२०७८ असार ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार१२ दिन भेन्टिलेटरमा राख्नु परेका गम्भीर कोभिड संक्रमितको रिकभरी कथा

१२ दिन भेन्टिलेटरमा राख्नु परेका गम्भीर कोभिड संक्रमितको रिकभरी कथा


सोमबार अपरान्ह । त्रिशुलीस्थित नुवाकोट अस्पतालमा विजयी माहौल बन्यो । १४ दिनअघि कोभिड–१९ संक्रमणबाट गम्भीर भएपछि अस्पताल भर्ना भएका कार्कीबहादुर तामाङ आफ्नै हातले अस्पतालका चिकित्सक, नर्ससहितको टिमलाई खादा लगाइदिदैं थिए । उनको अनुहारमा नयाँ जीवन पाउँदाको अथाह खुसी झल्किन्थ्यो ।

‘धन्यवाद । हाम्रो भगवान ! भगवानको भूमिका निर्वाह गरिदिनुभयो,’ कार्कीबहादुरले खादा लगाइदिएपछि उनका आफन्तले भने ।

‘डा. नवराज राई र डा. सुवास कटुवाल छुट्नुभएको छ,’ त्रिशुली अस्पतालका मेसु डा. दिपेन्द्र पाण्डे बोल्न थाले, ‘उहाँहरुलाई हामीले बिर्सनु हुँदैन। डा. सुनिल र डा. कृष्ण पनि हुनुहुन्छ । तपाईंको उपचारको सबै कमाण्ड सम्हालेको डा. रिमा खड्काले हो, उहाँ सेनापति हो ।’ डा. पाण्डेले अस्पतालको तर्फबाट बिरामीलाई शुभकामना दिए । बिरामीका आफन्त फेरि ‘हाम्रा भगवान’ भन्न थालेपछि माहौल एकाएक भावुक बन्यो ।

डाक्टरी जीवनमा धेरै मृत्यु नजिकबाट देखिन्छन् । धेरै जीवनहरु मृत्यु नजिकबाट अनेकन खुसीका पालुवा फैलाउँदैं फर्किन्छन् । मृत्युलाई छक्याउँदैं जीवन पाउनेहरुले हामी डाक्टरको जीवनमा पनि खुसी र उर्जा लहराइदिन्छन् । यस्तै, बिरामीमध्ये एक हुन–कार्कीबहादुर । क्रिटिकल केयर एवं एनेस्थेसिया चिकित्सक हुनुका नाताले मलाई लागिरहेको छ कार्कीबहादुरले मृत्युलाई छक्याउँदैं नयाँ जीवन पाएका हुन् । उनको नयाँ जीवनमा थोरबहुत हामी त्रिशुली अस्पतालका चिकित्सक, नर्सलगायतका टिमको हात छ ।

म अहिले पनि सजीव रुपमा सम्झिछु । १५ बैशाख बेलुका ७ बजेतिरको समय । त्रिशुली अस्पताल नुवाकोटमा इमर्जेन्सीमा एकजना बिरामी आएका थिए । मोफसलको अस्पतालमा एकजना मात्रै एनेस्थेसिया कन्सल्ट्यान्ट भएकाले आईसीयु खुलेदेखि हरेक दिन २४ घण्टा नै म अफिसको ‘अनकल ड्युटी’मा हुन्छु ।

अबेर साँझ इमर्जेन्सीमा आउने ती बिरामीमा ३ दिनदेखि ज्वरो थियो । उनले खकारमा रगत देखियो भनिरहेका थिए । अझ सबैभन्दा जटिल उनलाई श्वास फेर्न गाह्रो भइरहेको थियो । शरीरमा अक्सिजन कमी थियो । उनको अक्सिजन स्याचुरेसन लेभल ८० भन्दा तल थियो । यो असामान्य नै हो । असामान्य स्वास्थ्य अवस्था लिएर इमर्जेन्सी आएका तिनै बिरामी थिए–३८ वर्षीय कार्कीबहादुर

इमर्जेन्सीमै उनलाई अक्सिजन दिनेलगायतका अन्य सामान्य उपचारहरु सुरु गरियो । अन्य सबै परीक्षणका लागि स्याम्पलहरु पठाइयो । रगत जाँचमा केही समस्या देखिएन् । तर, एक्स–रेमा दुवैतिर निमोनिया देखियो । लगतै कोभिड–१९ का लागि एन्टीजेन गरियो, रिपोर्ट नेगेटिभ आयो । पिसिआर परीक्षण लागि स्वाब पठाइयो ।

श्वास फेर्न गाह्रो र खकारमा रगत देखिएका कारण टिबीको जाँच पनि गराइयो । हाइडिपेन्डेन्सी युनिट (एचडियु)मा राखेर अक्सिजन र एन्टीबायोटिकद्वारा उपचार थालियो । कार्कीबहादुरलाई अक्सिजन ‘हाइफ्लो’ नै चाहिएको थियो । श्वास प्रश्वासमा निकै कठिनाइ भइरहेको थियो । अन्ततः पिसिआर रिपोर्ट पनि पोजेटिभ आयो । त्यसपछि कोभिड–१९ संक्रमण कन्फर्म भयो ।

बिरामीलाई धेरै अक्सिजन चाहिएको थियो । शरीरमा अक्सिजनको निकै कमीका कारण आईसीयुमा सिफ्ट गरेर इन्टुबेट गरी भेन्टिलेटरमा राख्ने निर्णय भयो । तर, भेन्टिलेटरमा राख्दा पनि अक्सिजनको कमी भने देखिइ नै रहेको अवस्था थियो । पाँच दिनसम्म पनि अवस्थामा सुधार भएन । त्यसपछि Bain Circuit मा राखेर PEEP positive end expiratory pressure  दियाैं । भोलिपल्ट केही सुधार देखिन थाल्यो ।

लगातारको प्रयासपछि उनमा सुधार देखिदैं गयो । त्यसपछि पुनः भेन्टिलेटरको सपोर्टमा राख्यौं । विस्तारै–विस्तारै बिरामीको अक्सिजन स्याचुरेसन मेन्टन हुन थाल्यो । हामीले हाम्रो प्रयासलाई निरन्तर जारी राख्यौं । क्रमसः भेन्टिलेटरको सपोर्ट कम गर्दै गयौं । १२ औं दिनमा अन्ततः हामी भेन्टिलेटरबाट बिरामीलाई बाहिर निकाल्न सफल भयौं ।

त्यसपछि २ दिनसम्म एचडियुमा कार्कीबहादुरलाई राख्यौं । उनको अक्सिजन बेला–बेलामा चेक गरिरह्यौं । ४८ घण्टासम्म पनि अक्सिजन नचाहिएको र शरीरमा अक्सिजनको मात्रा ९२ भन्दा माथि भएपछि १४ दिनका दिन सोमबार हामीले डिस्चार्ज ग¥यौं । कोभिड–१९ का कारण गम्भीर भएका बिरामीलाई १४ दिनसम्म उपचार गरेर जीवन दिन सफल भयौं ।

अहिलेसम्म कोभिड–१९ संक्रमितका लागि कुनै पनि औषधि, उपचार र उपकरणहरुले सपोर्ट गरिरहेको छैन । निश्चितः उपचार आविष्कार नभएको अवस्थामा बिरामीलाई कृत्रिम तरिकाले नर्मल फिजियोलोजी मेन्टेन गर्नु नै एकमात्रै उपाय भएको छ । अक्सिजनको स्याचुरेसन सामान्य नहुँदासम्म र भाइरस लोड रहँदासम्म नर्मल फोजियोलोजी मेन्टेन गर्दा हामी कार्कीबहादुरलाई बचाउन सफल भएका हौं । अरु कुनै पनि कुराले काम नगरेको अहिलेको अवस्थामा हामीले बिरामीको फिजियोलोजी मेन्टेन गर्ने हो ।

१२ दिनसम्म झण्डै थाकिसकेका हामीहरु जब बिरामी ठीक भए, त्यसबाट झन उर्जाशील भयौं । यसले निकै कम स्रोत–साधन भएको अस्पतालमा काम गर्नेहरुलाई उर्जा दिएको छ । कार्कीबहादुरको उपचारमा खटिने टिम उनको मृत्युको मुखबाट नयाँ जीवनको उज्यालोसम्मका यात्रा साक्षी थिए । त्यसैले उनी डिस्चार्ज हुँदा अस्पतालका सम्पूर्ण कर्मचारीहरु हर्षविभोर थियौं । यसले हामीलाई प्रयास गरेपछि सबै कुरा सम्भव छ भन्ने पाठ त सिकाएको छ नै उर्जा पनि थपेको छ ।

अहिले हाम्रो अस्पतालमा जनशक्तिको अभाव छ । यति थोरै जनशक्तिमा पनि हामी बिरामीको उपचारमा दिनरात खटिरहेका छौं । जसको पोजेटिभ नतिजा कार्कीबहादुर पनि हुन् । कार्कीबहादुरलाई बचाउनको सम्पूर्ण श्रेय दिनरात आफ्नो ज्यानको बाजी राखेर काम गरिरहेको मेडिकल अधिकृत, नर्सहरु र अस्पतालको सम्पूर्ण टिमलाई जान्छ ।

भेन्टिलेटर र औषधि अभाव मात्र यतिबेला होइन्, सम्पूर्ण थाकेका कोभिड वरियर्सलाई पालो दिने जनशक्तिको आवश्यकता छ । यसका लागि हाम्रा मेडिकल सुपरिटेन्डेन्टले अग्रसरता लिइरहनु भएको छ । केही दिनमा थप जनशक्ति पाएर राहत हुन्छ भन्ने आशा छ । कार्कीबहादुरको यो रिकभरी कथा हरेश नखाने पाठ पनि सिकाउँछ । कोभिड-१९ विरुद्ध जैविक युद्धको फ्रन्टलाइनमा रहेका हामी स्वास्थ्यकर्मीहरुलाई यो रिकभरी कथा आशाको प्रकाश जोगाइराख्न सहयोगी हुनेछ भन्ने विश्वास लिएकी छु ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)