२०७८ जेठ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारस्वास्थ्यकर्मीहरूको गिर्दो मनोबल

स्वास्थ्यकर्मीहरूको गिर्दो मनोबल


कोभिड–१९ संक्रमणको गति, अस्पतालमा शैय्या अभाव, ओरालो लागेको अर्थतन्त्र, अस्तव्यस्त जनजीवनले देश आक्रान्त छ । समस्या समाधान, नियन्त्रण गर्न अभिभावकीय भूमिका निर्वाह हर्नुपर्ने सरकार आलस्य, सुस्त र असंवेदनशील छ । प्रधानमन्त्री आफू चिकित्सको निगरानीमा बसी दैनिक अनेक औषधी सेवन गरिरहेका छन् ।

तर, प्रधानमन्त्रीका कोभिड–१९ सम्बन्धि कतिपय भनाइहरु असंवेदनशील पाइन्छ । कोभिड–१९ संक्रमण निको हुन बेसार पानीको सेवन गर्ने, अम्बाको पात उमालेको पानीले कुल्ला गर्ने र हाँछ्यूसाँछ्यू गरे निको हुने भन्दै पूरै विज्ञानको उपेक्षा गर्छन्, अनि हाम्रा नीति निर्माता सांसद ताली बजाउँछन् ।

समाजका विज्ञ नेपालीलाई ‘इम्युन एडभान्टेज’ छ भन्दै हिँड्छन् । उता संक्रमणको दर र मृतकको संख्या बढ्ने क्रम तीव्र छ । कविराज टेलिभिजनको पर्दामा बेसार, जडिबुटी र मसलामा औषधीय गुण नभए किन प्रयोग गरेको भनेर प्रश्न गर्ने गर्छन । यो देख्दा आयुर्वेद र योगको महत्व, हाम्रो जीवन पद्धति आहारका तत्वलगायतका केही महत्वपूर्ण हिस्सा स्वीकारे पनि औषधीय गुण, सेवन गर्नुपर्ने मात्रालगायतका अहिलेसम्म अनुत्तरित प्रश्नसँगै मेरो मनमा आयुर्वेदले उनको पिताको मधुमेह र मुटु रोगको उपचार किन सम्भव भएन होला ? भन्ने प्रश्न उब्जन्छ ।

के अहिलेको यो माहोल र त्रासको समयमा सरकारकै कमजोरी लुकाउन बल पुग्ने गरी बहस चलाउने उपयुक्त समय हो ? यिनै अनुत्तरित प्रश्नसँगै म बुझ्छु, कति झुटो, ढोंगी र दोहोरो चरित्रले भरिएको छ यो समाज ।

स्वास्थ्यकर्मी असुरक्षा, उपकरण र साधन स्रोतका कमीका बावजुद पनि ज्यानको जोखिम मोलेर काम गर्छन् । थाकेर घर फर्कन्छन् । तर, घर नपुग्दै लखेटिन्छन्, तिरस्कृत र बहिष्कृत हुन्छन् समाजबाटै । अस्पताल तोडफोड हुन्छ, ‘लापरवाही’का हेडलाइनले पत्रिका रंगिन्छन्, ‘डाक्टर चोर देश छोड’को नाराले गुन्जायमान हुन्छ समुदाय ।

यस्तो अन्याय हुँदा कसैले बोले, सुरक्षा मागे उसैलाई सामूहिक हमला गरिन्छ । डाक्टर÷नर्स भएर यहि हो बोल्ने, यस्तो कुरा गर्न हुन्छ । नसक्ने भए किन पढेको त भन्दै धम्काइन्छ । निरुत्साहित गरिन्छ ।

अनि यहि समाज फेरि तिनै स्वास्थ्यकर्मीमा मात्र अनुशासन, मर्यादा, कर्तव्य खोज्छन् । र, आफ्ना सन्तानलाई ‘डाक्टर बनेस’ भनेर आर्शिवाद दिन्छन् । कति स्वार्थी, पापी र पाखण्डी छ यो समाज ! आज यो समाजको पाखण्डताले युवा पुस्ताका उर्जावान जनशक्तिलाई देश छोड्ने वातावरण बनाएको छ ।

हामी स्वास्थ्यकर्मीलाई पनि देश छोड्ने मनस्थितिसम्म डो¥याउन ठूलो प्रेरणा मिलेको छ । चिन्ता नगर्नु, यो क्रम जारी रहे तपाईंहरूले कुनै स्वास्थ्यकर्मीको घर घेर्नु, लापरवाहीका समाचार लेख्नु र डाक्टर चोर देश छोड भनेर नारा लगाउनुपर्ने छैन । चाँडै नै यही खुशियालीमा चोक–चोकमा धामी, झाँक्री, साँधु, बाबा र कविराजको भेला गराएर नाचगान गर्दै चाडवाड र उत्सव मनाउनु होला ।

धन्यवाद, हामी सबै स्वास्थ्यकर्मी कृतज्ञ छौं नागरिक,समाज र सरकार प्रति ।

अब कृपया, देशमै बस्नुपर्छ र केहि गर्नुपर्छ भन्दै गाली गरेर नसराप्नु होला ।

(यी लेखकका निजी विचार हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)