२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकोभिड–१९ सँग सजग रहौं, ओमिक्रोन खोज्दै नतर्सौ

कोभिड–१९ सँग सजग रहौं, ओमिक्रोन खोज्दै नतर्सौ


कोभिड–१९ विश्व महामारीको रुपमा फैलिएको पनि २ वर्ष हुन थालेछ । विभिन्न चरण र लहरहरुको आतंक फैलाउदैं अहिले फेरी सबैलाई ओमिक्रोनको नामले तर्साउदैंछ । बीचमा केही कमी भएको बुझिएको कोभिडको विध्वंस रुप फेरी हामी माझ देखा परेको छ ।

ओमिक्रोनको सुरुवाती र हामी माझ फैलिएको कोभिडको लहर

ओमिक्रोन भेरिएन्ट नाम दिइएको यो पछिल्लो पटकको कोभिडको रुप अफ्रिकन देश हुँदै नेपाल आउन धेरै समय लागेन् । तर, अहिले ओमिक्रोनभन्दा पुरानै डेल्टा भेरिएन्ट नै बढी फैलिरहेको छ । र, किन त भन्ने अध्यायनको विषय बनेको छ ।

कोभिड घट्यो भनेर हाम्रा गतिविधीहरु भिडभाडयुक्त थिए । मन्दी भएको व्यापार–व्यवसाय बढ्दो थियो । बजारको चहल–पहल हेर्दा, सार्वजनिक कार्यक्रम हेर्दा, कोभिड–१९ भन्ने चिज नै समाप्त भएजस्तो देखिन्थ्यो । यही एउटा मुख्य कारण हुन सक्ने अनुमान गर्न सकिन्छ ।

कोभिड–१९ जाँचको रिपोर्टले ओमिक्रोन हो भन्छ त?

कोभिड–१९ जाँचमा अहिले मुख्यतः २ वटा विधि अपनाइएको छ । ‘एन्टीजेन टेस्ट’ जसलाई रेपिड किट टेस्ट भनिन्छ र अर्को ‘पिसिआर’ । एन्टीजेन टेस्टले कोभिड–१९ पोजेटिभ हो वा होइन मात्र भन्न सक्छ । ‘पिसिआर’ भने ओमिक्रोन हो कि भनेर शंका गर्ने ठाउँसम्म दिन सक्छ ।

‘पिसिआर’मा हेरिने जिन मध्ये ‘एस’ जिन भन्ने नेगेटिभ आयो तर अरु जिन पोजेटिभ छ भने हामीले शंका गरेर त्यो नमुनालाई अर्को नयाँ विधीबाट जाँच गर्न सक्छौं । त्यो नयाँ विधी ‘जिन सिक्वेन्सिङ’ हो । र, यो जाँच रिसर्चको लागि मात्र सरकारको तर्फबाट भइरहेको छ ।

‘पिसिआर’ गर्ने ल्याबले नै त्यस्तो नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला वा अन्य सरकारी प्रयोगशालामा पठाउँछ । त्यसमा हामीले आफ्नो नमुनाको बारेमा चिन्ता लिइरहनु पर्दैन् ।

अर्को कुरा, हामीले अहिले चिन्ता लिनुपर्ने भनेको कोभिड–१९ हो वा होइन भन्नेबारे मात्र हो । किनभने, कोभिड–१९ का सबै रुप सजिलै सर्ने, र श्वास प्रश्वास, रक्त प्रणालीलगायतमा जटिलता ल्याउने खालका नै छन् । थोरै मात्र तल माथि केही लक्षणमा फरक देखिन सक्छ । जस्तैः अहिलेको ओमिक्रोन अलि चाडो फैलिने र कम जटिलता भएको पाइएको छ । कतै अहिले धेरै व्यक्तिहरुले खोप प्रयोग गरिसकेकाले जटिलता कम भएको देखिएको त होइन्, त्यो नि हामीले सोच्नुपर्छ ।

त्यसैले अहिले सामाजिक सन्जालमा देखिएको ओमिक्रोनको त्रासलाई हामीले वास्तविकता बुझेर आफूलाई मानसिक रुपमा कमजोर नबनाएर सतर्कता अपनाउनु पर्दछ ।

हामीले मानसिक रुपमा भाइरसलाई जित्दै गएको अवस्था

२ वर्षअघिको अवस्थासँग तुलना गरौ, त्यतिबेलाको त्रासले हामीलाई त्यसै कमजोर बनाएको थियो । अरु रोगको कारणले कोही बिमारी परेको अवस्थामा समेत उपचार पाउन गाह्रो भइरहेको अवस्था थियो । तर, अहिले हामीले धेरै कुरा बुझेका छाैं, सतर्कता अपनाउन सक्छौ ।

महामारीको बेला धमिलो पानीमा माछा मार्ने प्रवृत्ति पनि हामीले भोगेर आयौं । अब हामी यी सबै कुराबाट सिकेर यो भाइरसको विरुद्ध लड्ने गरौं । मानसिक रुपमा तपाईं दह्रो हुनु भो भने शरीरले पनि भाइरसलाई जित्न सजिलै सक्छ ।

टेस्टमा बढ्दो खर्च

पिसिआर टेस्टलाई नै अझै जोड दिइराखेको देखिन्छ । एन्टिजेन टेस्टलाई सहज, सजिलो र सस्तोमा उपलब्ध गरायो भने धेरै सजिलो हुन्छ । अहिले समाजमा कोभिड–१९ फैलिसकेको अवस्थामा लक्षणको आधारमा कोभिड निदान गरी टेस्टको खर्च कम गर्नुपर्ने देखिन्छ । सरकारबाट भन्दा आफ्नै निजी खर्चमा टेस्ट भैरहेकोले सरकारको ध्यान यता नगएको हुनसक्छ ।

एउटा परिवारमा सबै एकै प्रकारको बिमारी छन् भने एउटाको मात्र टेस्ट गर्दा पोजेटिभ आए पुग्छ, त्यही नियम एउटा टोल्, एउटा समाजमा पनि लागु हुन्छ । कही प्रमाण नै देखाउनुपर्ने भए (जस्तै, जहाजको प्रयोग, बिमा दाबी) मात्र टेस्ट गराउन पर्ने देखिन्छ । हजारौं रुपैयाँ टेस्टमा खर्च गरेर सिटामोल किन्ने पैसा नहुने अवस्थाको चित्र हामीले एक पटक सम्झौं त ।

सरकारको तर्फबाट पनि कति सेवामा नेगेटिभ रिपोर्टसहित आउनु भन्नेमा कुनै अर्थ देखिदैन् । अझ, सामाजिक सन्जालमा ओमिक्रोनको हवाला दिएर चाहिने–नचाहिने औषधी बेच्ने गरेको देखिन्छ । अस्पतालमा समेत अझै कोभिड–१९ उपचारको एक रुपता देखिदैन् । यस बारे पनि सरकारको पुनः एक पटक ध्यान जानु जरुरी छ ।

कोभिडको खोपको प्रयोग 

नेपालमा कोभिड–१९ विरुद्धको खोपको उपलब्धता सहज हुनु र लगाउने सबै हामी कति सचेत र बुज्रुक रहेछौ भन्ने देखाउँछ । तर, कोभिडको खोप लगाउँदैमा पूर्ण रुपमा सुरक्षित भइन्छ भन्ने सोचाइ छ भने त्यो आजबाट नै हटाइदिनुहोला । खोपले कोभिडबाट जोगाउन अवश्य मद्दत गर्दछ र यदि कोभिड–१९ संक्रमण भइहालेमा भने त्यो बाट हुने जतिलतामा कम हुन्छ भन्ने अध्यायनले देखाएको छ ।

अहिले ‘बुस्टर डोज’ समेत सरकारले उपलब्ध गराउन खोजेको छ । त्यसले अझ खोपलाई प्रभावकारी बनाउँदछ । सामाजिक सन्जालमा आएका एन्टिबडी हेरेर मात्र खोप लगाउनुपर्ने, जस्ता तथ्यहीन कुराहरुबाट हामी जोगिनु पर्दछ र कसैले नकरात्मक वा व्यवसायिक फाइदा लिन भ्रम फैलाउने कुरा छन् भने नेपाल सरकारले दिएको आधिकारिक सुचनालाई आधार मान्नुपर्दछ । कोभिडको खोप सुरक्षित रहेको, सरकारले यथेस्ट मात्रामा र निःशुल्क वितरण गरिरहेको छ ।

कुनै कुनै खोप केन्द्रमा धेरै भिड देखिएको हुन्छ । त्यहीबाट कोभिड–१९ झन् फैलिन्छ कि भन्ने डर देखिन्छ । त्यसैले सरकारले उक्त ठाउँमा भिडभाड नगरी खोप लगाउने वातावरण सिर्जना गरोस् भन्ने हाम्रो आवाज र सहयोग हुनु जरुरी देखिन्छ । कोभिड–१९ को बेला सबै क्षेत्रको सहयोग अवश्य अमुल्य छ र रहिरहनेछ ।

(डा. काफ्ले (कन्सल्टेन्ट प्याथोलोजिस्ट), विगत २ वर्ष राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काम गरेका उनी हाल हाल असृक डाइग्नोस्टिक प्याथालोजी ल्याब्, एकान्तकुनामा प्रबन्ध निर्देशकको रूपमा कार्यरत छन् ।)

यो पनि पढ्नुस्

सरकारी रेटमै परीक्षण गर्ने गरी डाक्टरले २ करोड लगानीमा खोले ‘असृक डाइग्नोटिक’


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ