२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारनेपाली नर्स यसकारण विदेसिन चाहन्छन्

नेपाली नर्स यसकारण विदेसिन चाहन्छन्


बाबा शिक्षक हुनु हुन्थ्यो । बाबाले स्कुलमा पढाउँदा सबै बच्चालाई ठूलो भएर के बन्ने सपना छ भनेर सोध्नु हुन्थ्यो । म सानै छँदा स्कुलमा सर/मिसले सोध्ने यस्तो प्रश्नमा अनायासै उत्तर हुन्थ्यो, ‘नर्स, डाक्टर बन्न मन छ ।’ नजिकको स्वास्थ्य चौकीतिर ह्वाइ कोटमा नर्सहरु देख्दा मलाई पनि पछि उनीहरुजस्तै पहिरन लगाउने नर्स बन्छु भन्ने लाग्थ्यो ।

म परिवारको कान्छी छोरी । कान्छी छोरीलाई नर्स बनाउने बाबा ममीको रहर पनि थियो । त्यही भएर होला बाबाममीले मेरो रहर पूरा गर्न कहिल्यै पछि हट्नु भएन् । मैले एसएलसी सकेपछि च्छोरोल्पा नर्सिङ क्याम्पसबाट पिसिएल नर्सिङ पास गरे । कलेजबाट प्रयोगात्मक पोस्टिङ सुरु भयो । अस्पतालमा जाँदा सुरु–सुरु त डर लाग्थ्यो । अस्पतालका नयाँ–नयाँ सामान अनि क्रिटिकल केयरका बिरामीहरु देख्दा झनै डर बढेर आउथ्यो । तर, अस्पतालका कर्मचारी र कलेजबाट गएका म्यामहरुको साथले गर्दा विस्तारै डर लाग्न छाड्यो । बानी हुँदै गयो ।

विस्तारै म्यामहरुको सहयोगले कामहरु सिक्दै गए । नर्सिङ विषयमा पढाइभन्दा पनि बढी प्राक्टिकल हुने गथ्र्यो । विस्तारै मनमा स्टाफ र बिरामी परिवारजस्तै महसुस हुन थाल्यो । बिरामीलाई निको पारेर घर पठाउँदा र बिरामीहरुको कुराहरु सुन्दै जाँदा, बोल्दै जाँदा परिवारजस्तै महसुस हुन्थ्यो । बिरामीहरु खुसी भएर धन्यावाद दिँदा नर्स हुनुमा गर्व हुन थाल्यो ।

कलेज सकिएपछि राष्ट्रिय ट्रमा सेन्टरमा स्वयंमसेवकको रुपमा काम गरे । विसं. २०७२ सालको भूकम्प जाँदा म ट्रमा सेन्टरमा नै थिए । शनिबारको दिन भएको हुँदा स्टाफ कम थियौ । त्यो महाभूकम्पमा अस्पतालमा बिरामीको चाप धेरै हुने नै भयो । विदामा बसेकाहरुलाई सम्पर्क हुन नसक्दा मैले आफ्नो पालोमा त्यतिखेर ५२ जनाभन्दा बढी बिरामी हेरेको छु ।

मैले बिरामीहरुलाई औषधी दिंदै गर्दा केही त मरिसकेका हुन्थे । एक जनाले एकैपटक ५२ जना बिरामी हेरिरहँदा सबैमा केयर कसरी पुग्नु र । मसँगै भएका अन्य साथीहरु पटक–पटक भूकम्पको पराकम्पले कराउँदै चिचाउँदै टुडिखेलको चौरमा पुगेका थिए । तर, मलाई भने किन हो किन आफूलाई के होला भन्ने भन्दा पनि त्यत्रो बिरामीलाई छोड्नै मन लागेन ।

कति भूकम्प पीडित बिरामीको हात, कान, खुट्टा नभएको देख्दा नरमाइलो अनुभव भयो । ३ महिनासम्म स्वयंमसेवकको रुपमा काम गरिसकेपछि म त्यहाँ छाडेर घरमा नै बसे । अनि म साइयाट्रिक हस्पिटलमा काम गर्न थाले । एउटा मानसिक रुपले असन्तुलन भएको बिरामी अस्पतालमा भर्ना भएर उपचारपछि निको भएर घर फर्किंदा दिएको धन्यवादले खुसी बनाउँथ्यो । अहिलेसम्म त्यहाँ उपचार गराएकाहरु मसँग फेसबुकमा जोडिनु भएको छ । उपचारपछि ठिक भएर कामहरु गरिरहेको देख्दा खुसी लाग्छ ।

पछिल्लो समय कोभिड–१९ महामारीमा पनि म त्यसरी नै खटिइरहेकी छु । आफ्नो ज्यानको प्रवाह गरेकी छैन । ८ देखि १२ घण्टासम्म पीपीई लगाएर दिसा पिसाब रोकी सेवामा खटिनु मेरो रहर होइन्, बाध्यता हो । त्यो भन्दा बढी यो मेरो धर्म पनि हो । मैले यस्तै समस्याका बेला सेवा दिने कसम खाएर यो पेशामा आएकी हुँ ।

तर, मलाई अहिले मौका पाए विदेश जान पाए हुन्थ्यो भन्ने लाग्न थालेको छ । उतै गएर काम गरौं । जिन्दगीलाई व्यवस्थित बनाउ भन्ने लागिरहन्छ । मलाई त्यसै यो देश छोडेर बाहिर जान मन लागेको भने होइन् । यसअघि विदेश गएर काम गर्छु भन्ने मनको कुनै पनि कुनामा सोचेको थिइन् । कारण के हो थाहा छ ?

भूकम्प, कोभिड–१९ महामारीमा आफ्नो ज्यानभन्दा ठूलो बिरामीको सेवा हो भनेर खटिने मजस्ता नर्स, चिकित्सक, स्वास्थ्यकर्मीहरु राज्य, समाजबाट पुरस्कृत हुनको साटो अपहेलित हुनु परिरहेको छ । लाखौ खर्च गरेर पढेको एउटा नर्सले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरभन्दा कम तलबमा काम गरिरहनु परेको छ । भोलिको भविष्य के हो अनिश्चित छ । आफ्नै पेशा भित्र पनि ठूलो विभेद छ । बिरामी निको भएर घर फर्कदा हामी खुसी हुन्छौं । तर, आफ्नै पेशा अपमानित भएको छ । हामी स्वास्थ्यकर्मीलाई ज्यानमारा भन्दै दैनिक भौतिक आक्रमण भइरहेका छन् ।

त्यही भएर भविश्यको सुनिश्चितता, पेशाको म्मान र व्यक्तिको आत्मासम्मान हुने ठाउँ खोज्नु अहिले नेपाली नर्सको बाध्यता बन्न थालेको छ । विकल्प साघुरिदैं जाँदा मनमा भविष्यको चिन्ता हुने रहेछ । सरकारले नर्सको बाँच्न पुग्ने सेवा सुविधा वृद्धि गर्नुपर्छ । निजीदेखि सरकारी अस्पतालसम्म स्वास्थ्य सेवाका खम्बा नर्समा स्वदेशमै काम गर्न आशा जगाउनुपर्छ । नत्र धेरै नर्सहरु असुरक्षित भविष्यको डरमा विदेश जानेछन् ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ