२०७९ मंसीर १३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारडेंगु इतिहासमा नै भयावह, हामी के गर्न चुक्यौं ?

डेंगु इतिहासमा नै भयावह, हामी के गर्न चुक्यौं ?


नेपालको आधा जमिनमा लामखुट्टे पुगिसक्यो । अर्को शब्दमा भन्नु पर्दा नेपालको आधा भू-भागमा बसोवास गर्ने मानिसहरु डेंगुको उच्च जोखिममा छ भन्ने हो । यो अझै फैलादो क्रममा छ र कार्तिक, मंसिरसम्म यसको फैलावटले निरन्तरता पाउनेछ। काठमाडौँमा पहिलो पटक सबैभन्दा बढी डेंगुका बिरामीहरु देखिएको छ र यो क्रम हाल पनि जारी छ।

हालसम्मको डेंगुको तथ्यांक हेर्दा चार हजारभन्दा माथि पुगिसकेको देखिन्छ तर यसको संख्या यो भन्दा कयौ गुणा बढी हुन सक्दछ किनभने लक्षणबिहीन डेंगुका बिरामीहरुको गणना यो संख्यामा जोडिदैन । र, उनीहरुले लामखुट्टेको माध्यमबाट थाहा नपाइकन डेंगु फैलिरहेको हुन सक्दछ । यसर्थमा, हाल डेंगु नेपालको इतिहासमा नै भयावह अवस्थामा पुगेको छ।

हामी कहिँ न कहिँ नियन्त्रणमा चुकेकोमा दुई मत देखिदैन् । तर, यसका कारणहरु पहिल्याउन सकेर त्यसको आधारमा र उपलब्ध साधन स्रोतबाट समाधानका योजनाहरु विकास गरी कार्यन्वयन गर्न सके धेरै हदसम्म डेंगुलाई नियन्त्रणमा ल्याउन सकिनेछ।

डेंगु पहिलो पटक सन् २००४ मा पत्ता लगाएतापनि त्यो भन्दा अगाडि थिएन भनेर ठोकुवा गर्न भने सकिदैन् । किनभने डेंगुको जाँच नै त्यो बेला हुँदैन थियो र सबै ज्वरो टाइफाइड हो भनेर उपचार गर्ने गरिन्थ्यो। तर, सन् २००४ पश्चात पहिलो पटक सन् २०१० मा डेंगुको ठुलो महामारी फैलिएको थियो। त्यो भन्दा अगाडि सन् २००६ मा पनि सन् २०१० को तुलनामा सानो प्रकोप देखिएको थियो तर त्यो बेला डेंगुको चारै सेरोटाइप् पत्ता लागेको थियो।

पहाड चढ्दैं लामखुट्टे

नेपालमा लामखुट्टे विस्तारै पहाड चढ्दैं गएको सार्वजनिक हुँदै गएको थियो । र, सन् २०१० मा यो पंक्तिकारले काठमाडौँमा पनि पहिलो पटक डेंगु पत्ता लगाएको अनुसन्धान लेख प्रकाशित गरेको थियो ।  लगतै एपीडेमियोलोजी महाशाखाले काठमाडौँमा डेंगु फैलाउने लामखुट्टेको सर्वे गर्दा डेंगु सर्ने लामखुट्टे प्रशस्त रहेको सार्वजनिक गरेको थियो।

डेंगुको जोखिम तराईमा मात्र नभएर पहाडमा पनि देखिएको यो नतिजाले प्रष्ट देखाउँछ। यहि बेलादेखि नै डेंगुबारे सर्वसाधारणलाई जानकारी गराउने र उपयुक्त रणनीतिको विकास गर्नु पर्थ्यो । यसको पहिलो मार यो वर्षको शुरुवातीमा नै धरान परेको देखिन्छ। यो समय यधपि डेंगुको महामारी हुने समय त होइन तर त्यहाँ यस प्रकारको ठूलो महामारीको कल्पना भने गरिएको थिएन । पक्कै पनि यो अवश्यभाविक भएपनि हामी चनाखो भने रहनु पर्थ्यो।

कहाँ चुक्याैं हामी 

प्रकोप या महामारी कहिले पनि बाजा बजाएर आउँदैन् । अर्थात् यसको सधैँ सहि अन्दाज हुँदैन। तर एउटा कुरा के चाहिँ सत्य हो भने जहाँ लामखुट्टे प्रशस्त मात्रामा हुनेछ त्यहाँ कुनै दिन डेंगु फैलने सम्भावना रही नै रहनेछ। त्यो आज नभए भोलि नै किन नहोस् । यसमा हामी चुकेको देखिन्छ । सुरुमा देखिने बित्तिकै यसको नियन्त्रणतिर लागेको भएँ, प्रकोपले अहिलेको अकल्पनीय रुप लिने थिएन । तर, संक्रमित बिरामीको संख्या ह्वातै बढेपछि मात्र सक्रियता देखाउन सुरु गरियो । जुन गलत थियो।

‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सुरु भयो । तर, महामारी भैसकेपछि भएका नगन्य जनशक्ति लिएर लामखुट्टे खोज्दै मार्ने काम प्रभावकारी हुँदैन । र, यो भन्दै आइरहेको थिए र छु पनि ।  किनभने, एक एक लामखुट्टे खोजेर मार्ने वा त्यसको लार्भा पत्ता लगाएर नष्ट गर्न सिमित स्रोत साधन र जनशक्ति पर्याप्त हुँदैन। त्यस्तै यो व्यवहारिक रुपमा सहज पनि देखिदैंन् । नेपालमा डेंगु थाहा भएदेखि नै यो अभियानले निरन्तरता पाएको देखिन्छ तर प्रभावकारिताको मुल्यांकन भने भएको देखिदैन्।

घर भित्र तथा वरिपरि पानी जम्न नदिनु नै लामखुट्टे विकसित हुन नदिनु हो। तर, धेरैले यो नियम पालना गरेको देखिदैंन् । र कतिपय कुरा चाहेर पनि गर्न सकेको देखिदैन । जस्तै नेपालमा पानीको सधैं हाहाकार देखिन्छ र हामी सबैले पानी घरभित्र जम्मा गर्ने गर्दछौं। पानीलाई छोपेर राख वा बेला-बेलामा निरीक्षण गर्ने वा फेर्ने गर भनेता पनि विभिन्न कारणले यो नियम लागु गरेको देखिदैन ।

खासगरी धेरै दुःख गरेर जम्मा गरेको वा किनेर ल्याएको पानी लामो समयदेखि जम्मा गरेको भएपनि कसैले पनि प्रयोग नगरी त्यसै फैलदैंन जसले गर्दा लामखुट्टे नियन्त्रण गर्नु ठूलो चुनौती रहेको देखिन्छ। यसको विकल्प दिन नसक्दा लामखुट्टे अनियन्त्रित भई फैलिरहेको छ । काठमाडौँमा पनि यही अवस्था देखिन्छ। यसमा खानेपानी विभाग वा मन्त्रालयको मुख्य कर्तब्य हुन आउँदछ ।

शहरीकरण बढ्दो छ । विकासको क्रम तीब्र गतिमा बढ्दै गएको छ । ठाउँ-ठाउँमा सडक तथा ठूला-ठूला संरचना बनाउने क्रम जारी छ जसले गर्दा खाल्डाखुल्डी यत्रतत्र देखिदै आइरहेको छ । यस्तो ठाउँमा पानी जम्ने गर्दा लामखुट्टेको लागि वृद्धि विकास गर्न पाउने राम्रो मौका पाइरहेको छ । तर, हामीले यस्तो अवस्था सिर्जना गर्नु हुँदैन भनेपनि कसैको एकल प्रयासले मात्र यो सम्भव हुँदैन । यसमा सडक बिभागले चासो नदिदा डेंगु को भयावह स्थिति सिर्जना भएको देखिन्छ।

आजभोलि खानेकुरा धेरै जस्तो प्लास्टिकमा हुने र यसको प्रयोग पछि जथाभावि फाल्नाले त्यसमा पानी जम्मा हुन् गई लामखुट्टेको लागि लार्भा विकास गर्न उपयुक्त ठाउँ हुने गर्दछ। यसमा नगरपालिको ध्यान नजादा लामखुट्टे अत्यधिक बढेको देखिन्छ र सहजै डेंगु फैलिरहेको छ।

कसरी गर्ने नियन्त्रण

समग्रमाभन्दा, हाल देखिएको डेंगुको महामारी नियन्त्रण गर्नमा स्वास्थ्य मन्त्रालय मात्र नभई नेपाल सरकारका अरु विभागहरु जस्तै खानेपानी, सडक बिभाग, नगरपालिका आदिले पनि उत्तिकै जिम्मेवार भूमिका खेल्नु पर्दछ। यस्तो कोणबाट न पहिला कसैले सोचेका थिए नत विश्लेषण गरी बहसमा नै ल्याएका थिए ।

स्वास्थ्य मन्त्रालयले चेतनामुलक अभियान वा प्रकोपपछिको कार्य मात्र गरेर महामारी नियन्त्रणमा ल्याउन खोज्नु जनशक्तिको हिसाबले कठीन र आर्थिक रुपले महंगो पर्न आउँछ तर माथि उल्लेखित विभागहरुले आफू अन्तर्गत पर्ने लामखुट्टेसँग सम्बन्धित समस्याहरुलाई सम्बोधन गरे आगामी दिनहरुमा डेंगु फैलाउने लामखुट्टेलाई नियन्त्रण गर्न धेरै सहज हुनेछ । र, यो नै डेंगु नियन्त्रणको मुख्य उपाय हो । किनभने, डेंगुबाट बच्नु भनेको नै लामखुट्टेको टोकाइबाट बच्नु हो।

(डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)