२०७९ असार १५, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकिन हुन्छ चिकित्सकमाथि दुर्व्यवहार ?

किन हुन्छ चिकित्सकमाथि दुर्व्यवहार ?


स्वास्थ्यकर्मी, विशेष गरेर चिकित्सकहरुमाथिको हिंसा, नेपालको स्वास्थ्य क्षेत्रमा भयावह समस्याको रुपमा फैलिरहेको छ । हरेक दिन, हप्ता र महिना डाक्टर कुटिएको, अभद्र व्यवहार गरिएको समाचारले छापा र सामाजिक सञ्जाल भरिएका हुन्छन् । सायद धेरै यस्ता समाचारहरु व्यक्तिगत र सामाजिक कारणले बाहिर नै आउँदैनन् । त्यसैले घटनाको आयतन रिपोर्टिङ गरिएभन्दा अवश्य नै धेरै हुनुपर्छ ।

स्वास्थ्यकर्मीलाई धम्काउने, तर्साउने, गाली गर्ने र भौतिक आक्रमण नै गर्ने खालका घटना नेपालको मात्र होइन् यदाकदा मात्र पश्चिमी विश्वमा देखिने यी घटना एसियाली मुलुकहरु र त्यसमा पनि दक्षिण एसियामै उग्र समस्याको रुपमा देखिएको छ । डब्लुएचओको प्रतिवेदनअनुसार नै ८ देखि ३८ प्रतिशत स्वास्थ्यकर्मी आफ्नो पेशागत जीवनको एक क्षणमा दुर्व्यवहारको शिकार हुनपुग्छन् ।

यस्ता दुर्व्यवहारका कारणहरु बहुआयामिक छन् । बिरामी वा बिरामीका आफन्त वा स्वास्थ्यकर्मीलाई सिधैं दोष दिनुभन्दा पनि मूल समस्या हाम्रो स्वास्थ्य प्रणालीमा, सामाजिक धरातलमा र कानुनी फितलोपनामा छ भनेर बुझियो भने समस्याको समाधान गर्न सजिलो हुन्छ होला ।

पहिले हाम्रो स्वास्थ्य प्रणालीमा भएका समस्याहरुतर्फ लागौं । चिकित्साशास्त्रको किताबी ज्ञानमा पूरै ध्यान केन्द्रित हुन्छ, हाम्रा स्वास्थ्य सम्बन्धि शिक्षण संस्थाको । पढाइ सकेर प्राक्टिसमा उत्रदा कस्ता व्यवहारिक समस्या झेल्नुपर्छ र तिनबाट कसरी ज्ञान पाउने भन्ने कुरा पोस्टग्राजुयसन एजुकेसन सकिँदासम्म सिकाइदैंन् । यो कुरा पाठ्यक्रममा नै हुँदैन् । बिरामी र बिरामीका आफन्तसँग कसरी बोल्ने ? कसरी व्यवहार गर्ने भन्ने नै सिकाइदैंन् । उपचारमा जटिलता आउँदा वा उपचारको परिणामा भनेजस्तो नआउँदा यो समाचार कसरी प्रस्तुत गर्ने, बिरामीका आफन्तलाई कसरी काउन्सिलिङ गर्ने भन्ने कुराको औपचारिक तालिम दिइएको हुँदैन् ।

हाम्रो औपचारिक स्वास्थ्य शिक्षामा उपचारअघि, उपचारको बेला र उपचारपछि विस्तृत रुपमा बिरामी र उसको परिवारलाई जानकारी दिने परिपाटी नै छैन । रोगका बारेमा गरिन लागेको उपचार, त्यस सम्बन्धि उपलब्ध वैकल्पिक उपचारहरु, सम्भाव्य जटिलताहरु, लाग्ने सम्भावित खर्चहरु आदिको बारेमा काउन्सिलिङ गरिएन भने पनि यस्ता दुर्व्यवहारको सम्भावना बढी रहन्छ । काउन्सिलिङको अभावमा बिरामी र आफन्तलाई अति आशावादिता हुन्छ र खोजेजस्तो नभएपछि रिसाउने आक्रामक हुने क्रम बढ्छ ।

हाम्रा प्रायः स्वास्थ्य संस्थामा बिरामीको चाप असाध्यैं रहन्छ । डाक्टर र बिरामीको अनुपात चाहिनेभन्दा बढी नै हुन्छ । स्वास्थ्यकर्मीले पर्याप्त समय दिन सम्भव नै हुँदैन् । अनि, काउन्सिलिङ कहाँबाट गर्ने ? यो परिस्थिती हटाउन मानवीय स्रोत बढाउनुपर्छ ।

महंगो मेडिकल शिक्षा पनि यसको एउटा कारण हो । महंगो शिक्षाको लगानी उठाउन महंगो शुल्कमा उपचार गराउनैपर्‍यो । यत्रो पैसा तिरेर पनि मेरो मान्छेको स्वास्थ्य सुध्रेन भन्ने रोष पनि हुन्छ बिरामी पक्षको । सुलभ र मेरिट बेस्ड मेडिकल शिक्षा कसरी उपलब्ध गराउने ? यो पनि समाधानको उपाय हो ।

डाक्टरले पढेको ज्ञान र सीप कुनै अलौकिक जादू होइन । न त सेतो कोटले दैवी शक्ति नै दिन्छ भन्ने कुरा पनि पब्लिकले बुझ्नैपर्छ । र, त्यो बुझाउने काम पनि हामी मेडिकल समुदायकै हो । यसले हल्का हाम्रो सामाजिक सौर्य घट्ला तर दूर्व्यवहारको शिकार हुँदा नै हाम्रो मर्यादा कहाँ कायम रहन्छ र ? डाक्टर र उपभोक्ता समूहबीच संवाद, मिडिया क्याम्पेनले पनि यसमा सघाउन सक्छ ।

कसैमाथि भौतिक आक्रमण हुनुभन्दा पहिल्यै यसको सम्भावनाको सुइको पाइएमा सुरक्षाकर्मीलाई खबर गर्नु ठीकै हो । आक्रमणबाट बचाउने वातावरण आवश्यक पर्ला । तर, मलाई स्वास्थ्य संस्थाहरुमा पुलिस तैनाथ गरेर समस्या कम होलाजस्तो चाहिँ लाग्दैन् ।

नेपालमा यो समस्याको एउटा ठूलो कारण खराब पत्रकारिता पनि हो । उपचारका क्रममा देखिने जटिलता र डाक्टरको लापरबाही एउटै हो जस्तो गरी छापिने समाचार आगोमा डिजेल छर्कने काम गरेको देखेको छु । संवेदनशील र दायित्वपूर्ण पत्रकारिताले समस्याको आगोमा दमकलको काम गर्न सक्छ ।

भारतमा भएको एउटा अध्ययनले के देखाएको छ भने धेरैजसो डाक्टर नर्स विरुद्धको हिंसा आईसीयु र इमर्जेन्सीमा हुने गरेका छन् । मेरो विचारमा तत्काल गर्न सकिने भनेको यो क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई मात्रै विशेष तालिम र सुरक्षाको प्रबन्ध गर्ने हो भने समस्यालाई निकै कम गर्न सकिन्छ ।

यदाकदा दूषित नियत लिएर बिरामी र उनका आफन्त नआउने होइनन् । कहिलेकाहीँ त बिरामीको जटिलताको दुष्परिणामबाट फाइदा उठाउन ठेक्कै लिएर धम्क्याउने, र्‍यान्डम लिने भन्ने पनि सुनिएको छ । तर, अधिकांस घटनाहरु दुई पक्षबीचको राम्रो संवादको कमीले नै हुने गर्छ । तैपनि कानुनी हिसाबले दुवै पक्षलाई न्यायोचित हुने गरी कानुनी व्यवस्था हुनुपर्छ । दुर्नियतले गरिएका सबै आक्रमणहरु सजायको भागी हुनैपर्छ ।

दीर्घकालीन समाधानको रुपमा हामीले हाम्रो स्वास्थ्य प्रणाली, सामाजिक अपेक्षा, आम समुदायको चेतनास्तर उकास्नै पर्छ । तर, तत्कालीन समाधानको रुपमा हाम्रो स्वास्थ्य समुदायले आफैंबाट सुरु गर्नुपर्छ । मेडिकल कलेजमा एमबीबीएसदेखि पीजीसम्म पेसेन्ट–डाक्टर कम्युनिकेसन करिकुलमको रुपमा राख्नैपर्छ । अभ्यासरत स्वास्थ्यकर्मीहरुलाई पनि यस सम्बन्धि तालिमको व्यवस्था यथाशीघ्र गर्नैपर्छ । उपचार गर्नुअघि विरामी र सम्बन्धित पक्षलाई सकेसम्म धेरै काउन्सिलिङ गर्नैपर्छ । स्वास्थ्य उपचारलाई सकेसम्म कम खर्चिलो गराउन सकेपनि यो समस्या कम हुन्छ जस्तो लाग्छ । त्यसको निम्ती औषधि कम्पनीको प्रभाव कम गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ हुने चिकित्सकीय दुर्घटनाको मुद्धाबाट चिकित्सक समुदायलाई बचाउन मालप्राक्टिस इन्स्योरेन्सको व्यवस्था हुन्छ र पनि आत्मविश्वासका साथ चिकित्सकीय अभ्यास गर्न सहज हुन्छ ।

डाक्टरी जीवनमा सिक्ने प्रक्रियया जीवन पर्यन्त रहन्छ । अन्त्यमा म के भन्छु भने हामीले हाम्रो मूल धर्म मानव सेवालाई सर्वोपरी राख्नुपर्छ । करुणाका साथ हाम्रा बिरामी र उनका आफन्तलाई सम्मान दिंदै गयौं भने अन्ततोगत्वा त्यो हाम्रो गुम्दै जान लागेको सम्मान फेरि आउँछ । हाम्रो परिवार र समाजमा जति विश्वास बढ्छ, त्यो पोखिएर हामी र हाम्रा बिरामीको सम्बन्धसम्म आइपुग्छ । चिकित्सक र समाजबीचको बन्धन कसिँदै जान्छ । प्रविधि यसमा सहायक मात्र हो । मूल कुरा मानव–मानवबीचको सौहार्दता हो । नत्र अस्पताल र चिकित्सकका सुरक्षा गार्ड बढ्छन् । हाम्रो सम्बन्ध र मर्यादा बढ्दैंन । अविश्वास, गलतफेहमी र असमझदारी बढ्छ । चिकित्सा सोवाको गुणस्तर बढ्दैन् ।

( वि.सं. २०४९ सालका एसएलसी बोर्ड फष्ट डा. थपलिया हाल अमेरिकाको डाभिटा हेल्थ केयर पार्टनर्स इन्कमा क्यान्सर रोग तथा रक्त विशेषज्ञका रूपमा कार्यरत छन्। उनी अमेरिका–नेपाल मेडिकल फाउन्डेसनका पूर्व अध्यक्षसमेत हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)