सदेखि सरसफाइकर्मीसम्म सबैको वाहीवाही हुन्छ । वीर अस्पतालको गुणस्तरीयता सबैको प्रतिष्ठासँग जोडिन्छ । मैले यही कुरा त्यो वार्ताका क्रममा पनि भनेँ ।

वीरमा झण्डै १५ सय हाराहारीमा कर्मचारीको व्यवस्थापन गर्नुपर्छ, त्यो आफैमा चुनौतीपूर्ण छ । किनभने, यति धेरै जनशक्ति भएको ठाउँमा एउटै खालको नीति लगाउन सकिन्न । त्यहाँ धेरै खालको स्वार्थ हुन्छ । तर, जब उहाँहरु सामूहिक स्वार्थमा जोडिनुभएको छ, त्यसलाई संस्थाको अनुकूलमा ल्याउनका लागि अभियानहरु चलाउनुपर्छ । भरतपुर अस्पतालले हरेक शनिबार सरसफाइ अभियान चलाउँछ । त्यो अभियान वीरमा पनि चलाउन सकिन्छ । त्यसले कर्मचारीहरुमा एक प्रकारको मोटिभेसन ल्याउँछ । स्वयमसेवा गर्दा सबैमा समर्पणको भाव पनि आउँछ । केही न केही गरेर सुधार अभियान सुरु गर्न आवश्यक छ । सबैले आफ्नो ठाउँबाट भूमिका खेल्ने हो भने वीर अस्पतालको कायापलट गर्न गाह्रो छैन । सबैभन्दा पहिलो कुरा बिरामीलाई केन्द्रीत गरेर अस्पतालका सबै कर्मचारीले समानुभूतिको भावना विकास गर्न जरुरी छ । त्यति गरेपछि अरु केही गर्नै परेन । दया देखाउन, करुणा देखाउन पनि परेन ।

(राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. पौडेलसँगको कुराकानीमा आधारित  हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ