२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारतीन वटै सरकारको राम्रो समन्वय नभए अवस्था भयावह हुन्छः मन्त्री राई

तीन वटै सरकारको राम्रो समन्वय नभए अवस्था भयावह हुन्छः मन्त्री राई


एमाले नेतृ उषाकला राईले प्रदेश १ सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेको १ महिना पुगेको छ । उनले मन्त्रालय सम्हालेको केही दिनबाटै देशभर कोभिड १९ को दोस्रो लहर सुरु भएको छ । दोस्रो लहरको तयारीमा प्रदेश १ सरकारले के कसरी काम गरिरहेको छ भन्ने विषयमा हेल्थ आवाजका लागि भिषा काफ्ले र अनिल श्रेष्ठले गरेको कुराकानीको संक्षेपः

प्रदेश १ ले कोभिड—१९ को दोस्रो लहर विरुद्धको तयारी कसरी गरिरहेको छ ?
हामी कोभिड नियन्त्रणको तयारी अघि बढाइरहेका छौं । यहाँको नाकामा सबै सीमा खुल्ला छ । भारतमा कोरोना संक्रमण भयावह अवस्थामा हुँदा यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने भयो । हाम्रो स्थलगत हिसाबमा खुल्ला सीमाना छ । काँकडभिट्टा र जोगमनीलगायत अरु नाका हुँदै भारतबाट कोभिड भएका र नभएका नेपाल आइरहेका छन् । हामीले यहाँ आइसकेकाहरुलाई बाहिर जान नदिने काम भएको छ ।

प्रदेश सरकारले नाकाहरुलाई नियमन र व्यवस्थापन गरेर, नाकामा हेल्थ डेस्क राखेर संक्रमित भएका नभएको पहिचान गर्ने, कन्ट्याक ट्रेसिङ गर्नेजस्ता कार्य भैरहेका छन् । केन्द्रीयको निर्देशनअनुसार हामी तत्काल एक हजार क्षमताको होल्डिङ सेन्टर, दुई वटा ठाउँ रानी र काँकडभिट्टामा स्थापना गर्ने तयारीमा छौं । यसको काम अघि बढिसकेको छ । जसकारण होल्डिङ सेन्टर बनाएर हामीले जाँच, आइसोलेसनमा राख्ने हो कि अस्पताल भर्ना गर्नुपर्ने हो पहिचान गरेर व्यवस्थापन गर्ने तयारीमा छौं । कोभिड–१९ को संक्रमण अत्याधिक बढेको खण्डमा एउटा तह र सरकार मात्रै लागेर नियन्त्रण गर्न गाह्रो छ । यसका लागि स्वास्थ्यसँग सम्बन्धित निकायहरु, सबै क्षेत्रका व्यक्तिहरु जिम्मेवार भएर काम गर्नुपर्ने हुन्छ ।

होल्डिङ सेन्टरको संरचना छुट्टै बन्छ कि पुरानै भवनलाई सदुपयोग गर्ने हो ?
प्रदेश सरकारले होल्डिङ सेन्टरको संरचना छुट्टै बनाउँछ । रातदिन हामी यसमा नै लागि परेको छौं । कोभिड–१९ का बिरामीहरुलाई कुनै पनि उपचार सेवा सुविधामा कमी हुन नदिन निर्देशन दिएको छु । सोहीअनुसार काम पनि भैरहेको छ । तर, चिन्ता के हो भने भयावह अवस्था आएमा नियन्त्रण गर्न गाह्रो हुन्छ । अक्सिजन नै नपाउने अवस्था आउँछ कि भन्ने हो । निजी तथा सरकारी क्षेत्रबाट एकजुट भएर लागि परेमा मात्रै यसको नियन्त्रण सम्भव छ ।

कोभिड–१९ नियन्त्रणका लागि हामीले के गर्न आवश्यक छ ?
सबैले स्वास्थ्य मापदण्ड पालना गर्नु पर्दछ । सरसफाइमा ध्यान दिने, मास्क लगाउने, बाहिरबाट घर जाँदा सकेसम्म नुहाउने अथवा हातखुट्टा साबुन पानीले राम्ररी धुने र कपडा फेर्नेजस्ता कुराहरुको प्रचार—प्रसार हुन अत्यन्त जरुरी छ । सीमामा व्यापारको नाममा वारिपारी कुदिरहेका छन्, जो आफै पनि जोखिममा छन् । यसमा कडाइ गर्ने प्रयास गरिरहेका छौं । तर पनि खुल्ला सीमा हाम्रो लागि सधैं ठूलो चुनौती रहेको छ ।

अघिल्लो वर्षमा स्थानीय सरकारले क्वारेन्टाइनको व्यवस्थापनमा राम्रो काम गरेका थिए । तर, अहिले भने स्थानीय सरकारले क्वारेन्टाइनको लागि खासै समन्वय नगरेको गुनासो छ नि ?
त्यस्तो होइन्, पहिलाको जस्तो एकैपटक आक्रामक ढंगले संक्रमणको प्रहार आउँछ कि भनेर सजगता अपनाउनुपर्ने चाहिँ देखिन्छ । हामीले स्थानीय निकायहरुलाई आग्रह गरिरहेका छौं । सबै पालिकामा उत्तरदायी भएर क्वारेन्टाइनको व्यवस्था गर्ने र होम आइसोलेसनमा बस्न चाहनेहरुको पनि स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ भन्ने कुराको शिक्षा, चेतना दिने र उपचारको लागि समस्या भएकाहरुको लागि सरकारले उपचारको व्यवस्था गर्ने, कोभिड अस्पताल व्यवस्था गर्ने, सम्पूर्ण अस्पताललाई पनि उत्तरदायी भएर काम गर्नुपर्छ भनेर हामीले भनिरहेका छौं । साथै, अन्य तयारीमा पनि द्रुत गतिमा लागेका छौं ।

केन्द्रीय सरकारले प्रदेश सरकारहरुलाई हाई डिपेन्डेन्सी युनिट (एचडियु) बनाउन बजेट दिएको थियो । तर, धेरै अस्पतालहरुले खरिद प्रक्रिया नै सुरु नगरेको संघीय सरकारको गुनासो छ ? यसको अनुगमन कसरी गरिरहनु भएको छ ?
यसको कुरा धेरै भएको छ तर मलाई यसको कुनै ठोस रिपोर्ट प्राप्त भएको छैन । अहिले प्रदेश सरकारले नै निर्देशन जारी गरी बाँकी रहेको काम तत्काल तयारीमा बस्नुहोस् भनिसकेको अवस्था छ । प्रदेश सरकारले नै प्रत्येक जिल्लामा कम्तिमा पनि १० बेडको कोभिड उपचारका लागि तयारी गर्ने, स्थानीय तहमा होमआइसोलेसन र क्वारेन्टाइनको तयारी रहन निर्देशन दिइसकेको छ । हामी समन्वयात्मक भूमिका खेलिरहेका छौं ।

कोभिडका बिरामीका लागि आवश्यक पर्ने अक्सिजन प्लान्टको तयारी प्रदेश स्तरका कुन—कुन अस्पतालमा गरिएको छ ?
यो प्रमुख समस्या बनेको छ । यसका लागि हाम्रो बैठक बस्ने छ । अहिले अक्सिजनको अभाव देखिएको छैन । केही निजी अस्पतालले उत्पादन गरिरहेका छन्, जुन आफुलाई मात्र पुग्ने बताइरहेका छन् । मेची अस्पतालमा दैनिक रुपमा ३५ सय लिटर क्षमाताको उत्पादन भइरहेको छ । गत वर्ष मात्रै ७५ लाख यसको लागि दिइएको थियो । प्रदेश सरकारले यसको क्षमता वृद्धि गर्न र अरु अस्पतालमा पनि पठाउने गरी व्यवस्था गर्नको लागि आवश्यक बजेट दिने कुराहरु राखेका छौं । अरु अस्पतालले पनि अक्सिजन प्लान्ट राखेर काम गरिरहेका छन् ।

प्रदेशमा स्वास्थ्य जनशक्तिको अवस्था कस्तो छ ?
स्वास्थ्य जनशक्ति अहिलेसम्मका लागि ठीकै छ, पछि अभाव पनि हुन सक्छ । कोशीको कोभिड अस्पतालमा हामीले १३ जना खटाइसकेका छौं, तत्काल थप ११ जना पठाउँदैछौं । बाँकी अन्य जनशक्ति पनि हामीले कहाँ—कहाँबाट कसरी सक्छौं । छात्रवृत्तिमा पढेकाहरु ल्याउने कुरा पनि छ । हामीलाई सिध्याउने रोग भएकाले यतिबेला कुनै पनि चिकित्सकले म जान्न भनेर भन्न पाउँदैन्, उहाँहरु आएर काम गर्नुपर्छ । त्यसरी काम गर्नका लागि प्रदेशको नीतिले मात्र काम गरेन भने केन्द्रीय नीति बनाउनका लागि हामीले अनुरोध गर्नेछौं । अहिलेको अवस्थामा प्रदेश सरकार आफ्नो नीति बनाएर जनशक्ति थप्छ ।

स्वास्थ्य संस्थामा सुधार ल्याउनु पर्ने कुरा के देख्नु भएको छ ?
स्वास्थ्य क्षेत्रमा व्यापक सुधार ल्याउनु पर्नेछ । हिजोको कोभिड संक्रमणबाट हामीले यसको नियन्त्रण र उपचार कसरी गर्ने, विपद आएमा कसरी प्रदेश सरकार, स्थानीय सरकार समन्यव गरेर काम गर्नुपर्छ भन्ने कुराहरु सिक्यौं । हामीले सबै अस्पताललाई तैनाथ राख्ने, पूर्वतयारी कसरी गर्ने भनेर काम हुनुपर्छ । स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर सरकारले काम गर्नुपर्ने देखिन्छ । त्यसका लागि जनशक्तिलाई सशक्त गराउनेदेखि अस्पतालको क्षमता विकास गर्ने र अस्पतालमा आवश्यक रहेका कुराहरुलाई वृद्धि गर्नु पर्नेछ ।

केही प्रदेशले स्वास्थ्य नीति बनाइसकेका छन् । प्रदेश नं. १ को स्वास्थ्यका नीति कहिले बन्छ ?
स्वास्थ्य नीति बन्दैछ, हामी छलफल गर्दैछौं ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ