२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारस्वास्थ्यमाथि विचारको प्रभाव

स्वास्थ्यमाथि विचारको प्रभाव


जब शरीर अस्वस्थ हुन्छ, तब मन पनि विकल अशान्त हुन्छ । कुनै शारीरिक व्यथा उत्पन्न हुने बित्तिकै मानसिक व्यथा पनि साथै उत्पन्न हुन्छ । यो कुरा सबैलाई विदित छ । जसरी बाह्य शारीरिक अवस्थाको प्रभाव मनमा पर्छ उसरी नै मानसिक विचारहरुको प्रभाव पनि शरीर र स्वास्थ्यमा पर्छ । यस गम्भीर तत्वलाई धेरै कम मानिस बुझ्दछन् ।

शारीरिक रोगहरुलाई हटाउनको लागि अनेक नयाँ–नयाँ चमत्कारिक औषधीको आविष्कार हुँदा पनि रोगहरुको प्रसार धेरै हुँदै गइरहेछ । रोगको मुख्य स्थान मन हो र मनमा नै रोग हटाउने शक्ति पनि छ । सब रोगहरुलाई हटाउने अद्वितीय साधन प्रत्येक मानिसको साथैमा छ । तैपनि मानिसहरु रोगले मुख्य पीडित रहन्छन् । हाम्रा विचार र इच्छाहरुको प्रभाव शरीरका अवयवहरु र ज्ञान तन्तुहरुमा कल्पनातीत रुपमा पर्दछ । यस विषयको विचार कोही–कोही मात्र गर्दछन् । बुद्धिमान मानिस स्वास्थ्य तथाा आनन्दको मात्रा बढाउनका लागि विचार शक्तिको प्रयोग गर्ने विशेष सम्मति दिन्छन् र उत्साहित हुन्छन् किनभने विचार मानिसका अधीन छन् । यसैले मानिसले यिनको प्रयोग गरेर सदैव सच्चरित्रवान् बन्ने प्रयत्न गर्नुपर्दछ ।

यदि तिम्रो मित्र दुःखी छ भने तिमी आफ्नो मनले उसलाई शुभकामना पठाऊ । एकान्तमा बसेर बल र प्रसन्नताका लहरहरु उसका शरीर तथा आत्मामा पठाऊ । अरुका लागि शुभकामनाको विचार धारण गर्नाले आफ्नो स्वास्थ्य तथा आनन्दको वृद्धि हुन्छ । मनुष्यका शरीरमा विचारको लहरहरुको प्रभाव अवस्य पर्दछ, चाहे राम्रो होस् वा नराम्रो । त्यसैले यदि तिमी आफ्नो स्वास्थ्य ठीक राख्न चाहन्छौ भने आफ्ना विचारहरुलाई शुद्ध गर तब मात्र उत्तम जीवनको लाभ होला । यदि स्वास्थ्यको इच्छा छ भने सर्वप्रथम आफ्नो शरीररुपी रथलाई शुद्ध, पवित्र तथा स्वच्छ राख्नु पर्दछ ।

यसरी शरीररुपी रथका अति चञ्चल अश्वरुपी इन्द्रियहरुलाई मनरुपी लगामले बुद्धिरुपी सारथीद्वारा नियमित मार्गबाट हिँडाएमा स्वास्थ्य प्राप्ती अवश्य हुन सक्दछ । तर, यदि हामीले मनरुपी लामलाई किञ्चित पनि खुकुलो ग¥यौं भने इन्द्रियरुपी अश्व शरीररुपी रथलाई अनुचित र्माबाट अवश्य लैजाने छन् । यसबाट हाम्रो स्वास्थ्य, ज्ञान तथा बल अवश्य नष्ट हुनेछ । यहि कुरा उपनिषद्हरुमा पनि भनिएको छ– “आत्मानं रथिनं विद्धि शरीरं रथमेव तु । बुद्धि तु सारथिं विद्धि मनः प्रग्रहमेव च ।। इन्द्रियाणि हयान्याहुः विषयास्तेषु गोचरान्” अर्थात्, आत्मालाई रथी जान र शरीरलाई रथ, बुद्धिलाई सारथी तथा मनलाई लगाम, इन्द्रियहरुलाई घोडा तथा विषयहरुलाई मार्ग जान । इन्द्रियरुपी घोडाहरुलाई मनरुपी ईश्वर प्राप्ति अथवा स्वास्थ्यरुपी फल प्राप्ति अवश्य होला ।

आरोग्यता मानिसको स्वाभाविक जीवन हो तर केवल शररको आरोग्यता पूर्ण स्वास्थ्य होइन, शरीर र मन तथा आत्मा तीनवटैको स्वस्थता नै पूर्ण आरोग्यता हो ।

प्रत्येक मानिस यो जान्दैन कुन उपायले तीन वटैलाई निरोगी राख्न सकिन्छ । जो यस कुरालाई जान्दछन् ती बिना औषधी नै आफुलाई निरोगी राख्न सक्दछन् ।

वर्तमानकालका उच्चतम खोजहरुकाट यो कुरा राम्रोसँग सिद्ध हुँदै गइरहेछ–रोगहरुको जड शरीरमा नभई मन र भावनाहरुमा छ । जबसम्म यी दुबैको शुद्धि गरिँदैन तबसम्म रोग कदापी निर्मूल हुन सक्दैन । रोगहरुको सबभन्दा ठूलो कारण रोगको चर्चा गर्नु र सुन्नु हो । यसैबाट रोगहरुको विचार मनमा पुष्ट हुँदै रहन्छ र शरीरमा यिनको सुस्तसुस्त प्रभाव परेर शरीर निर्बल हुन जान्छ । यसैले सदा आरोग्यताको चर्चा गर । निरोगी मानिसहरुको संगत र आरोग्यताका विचार नै आरोग्यता बढाउने हुन्छन् ।

‘संसारको कुनै वस्तु दुखदायक छैन ।’ यस वाक्यको निरन्तर जप गर । जबसम्म यसको प्रभाव तिम्रो मनमा जम्दैन, आरोग्यताका लागि बाह्य साधनहरुको आवश्यकता छैन । आरोग्यता र समग्र सुख विचारहरुको शक्तिको ज्ञानले र प्रभावले आफ से आफ आकर्षित र प्राप्त हुन सक्छन् । हामी आफ्नो अज्ञान र विचारहरुबाट नै क्लेश उठाउँछौ, दुःखी हुन्छौं र अरुलाई समेत दुःखी पार्दछौं ।

एउटी स्त्री सदा रोगको नै विचार र भावना गर्दथी । अलिकति सामान्य रोग हुँदैमा पनि त्यसलाई बढाएर भन्ने गर्दथी । म रोगी छु भनी देखाउनका लागि बारम्बार उद्योग गर्दथी । किनभने उसको यो स्वभावै पर्न गएको थियो । यसका टोल छिमेकमा पनि कुनै वैद्य आयो भने उसलाई नाडी देखाउँथी र बूढाहरुका अगाडि रुने गर्दथी । ती सिधा सादा मानिस उसका दुखमा सहानुभूति देखाउँथे र यसबाट उसलाई सन्तोष हुन्थ्यो र आफ्नो कल्पित दुखका कुरा गर्नमा उसलाई सुख जस्तो मिल्दथ्यो । यस्तो गर्दा गर्दा सानो सानो रोगलाई पनि बढाएर भन्ने, बाटो हिँड्दा धेरै थाके जस्तो गर्ने, मुख बिगार्ने, सुस्त सुस्त हिँड्ने इत्यादि उसको स्वभावै बन्न गयो । तर, यी सब कुरा कुनै रोगका कारण थिएनन्, बरु मनको निर्बलताबाट नै उसको यस्तो यस्तो स्वभाव हुन गएको थियो । यसको के परिणाम होला त्यसको उसलाई ज्ञान थिएन । फेरि उसका छोराछोरी पनि संगत दोषबाट उस्तै स्वभावका भए । यसैले उनलाई बुढेसकालमा धेरै दुख भोग्नु प¥यो । उसको प्रभाव केवल उसका सन्तानमा नै परेन उसका छिमेकीहरुमा समेत प¥यो । किनभने स्त्रीहरुलाई नक्कल गर्ने बडो चाख हुन्छ । यस्तै नै महामारीका रोगहरुबाट जति मानिस मर्दछन्, त्यसभन्दा अधिक महामारीको भयले मर्दछन् । अतः हे सज्जनहरु ! नराम्रा विचारहरुबाट बडो हानि हुन्छ ।यसैले कहिल्यै पनि कुनै प्रकारको नराम्रो विचार मनमा नआओस्, यस कुरामा पूरापूरा ध्यान राख ।

जो सदा दुखका विचार गर्दछन् र कहिल्यै आनन्दका विचारहरुको एक रेखा पनि देख्दैनन् ती आफ्नो शरीरको नाडी–जाल उस्तै नै बनाउँछन् किनभने नाडी–जाल उनै विचारहरुबाट बन्दछन् । यसैले विचारहरुको राम्रो नराम्रो प्रभाव पूर्णतया नाडीहरुमा निरन्तर पर्दै रहन्छन् । यो सर्वमान्य हो शरीरका सब पीडाहरुको कारण मनमा नै छ । सुख दुखको अनुभव गर्नु, विचार गर्नु र कार्य गर्नु यी तीनवटै काम मा नै गर्दछ । शरीर केवल निर्जिव यन्त्र र आत्माको घर हो । आत्मा हुनाले नै कार्य गर्न सक्दछ, होइन भने शरीर त माटोको ढिस्को हो । तिमी आरोग्य चाहान्छौ भने बोतलहरुबाट मिल्न सक्दैन । मनका विकारहरुको प्रभाव शरीरका भिन्न भिन्न अवयवहरु माथि भयंकर रुपमा पर्दछन् । क्रोध गर्नाले भोक मर्दछ, रक्तप्रवाह अव्यवस्थित हुन जान्छ र सारा शरीरमा विकार निस्कन्छ । शोक र चिन्ताबाट शरीरको नाश हुन जान्छ ।

मधुमेहको कारण पनि चिन्ता नै हो । जुनसुकै पनि रोग विचार–शक्तिको शिथिलताबाट नै हुन्छ । यसैले विचार शक्तिलाई बलवान बनाउनु पर्दछ । भय, चिन्ता आदि वृत्तिहरुको वेगले चित्तलाई अस्थिर गरिदिन्छ र हृदयको धड्कनलाई तीब्र गर्दछ । यसबाट नाडी नाडीमा विकार उत्पन्न हुन जान्छ । मनलाई एक स्थानमा लगाउनका लागि श्रद्धा नै मुख्य उपाय हो र भय तथा क्लेशहरुबाट बाँच्ने उपाय अन्तर्यामी परमात्माको शरण जानु हो ।

यदि हृदय अनियमित रुपमा धड्कन्छ भने यसैबाट शक्ति क्षीण हुन्छ । जस्तो शोक र भय स्वास्थ्यलाई बिगार्दछन्, उस्तै नै प्रसन्नता, निर्भयता, र उत्साह चिरजीवनलाई बढाउँछन् र नियमितत रीतले हृदय धड्कनमा सहायक हुन्छन् । यदि कुनै विरोधी विचार मनमा उत्पन्न हुन्छ भने तत्काल निकालेर मनलाई श्रद्धा र उत्तम विचारहरुमा प्रवृत्त गर्नु पर्दछ । यसप्रकार मनलाई आफ्नो वशमा गर्नाले आफुना शक्तिहरुलाई शीघ्र नै जागृत गर्न सक्ने छौं ।

आफ्ना प्रत्येक विचारको शुद्धता र अशुद्धताको निर्णय यसबाट गर्नु पर्दछ रक्तको गतिमा त्यसको के प्रभाव परिरहेछ । जसको जस्तो कारण हुन्छ, उसको कार्य पनि उस्तै नै हुनेछ । संसारमा कार्य–कारणको निम बढो प्रामाणिक छ ।

रक्तको गति ठीक रहनाले शरीरको स्वास्थ्य ठीक सम्झनुपर्छ किनभने जुन भागमा रोग हुन्छ त्यस भागको रगत बिग्रन्छ । आकस्मिक शोक, भय, हर्ष तथा साहसको कारण हृदयको धड्कनमा भेद हुन जान्छ । कहिलेकाहिं धड्कन बन्द पनि हुनजान्छ ।

यदि तिमी क्रोध, मान, ईश्र्या, लोभ वा अन्य कुनै बासनाको अधिन रहन्छौ र उत्तम स्वास्थ्यको इच्छा गर्दर्छौ भने यो असम्भव छ । यस्तो कदापी हुन सक्दैन तिमी नराम्रो विचार गर तै पनि तिम्रो स्वास्थ्य राम्रो होस् ।

आरोग्य रहने सरल साधन

१.सदा प्रसन्न रहने गर । आफ्नो हृदयमा आनन्दलाई चारैतिर फैलिन देऊ जसबाट तिम्रा साथ रहनेहरु पनि आनन्दमा रंगिउन् । चिड्चिडेपना र उदासिनताबाट मुखको आकृती बिग्रन्छ, पाचन शक्ति पनि बिग्रन्छ, स्वास्थ्य र सौन्दर्यको नाश हुन जान्छ । त्यसैले हाँस्ने प्रयत्न गर । हास्यबाट आयुको वृद्धि हुन्छ । यसैले सदा आनन्दमा निमग्न रहने गर ।

२.दोष, दृष्टि तथा अहंकारको त्याग गर । गुणदर्शी बन र प्रत्येक शुभ वस्तुमा शुभ हेर्न सिक ।

३. सब प्रकारको सफलता आत्मविश्वासमा निर्भर छ । सदा आफ्नो मनलाई पवित्र र उत्तम लक्षणवान बनाऊ । अरुका नराम्रा विचारहरुलाई कहिल्यै ग्रहण नगर । सत्यता, दृढता, पवित्रता र प्रसन्नताका विचारहरुबाट शरीर र मनोबल बढ्दछ ।

४. मौन धारण गर । व्यर्थ बकबास नगर । आत्म प्रसंसाको त्याग गर । शान्ति नै महान् पुरुषहरुको उत्तम लक्षण हो । प्रत्येक कार्य शान्तिपूर्वक गर । आफ्ना इच्छाहरुलाई आफ्नो अधिन गर । कहिल्यै उत्तेजित नहोऊ, यसबाट विचार शक्ति निर्बल र मन्द हुन जान्छ । जो शान्त, एकाग्र चित्तले प्रतिदिनका कार्यहरुलाई गर्दछ त्यसबाट अल्पकालमा र अल्प परिश्रमबाट गर्न सकिन्छ र उसको सारा दिन आनन्दमा व्यतित हुन्छ । स–साना कुरामा उत्तेजित हुनाले मनको शान्ति भंग भएर शरीरलाई बडो हानी पुग्छ र अल्प आयुमा मृत्यु हुन जान्छ ।

५. सबैसँग प्रेमपूर्वक व्यवहार गर । ‘ईश्वर सब प्राणीहरुमा समभावले स्थित छ ।’ यस कुरामा श्रद्धा राख । ‘म जे पनि गर्न सक्छु ।’ यो विश्वास राख । यस्ता विचारहरुले तिम्रो शरीरमा बल तथा पुष्टिको वृद्धि बनिरहला । किनभने तिमी जस्तो भावना गर्नेछौ उस्तै नै बन्ने छौ । मानव शास्त्रको नियम छ– जो कुरा बारम्बार मनमा उत्पन्न हुन्छ त्यो विश्वासको रुपमा बदलिन्छ । आफ्नो तथा शरीरको विषयमा जस्तो विश्वास छ उस्तै नै लक्षण प्रकट हुन लााग्दछन् । ‘यादृशी भावना यस्य सिद्धिर्भवति तादृशी ।’ सत्यता नै प्रसन्नताको जननी हो । सत्यदेखि कहिल्यै भय हुँदैन ।

कल्पना शक्ति

कल्पना शक्ति अपूर्व छ । अल्पना आत्मशक्तिले ओतप्रोत छ । प्रत्येक कल्पनामा बिजुलीको समान प्रचण्ड शक्ति विद्यमान छ । तिमी जस्तै भयंकर स्थीतिमा भएता पनि आफ्नो जीवनको आधिकारीका कल्पना गर ।

तिम्रो ध्यानमा आउन सक्ने सर्वोत्कृष्ट भावहरुलाई हृदयमा धारण गर केवल दृढ कल्पना शक्तिको प्रभावबाट नै तिमी आफ्नो जीवनमा अद्भुत परिवर्तन गर्न सक्नेछौ ।

तिम्रो भोजनको समय भयो तर तिमीलाई भोक लागेको छैन भने यो विचार गर तिमीलाई सारा दिन उपवास गर्नाले बडो जोडको भोक लाग्नेछ । यो कल्पना दश मिनेट सम्म गर्नुपर्दछ तर भोकको बिना अन्य कल्पना मनमा नआओस् । गरेर हेर अनि स्वयम् अनुभव होला ।

भोजनको समय के विचर गर भने तिमी अति स्वादिस्ट र रुचिकर भोजन गरिरहेछौ । यस भावनाले त्यसबेला पाचन क्रियामा जुन रसको आवश्यकता हुन्छ त्यो द्रवीभूत भएर भोजनलाई शीघ्र पचाईदिने छ ।

व्यायाम गर्ने बेला जुन अंगको व्यायाम गर्छौ त्यसमा शक्तिको दृढ कल्पना ग¥यौ भने त्यस अंगमा बडो जोडले रक्त सञ्चार हुन लाग्नेछ ।
आफ्ना हातहरुलाई सुस्त शरीरको माथितिर लैजाऊ र कल्पना गर कि कुनै भारी वस्तु माथितिर उठाइरहेछौ फेरि भावनापूर्वक हातहरुलाई आफ्नो स्थानमा ल्याउ । पाँच, दश मिनेट सम्म यो विचार गर । यसले भुजदण्डमा बल प्रतित हुन लाग्ला र तिमीलाई कल्पना शक्तिको आाश्चर्यजनक प्रभाव प्रतित होला ।

‘यादृशी भावना यस्य सिद्धिर्भवत तादृशी ।’ जो जस्तो भावना गर्दछ, त्यो उस्तै नै हुनजान्छ । कल्पना र भावना उस्तै हुन् । यसैले कल्पना गर कि तिमीमा मेधा, स्मरण शक्ति अत्यन्त तिब्र छ । केहि कालमा कल्पनाको प्रभावले तिमी धारणा, मेधा र स्मृति–शक्तिवान अवश्य हुनेछौ । तर, यसको अभ्यास नित्य निरन्तर श्रद्धापूर्वक गर्नु पर्दछ । गरेर हेर र स्वयम् अनुभव गर ।

जसरी स्वास्थ्य विचारहरुको अधिन छ, उसरी नै प्रसन्न चित्तले हास्य भाव धारण गर्नाले स्वास्थ्यमाथि विलक्षण प्रभाव पर्दछ । त्यसैले यदि कुनै व्यक्ति स्थायी आरोग्य चाहन्छ भने उसले प्राकृतिक उपायहरुलाई नै कार्यरुपमा परिणत गर्नुपर्दछ । प्राकृतिक साधन प्रतिदिन व्यवहारमा आउँदै रहने हुँदा ती सरल प्रतित हुन्छन् । तर तिनको सरलता देखेर तिनलाई व्यर्थ सम्झनु ठीक छैन । किनभने यीनै सरल साधन जीवनका आधार हुन् । त्यसैले एक दुई महिनासम्म यीनको उचित अभ्यास गरेर अनुभव गर्नुपर्दछ । यीनमा प्रथम साधन ‘हास्य भाव’ हो । त्यसैले हाँस, खुब हाँस, दिनमा सकेसम्म दुई पटक हाँस । हाँस्नाले रक्तसञ्चार तीब्र हुन्छ । प्राणविहिन नाडीहरु र पाचनकारी यन्त्रहरुमा विशेष प्रकारको गति हुन लाग्छ र मस्तिष्कका ज्ञान तन्तुहरुमा स्फूर्ती उत्पन्न हुन्छ एवं शरीरका अंग–प्रत्यंगहरुमा उत्तेजना फैलिन लाग्दछ ।

अट्टहासले पाकस्थली र प्लीहामा एक प्रकारको परिश्रम पर्नाले पाचनशक्ति बढेर जान्छ । यसैले नै हास्यमा वास्तवमा जीवनशक्ति विद्यमान छ । भय, क्रोध र कष्टले ¥याल बग्न बन्द हुन जान्छ । जिब्रो सुकेर तालुमा टाँस्सीन जान्छ । पाकस्थली , प्लीहा आदि सब आफ्नो काममा शिथिल पर्न जान्छन् । तर, हास्य तिनलाई पुन चालु गरिदिन्छ र नवीन रक्त बेगले पुन सञ्चार हुन थाल्दछ ।

हास्यको विकास मनुष्य जीवनमा धेरै सानो अवस्थादेखि नै हुन लाग्दछ । बालब २१ दिनमा मुस्कुराउन थाल्छ र तीन महिनापछि हास्न थाल्छ । हाँस्यभन्दा पहिले रुनाको विकास हुन्छ । रुनाले बालकको रोगको अनुमान हुन्छ । रोगकापछि बालकको हाँसोले आरोग्यको अनुमान हुन्छ । विशेष अनुभवको कुरा यो हो कि बुद्धु वा बोधो बालकको अपेक्षा बुद्धिमान बालक धेरै मुस्कुराउँछन् । त्यसैले यो सिद्ध हुन्छ कि हाँस्नुभन्दा अधिक लाभदायक औषधी मिल्नु असम्भव त हैन, कठिन भने अवश्य छ । प्रतिदिन प्रातः, सायंकाल कुनै यस्तो ठाउँमा उभिऊ जहाँ सहजैमा चित्त प्रसन्न हुन सकोस् । तदनन्तर मनमनै अलिकति मुस्कुराऊ । फेरि त्यस मुस्कानलाई हाँसेको रुपमा प्रकट गर । जोरसँग हाँस, खुब हाँस, पेट मिचिमिचि हाँस । धेरै होइन, मात्र पाँच मिनेटका लागि व्यायाम गर । जुनबेला तिम्रो मन उदास वा खिन्न छ, भ्रमित छ, त्यस बेला यस औषधीको सेवन गर यसले तत्काल जस्तो प्रभाव प्रतित होला । यस औषधीको उपयोगिता र प्रभाव सेवन गरेरै थाहा हुन्छ । केवल पढ्नाले मात्र होइन । निम्न उदाहरणबाट तिमीलाई थाहा हुनेछ कि हास्यको कस्तो विलक्षण प्रभाव हुन्छ । कुनै महापुरुषको कथन छ, सृष्टिमा सब प्राणीहरुमा मनुष्य जाति नै यस्तो छ जो हाँस्न जान्दछ । अन्य प्राणी यस प्रकृतिदत्त प्रसादबाट बञ्चित छन् ।

१. भौतिक विज्ञान बताउँछ, रोग निवारणार्थ हास्यभाव एक अचुक निशाना हो । यो हृदयको वृद्धि र विकासको कारण हो । यसले फोक्सोहरुलाई फैलाउँछ र त्यसका अन्तरंग पर्दाहरुलाई पुष्टि गर्दछ । एउटा मानिस जसलाई हाँस्ने बानि थियो । त्यो सदा सर्वदा हाँसी नै रहन्थ्यो । उसको मृत्युपछि यकृतको परीक्षा गरियो । यसको यकृत यति कठोर पाईयो कि लौराले प्रहार गर्दा पनि फुटेन । यसैले पाठकहरुले विचार गर्नुपर्दछ हास्य भाव कति उपयोगी र आवश्यक छ ।

२.कहीं यस्तो पनि पढ्न पाइएको थियो । बाँदरले औषधि खाँदा मालिकलाई आराम भयो । एउटा मानिसलाई अकस्मात ज्वरो आयो । वैद्यले उसलाई औषधी पिउन दियो । रोगिको नोकर औषधी गिलासमा हालेर कुनै कामका लागि बाहिर गयो । त्यसैबेला उसको एउटा पाल्तु बाँदर आएर गिलास सँुघ्न लाग्यो र सुँघ्दै सुँघ्दै उठाएर पियो । पिउने बित्तिकै उसको मुखको स्वाद विग्रियो र हात खुट्टा बजार्न लाग्यो । त्यो बाँदरले त्यस गिलासलाई उठाएर जमिनमा फ्ँकिदियो र आफ्नो मालिकतिर क्रोधित दृष्टिले हेर्न लाग्यो मानौं उसैको मालिकले उसलाई त्यो औषधी पिलाएको हो । त्यस बाँदरको अज्ञानतामा उसको मालिकलाई यति हाँसो उठ्यो कि हाँस्दा हाँस्दा लडिबुडि खेल्न थाल्यो । उसका घरवालाहरुले हाँस्नको कारण सोधे । तर त्यो कुरा भन्न लाग्दा उसलाई तुरुन्तै हाँसो उठिहाल्थ्यो । यसप्रकार त्यो व्यक्ति आधा घण्टासम्म हाँस्दै रह्यो । उसलाई आश्चर्य भयो कि त्यसैबखत उसको ज्वरो विशेष उत्रिहाल्यो । यसबाट प्रकट हुन्छ कि हाँसोको कति महत्व छ । अतः हाँस, खुब हाँस । यस कार्यबाट प्राकृतिक आरोग्यतामा बडो भारी सहायता हुनेछ ।

३. एउटा विद्धान् महापुरुष यति दरिद्र थिए कि जुत्ता पनि किन्न सक्दैनथे । सधैं नाङ्गै खुट्टा रहनाले एकचोटि मार्गमा ठक्कर लाग्नाको कारण आफ्नो दरिद्रतामाथि बडो दिक्क लाग्यो । यत्तिकैमा उनले एउटा मानिसलाई देखे जसका दुबै पाउ कुनै रोगवश बेकम्मा भएका थिए र जसले गर्दा ऊ भूमिमा घस्रेर हिंड्दथ्यो । उसलाई देखेर तत्काल आफ्नो आरोग्यताका लागि उनले परमात्मालाई धन्यवाद दिए र आफ्ना अनुचित विचारहरुमाथि पश्चाताप गरे– उनीभन्दा तल्लो दशाका असंख्य मानिस सांरमा छन् । तिनलाई देखेर आफु कहिल्यै अधिर र अप्रसन्न हुन नदेऊ । सदा प्रसन्न रहने गर, हाँस्दै रहने गर । दिनका दिन तिम्रो दशा उन्नत हुँदै जानेछ ।

उदासी र अप्रसन्नताबाट बच्ने दोस्रो उपाय हो कि कसैलाई अप्रसन्न नगर । यदि कसैसँग झगडा भइहाल्यो र त्यो तिमीसँग बोल्दैन भने पनि निमी उसलाई देखेर मुन्टो नफर्काऊ, बरु त्यो कहिं बाटामा भेटियो भने हाँसेर उसलाई अंकमाल गर वा उसँग क्षमा माग । यो नसम्झ त्यसले तिमीलाई डरछेरुवा ठान्ला किनभने मूर्ख नै यस्तो सम्झन्छन् । तिम्रा यस्ता व्यवहारबाट उसको हृदय, खुसीले गद्गद् र प्रेमपूर्ण हुन जानेछ । जन्मभरिका लागि त्यो तिम्रो सच्चा मित्र हुन जानेछ ।

(खप्तड आश्रम प्रकाशन समितिद्वारा प्रकाशित खप्तडबाबाको ‘विचार—विज्ञान’ पुस्तकबाट साभार ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ