२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo

आयुर्वेद र योग


आयुर्वेदको परिचय

आयुर्वेद नेपालको मौलिक चिकित्सा पद्धति हो ।आयुर्वेद चिकित्सा पूर्वीय दर्शनमा आधारित छ । यो चार वेद मध्ये अथर्ववेदको उपवेद हो । नेपाल, भारत, भुटान, श्रीलंका, बंगलादेशलगायतका देशहरुमा प्राथमिक स्वास्थ्य सेवाको रूपमा आयुर्वेद चिकित्सा पद्धतिलाई उपयोग गरिएको पाइन्छ।

आयुर्वेद शब्द आयुः वेद मिलेर बनेको छ ।

आयुको अर्थ जीवन र वेद को अर्थ विज्ञान भन्ने हुन्छ।आयुर्वेदमा बिरामीको उपचारका साथै निरोगी ब्यक्तिलाई कसरी निरोगी नै राखी राख्ने भन्ने विषयमा वर्णन गरिएको हुन्छ ।

आयुर्वेदीय जीवनशैली

मानिसलाई बाचुन्जेल स्वस्थ भई जीउनको लागि आयुर्वेदमा उल्लेख गरे अनुसारको जीवन शैली अपनाउदा उपयोगी हुने पाइएको छ । जीवनशैलीलाई आहार (खानपान सम्वन्धि) र विहार (क्रियाकलाप सम्वन्धि) गरी २ समूहमा बिभाजन गर्न सकिन्छ ।

आहारशैली

व्यक्तिको खाना खाने बानी वा तरिका नै आहारशैली हो । शारीरिक तथा मानसिक स्वास्थ्यको हामीले खाने खानासंग महत्वपूर्ण सम्वन्ध हुने भएकाले आहार शैलीमा हामी सचेत हुन आवश्यक हुन्छ । स्वस्थकर आहारशैलीका लागि सामान्यतया निम्नानुसारका विषयहरुमा ध्यान दिन आवश्यक हुन्छ ।

• आहार शारीरिक तथा मानसिक क्रियाशीलताको आधारमा सन्तुलित हुनुपर्छ ।
• दैनिक भोजनमा अन्नका साथै हाम्रो खेतवारीमा उत्पादन हुने सागपात तथा मौसमअनुसारका फलफूल समावेश हुनुपर्छ ।
• भोजन सफा र ताजा हुनुपर्छ ।
• सामान्यतया दिनभरिमा ३—४ घण्टाको फरक पारी ४—५ पटक ठिक्क मात्रामा खाना खानु स्वस्थकर मानिन्छ ।
• भोक लागेको बेला मात्र खाना खाने गर्नु राम्रो हुन्छ ।
• दिनको तुलनामा रातिको खाना हल्का, सुपाच्य(सजिलै पच्ने) र परिमाणमा पनि थोरै हुनुपर्छ ।
• खाना राम्रोसँग चपाएर खानु पर्छ ।
• भोजन गर्दा सामान्यतया: आमाशयको कुल आयतन क्षमता (१.५लि.) लाई चार भागमा विभाजन गरी दुईभाग खानाको लागि, एक भाग पानीको लागि र एक भाग खाली राख्नु स्वस्थकर हुन्छ ।
• भोजनको लगत्तै पछि अत्यधिक मात्रामा पानी पिउनु, कडा खालका काम गर्नु, जोडले हाँस्नु आदि कार्यलाई स्वस्थकर मानिदैन् ।
• ऋतुअनुसार शारीरिक पाचन शक्तिमा घटबढ हुने भएकाले सोही आधारमा भोजन गर्ने गर्नुपर्छ र ऋतुअनुसारका सागपात तथा फलफूल पनि पर्याप्त मात्रामा खानुपर्छ ।
• केही खाद्य पदार्थ एकअर्कासँग सँगसँगै वा एक आपसमा मिसाएर खानु हुँदैन् (जस्तै माछा मासुसँग दूध) ।

दिनचर्या (विहारशैली)

हामीले दिनभरीमा गर्ने क्रियाकलापलाई दिनचर्या भनिन्छ । हाम्रा यस्ता क्रियाकलापलाई निश्चित ढाँचामा मिलाएर परिपालन गर्नाले व्यक्ति शारीरिक तथा मानसिक रुपमा स्वस्थ तथा नैतिक रुपमा बलवान हुन सक्छ । स्वस्थ दिनचर्यालाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
• ब्राह्ममूहुर्त (सूर्योदय हुनुभन्दा ४५मिनेट अगाडि) उठ्ने ।
• ईश्वरको स्मरण गर्दै मन मस्तिष्क लाई सकारात्मक बनाउने ।
• १ गिलास (२००—२५० मि.लि.) सफा र शुद्ध पानी पिउने ।
• शौचादि (दिसा,पिसाव) गर्ने ।
• दाँत माझ्ने तथा मुख धुने ।
• योगाभ्यास तथा ध्यान (meditation) गर्ने ।
• मौसम अनुसार पानीको तापक्रम मिलाएर स्नान गर्ने ।
• दूध तथा मौसमअनुसारका फलफूलको हल्का खाजा खाने ।
• यो समयमा अध्ययन गरेको विषय लामो समय सम्म स्मरणमा रहिरहने भएकाले २—३ घण्टा नियमित अध्ययन गर्नु राम्रो हुन्छ ।

योग

योगको परिचय तथा महत्व

आधुनिक युगमा विज्ञान तथा प्रविधिको तीव्र विकासले एक स्थानमा बसी मानिस विभिन्न क्रियाकलापहरु गर्न सक्ने भएको छ । पहिलेको तुलनामा आज मानिस शारीरिक श्रमबाट टाढिदो अवस्थामा छ । यसले शरीरमा यान्त्रिकता ल्याएको छ र मनलाई तनावग्रस्त बनाएको छ।

जीवन पद्धतिमा आएको यो निस्कृयताले मानिसमा अनेकौं रोगहरु देखिएका छन्। शारीरिक व्यायाम/योगाभ्यासले शारीरिक र मानसिक रुपमा स्वस्थ रहन तथा विशेषतः नसर्ने रोगहरुबाट बच्न फाइदा पु¥याउनुका साथै स्वस्थकर दीर्घजीवन प्रदान गर्ने यथेष्ट वैज्ञानिक प्रमाणहरुको पृष्ठभूमीमा योगको महत्वको बारेमा जनचेतना वृद्धि गर्नुपर्ने आवश्यकता देखिन्छ ।

अष्टाङ्ग योग:

१. यमः योग गर्ने व्यक्तिले योग गर्नु भन्दा अगाडि आफूले के गर्ने वा के गर्न नहुने भन्ने नियमको पालना गर्नु पर्दछ ।

क) सत्य (साँचो बोल्ने), ख) अहिंसा, ग) अस्तेय (चोरी नगर्नु), घ) ब्रह्मचार्य (संयमित जीवन यापन गर्नु),

ङ) अपरिग्रह (जति आवश्यक हो त्यसैमा संतुष्ट रहनु) आवश्यकता भन्दा बढी संग्रह नगर्ने।

२. नियमः
योग गर्ने व्यक्तिले योग गर्नुभन्दा अगाडि सामाजिक नियमको पालना गर्नु पर्दछ ।
क) शौच (सफा रहनु), ख) सन्तोष, ग) तप, घ) स्वाध्याय, ङ) इश्वर प्रणिधान

३. आसनः शरीरलाई स्वस्थ, निरोगी र स्थिर रहन विभिन्न आसनहरु (पद्मासन, बज्रासन आदि) मा सुखपूर्वक वस्नु ।

४. प्राणायामः श्वास प्रश्वासको माध्यमबाट प्राणशक्तिको क्षमतालाई विस्तार गर्नु ।

५. प्रत्याहारः इन्द्रियहरुलाई नियन्त्रित राख्नु ।

६. धारणा: कुनै एक वस्तुमा मन लगाएर एकाग्र हुनु ।

७. ध्यान: एकाग्रतालाई (धारणा) अटुट र गहिरो बनाउनु।

८. समाधिः चित्त (मन) लाई एकाग्र गरी ध्येय वस्तुको केन्द्रविन्दुमा चित्तलाई लगाइ लामो समयसम्म लीन गराई राख्नु।
उपरोक्त योगका आठ वटै अंग अत्यन्त उपयोगी छन् र सोको विद्यार्थीकालदेखि नै पालना गर्नाले शारीरिक तथा मानसिक रुपमा स्वस्थ्य जीवन यापन गर्न र एकाग्र चित्त भै अध्ययन गर्न मद्दत पुग्दछ ।

योगाभ्यासका फाइदाहरू

– योगले शरीरका अङ्ग प्रत्याङ्गहरूलाई चलायमान, उर्जावान, आवश्यकता अनुसार सक्रिय वा शान्त राख्छ र सकारात्मक प्रभाव पार्छ ।
– योगको अभ्यासले हाडजोर्नी नशानाडी र मांसपेशी, फोक्सो, मुटु, रक्तनली, पाचन तथा निष्कासन अङ्गहरूलाई स्वास्थ र सवल बनाउँछ ।
– योगको उचित अभ्यासले कम उमेरका ब्यक्तिमा उचाइ बढाउन सघाउँछ । स्मरण क्षमता वृद्धिमा सहयोगी हुन्छ, शरीरलाई तन्दुरूस्त बनाउँछ र स्वस्थ रहन सहयोग गर्छ ।
– नियमित योगाभ्यास गर्नाले नसर्ने रोगहरूको जोखिम कम हुन्छ ।
– नसर्ने रोगहरू जस्तै मधुमेह, उच्च रक्तचाप, दम, मुटुरोग, हाडजोर्नी, नसासम्बन्धी रोगहरूमा यो लाभदायक छ ।
– योगले जीवनशैलीलाई व्यवस्थित बनाउँछ र खराब जीवनशैलीका कारण उत्पन्न समस्याको जोखिम न्यून गर्दछ ।
– योगले मनलाई शान्त, आनन्दित, उत्साहित र उर्जावान बनाउँछ । यसले मानसिक समस्याहरू जस्तै तनाव र चिन्ताजन्य समस्याहरू, बेचैनी, नकारात्मक सेग, आलस्यता लगायत रिस, इर्ष्या, हीनताबोध, शङ्काबोधजस्ता नराम्रा भावहरूलाई घटाउँछ । यसले मानसिक सबलता वृद्धि गर्छ र मनको कमजोरी हटाउँछ ।
– योगले व्यक्तिलाई अनुशासित बनाउँछ । धुम्रपान, मद्यपान, सूर्तिजन्य पदार्थको सेवन र लागु औषध सेवनजस्ता कुलतबाट बचाउन मद्दत गर्दछ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ