२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकोभिड–१९ तेस्रो लहर बालबालिकाका लागि कति खतरा ?

कोभिड–१९ तेस्रो लहर बालबालिकाका लागि कति खतरा ?


कोभिड–१९ अहिले संसारभरकै एक सबैभन्दा ठूलो चुनौतीपूर्ण महामारीका रुपमा देखा परेको छ । अहिले यसका विभिन्न लहरबाट संसारमा हजारौले ज्यान गुमाइरहेका छन् । कोभिड–१९ भाइरसका नयाँ–नयाँ स्वरुप (म्युट्रेन्ट)हरुले अझ बढी दुःख दिइरहेका छन् ।

भाइरसहरु महामारीको रुप लिएर एउटा लहरको रुपमा आउने गर्छन् । जसरी कोभिड–१९ को पहिलो र दोस्रो लहर आयो । अहिले तेस्रो लहर आउने सम्भावना रहेको अवस्था छ । भाइरस एकैचोटी आउने संक्रमण गराउने र फेरि साम्य भएको जस्तो हुने फेरी अर्को लहर आउने देखिन्छ । त्यसैले तेस्रो लहर नआउला भन्न सकिन्न । र, हामीले यसको पूर्वतयारीमा जोड गर्नुपर्छ ।

अब आउन सक्ने भनिएको तेस्रो लहरले बालबालिकालाई धेरै जोखिम गराउन सक्छ भन्ने चिन्ताहरु सर्वत्र प्रकट भइरहेका छन् । विभिन्न आमसञ्चार माध्यमहरुले पनि तेस्रो लहरमा बालबालिका उच्च जोखिममा रहेका दावीहरु प्रस्तुत गरिरहेका छन् । के साँच्चै तेस्रो लहर आएमा बालबालिका उच्च जोखिममा छन् त ? अहिले विभिन्न ठाउँमा भएका अध्ययनहरु हेर्दा अन्य उमेर समूहमा मानिसहरुमा जति प्रतिशतमा कोभिड एन्टीबडीको लेभल छ, त्यति नै प्रतिशत बालबालिकाको एन्टीबडी पोजेटिभ देखिएको पाइन्छ ।

भारतमा जनसमुदायमा यसबारे अध्ययन भएको थियो । उक्त अध्ययनमा सहभागी गराइएको सिंगो पपुलेसनको २५ प्रतिशत बालबालिकामा एन्टीबडी पोजेटिभ पाइएको थियो । यसको अर्थ के हुन्छ भने पहिला पनि उमेर पुगेका समूहलाई जस्तै बालबालिकामा पनि कोभिड–१९ संक्रमण देखिएको हो । र, संक्रमित पाइएका बालबालिकामा लक्षणहरु एकदमै कम देखिएको थियो । त्यसकारण पहिला पनि बालबालिकामा संक्रमण त भएको रहेछ । त्यसैले यो अध्ययनको आधारमा बच्चालाई मात्र जोखिम भएर तेस्रो लहर आउँछ भन्न मिल्दैन् ।

त्यस्तै, खोप दिँदा पनि पहिला प्राथमिकता ठूलो उमेर समूहलाई दिइयो । किनभने, उनीहरुमा संक्रमणपछि गम्भीर लक्षण देखिने समस्या बच्चाको दाँजोमा बढी हुन्छ । पहिला नै ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुलाई खोप दिइयो । जसले गर्दा संक्रमण देखिएपनि गम्भीर बिरामी हुने केसहरु त्यो उमेर वर्गमा कम देखियो । त्यसपछि विस्तारै–विस्तारै तल्लो उमेर समूहमा संक्रमणको जोखिम र शरीरलाई गलाउने किसिमको भेरियन्ट आउँदै गरेको हो । त्यसकारण खोप नलगाएका बालबालिकामा संक्रमणको जोखिम बढी हुनसक्छ । तर, संक्रमण भैहाले पनि ठूलो उमेरसमूहको जस्तो गम्भीर असर भने त्यति नदेखिन सक्छ । तर, भाइरसको म्यूटेसनको आधारमा भने यसै हुन्छ भनेर भन्न गाह्रो छ ।

तर, अहिलेसम्मको जुन मेकानिज्मले ठूलो उमेर समूहलाई असर गर्छ (जस्तैः रेसीपेटर्सहरु फोक्सोमा गएर भाइरस छिर्ने र असर पु¥याउने गर्छ, त्यो अंगहरु बालबालिकामा त्यति विकास भएको हुँदैन् । बच्चामा भाइरसले क्षति पु¥याउने फोक्सोमा भाइरस जाने रिसेप्टरको ठाउँ नै त्यति बनिसकेको हुँदैन । बच्चामा भाइरसलाई नियन्त्रण गर्ने मेकानिजम फरक हुन्छ । जसका कारण स्याँ–स्याँ हुने र आईसीयुमा राख्नपर्ने अवस्था बच्चामा त्यति देखिदैन् । ठूलो मानिसमा पुग्ने गम्भीर असर त्यही अनुपातमा बच्चामा हुन सक्दैन् । त्यसैले बच्चाहरुमा संक्रमण भएमा ९० प्रतिशतलाई लक्षण नदेखिने र १० प्रतिशतमा भने मध्यम लक्षण देखिन सक्छ ।

तापनि हामीले अहिले नै जोखिमलाई सामना गर्न तयारी गर्नुपर्छ र गरिरहेका छौं । तयारी गर्नु नराम्रो त हैन तर भैहाल्यो भने कस्तो गर्ने भन्ने कुरा हो । यसका लागि पहिला बच्चाहरुलाई हेर्नका लागि तयारी अवस्थामा बस्नुप¥यो । त्यसका लागि अस्पतालहरुलाई तयारी अवस्थामा राख्नुपर्छ । त्यसमा अझ ओपिडी सेवा तयार गर्नुपर्छ । अनि, विशेषगरी बालबालिकाका लागि हेर्ने अनुभव भएका चिकित्सक, प्यारामेडिक्स र नर्सजस्ता कर्मचारीहरु बढाउनुपर्छ ।

विशेषतः यसका लागि प्रोटोकल बनाउनुपर्छ । नेपाल पेडियाट्रिक सोसाइटीले प्रोटोकल बनाइसकेको छ । जसले कोभिड–१९ संक्रमित बालबालिकाहरुको उपचार र निदानको अपडेट दिइराख्ने गर्नुपर्छ । अहिले हामीले करिब ३ सय जना बाल रोग विशेषज्ञहरु समूह बनाएर आइरहेका अनलाइनबाट समाचारहरु सेयर गर्ने, नयाँ अपडेट तथा प्रोटोकलहरु सेयर गर्ने गरिरहेका छौं । संसारका अन्य देशहरुमा कसरी कोभिड–१९ संक्रमित बालबालिकाहरुको उपचार भइरहेको त्यसअनुरुप आफूहरु पनि तयार भइरहेका छौं ।

बालबालिकामा कोभिड–१९ को संक्रमण भैहाल्यो भने यसले मात्रै पनि त्यति गम्भीर लक्षण चाहिँ देखिदैन् । तर, सबैभन्दा बढी मुटु र मिर्गौलामा समस्या भएका बालबालिकालाई यसको जोखिम हुनसक्छ । सामान्य बच्चामा पनि कोभिड–१९ भैसकेको २ सातादेखि ६ सातापछि सर्ने खालको कोभिड नभैकन कोभिडको एन्टीबडीले गर्दा आँखा सुन्निने तर कचेरा नआउने, ज्वरो आउने, जिब्रो सुनिने, छालामा डाबर आउने र एकदमै ज्वरो आउने जुन चाहिं १०३ ÷१०४ हुने हुन्छ । त्यस्तोलाई मल्टी सिष्टम इन्फ्लामेटरी सिन्ड्रोम (एमआईएससी) भनेर भनिन्छ । जुन सरुवा खालको हुदैन् । यो चाहिँ उपचारबाट नै निको हुन्छ ।

यसको अनुपात दोस्रो लहर र तेस्रो लहरपछि अझ बढ्न सक्छ । यस्तो समस्या भएका बच्चाहरु पनि अब आउन सक्छन् । तर, यो कमै मात्रमा हुन्छ । यदि भएमा ती बालबालिकालाई पनि पीआईसीयु आवश्यक पर्न सक्छ । त्यसका लागि २० प्रतिशत पीआईसीयु तयारी अवस्था राख्नु उचित हुन्छ ।

कोभिड–१९ संक्रमण विरुद्ध एकदमै थोरै औषधिमात्र प्रभावकारी देखिएका छन् । एमआईएससी संक्रमणबाट समस्यामा परेका बालबालिकाहरुका लागि पनि ‘स्टोरोइड र ‘इम्युनो ग्लोबलिङ’ (आईभीआईजी) भन्ने औषधी उपयोगी हुन सक्छ । आवश्यक पर्दा पाइने गरी त्यसको उपलब्धताको ग्यारेण्टी गरिरहनुपर्छ । पोस्ट कोभिडका कारण देखिने समस्याको उपचारका लागि पनि पेडियाट्रिक सोसाइटीले प्रोटोकल बनाइसकेको छ ।

बालबालिकाभन्दा वृद्धालाई संक्रमणको जोखिम हजार गुणा बढी हुन्छ । त्यसकारण जुन वर्गलाई बढी जोखिम छ, उसलाई प्राथमिकतामा राखेर खोप दिने हो । बालबालिकालाई पनि भ्याक्सिन लगाएको त राम्रो हो । विदेशतिर भारतमा र अमेरिकामा दिइन थालिएको पनि छ । चीनमा ३ वर्षमाथिकालाई परीक्षण भएको खबर सुनिएको छ । बालबालिकामा परीक्षणपछि खोप दिनु राम्रो हो । तर, तेस्रो लहरको जोखिम आइहाल्छ भनेर बच्चालाई भ्याक्सिन दिहाल्नुपर्छ भन्ने चाहिँ मलाई लाग्दैन् ।

बच्चालाई कोभिड भएमा घरमा ठूलो मानिसले खोप लगाइसकेको छ भने उसले रेखदेख गर्न सहज हुन्छ । यसको लागि बालकको उमेरअनुसार ध्यान दिनुपर्छ । यसमा घरमा अन्य सदस्यको स्वास्थ्य अवस्था हेरेर छुट्टै राख्न दिनुपर्छ । कोभिड–१९ को तेस्रो लहर आउँदैमा डराउनु पर्दैन् । बालबालिकामा पोस्ट कोभिड देखिन सक्छ तर ठूलो महामारी आउने कुरा चाहिँ शतप्रतिशत ठोकुवा गर्न सकिदैन् । आफू सचेत रहौं तर डराउनुपर्ने अवस्था भने छैन् ।

(बाल रोग विशेषज्ञ डा. पोख्रेलसँगको कुराकानीमा आधारित ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ