२०७८ साउन ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘रगत व्यवस्थापनमा हामी २० वर्ष पछाडि छौं’

‘रगत व्यवस्थापनमा हामी २० वर्ष पछाडि छौं’


डा. विपिन नेपाल ब्लड ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ हुन् । नेपालका दुई जना ब्लड ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञमध्ये स्वदेशमै भएका उनी एक्ला हुन् । सन् २०१५ मा पाकिस्तानबाट ट्रान्सफ्युजन मेडिसिन एण्ड टिस्यु टाइपिङमा स्नातकोत्तर गरेका उनी हाल ग्राण्डी अस्पतालको ब्लड बैंक प्रमुख छन् । डा. विपिनसँग नेपालको रगत व्यवस्थापन, यसमा रहेका समस्या, समाधानका उपायलगायतमा केन्द्रित रहेर हेल्थआवाजले गरेको कुराकानीः

नेपालमा रगतको अभाव सधैं किन हुन्छ ? व्यवस्थापनका कारण कि अपुग भएर ?
नेपालको रगतको व्यवस्थापन सहि ढंगले चलेको छैन । उदारहणका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सिंगो जनसंख्याको १ प्रतिशतले मात्र रक्तदान गर्दा देशमा रगतको अभाव हुँदैन भनेको छ । हाम्रो देशमा वर्षमा ४ लाख हाराहारीमा मानिसलाई रगत चाहिन्छ । २ लाखदेखि साढे दुई लाखसम्मले रक्तदान गर्दै आएका छन् । यतिले रगत पुग्नुपर्ने हो । तर, यहाँ रगतको अभाव देखिन्छ । त्यसकारण रगतको व्यवस्थापनमा कमजोरी देखिन्छ । हामीले एउटा रगतबाट कम्तिमा पनि ३ देखि ४ वटा प्रोडक्ट बनाउन सक्छौं । हाम्रो नेपालमा ६० देखि ७० प्रतिशत भन्दामाथि एउटा रगतबाट एउटै रगत दिइरहने प्रचलन छ ।

अर्को समस्या भनेको पहिला मानिसहरु एकदम धेरै रक्तदान गर्थे । तर, पनि चाहिँदा जहिले रगतको अभाव नै हुने समस्या देखियो । ३/४ वर्ष देखि चाहिँ मानिसमा रगत दिनुपर्छ भन्ने चेतनापनि कम भएको देखिन्छ । रगत दिँदा बेफाइदा हुँदैन, यसले आफूलाई पनि फाइदा गर्छ । र, अरुको ज्यान बच्ने गर्छ । रक्तदान गर्नुपर्छ भनेर रगत दिनुहोस् भनेर जाँदा पनि मानिसहरु हामीले ३/३ महिनामा रगत दिएपनि हामीले चाहिने समयमा पाउने हैन भन्ने गुनासो गरेको पाइन्छ । रगत व्यवस्थापन नै खराब भएको भएर रगतको चरम अभाव हुने गरेको हो । त्यसकारण नेपालको समग्र अवस्था हेर्दा रगतको व्यवस्थापनमा हाम्रो देश धेरै पछाडि छ ।

किन यस्तो भएको होला ?
हामी रगतको व्यवस्थापनमा विश्वभन्दा २० वर्षपछि छौं । रातो रगत चाहिनेलाई रातो, प्लेटलेस आवश्यक पर्नेलाई प्लेटलेस र प्लाज्मा चाहिनेलाई प्लाज्मा दिनुपर्छ । बाहिर त्यो तरिकाबाट रगतको व्यवस्थापन हुन्छ । तर, नेपालको हकमा जे चाहिएपनि होल ब्लड, पीआरपीहरुजस्ता प्रडक्ट दिने गरिन्छ । व्यवस्थापन सही नहुँदा एउटा रगतबाट एउटा मानिसलाई मात्र काम लाग्यो । जुन ३/४ जनासम्मलाई काम लाग्नु पर्ने हो ।

रगत व्यवस्थापनबाहेक अन्य के कुरामा चुकेका छौं ?
हामी भारत, श्रीलंकाहरुभन्दा २० वर्ष पछाडि छौं । हामी रगतको सन्दर्भमा हरेक कुरामा चुकेका छौं । परीक्षण कै कुरा गर्नुपर्दा पनि ब्लड ग्रुपिङ देशको सय प्रतिशतमा ५ प्रतिशत ठाउँमा पनि नयाँ तरिकाबाट हुँदैन्, पूरानै टेक्नीक जसमा मिस्टेक सजिलै छुट्याउन सकिन्न त्यो तरिकाबाट गर्छौ । यो गर्दा दुई तरिकाबाट गर्नुपर्छ, फरवार्ड र रिभर्स । छदै छैन भने म्यानुअल तरिकाबाट गर्नुपर्छ । सम्भव छ भने सेमी अटोमेटिक र अटोमेटिक तरिकाबाट गर्नुपर्छ । म्यानुअल विधिबाट गर्दा पनि कम खर्च मै हुन्छ । तर, त्यस विधिबाट पनि रिभर्स र फरवार्ड गर्दैनौं । एउटा तरिकाबाटै गर्ने गरिन्छ । ५० वर्षअघिकै तरिकाबाट परीक्षण हुन्छ । नेपालको ९० प्रतिशत ठाउँमा रगत परीक्षण गर्दा रिभर्स र फरवार्ड गरिदैन् । प्लेटमा रगत मिलायो अनि यो हो ग्रुप हो भनेर गर्छौं । पहिला फरवार्डबाट गर्ने त्यसलाई म्याच गराउन रिभर्स गराउनुपर्छ । जुन हुन सकिरहेको छैन ।

म ग्राण्डी अस्पतालमा काम गर्छु । यहाँ सयमा २/३ वटा केस ब्लड ग्रुपिङमा समस्या भएको केस आउँछ । एउटा अस्पतालमा त २÷३ वटा केस देखिन्छ । यस्ता केस त देशमा कति देखिन्छन् होला ? त्यसको कुनै रेकर्ड नै छैन र राखिदैन् । यस विषयमा आवश्यक पर्ने विशेषज्ञ र डाक्टर नै छैनन् । यसमा समस्या आयो भन्ने के गर्ने भन्ने कुरा नै छैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले रेडक्रसमा पठाउँछ । रेडक्रसका प्राविधिकहरुले हजारौं केसमा एउटा केसबारे मलाई सोध्छन् । जहाँ जनशक्ति नै छैन्, जहाँ गर्न सक्ने क्षमता नै छैन, त्यहाँ सरकारले पठाउँछ । यो जस्तो दयनीय अवस्था के होला ?

कतिपयले रगतबाट सर्ने एचआइभी, हेपोटाइटिसको परीक्षणमा पनि प्रश्न उठाउने गरेका छन् नि ?
विश्व स्वास्थ्य संगठनले दिएको मापदण्डअनुसार हुने परीक्षण हुनुपर्ने हो । त्यो स्ट्यान्डर्ड हुनुपर्ने हो । तर, यो देशभरमा छदै छैन् । त्यसभन्दा मुनि इक्लिया विधिबाट गर्ने गरिन्छ । जुन देशभरमा २—३ ठाउँमा गरिन्छ । त्यसपछि अर्को इलाइचा विधिबाट गरिन्छ । जुन जम्मा ५/७ ठाउँबाट गरिन्छ । धेरै ठाउँमा चाहिँ २० वर्षअघि गर्ने गरेको ¥यापिड टेस्ट गर्छौं । जुन कोभिड परीक्षणको लागि पहिला गरियो । पछि मान्यता पाएन । त्यही विधीबाट यी रोगहरुमा पनि परिक्षण हुन्छ । जसको सेन्सेटीभिटी र स्पेसिफिसिटी कम हुन्छ । यसले गलत रिपोर्ट देखाउन सक्ने शक्ति वा सेन्सेटिभिटी कम हुन्छ । देशभरिमा यो तरिकाबाट काम हुन्छ । यसबाट पनि थाहा हुन्छ, हाम्रो देश कति पछाडि छ । हामी अहिले मिर्गौला प्रत्यारोपण, कलेजो प्रत्यारोपणमा यति अगाडि बढेका छौं । तर, रगत व्यवस्थापनको कुरामा हामी २० वर्ष पछाडि नै छौं ।

नीति तर्जुमा गर्ने निकाय बलियो निकायको अभाव र विज्ञको अभावका कारण पनि यस्तो अवस्था सिर्जना भएको हो कि ?
रगत सम्बन्धि नीति राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रक्तसंचार ब्यूरोले बनाउने हो । त्यहाँ नै विज्ञ छैनन् । रक्तसंचारको विशेषज्ञ कुनैमा छैन । कुनै अस्पताल, रेडक्रस र ऐन बनाउने ठाउँमा नै छैन । यसमा नीति निर्माताहरुको ध्यान पुगेको छैन । विगत ६ वर्षदेखि म यो कुरालाई लिएर मन्त्रीज्यू, सचिवज्यू र सरोकारवाला निकाय कहाँ धाए । तर, विकासका कुरा मात्रै हुन्छ । केही हुन सकेका छैनन् । देशभरिमा एउटा विशेषज्ञ पनि राख्न सकेका छैनन् ।

रगत व्यवस्थापनको नेतृत्व गर्ने नेपाल रेडक्रस सोसाइटीमै यसको विशेषज्ञ नहुँदा त्यसले पर्न जाने असरहरु के छन् ?
देशभर रगत चलाउने रेडक्रस जहाँ विज्ञ छैन । सरकारले रेडक्रसमा पठाउँछ । ब्लड ग्रुपिङ सम्बन्धि समस्या आयो के गर्ने भन्ने सक्षमता कसैमा छैन । ब्लड ग्रुपिङ गर्दै समस्या आयो भने हल गर्ने कोही छैन । रगत पनि औषधी हो । औषधीजस्तो कुरामा पनि बेकाइदा हुने संसारमा अरु ठाउँ कहाँ होला ? रेडक्रसमा डाक्टरहरु छन् । तर, रगतकै विशेषज्ञ त्यहाँ छैन । कसरी चलेको छ थाहा छैन । ग्राण्डी अस्पतालजस्तो ठाउँमा १—२ वटा केस देखिन्छ भने देशभर
रगत चलाउने रेडक्रसमा यस्ता कति केस देखिन्छन् होला ?

रगतबाट हेपाटाइटिस, एचआइभीजस्ता रोगहरु एकबाट अर्को व्यक्तिमा सर्ने हुन्छ । रेडक्रसजस्ता निकायहरुमा इक्लिया र एनएटी विधीमा जानुपर्ने हो । अहिलेसम्म पनि हेर्न गयौं भने त्यही पुरानो प्रणालीबाट परीक्षण हुन्छ ।
व्यवस्थापनकै कुरा गर्दा रेडक्रसले सतप्रतिशत काम गरेको छैन् । पीआरपी भनेर ब्लड चलाउँछ । जबकी यसबाट दुई प्रोडक्ट निकाल्न सकिन्छ । जसले बिरामीलाई पनि फाइदा हुन्छ । यसका लागि काम गर्नलाई त्यहाँ विज्ञ छैन । रेडक्रसजस्तो संस्थाको अवस्था त यस्तो छ भने अरुको कुरा नै भएन ।

रेडक्रसमा प्रविधी र उपकरणको अभावले यस्तो समस्या देखिएको हो कि ?
औजार नै यसको मुख्य कारण भन्न मिल्दैन् । यसको कारण भनेको योग्य प्राविधिक र विज्ञ नहुनु हो । उदाहरणका लागि सरकार, विभिन्न देश, आईएनजिओ र एनजिओहरुबाट औजार दिएको हुन्छ । तर, त्यो अस्पतालमा चलाउन सकेको छैन । सरकारले पनि सरकारी अस्पताल र एनजीओहरुलाई मात्र सहयोग दिने गर्छ । प्राइभेटलाई दिदैन । तर, एनजीओ र सरकारी अस्पतालमा सदुपयोग भएको पाइदैन् ।

रगत व्यवस्थापनमा देखिएको विभिन्न समस्याको समाधान कसरी गर्न सकिन्छ ?
सरकारले ५ वर्षअघि नै समस्याको समाधानको लागि राम्रो नीति ल्याएको छ । तर, यसको कार्यान्वयन भएको छैन । यसका लागि अनुगमन नै भएको छैन । यसका लागि डाक्टरहरुको कमी छ । जसको लागि ट्रान्सफ्युजन मेडिसिनको अध्ययन बढाउनुप¥यो । लोकसेवा खुलाउन प¥यो । मैले देखेपनि नदेखे पनि धेरै परिवर्तन ल्याएको छु, म च्यालेन्ज गरेर भन्न सक्छु । तर, निजीबाट मात्र त्यो पर्याप्त नहुँदो रहेछ । मैले धेरैभन्दा धेरै विद्यार्थीलाई पढाउन पाउनुपर्ने हो । तर, त्यो अवस्था नेपालमा छैन ।

रगतको गुणस्तरको मापन छैन, ग्रुपिङको कुनै तथ्यांक नै छैन । रगत संचार गर्दा हुने समस्याको पनि तथ्यांक छैन । यस्ता कुराहरुले मानव स्वास्थ्यमा गम्भीर असर पार्दछ । यस्ता समस्याको समाधानका लागि विज्ञता ठूलो कुरा हो । त्यसबाहेक रगतको व्यापार हुनु भएन । यस सम्बन्धि अध्ययन तथा अनुसन्धान हुनुप¥यो । जनशक्ति बढाउनमा सरकारले पनि ध्यान दिनुप¥यो ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार
ट्याग : #डा. विपिन नेपाल, #ब्लड ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ, #रगतको व्यवस्थापन


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)