२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘हामी कोभिड खोपको प्रभावकारिताको अध्ययन गरिरहेका छौं’

‘हामी कोभिड खोपको प्रभावकारिताको अध्ययन गरिरहेका छौं’


डा. प्रदीप ज्ञवाली नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव हुन् । उनी परिषद्को सदस्य सचिव नियुक्त भएको १६ महिना बितिसकेको छ । यो बीचमा नेपालमा कोभिड—१९ महामारी सुरु भयो । महामारी सुरु भएसँगै अन्य सबै कुरालाई थाती राखेर परिषद्ले कोभिड सम्बन्धि नै अनुसन्धानलाई अगाडि बढाउँदैं आएको छ । अहिले परिषद् सातौं स्वास्थ्य तथा जनसंख्या सम्मेलन गर्ने चटारोमा छ । सातौं सम्मेलन, अनुसन्धान परिषद्ले सुरु गरेका र सम्पन्न गरेका अनुसन्धानका काम र अन्य नीतिगत कार्यहरुका विषयमा हेल्थ आवाजले ज्ञवालीसँग गरेको कुराकानीको सम्पादित अंशः

सातौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्म्मेलन गर्दै हुनहुन्छ ? यसपटकको सम्मेलन कुन प्रकृतिको हुन्छ ?
हामीले स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन स्थापनाकालको उपलक्ष्यमा १० देखि १२ अप्रिल नियमित रुपमा गर्दै आएका छौं । तर, कोभिडको महामारी आएसँगै अघिल्लो वर्ष र यो वर्ष भनेकै समयमा सम्मेलन गर्न सकेनौं । यसलाई हामीले निरन्तरता दिइरहेका छौ र दिनुपर्छ । अहिले हुन लागेको सातौं सम्मेलनमा सिनियरदेखि जुनियर वैज्ञानिकहरुको सहभागिता रहने भएकाले महत्वका साथ हेरिएको हो । यो राष्ट्रिय/अन्तर्राष्ट्रिय वैज्ञानिकको सम्मेलन पनि हो । यसअघिको सम्मेलनमा हजारौ/लाखौं संख्यामा मानिसहरुको सहभागिता थियो । यो स्वास्थ्यसँग जोडिएको महत्वपूर्ण विषय भएकोले गर्नैपर्छ भनेर आयोजना गर्न लागेका हौं ।

हाल निषेधाज्ञा लगाइएपनि खुकुलो हुने क्रममा छ । १७—१८ असारमा हुन लागेको सम्मेलन पूर्णरुपमा भर्चुअल माध्यमबाट हुन् लागेको छ । सहभागी हुन लागेका वैज्ञानिकहरुलाई हेल्थआवाजमार्फत शुभकामना दिन चाहन्छु ।

विगतमा वैज्ञानिकहरुले अनुसन्धान पेपर प्रस्तुती गर्ने गरेका थिए । ती पेपरका आधारमा सरकारले स्वास्थ्यमा के कस्ता नीतिमा परिवर्तन ग¥यो ?
छैटौं सम्मेलनमा ८ सय वटा पेपरमध्ये ८६ पेपर छानेको थियौं । जुन विज्ञ कमिटीहरुमा रहेकाबाट छान्ने गरिन्छ । कमिटी गठन गरी छलफल गरी वैज्ञानिक तवरले स्वतन्त्र रुपले छान्ने गर्छौं । यसमा कुनै हस्तक्षेप हुँदैन् ।

६२ वटा प्रिन्ट गरेका थियौ, जसमा ३४ वटा पेपर प्रिजेन्टेसन ग¥यौ । यसका लागि विभिन्न छुट्टाछुट्टै विधामा एवार्ड दिन्छौ । त्यसमा ८ जनालाई उत्कृष्ट एवार्ड दिन्छौं । हाम्रो उद्देश्य के हो भने धेरैभन्दा धेरै वैज्ञानिकलाई भेला गर्ने र उनीहरुको योग्यता प्रदर्शन गर्नु हो । यसले वैज्ञानिकको मनोबल बढाउने काम समेत गर्छ ।

यो वर्षका कस्ता पेपरलाई प्राथमिकता दिनु भएको छ ?

यस वर्ष पनि हामीले कोभिड–१९ मै केन्द्रीत भएका छौं ।

यसमा निश्चित यति जनालाई राखिने भन्ने छ कि ?
त्यस्तो हुँदैन् । हामीले वैज्ञानिक समितिलाई नै यसको जिम्मा दिएका हुन्छौं । कोभिडको सिनारियोमा रहेर एउटा थिम बनाउछौं । त्यसको क्राइट एरियाको आधारमा एवार्ड दिने गर्छौं ।

सातौं औं सम्मेलनसम्म आइपुग्दा यसको गुणस्तरमा अहिलेको सम्मेलनमा के परिमार्जित भएको छ ? परिमार्जित भएर नै आउँछ । पहिला लकडाउन र कोभिड नयाँ थियो र पनि हामी एउटा अन्तर्राष्ट्रिय तहको विश्व स्वास्थ्य संगठनलगायतको सम्पूर्ण टिमको सहयोगमा सम्पन्न ग¥यौ । अघिल्लो सम्मेलन कोभिडको कारण स्वतः आइटी लेभलको फड्को मार्ने किसिमको थियो । हामीले फेसबुक, युट्युब र एनटिभीबाट प्रत्यक्ष प्रसारण गर्न सफल भएका थियौं । तर, अहिले कोभिडलाई चिन्ने र हामीले जितिसकेका छौं । यसपटक त्योभन्दा पनि राम्रो गर्ने सोचमा छौं ।

सम्मेलनमा उठेका विषयहरुलाई समेटेर नीतिगत सुधारका लागि मन्त्रालयलाई एकमुष्ट सुझाव दिने चलन छ । हालसम्म दिएका सुझावबाट कति नीति परिवर्तन भए ?
हामीले छैटौं पेपर दियौ । अब सातौंको तयारीमा छौं । हामीले यसको फ्लोअप पनि गरिरहेका छौं । हामीले के–कस्ता पेपर छान्यौ, कस्तालाई एवार्ड दियौं । फ्लोअप भैरहेको छ छैन सबै रेकर्ड हुन्छ । त्यसमा हामीले एनलाइसीस गर्ने हो । हिजो के छ आज के छ र भोलि के हुनेवाला छ भन्ने कुराको लागि हामी प्रकाशन गर्ने सोचमा छौं । मलाई लाग्छ त्यो खालेस्तरमा काम गर्न खोजिएको छ ।

तपाईं परिषद्मा आएको १६ महिना भयो । तपाईं आफैले आफैलाई मुल्यांकन गर्दा कति सफल भएको लाग्छ ?
म आइसकेपछि कोभिड आउनुअघि र अहिलेको तथ्यांक हेरेको छु । अनुसन्धान गर्ने र गराउने दुवै काम गर्छौं । विभिन्न विधामा ३५ वटा कोभिड सम्बन्धि अनुसन्धान गरिरहेका छौं । जसले हामी अनुसन्धानमा पछि छैनौं भन्न सकिन्छ । १५ वटा विधाका पेपरको अनुसन्धान पूरा भैसकेका छन्, जुन वेबसाइटमा पनि उपलब्ध छन् । एउटा कोभिडको दोस्रो लहर आएपछि गरेका हौं, जुन पूरा हुने क्रममा छ । अहिले पनि धेरै अनुसन्धान हुने क्रममा नै छ ।

यसका अलावा नेपाल सरकारले दिएका १४/१५ वटा विधाका कामहरु पनि काम गरिरहेका छौं । हामी निरन्तर अगाडि बढिरहेका छौं । रिकभर ट्रायल सम्बन्धी रिसर्च पनि गरिरहेका छौं । अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर हाइडोज स्ट्रोरोयडको असरको पनि अनुसन्धान भइरहेको छ । त्यस्तै भ्याक्सिन लगाएका र नलगाएका व्यक्तिहरुको फरक, तुलनात्मक रुपमा पहिलो डोज र दोस्रो डोज लगाएपछिको फरक, लगाएका व्यक्तिमा एन्टीबडीको विकास र यसको प्रभाव, हामीले लगाएको कोभिशिल्ड, भेरोसेल भ्याक्सिनको गुणस्तर र यसबाट परेको प्रभाव, कति भ्याक्सिन लगाउने संक्रमितको अवस्था के देखिए र नलगाएका संक्रमितको अवस्था, भ्याक्सिन लगाउनेको मृत्युका केस र नलगाउने संक्रमितको मृत्युको केसबीच फरक, कस्तो भ्याक्सिन उपयुक्त हुन्छ, कस्तो छान्ने भन्नेजस्ता कुराको निष्कर्ष हाम्रो अध्ययनबाट निस्कन सक्छ । जसले गर्दा सरकारलाई कोभिड–१९ विरुद्धको खोप छान्न मद्दत पुग्न सक्छ ।

कोभिडको स्याम्पल लिएर यसको संक्रमण र के कारणले संक्रमितको मृत्यु भयो भन्ने कुराको अध्ययन गरिरहेका छौं । यसबाहेक नेपालमा पनि भ्याक्सिनको अनुसन्धान नेपालमै गर्ने भन्नेबारे हामी गत वर्षदेखि लागेका छौं । भ्याक्सिनको अहिले मारामार छ, भ्याक्सिन पाउनु त्यति सजिलो छैन । यसको अनुसन्धानबाट हामीलाई हाम्रो परिवेशकै नेपालमै अनुसन्धान गर्नुपर्छ भन्ने र विज्ञहरुसँगको छलफल गरी हामी लाग्यौं । भ्याक्सिनको ट्रायल ल्याउन पाए भने एउटा नमुनाको रुपमा अघि आउँछ र सबैलाई खोप दिन सफल हुन सक्छौं । यो एउटा नेपालको लागि माइलस्टोन जस्तो हुन्छ ।

ट्रायल भन्नासाथ प्रभावकारिता नै नभएको भन्ने होइन । भ्याक्सिनको क्लिनिकल अध्ययन हुन्छ । पहिला जनावरहरुमा गरिन्छ । त्यसपछि पहिलो दोस्रो तेस्रो चरण हेर्छौं । पहिलोमा हामी सुरक्षा हेर्छौं । त्यसरी थोरै मानिसमा ट्रायल हुन्छ । त्यसकै आधारमा हामी अघि बढ्ने हो ।
अहिले हामीले लगाएका भ्याक्सिनहरु अझै अनुसन्धानकै क्रममा छन् । यो कतिको सुरक्षा दिन्छ र गुणस्तर छ भन्ने कुरा हेर्न धेरै वर्ष लाग्छ । अझै बालबालिकामा हेर्न सकिएको छैन । स्वास्थ्य सम्बन्धि कुरामा यसले अनुसन्धान गर्छ र पोलिसी पनि परिवर्तन गराउँछ । तर, यो स्वतन्त्र छ ।

हाम्रो कानुनले त विदेशी भ्याक्सिन ट्रायल गर्न अनुमति दिएको छैन नि ?
हामीले यसमा तलमाथि गर्न सक्दैनौं । नीति नियम भित्रै रहेर हामीले काम गर्नुपर्छ । हामी बोर्डबाट एनएचआरसी एकेडेमिकरुपमै हिसाबले जानुपर्छ भन्ने निर्णय गरेका छौं । नेपालमा भ्याक्सिन उत्पादन जरुरी छ । यसको लागि सबै वैज्ञानिकलाई लाग्न आग्रह गर्छु । अब नेपालमै मोल्युकुलर एक्स्ट्रासन गरेर क्लिनिकल ट्रायल हुनुपर्छ र यसको लागि टेक्निकल ट्रान्सफर गरेर भ्याक्सिनको उत्पादन गराउने जमर्को गर्नुपर्छ ।

विश्वभर ४ लाख ५० हजार स्पेसिज छन् । त्यसको ५० प्रतिशत नेपालमा छन् भनिन्छ । हामीले मुस्किलले प्रयोग गरेका आयुर्वेदिक १ सय १ सय ५० मात्र छन् । अब हामी यसको विकासको कार्ययोजना बनाएर अघि बढ्ने, राज्यसँग छलफल गर्ने, गैर सरकारी संस्था र सरकारी संस्थासँग मिलेर नेपालमा टेक्नोलोजी ट्रान्सफर गर्नेतर्फ जाने छौं । जुन अनुसन्धानबाट मात्र सम्भव छ । आज मुलुकले डिभाइस ट्रायल गर्न पाएन ।

नेपालमा भेन्टिलेटर उत्पादन भैरहेका छन् जुन सिमित नीतिगत कुराले अघि बढ्न पाएको छैन । विदेशी मुलुकको लगानी र प्रविधि, यसको वौद्धिक सम्पति, यसको बिक्री–वितरण गर्नेदेखि यसको रक्षा गर्ने र सुरक्षाको अधिकार कसरी ल्याउने भन्ने कुरा आजको आवश्यकता हो ।




क्याटेगोरी : अन्तर्वार्ता / विचार
ट्याग : #डा. प्रदीप ज्ञवाली, #नेपाल स्वास्थ्य अनुसन्धान परिषद्


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ