२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारजनकपुरको स्वास्थ्य : हिजो गुणस्तरीय सेवा, आज चर्को बजारीकरण

जनकपुरको स्वास्थ्य : हिजो गुणस्तरीय सेवा, आज चर्को बजारीकरण


जनकपुरमा हिजोका दिनमा नैतिकतालाई आत्मासाथ गरेर काम गर्ने मानिसहरु धेरै थिए । त्यो बेला बढी मानिस नैतिकताअनुरुप काम गर्थेे । जुन कुरा पहिला जनकपुरमा हुन्थ्यो, अहिले त्यस्तो छैन । म वि.सं. २०४२ सालदेखि यहाँको स्वास्थ्य सेवामा संलग्न छु, त्यतिबेलादेखि नै नैतिकता मै रहेर काम गरिरहे ।

म वि.सं. २०४८ सालदेखि जनकपुरमा बसे । जागिर पनि त्यही वर्ष खाए । त्यो बेला हरेक कुराको एउटा मापदण्ड हुन्थ्यो। जुन काम पहिला हुन्थ्यो, त्यो अहिले हुँदैन् । जुन दुःख लाग्दो कुरा हो । जटिलभन्दा जटिल अप्रेशन हामी गथ्र्यौ ।

अहिले स्वास्थ्य सेवाको बढी बजारीकारण भयो । जनकपुरमा मात्रै होइन्, पूरा देशमा नै यो समस्या देखिएको छ । मानिसले यो पेशालाई पैसा कमाउने धन्दाको रुपमा लिए ।

वि.सं. २०४८ सालतिर एउटा मात्र जनकपुर अञ्चल अस्पताल थियो । निजी सेक्टरमा क्लिनिकहरु त धेरै थिए । त्यो समयमा राम्रा—राम्रा डाक्टरहरु थिए । अहिले पनि उहाँहरु हुनहुन्छ । गर्ने मानिसले अहिले पनि मापदण्डमा रहेर काम गरिरहेका छन् । तर, अहिलेका नयाँ—नयाँ मानिसहरुले यो पेशालाई अलिकति कमर्सियल हिसाबले लिएर गएका छन् ।

नीति र नैतिकताभन्दा बाहिर रहेर काम भैरहेको छ । जुन कुरा हामी अनैतिक मान्छौं । त्यसरी जान भएन । सरकारले यसको नियन्त्रण गरेको छैन । यहाँको प्रादेशिक स्वास्थ्य मन्त्रालयको त कुरा नै छोड्नुस् । यिनीहरुले स्वास्थ्य सेवालाई डुबाए । यिनीहरु खतम छन् । सामाजिक विकास मन्त्रालयले त्यहाँ बसेर केहि काम नै गर्दैनन्, जुन सबैभन्दा बढी दुःख लाग्ने कुरा हो ।

स्वास्थ्य संरचना केन्द्रको नेतृत्वमा हुँदा धेरै काम भएको थियो । तर, अहिले केहि काम भएको छैन । कुनै नीति र मापदण्ड नै छैन । जनकपुर अञ्चल अस्पताललाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने कुरा सुनेको छु । लगे पनि सबैकुरालाई एउटा नैतिक हिसाबले जानुप¥यो । यिनीहरुको कुनै नीति नै छैन, जे गर्ने अनैतिक तरिकाबाट गर्ने ।

प्रदेश सरकार नै अनैतिक ढंगबाट चलिरहेको छ । कुनै नैतिकता छैन । मन्त्रालयबाट स्वास्थ्य क्षेत्रमा कति बजेट विनियोजन भयो ? त्यसको काम कस्तो भएको छ, त्यसको कुनै अनुगमन नै छैन । एउटा ८० वर्ष पुरानो अस्पतालको भवनमा ३ करोडको तल्ला थप्न खोजेर हुन्छ ? न त इन्जिनियरको मापदण्डअनुसार काम भएको छ न त डिपीआर नै भएको छ । हचुवाको भरमा काम भैरहेको छ । यसरी स्वास्थ्य क्षेत्रको अवस्था विग्रिरहेको छ । जति सेवा पहिला दिइन्थ्यो, त्यो अहिले भैरहेको छैन ।

पहिले जनकपुरमा जे थियो, त्यो अलिकति दरिलो हिसाबले नैतिकताअनुसार राम्रो काम हुन्थ्यो । कम विकसित थियो, कम बजेटमा काम हुन्थ्यो । तर, कामको भोलयुम राम्रो हुन्थ्यो । त्यतिबेला जटिलभन्दा जटिल केसको सर्जरी गरिन्थ्यो । अहिले तपाई अस्पताल एउटा हर्नियाको अप्रेशन गर्न जानुस्, एउटा एपेन्डिक्सको सर्जरी गर्न जानुस् । चिकित्सकले काम गर्न खोज्दा पनि बीचमै फसिहाल्छन् । यसको अर्थ हाम्रो जनशक्ति निकै कमजोर छ र यो कुरालाई मानेर हिड्नुपर्छ । राम्रो डाक्टरलाई प्रदेश सरकारले चाहंदैनन् र ल्याउँदा पनि ल्याउँदैनन् । स्वास्थ्य क्षेत्रलाई विकास गरौं भन्ने सोच नै छैन ।

मैले विपी क्यान्सर अस्पतालमा प्रमुख भएर काम गरे । नारायणी क्षेत्रीय अस्पतालको प्रमुख भएर पनि बसे । वीर अस्पतालमा पनि गए । अन्त्यमा जनकपुर अस्पतालबाट रिटायर्ड भए । म हुँदा चाहिं राष्ट्रिय अवधारणामा अन्तर्गत १५ वर्षअघि आईसीयुको स्थापना भएको थियो । त्यसका लागि बजेट विनियोजन भयो, भवन बन्यो, सबै सामान जडान भयो ।

जनकपुर अस्पतालमा मै जे गरे

म आउँदा ६ वर्षदेखि सो आईसीयु संचालनमा थिएन् । संचालनमा नआएको कारण सोध्दा जडान भएका उपकरणहरु राख्दा—राख्दैं काम नलाग्ने अवस्थामा पुगेको छ । यहाँ धेरै समस्या छ । जनशक्तिको विज्ञापन दिएको पनि केहि भएन भन्नेजस्ता विविध कुरा आए । त्यसपछि मैले भित्रैबाट जनशक्ति मोबिलाइज गर्ने काम सुरु गर्ने निर्णय गरे ।

जनशक्तिको लागि विज्ञापन पनि तुरुन्त गर्न पर्ने अति आवश्यक काम सुरु गरे । धेरै नर्स, डाक्टरहरु भित्रैबाट मोबिलाइज गरे । नेपाल सरकारले करारमा पठाएका जनशक्तिलाई पनि लियौ । केहीलाई काठमाडौँ शिक्षण अस्पताल र केहीलाई वीर अस्पतालमा तालिम गर्न पठाएर तुरुन्तै आईसीयु सेवा सुरु गरे ।

अब विना जनशक्ति त आवश्यक काम संचालनमा ल्याउन सकिदैन् । त्यसकारण विज्ञापन निकाल्ने कुरा भयो । अब विकास समितिकोतर्फबाट संचालन हुने विज्ञापन पनि भयो । तर, पछि समिति नै सरकारले भंग गरिदियो । विकास समिति नै नभएपछि विज्ञापनको नतिजा कसरी निकाल्ने ? त्यस्तो अवस्था समेत सिर्जना भयो । त्यसपछि यसरी हुँदैन भनेर मैले चलिरहेको काम बन्द गर्नु भएन भनेर प्रशासनमा भने । उनीहरुसँग ज्यालादारीमा राखेर काम गर्न सकिने र मन्त्रालयमा माग गर्ने भन्ने कुरा भयो सोही अनुरुप हामी चल्यौं । त्यहाँ काम गरिरहेका मन्त्रालयले पठाएको स्वास्थ्यकर्मीको म्याद सकिएको थियो । प्रशासनले उनीहरुलाई पुनः राख भन्ने कुरा गरे । त्यो बेला त्यसरी चलायौं ।

एनआईसीयुको कन्सेप्ट आयो । त्यसलाई पनि संचालनमा ल्याए । त्यससमय केही मानिसहरुले गर्दा अस्पताल कमाउने भाँडो बनेको थियो । अस्पतालभित्र ४ वटा औषधी पसल थियो । उनीहरुले आफ्नो समूह बनाएर केही कर्मचारी मिलाएर पूरा अस्पताल नै संचालन गरिरहेका थिए । त्यो पनि हटाए ।

अस्पतालको आफ्नै फार्मेसी बनाउने बजेट आएको थियो । फार्मेसीको स्थापना पनि भयो । ओपिडी र इमर्जेन्सीको भवन थियो । जसको कक्षको अवस्था ७ वर्षदेखि राम्रो थिएन । मैले पछि एकवर्षभित्रमा अर्कै भवनमा सारेर सेवा सुचारु गरे । पहिला हाम्रो जनशक्तिहरु गुणस्तरीय थिए । जुन अहिले भेटिदैन्, जुन मार्मिक कुरा हो । कता—कताबाट पढेर आउँछन् । तर, काम गर्न आउँदैन् ।

किन जनकपुरमा स्वास्थ्य सेवा विकास भएन ?

सुरुदेखि नै जनकपुरमा स्वास्थ्य सेवामा फड्को मार्ने सोच छैन । कतैबाट आएन । काम गर्ने जनशक्ति गुणस्तरीय हुनुपर्छ । गुणस्तरीय जनशक्ति उत्पादन हुनुप¥यो । ठाउँ—ठाउँमा कलेजहरु र संस्था खोलिदिए । जसको कुनै अनुगमन नै छैन । जथाभावी काम भयो ।

पहिला अलिकति गुणस्तरको उपचार हुन्थ्यो । कम स्रोत थियो । अहिले बढी स्रोत छन् । उपकरणहरु नयाँ—नयाँ आएका छन् । तर, गुणस्तरीय उपचार र जनशक्ति छैन । बढी बजारीकरण भएको छ । त्यसको लागि प्रदेश सरकार छ, केन्द्रिय सरकार छ । त्यहाँबाट नियन्त्रण हुनुप¥यो ।

अहिले संघीय सरकार र प्रदेश सरकारबाट प्रभावकारी नियमन भएको छैन । यहाँको स्वास्थ्य सेवामा नियमन जरुरी छ भन्ने सोच नै पुगेको छैन । पहिला सोच हुनु ठूलो कुरा हो ।

अहिले जनकपुरको स्वास्थ्य सेवाको सबैभन्दा ठूलो चुनौती भनेको नैतिकताअनुरुप काम भएको छैन । सरकारको एउटा स्वास्थ्य क्षेत्रलाई उकास्ने भिजन हुनुप¥यो । गुणस्तरको जनशक्तिको अभाव छ । पेशालाई बजारीकरण गर्नेजस्ता चुनौतीको रुपमा देखिएको छ ।

(जनकपुरका पुराना चिकित्सक तथा  निल कृष्णा अस्पतालका सञ्चालक डा. यादवसँगको कुराकानीमा आधारित ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ