२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारडा. जागेश्वर गौतम भन्छन्, ‘टुप्पोमा पुगेपछि एकदिन झर्नुपर्छ भन्ने थाहा थियो’

डा. जागेश्वर गौतम भन्छन्, ‘टुप्पोमा पुगेपछि एकदिन झर्नुपर्छ भन्ने थाहा थियो’

वीरका १० सिनियर डाक्टर २ बजे नै निजी क्लिनिक काम गरिरहेको रेकर्ड छ


-अहिलेको सरकारी तलबले मात्रै मेरो घर चल्दैन् ।

-वीरको अहिलेको नेतृत्वलाई सिनियरले टेर्दैनन् ।

प्रा.डा. जागेश्वर गौतम नेपाल सरकारको ११ औं तहका चिकित्सक हुन् । हक्की, कडा बोल्ने र काम गर्ने स्वभावका कारण उनी सधैं चर्चामा रहन्छन् । यसअघि कोभिड—१९ युनिफाइड केन्द्रीय (वीर) अस्पतालको प्रमुख प्रशासकीय अधिकारी रहेका उनी अहिले थापाथलीमा काम गर्छन् । डा. गौतमले कोभिड—१९ महामारीको अवधिमा स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा र प्रवक्ताको जिम्मेवारी पनि सम्हाले । कोभिड—१९ अस्पतालको प्रमुख प्रशासकीय अधिकारी हुँदा उनीमाथि खरिद ठेक्का आफन्तलाई पारेको भनेर आलोचना पनि भयो । राम्रा क्लिनिसियन डा. गौतमसँग समसायिक विषयमा केन्द्रीत रहेर हेल्थआवाजका लागि गरेको संवादः

कोभिड युनिफाइड केन्द्रीय अस्पतालबाट काज फिर्ता गरेर थापाथली अस्पताल जानुभयो । तपाईंले छोड्दै गर्दाको कोभिड—१९ अस्पताल र पछिल्लो एक महिना बाहिरबाट हेर्दा कस्तो देखिरहनुभएको छ ?
कोभिड युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख दुई काम थिए । एउटा केन्द्रीय कोभिड—१९ अस्पतालको रुपमा काम गर्ने र अर्को देशभरिका कोभिड युनिफाइड अस्पताल तोकेर समन्यव गर्ने । त्यसमा रिफर गर्ने, उपचार गर्ने कामहरुको व्यवस्था हुन्थ्यो । त्यसका धेरै तयारी भैसकेका थिए । वीर अस्पतालमा म जाँदा ७ वटा आईसीयु बेड थियो पछि मैले छोडेने बेलासम्म ३७ वटा बनाइएको थियो । त्यसको एक सातामै केही थप शैय्या थपेर चलाउने मेरो योजना थियो ।

मेरो योजना एक साता भित्रमा २ सय आईसीयु बेडको व्यवस्था गरिसक्ने थियो । तर, मलाई त्यति समय त्यहाँ रहन दिइएन । म निस्किएपछि अध्यादेशले सोचेअनुरुपको गतिमा काम नभएको मेरो दृष्टिकोण छ । काम नहुनुको कारण अहिलेको नेतृत्वमा अध्यादेशको कन्सेप्ट नै थाहा छैन ।

म स्वास्थ्य मन्त्रालयमा हुँदा कोभिड व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सरसल्लाह गर्ने, विदेशका कोभिड तथ्यांक अवस्था, काठमाडौं र बाहिरको अवस्था हेरेर नै केन्द्रीय अस्पतालको अवधारणा ल्याएका थियौं । म गएर त्यहीअनुसार काम गरिरहेको थिए ।

काम हुन नसक्नुको अर्को कुरा वीर अस्पतालका सिनियर डाक्टरलाई परिचालन गर्न नसकेर पनि हो । अहिले ठाउँ छ, बेड छन्, उपकरण छन्, नर्स छन् । तर, सिनियरलाई व्यवस्थापन गर्न सकिरहेको देखिदैन् ।

तपाईंले जनशक्ति तयार नगरी उपकरण किन्नतिर मात्र केन्द्रीत हुँदा चल्न नसकेको भन्ने आरोप त छ नि ?
त्यो गलत कुरा हो । किनभने, त्यहाँ किनेका सामान मात्रै छैनन् । विभिन्न देशहरुले सहयोगमा आएका सामानहरु छन् । हिजो म समन्वय महाशाखामा हुँदा मैले नै समन्वय गरेर आएका धेरै सामाग्रीहरु छन् । ती समान आइसकेपछि महाशाखा र मन्त्रालयसँग सरसल्लाह गरेर ल्याएका हौं । वीरमा किनेका सामानभन्दा सहयोगमा आएको सामान बढी छन् ।

जनशक्तिको रुपमा मन्त्रालयको समन्वयमा ३ सय जना स्टाफ नर्सलाई सर्ट लिस्टमा राखेका थियौं । म हुँदा ७० जना नर्स बोलाइसकेका थियौं । मैले छाडेको ३ दिनपछि हामीले १ सय १ जना बनाउने योजना थियो । क्रिटिकल केयर फिजिसियन पनि २ जना राखिसकेका थियौं । अझ ३ जना राख्ने योजनामा थियौं । त्यहाँ चिकित्सकको जनशक्ति पुग्ने नै थियो । २ सय आईसीयु चलाउने उच्चतहका डाक्टर त्यही छन् । सामाजिक संजालहरुमा पनि जनशक्ति खोइ भन्नेजस्ता कुराहरु आएका थिए । तर, हामीले त्यो पूरा गर्ने तयारी गरेका थियौं । २ सय आईसीयुमा २ सय नै भेन्टिलेटर राख्ने हो । गर्न सक्नेका लागि कुनै ठूलो कुरा थिएन, त्यो मेरा लागि कुनै ठूलो कुरा थिएन ।

तपाईंलाई त्यहीका कर्मचारीबाट पनि सहयोग त भएन नि होइन र ?
असहयोग गरेपनि केही सीप लागेको थिएन् । काम बिगार्न सकेका थिएनन् । किनकी, प्रशासनिक र आर्थिक अधिकार मसँग थियो । त्यहाँका कर्मचारीलाई ‘कि गर या मर’ बाहेकको कुनै विकल्प थिएन । गरिब मानिसहरु वीर अस्पतालले भर्ना नलिएर निजी अस्पताल धाउन परेको अवस्था थियो । उपचारका लागि जहाँ घर खेत सबै सकिन्थ्यो । त्यो कस्टमा मैले एउटा कर्मचारीका लागि किन योगदान दिने म गर्दिनँ । त्यसरी नै हामीले चलाएका थियौं । सरकार परिवर्तन नभएको भए यी सब तपशिलका कुरा थिए ।

अस्पतालमा राजनीतिक मुद्दाहरु बढी देखिएका हुन् ?
राजनीतिक देखाउने मात्र कुरा थियो । अस्पतालमा काम एकदम कम भएको प्रधानमन्त्रीदेखि लिएर जनतासम्मलाई थाहा छ । म हुँदा मैले डाक्टरहरुलाई तपाईको ड्युटी ९—५ हो । १० बजेसम्म आइपुग्नुस् र ४ बजेसम्म बस्नुहोस्, यदि १० बजेसम्म आइपुग्नु हुन्न भने तपाईंको क्लिनिकमा काम गर्नु हुन्छ, क्यामरासहित बाहिर लेराउँछु भनेर भनेको थिए । मैले १० जनाको त स्टोरी बनाइसकेको थिए । उनिहरु २ बजे नै निजीमा भेटिएको रेकर्ड अहिले पनि मसँग छ । मैले १५ जनाको बनाएर बाहिर लिएर आउन लाग्दै थिए । तर, त्यहाँबाट निकालियो । यी कुरा म्यानेज गर्न नसक्नेका लागि ठूला कुरा थिए, मेरो लागि सामान्य थिए ।

मलाई नौ महिनादेखि ५० प्रतिशत सेवा विस्तार भत्ता पाएको थिएनौं भनेर अप्ठ्यारोमा पारेका थिए । २४ घण्टे अल्टिमेटम दिएर घेरेका थिए । तर, म निस्केको डेढ महिना बितिसक्यो । के भयो त खै ? यो सब डा. जागेश्वर गौतमलाई खेद्न सकिन्छ कि भनेर गरिएको काम थियो । दोस्रो कुरा के भने सरकार परिवर्तनपछि मेरो सरुवा हुन्छ भन्ने कुरामा म मानसिक रुपमा नै तयार थिए । र, मैले अस्पताल चलाउन सक्ने केही मानिसहरुका नाम मन्त्रालयमा दिइसकेको थिए । सोअनुसार काम पनि हुन लागेको थियो । त्यो हुन दिएनन् । उनीहरुले आफ्नै स्वादको मान्छे ल्याए । डा. भुपेन्द्र बस्नेतसँग मेरो कुनै गुनासो छैन । किनकी, उनी इमान्दार छन् र थिए तर उनको स्तर नै पुगेन । ११ औं तहका ४३ भन्दा बढी सिनियर डाक्टर छन् । कसरी चलाउने ? सिनियर डाक्टरहरुले टेर्दै टेर्दैनन् । समस्या भनेको त्यहाँको त्यही हो । उहाँ राम्रो मान्छे हो, कडा स्वभावको हुनुहुन्न । जुन म थिए ।

म जागिर खान मात्र त्यहाँ गएको थिइन । तलब नै खान त किन वीर अस्पताल जान प¥यो । जहाँ गए नि भैहाल्छ नि मेरो लागि मन्त्रालय नै थियो, भरतपुर अस्पताल थियो । तर, म त्यहाँ काम गर्न गएको हो । मलाई सिनियर डाक्टरहरुले पनि राम्रो व्यवहार गर्दथे । आज पनि त्यहाँ गएर सोध्नुस्, मेरो समर्थक र विरोध गर्नेहरुलाई डा. गौतमले कसरी काम गर्दथे भन्ने कुरा । मेरो लिडरसीप थियो । म प्रवक्ता भएकोले पहिला नै मलाई सजिलै भयो । मन्त्रालयको कोभिड युनिफाइड अस्पताल बनाउने अवधारणा राम्रो थियो । त्यो अवधारणा ल्याउनेमध्ये एकजना म पनि थिए ।

अहिले त वीर अस्पताल नै चलाउन सकिएको छैन सात वटा प्रदेशमा तोकिएको युनिफाइड अस्पताल कसरी चलाउने ? त्यो कुरा हरायो । यसरी हरेक दिन परिवर्तन गरेर कसरी काम हुन्छ ? अहिले पनि कोभिड—१९ संक्रमण दर उच्च छ । फेरि बिरामीले बेड पाएन भने ल्याउने त काठमाडौं नै हो । रिफर कसरी गर्ने भनेर अनलाइनमार्फत व्यवस्था गर्ने काम गरिरहेका थियौ । तर, ठ्याक्कै नतिजा आउने बेलामा हटाइयो । यसको मलाई कुनै बेफाइदा भएन तर जो बिरामी छन्, तिनीहरुलाई ठूलो बेफाइदा भयो । वीर अस्पताल भनेको स्वास्थ्य मन्त्रालयको अनुहार हो, त्यसकारण राम्रो हुनुपर्दछ । नेपाल सरकारले राम्रो काम ग¥यो भने वीर अस्पतालले देखाउँछ । तर, त्यही वीर अस्पतालमा राम्रो काम भएको छैन । परिवर्तनका कुनै लक्षण देखिएको छैन । इमान्दारितापूर्वक नै काम त भैरहेका छन् । तर, त्यो लेभलको एक्सपोजर र लिडरसीप छैन ।

एउटा राम्रो क्लिनिकल डाक्टर, अस्पताल प्रशासक र मन्त्रालयमा बसेर नीति निर्माताको काम गर्नुमा विषयवस्तुहरु एक अर्कामा कति अन्तरसम्बन्धित हुँदा रहेछन् ?
पहिलो कुरा भनेको तपाईंको एटिच्युड सबैभन्दा बढी महत्वपूर्ण कुरा हो । म दुर्गम क्षेत्रबाट आएको मानिस हुँ । बिरामीको उपचार राम्रोसँग गर्नुपर्छ भन्ने मानसकिता बोकेको मान्छे हुँ । अहिलेसम्म झन्डै ३५ हजार वटा सर्जरी मात्र गरिसके । यो उमेरमा आएर चिरेर गर्ने सर्जरी छाडेर ल्याप्रोस्कोपी सर्जरी गर्छु । मेहनत, लगनशीलता, जुझारुपनका हिसाबले म मौरीजस्तै हो । मैले खुरुखुरु काम गरे ।

यो अन्तरालमा मैले के सिके भने अस्पताल राम्रो हुनका लागि व्यवस्थापन नै चुस्त÷दुरुस्त हुनुपर्छ भन्ने कुरा सिके । मैले महसुस गरे, जुन मैले त्यसको प्रयोग प्रसुति गृहमा निर्देशक भएर ६ वर्ष रहँदा गरे । त्यहाँ मैले राम्रो व्यवस्थापन गर्ने कोसिस गरे । अहिलेसम्म पनि त्यहाँ भन्ने गर्छन् । अस्पतालमा हुँदा मैले क्लिनिसिनमा भोगेका अफ्ठ्याराहरु सुधार गर्ने कोसिस गरे । निर्देशक भइसकेपछि मलाई बजेट, नीति नियम र निर्देशिकाहरुका कारण समस्या हुन्थ्यो । ती सबै कुरा मैले मन्त्रालयमा गएर गर्न सके । एउटा क्लिनिसियनलाई असहज हुँदा निर्देशकले पूरा गर्न सक्छ । निर्देशकलाई अप्ठ्यारो पर्दा मन्त्रालयले पूरा गर्न सक्छ । त्यसैले मैले ३ वटै रुपमा काम गर्न पाए । यी सबै काम समन्वयबाट हुने रहेछ भन्ने कुरा सिके । आज मेरो स्वास्थ्यलाई हेर्ने दृष्टिकोण फरक छ ।

८—९ वर्षदेखि पावरमा बस्नुभएको थियो । अहिले युनिफाइड केन्द्र्रीय अस्पतालबाट निस्किएपछि अहिले विश्राम मै हुनहुन्छ कस्तो हुँदो रहेछ ?
मैले ८—१० वर्ष लिडरसीपमै बिताए । त्यसअघि पनि मैले काम गरिरहेको थिए । गएको ३९ वर्ष मैले सक्रिय रुपमै काम गरे । मैले क्षमताअनुसार काम गरे, पढे, लेखे सबै कुरा गरे । हामी सबैले के कुरा जान्नुपर्छ । माउन्ट एभरेष्टको टुप्पोमा पुगेर धेरै समयसम्म बस्न सकिदैन् । पिकमा हुँदा कहिले हावा हुरी लाग्ने, तिर्खा, भोक लाग्छ । वातावरण धेरै मिठो हुँदैन र झर्नै पर्छ । हो त्यस्तै, म सधै नेतृत्व गरेर बस्न सक्दिनँ । मलाई एकदिन झर्नुपर्छ भन्ने थाहा थियो । जसरी सगरमाथा होसियार रुपमा चढ्नुपर्छ त्यसरी नै होसियारीपूर्वक ओर्लनुपर्छ । म पनि होसियारीपूर्वक ओर्लिए ।

अहिले म एउटा क्लिनिसियनकै अवस्थामा छु । मैले सिक्ने मौका पाए । मैले जिल्ला अस्पतालदेखि मन्त्रालयसम्म र कोभिड युनिफाइड अस्पतालको चिफसम्म पुगे । देशले मलाई धेरै कुरा दियो भन्ने लाग्छ । आज म कहाँ छु भन्ने कुरा धेरै महत्वपूर्ण हुँदैन् । राज्यले मलाई पत्तायो र काम गर्न पाए । मैले सधै मेहनतका साथ काम गरे । मलाई राजनीतिक आक्षेप पनि लाग्यो । तर, म कुनै पनि संस्थामा काम गर्दा गेटभित्र कदम राखेपछि राजनीतिक पूर्वाग्रह राखिनँ र राख्दिनँ पनि । किनभने, काम गर्ने मान्छे मेरो र काम नगर्ने मान्छे मेरो होइन् भन्ने मान्यता राख्छु । हिजोका दिनमा पनि आज पनि यही मान्यतामै अडिग छु । त्यसैले कुनै पनि मानिसप्रति मैले पूर्वाग्रह राखिन् ।

कोभिड युनिफाइड अस्पतालबाट थापाथली अस्पतालमा सरकारले काज फिर्ता गरेपछि त्यहाँ नगएर निजी अस्पतालमा जानुभयो भन्ने आक्षेप छ नि ? तर, सामाजिक संजालमा चाहिँ वीर अस्पताल विगार्न निजी अस्पतालकै हात भएको अभिव्यक्ति दिएको कुरा विवादस्पस्द भएन र ?
म के कुरा मान्दिन भने सरकारी अस्पतालले मात्र नेपालीहरु सबैलाई उपचार क्याटोगोराइज गर्न सक्छ । त्यो अवस्थामा हामी पुगेका छैनौँ । म सामान्यतयाः सरकारी अस्पताल सबल हुनुपर्छ भन्ने मान्छे हुँ । जनताको शिक्षा, स्वास्थ्यको जिम्मेवारी सरकारले लिनुपर्छ भन्नेमा म छु । नेपालमा के छ भने म एक सिनियर डाक्टर हुँ । नेपाल सरकारले मलाई दिने तलब भत्ता साउथ एसियन देशहरुको सबैभन्दा कम छ । त्यसो हुँदा सरकारी तलबले मात्रै मेरो घर चल्दैन्, जसकारण बिहान बेलुकी प्राक्टिस गर्नु मेरो अधिकार हो । जुन सरकारले छिन्न सक्दैन् । मन्त्रालयमा हुँदा समय पनि थिएन, मैले गरेको थिइन् र म गर्दिन थिए पनि ।

तर, अहिले मैले गरेको छु । किनभने, अफिस समय अघि र पछि म गर्छु, यो स्वतन्त्र कुरा हो । किनकी म राम्रो क्षमता भएको डाक्टर पनि हुँ । दिउँसोको समयमा निजी अस्पतालमा काम गर्दिन । थापाथलीमा काज फिर्ता भएपछि केही दिन गएर केही समय बिदा लिएको छु । किनकी घरायसी कामकाजले पनि हो । गएको ३९ वर्ष मैले निरन्तर काम गरे । एकदमै व्यस्त भएर काम गरेको मान्छे हुँ । पहिला भरतपुर अस्पतालमा हुँदा कयौं रात नसुतेको दिन पनि छ । कयौं छाक खाना खाएको छैन् । त्यतिसम्म मैले गरेको छु ।

अब यो उमेरमा मानिसलाई आराम पनि चाहिन्छ । त्यसकारण कहिलेकाहीँ अस्पताल जान्छु । मैले १ महिनादेखि बिदा लिएको छु । अब थकाइ मरेको छ । अब फेरि म काम गर्न जान्छु । त्यहाँको निर्देशकसँग कुरा गरिकिन विदा स्वीकृत गरेर बसेको छु । नेपाल सरकारमै अहिले काम गरेको २७ वर्ष भयो । गएको सवा १ वर्ष शनिबार, कुनै चाडपर्वमा बिदा लिएको दिन छैन । १४ महिनामा एक दिन अनुपस्थित भइनँ । १४ महिना सधैँ हाजिर भएर काम गरेको नदेख्ने र अहिले म केही दिन विदामा आराम लिएर बसेको देख्दा यी बायस भएर गरिएका कुरा हुन् । भन्न त म भन्छु, म एक स्वाभिमानी डाक्टर हुँ । सरकारलाई मैले बीच—बीचमा खबरदारी गरिरहेको पनि छु । म राम्रो पढेको, उच्चशिक्षा पाएको चिकित्सक हुँ ।

हक्की स्वभाव र तिखो बोलीका कारण पनि चर्चा हुन्छ नि ?
सरकारले गरेको कामको समर्थक नै हुनुपर्छ भन्ने छैन । मैले थाहा पाएको जायज कुरा म बोल्ने गर्छु । त्यसमा म दुःखी छैन । स्वास्थ्य मन्त्रालयमा नै रहँदा म नराम्रो कुराको आलोचना गर्थे, अब त म बाहिर छु, म बोल्छु नै । स्वाभिमान छाडेर सरकारलाई जे मनपर्छ म बोल्ने गर्दिनँ । त्यो नबोल्दा कतिलाई मन नपरेको हुनसक्छ ।

किनकी, धेरैले राजनीतिक पूर्वाग्रहमा लागेर काम गरे । मलाई सरकारी चिकित्सककै रुपमा व्यवहार गरिनु पथ्र्यो । तर, एउटा दशौं तहको जुनियर डाक्टर ल्याएर मलाई पद र तहअनुसारको व्यवहार गरिएन् । त्यो नगरिएपछि अलिअलि पोखिएर आउँछ, जुन स्वभाविक कुरा थियो ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ