२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकोभिड–१९ को चपेटामा परेको सुदूरपश्चिमको व्यथा

कोभिड–१९ को चपेटामा परेको सुदूरपश्चिमको व्यथा


सुदूरपश्चिमका ९ वटा जिल्लामा झण्डै २५ लाख ५२ हजार बढी जनसंख्या छ । हिमाली, पहाडी र तराई तीनथरि भूबनोट यो प्रदेशमा छ । प्रदेशका कैलाली र कन्चनपुर २ वटा जिल्ला समथल भूभाग पर्दछन् । डोटी, अछाम, डडेल्धुरा र बैतडी पहाडी र दार्चुला, बझाङ र बाजुरा हिमाली क्षेत्रमा पर्दछन् । प्रदेश सरकारको तथ्यांकअनुसार झण्डै २५ लाख बढी जनसंख्या रहेपनि अस्पतालको संख्या जम्मा २५ छ ।

अझ मुख्य सुदूरपश्चिम प्रदेशमा तीन प्रमुख अस्पताल छन्, डडेल्धुरा अस्पताल, महाकाली अस्पताल र सेती अस्पताल । सेवा, स्रोत–साधन, उपकरण, जनशक्ति सबै हिसाबले यी तीन अस्पतालमध्ये पनि सेती अस्पताल सबै जिल्लाको प्रमुख अस्पताल हो ।

कोभिड–१९ संक्रमणको दोस्रो लहर नेपालमा तीब्र रुपमा फैलिरहेका बेला अहिले बिरामीको प्रमुख चाप पनि यी प्रमुख अस्पतालहरुमै बढी छ । कोभिड–१९ दोस्रो लहरबाट सिर्जित स्वास्थ्य समस्या त एकारित छदैछ, अर्कोतिर भय र त्रास पनि आम मानिसमा उत्तिकै छ । जनतामा भय तथा नकारात्मक विचार पनि हामी प्रशस्त देख्न सक्छौं । यस्तै, स्थितीको बीचमा छ सुदूरपश्चिम प्रदेश ।

म अहिले कोभिड–१९ विरुद्धको लडाइमा सुदूरपश्चिमको प्रमुख अस्पताल सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा काम गरिरहेकी छु । एउटा चिकित्सक रुपमा सुदूरको प्रमुख अस्पतालमा काम गर्दा यहाँको कोभिड–१९ को अवस्था सजीव अनुभूत गरिरहेकी छु । हाम्रो स्वास्थ्य सेवाका ययार्थ अवस्था बुझ्ने मौका पाएकी छु ।

सुदूरपश्चिमको मुख्य अस्पताल भएकाले यहाँ ९ जिल्लाका जटिल बिरामीहरु रेफर गरिन्छन् । अहिले कोभिड–१९ महामारीमा पनि ९ वटै जिल्लाबाट गम्भीर संक्रमित बिरामी सेतीमा आइरहेका छन् । एक डेढ महिनादेखि बिरामीको चाप उल्लेख्य रुपमा बढेको छ । बिरामीको लाइन अस्पतालको मुख्य गेटसम्म नै हुन्छ । अहिले फैलिरहेको कोभिड–१९ मा साना ठूला, वृद्धा युवा भनेर छुट्याएको छैन । सबै उमेर समूह उतिकै प्रभावित छ ।

कोभिड–१९ को दोस्रो लहरका सुरुवाती दिनमा बिरामीहरु सबै श्वास फेर्न गाह्रो भयो भन्ने मुख्य समस्या लिएर आउँथे । अक्सिजनको लेभल हेर्दा ६०, ७० र ८० प्रतिशत हुन्थ्यो । त्यो समय अस्पतालसँग बिरामीको उपचार गर्न सक्ने क्षमता थियो । बेड उपलब्ध थिए, भेन्टिलेटरहरु थिए । अक्सिजनको बन्दोबस्त गरेर हामी उपचार गथ्र्यौ ।

तर, पछिल्ला दिनहरु त्यति सहज छैनन् । अस्पतालमा कोभिड–१९ का बिरामीहरुको निकै चाप छ । ड्युटीमा मेरा जति दिन बित्दैं गए, हरेक ड्युटीमा गम्भीर बिरामीको संख्या थपिदैं गइरहेको छ । अन्य जिल्लाहरुबाट रेफर गरेका केस, धनगढीकै निजी अस्पतालले अक्सिजन नभएर फर्काएका बिरामीको चाप उत्तिकै छ । अहिलेको कोभिड–१९ कति संक्रामक र विषालु छ भन्ने कुरा बढेको मृत्युदरले स्पष्ट देखाइरहेको छ । सेती अस्पतालमा पनि अघिल्लो वर्षको तुलना कयौं गुणा बढी मानवीय क्षति भएको छ ।

परिस्थिती कतिसम्म जटिल छ भने अहिले अस्पताल आउँदा न बेडको ग्यारेन्टी गर्न सकिन्छ न त अक्सिजनको नै । भेन्टिलेटर त अलि परको कुरा भएको छ । एकातिर उपकरण र भौतिक पूर्वाधारहरुको अभाव छ नै । अर्कोतर्फ अहिले बिरामी चाप धान्न सक्ने जनशक्ति पनि हामीसँग छैन । म सेती अस्पताल काम गर्दा स्वास्थ्यकर्मीको अभावका कारण बिरामी सकिने जति उपचार दिन परिरहेको देखिइरहेकी छु । त्यो देख्ने मात्रै होइन्, आफैले भोगिरहेकी पनि छु । चिकित्सकका लागि आफ्नो बिरामी छट्पटाएर अक्सिजनका लागि गुहार गरिरहँदा हात बाँधेरै बस्नुपर्ने परिस्थिती कति कठोर होला ? मन भारी भएर आउँछ । सुरुवाती दिनमा त यस्तो लाग्थ्यो यस्तै व्यवस्थापन रहने हो भने सुदूरपश्चिमले यो कोभिड–१९ विरुद्धको लडाइमा निकै ठूलो मूल्य चुकाउनुपर्नेछ ।

जसरी हरेक अध्यारा रातपछि सुर्य दिन लिएर आउँछ । एउटा नयाँ आशाको प्रकाश संसारमा प्रवाहित गर्छ । सरकार र अस्पताल व्यवस्थापनले पनि त्यो दयनीय अवस्थाबाट विस्तारै बाहिर निकाल्ने उपायहरुमा खोजी गरे । सुरुवातका दिनहरुभन्दा स्रोतहरु थपिदैं गएका छन् । अझै पनि थप स्रोतहरु खोज्ने प्रयासहरु भइरहेका छन् । अहिलेसम्म पनि अस्पतालमा भएका स्रोतहरु पर्याप्त छैनन् । बिरामीको उच्च चाप धान्न मुस्किल परिरहेको छ । बिडम्बना नै भन्नुपर्छ, मृत्युदर पनि उस्तै छ । भेन्टिलेटर, बेड र अक्सिजनको अभाव कायमै छ ।

यो परिस्थिती आमन्त्रणका लागि हाम्रा पनि केही गल्तीहरु छन् । जतिबेला छिमेकी मुलुक भारतमा कोभिड–१९ को दोस्रो लहर संक्रमण फैलिरहेको थियो, त्यतिबेला हाम्रो तयारी अगाडि बढाइसक्नुपथ्र्यो । हाम्रो देशका सरोकारवाला पक्षहरुको ध्यान त्यसमा गएन । किनभने, एकथरि नेपालमा कोभिड–१९ लाई जितेको भन्दैं रमाउन थाले । अर्कोथरिले हर्ड इम्युनिटी बनिसकेको स्याल हुइया फुके । तर, यी दुवै अतिले अहिले हामीलाई यो खति हुने बाटोमा पु¥याएका हुन् । अहिले हामी ‘जब प¥यो राती तब बुढी ताती’को शैलीमा काममा लागिरहेका छौं ।

अहिले भर्खर अस्पतालमा स्वास्थ्य उपकरण, औषधि, अक्सिजन प्लान्ट, सिलिन्डरको व्यवस्थापनमा लागिरहेका छौं । जुन हामीले अहिलेको लहरको आँकलन गरेर गत कात्तिकतिरबाटै सुरु गरिसक्नुपथ्र्यो । हामी ज्ञान त्यति दूरदर्शी हुन सकेन । बरु, हाम्रो तयारीले पुग्न नसक्ने गरी यो अवधिमा कोभिड–१९ संक्रमण रफ्तार वृद्धि भइसकेको छ । यस्तो माहौलमा हामीले गर्न सकिने भने एउटै कुरा हो–सकेसम्म अस्पताल नै नपुग्ने गरी निषेधाज्ञालाई पालना गरौं । घरमै बसौं, सुरक्षित रहौं ।

(डा. अवस्थी सेती प्रादेशिक अस्पतालको इमर्जेन्सीमा कार्यरत चिकित्सक हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ