२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारआत्महत्याको रोक्न चार स्वास्थ्य प्रणालीः पहिचान देखी नियमित अनुगमन सम्म

आत्महत्याको रोक्न चार स्वास्थ्य प्रणालीः पहिचान देखी नियमित अनुगमन सम्म


कहिलेकाहीँ आत्महत्याको सोच बनाइरहेका व्यक्तिहरु मर्न चाहन्छन्, किनकी उनीहरूलाई आफूसँग बाँच्ने कुनै पनि कारण छैन भन्ने लाग्छ ।
हामी सबैले एकपटक आ—आफ्नो मुटुमाथि हत्केला राखौँ त ।
मुटुको धडकन थाहा पाउनुभयो?
यसलाई उद्देश्य भनिन्छ ।

सुन्दा सामान्य सुनिएपनि तर खास कुरा भनेको तपाईँको मुटु अझै पनि धड्किरहेको छ र शरीरभरि यसले रक्तसञ्चार गरिरहेको छ । अनि यो जीवित रहिरहन चाहिने पर्याप्त कारण हुनसक्छ । हामी कुनै कारणले नै जीवित छौँ, त्यसैले हार कहिल्यै नमान्नुहोला ।

केही मानिसहरूमा आत्महत्या गर्ने सोच आउन सक्छ । यसो हुनुको कारण उनीहरू आफ्नो जीवनबाट खुशी छैनन् जीवनको खास उद्देश्य पहिल्याउन सकेका छैनन् भन्ने हो । यदि तपाईँ वा तपाईंको नजिकको कसैमा आत्महत्या गर्ने सोच आइरहेको छ भने तुरुन्त ११६६ मा डायल गर्नुहोस् । अब नेपालमा पनि आत्महत्या रोकथाम हेल्पलाइन ११६६ उपलब्ध भएको छ ।

मानसिक स्वास्थ्य र नशालु पदार्थ सेवनसम्बन्धी समस्याहरूको बढ्दो प्रवृत्तिबाट नेपाल पनि अछुतो छैन । समग्रमा यी दुवै कारकहरू न्यून तथा मध्यम आय भएका मुलुकमा पाँचमध्ये १ वर्षको अपाङ्गताको लागि जिम्मेवार रहेका छन् ।

आत्महत्या भन्नाले कमजोर मानसिक स्वास्थ्यलाई जनाउँछ र संसारभर मृत्युको प्रमुख कारणमध्ये यो एक हो । नेपालमा सन् २०१९ मा गरिएको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणअनुसार ६.५ प्रतिशत वयस्क जनसङ्ख्याले उनीहरूमा आत्महत्याको सोच भएको बताएका थिए । सन् २०२० मा प्रत्येक दिन हामीले नेपालमा आत्महत्या घटनामा १९ व्यक्ति गुमायौँं । आत्महत्याको कारण हुने मृत्युदर एचआईभी, मलेरिया, स्तन क्यान्सर वा युद्ध तथा अपराधिक हत्याबाट हुने मृत्युभन्दा धेरै छ ।

यदि हामी आत्महत्याको बढ्दो दर को यो प्रवृत्तिलाई रोक्न र उल्ट्याउन विफल भयौं भने नेपालले दिगो विकास लक्ष्यहरू र विश्व स्वास्थ्य संगठनको विश्व मानसिक स्वास्थ्य कार्ययोजना हासिल गर्ने छैन ।

कोभिड–१९, भूकम्प वा बारम्बार आउने बाढीजस्ता आपत्कालीन अवस्थाहरूले पहिल्यै दबाबमा रहेका स्वास्थ्य प्रणाली र सेवाहरूमा झनै
दबाब बढाएका छन् । यस्ता आपतकालीन अवस्थाहरूले उच्च प्राथमिकता पाउँछन् र अन्य विषयहरूलाई ओझेलमा पर्छन् । आपतकालीन अवस्थाहरूले मानसिक स्वास्थ्यलाई झनै बिगार्ने भएकाले मानसिक स्वास्थ्यलाई आपतकालीन अवस्थाको सन्दर्भसमेतमा प्राथमिकता दिइनुपर्छ ।

मानव व्यवहारसम्बन्धी वैज्ञानिक स्यान्ड्रा जे क्लार्कले प्रायः उद्धृत हुने सन्२००१ को शोधपत्रमा यो कुरा राम्रोसँग उल्लेख गरेकी छिन्ः आत्महत्याबाट व्यक्ति जीवनमा एकपटक मर्दछ । तर जो बाँकी रहन्छन्, तिनीहरू ती भयानक क्षणहरूसँगै पुनः जिउने र बुझ्ने कोसिसमा हजार मृत्यु मर्दछन् ।

अध्ययनहरूका अनुसार प्रत्येक आत्महत्यामा औसतमा ६ वा सोभन्दा बढी आत्महत्याका प्रभावितहरू हुन्छन् । यिनीहरू आफूले अति माया गर्ने व्यक्ति गुमाएका र त्यसको कारणले शोकमा जिउने व्यक्तिहरू हुन् । आत्महत्या प्रभावितहरू आत्महत्याको बारेमा सोच्ने, योजना बनाउने वा आत्महत्याको प्रयास गर्ने बढ्दो जोखिममा हुन्छन्, यसले पीडा र दुःखको अविरल प्रभावलाई झनै बढाउँदै लान्छ ।

विश्व स्थास्थ्य संगठनले हालै आत्महत्या रोकथामको लाइभ लाइफ एप्रोच (जीवन जीउने पद्धति) कार्यान्वयन गर्नको लागि बृहत मार्गदर्शन जारी गरेको छ । यस पद्धतिमा ४ वटा रणनीति छन् ।

पहिलो, अत्याधिक खतरनाक कीटनाशक विष र बन्दूकजस्ता आत्महत्या गर्ने साधानहरूमा पहुँच सीमित गर्ने ।

सबैभन्दा खतरनाक कीटनाशकमा प्रतिबन्ध लगाउनु उच्च प्रभावकारी कार्य हो । किनकि नेपालमा आत्महत्याको प्रयासमा अधिकतर कीटनाशक औषधिको प्रयोग गरिने देखिएको छ ।

दोस्रो, आत्महत्याको जिम्मेवार रिपोर्टिङमा मिडियालाई प्रशिक्षित गर्ने ।

मिडियाद्वारा आत्महत्याको जिम्मेवार रिपोर्टिङसम्बन्धी विश्व स्वास्थ्य संगठनले तयार गरेको मार्गदर्शनको नेपाली अनुवाद संस्करण आज हामी विमोचन गर्दैछौं । यो हामी सबैका लागि खुशीको कुरा हो । मिडियाका प्रतिनिधिहरूलाई यो मार्ग दर्शनसँग अभ्यस्त हुन र आत्महत्या सम्बन्धी प्रत्येक रिपोर्ट प्रकाशन गर्दा यसको पालना गर्न म आग्रह गर्दछु । त्यसैगरी, आत्महत्याको कुरा गर्ने प्रत्येक मिडिया रिपोर्टमा राष्ट्रिय आत्महत्या हेल्पलाइन ११६६ राख्न पनि म अनुरोध गर्दछु । के तपाईँ सचेतना जगाउन र जीवन जोगाउन सहयोग गर्न सक्नुहुन्छ ?

तेस्रो, किशोर—किशोरीहरूमा सामाजिक–संवेगात्मक जीवनोपयोगी सीप विकास गर्ने । किशोरावस्था (१० देखि १९ वर्षको उमेर) सामाजिक–संवेगात्मक सीप हासिल गर्ने अत्यन्त महत्वपूर्ण उमेर हो । किनकी मानसिक स्वास्थ्यसम्बन्धी समस्या प्रायः १४ वर्षभन्दा पहिले नै देखिने गर्दछ । जीवन जीउने (लिभ लाइफ) मार्गदर्शनले मानसिक स्वास्थ्यको प्रवद्र्धन गर्ने र जिस्काउने सताउने (बुलिङ) विरुद्धका कार्यक्रमहरूलाई प्रोत्साहन गर्दछ । यो सहयोगी सेवाहरूसँग जोडिन्छ र विद्यालय तथा विश्वविद्यालयमा काम गर्ने मानिसको लागि यसले आत्महत्याको जोखिम पहिचानका विषयमा स्पष्ट मापदण्ड उपलब्ध गराउँछ ।

चौथो रणनीति भनेको आत्महत्याका प्रयास गरेका छन्वा आत्महत्या गर्ने जोखिममा रहेका व्यक्तिहरूको प्रारम्भिक पहिचान, मूल्याङ्कन, व्यवस्थापन र अनुगमन हो । आत्महत्याको सोच र व्यवहारबाट प्रभावित कुनै पनि व्यक्तिको प्रारम्भिक पहिचान, मूल्याङ्कन, व्यवस्थापन र अनुगमन जीवन रक्षाका लागि स्वास्थ्य प्रणालीका महत्वपूर्ण कार्यक्रम हुन् । मानसिक स्वास्थ्य सेवाहरूलाई प्राथमिक उपचार तहमा र थोरै स्रोत उपलब्ध हुने स्थानमा पनि प्रभावकारी ढङ्गले समायोजन गर्न सकिने प्रमाणहरू उपलब्ध हुँदैछन् । यो पद्धति लागतमैत्री छ र मानिसहरूको समग्र स्वास्थ्य तथा काम गर्ने क्षमतामा सकारात्मक प्रभाव पार्दछ । तथापि, यो सेवालाई राष्ट्रियस्तरमै उपलब्ध गराउनको लागि सरकारले मानसिक स्वास्थ्यमा लगानीलाई धेरै गुणाले बढाउन जरुरी छ ।

यी कार्यक्रमहरू नेपालको राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०२० र किशोरावस्थाको स्वास्थ्य रणनीति २०१८ मा पनि समेटिएका छन् । तथापि, मानसिक सुस्वास्थ्यको प्रत्याभूति गर्ने गरी बहुक्षेत्रीय कार्यहरूलाई समेट्दै अघि बढ्ने एउटा बृहत् राष्ट्रिय कार्यक्रम कार्यान्वयन गर्न पनि जरुरी छ ।

हामीले मानसिक स्वास्थ्यलाई मानवअधिकार, सामाजिक समानता वा विकास योजना, जे जस्तो दृष्टिकोणले हेरे पनि– मानसिक स्वास्थ्यमा लगानी बढाउन प्रेरित गर्ने विश्वसनीय प्रमाण उपलब्ध भइसकेका छन् । राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०२० कार्यान्वयन गर्न र नेपालका लागि आत्महत्या रोकथामसम्बन्धी बृहत कार्यक्रम विकास गरी कार्यान्वयन गर्नका लागि स्रोतहरूको विनियोजन बढाउन म आह्वान गर्न चाहन्छु ।

‘मानसिक स्वास्थ्यको लागि विशेष अभियान’ नामक विश्व स्वास्थ्य संगठनले विश्वव्यापी अभियानमा नेपाललाई पनि एक लक्षित मुलुकको रूपमा राखेको छ । यस अभियानले नेपालको मानसिक स्वास्थ्य प्रणालीलाई साना परियोजनागत कार्यबाट माथि उठेर उल्लेख्य सुधारका कार्यहरूमा सहभागी हुने दीर्घकालीन अवसर प्रदान गर्दछ ।

यो नेपालको लागि राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा प्रणाली सुधार कार्यान्वयनमा सहयोग गर्ने पञ्चवर्षीय प्रद्धिबद्धता हो । हामी नर्वे सरकार र मातहतको आर्थिक सहायता निकाय नोराडलाई उनीहरूको महत्वपूर्ण र सामयिक सहयोगको लागि धन्यवाद दिन चाहन्छौँ ।
महिला तथा सज्जनवृन्द, आत्महत्या कहिल्यै पनि समाधान बन्न सक्दैन ! आत्महत्या कहिल्यै पनि समाधान नबनोस् भन्ने सुनश्चित गर्न हामीले हरसम्भव प्रयास गर्नुपर्छ !

अब म यस विश्व आत्महत्या रोकथाम दिवसको सन्दर्भमा, गत वर्ष आत्महत्याका कारण हामीले गुमाएका सबै व्यक्तिहरूको सम्झनामा एक मिनेट मौनधारण गर्न र उनीहरूको प्रियजनहरूप्रति ऐक्यवद्धता जनाउनु हुन आग्रह गर्न चाहन्छु । नमस्ते ।

(विश्व आत्माहत्या रोकथाम दिवसको उपलक्षमा डब्लुएचओ नेपाल प्रतिनिधी डा. राजेश संचाजीराव पाण्डवले दिएको मन्तव्यको नेपाली अनुवाद)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ