२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपसरकारी रेटमै परीक्षण गर्ने गरी डाक्टरले २ करोड लगानीमा खोले ‘असृक डाइग्नोटिक’

सरकारी रेटमै परीक्षण गर्ने गरी डाक्टरले २ करोड लगानीमा खोले ‘असृक डाइग्नोटिक’


डा. शंकर काफ्लेले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट प्याथालोजीमा एमडी सकाए । त्यसपछि सरकारी करारमा रहेका उनले दुई वर्ष राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बिताए । त्यहीक्रममा डा. शंकरले नेपालका प्रयोगशालाको अवस्था राम्रोसँग नियाल्ने अवसर पाए । देशको पूर्वदेखि पश्चिमसम्म रहेका प्रयोगशाला अनुगमन, छानबिन साथै सरकारी प्रयोगशाला स्थापनाजस्ता महत्वपूर्ण काममा खटिएका उनले केन्द्रीय लेभलमा रही मापदण्डलगायत बनाउने काममा समेत सक्रिय रहे । गुणस्तरीयता, परीक्षण मूल्यमा रहेका असमानताजस्ता कुराहरुले उनलाई राम्रो प्रयोगशाला खोल्ने रहर जाग्यो ।

कोभिडसँगै उनमा सस्तो रेटमा गुणस्तरीय सेवा दिने ल्याब खोल्ने योजना फुरेको हो । तर, कोभिड—१९ महामारीमा धेरै व्यस्त भएका कारण त्यो केही समयपछि स¥यो । वि.सं. २०७८ को दशैसम्म कुर्नुपर्यो । डा. शंकरसहित प्रयोगशालाबारे ज्ञान भएका र भिजेका उनका साथीहरु राम्रो ल्याब स्थापना गर्नका लागि एक ठाउँमा आए । ‘प्रायजसो सरकारी संस्थामा रहेर काम गरी रिटायर्ड भएर काम गरिरहेकाहरु साथीहरु हुनुहुन्छ,’ हालैको एक मध्यान्ह हेल्थआवाजसँग उनले भने, ‘पहिला काम गरेको अनुभवसहित सम्पूर्ण ल्याबबारे जानकारी भएकाहरु सबै मिलेर यसमा भएको कमी—कमजोरीलाई हल गर्दै लैजाने हिसाबले हामी ल्याब खोल्न अगाडि बढेका हौं ।’

एउटा अनुभवी टिम तयार भएपछि दुई महिनाअघिदेखि एकान्तकुना चोकमा ‘असृक डाइग्नोटिक प्याथालोजी प्रयोगशाला’ सञ्चालमा आएको छ । संस्कृत शब्द ‘असृक’ को नेपाली अर्थ रगत हुन्छ । रगतसम्बन्धी काम गर्ने भएकाले असृक नाम राखिएको डा. काफ्ले बताउँछन् । जसको स्लोगन छ—‘प्राइभेटमा टेष्ट, सरकारीजस्तो रेट’ । असृक ल्याब सञ्चालनमा आएसँगै थप दुई वटा कुराहरु जोड दिइयो—एउटा प्रयोगशालाको गुणस्तर र अर्को सर्वसाधारणले अफोर्ड गर्न सक्ने गरी सस्तो शुल्क ।

‘क्लिनिकहरुमा डाक्टरहरुले ल्याब टेस्टबाट कमिसन खाएको भनेर दोष लगाइरहेको अवस्था छ,’ अश्रिकका प्रबन्ध निर्देशक डा. शंकर सुनाउँछन्, ‘यसले सर्वसाधारणलाई नै मार पार्ने हो । त्यसकारण हामीले यसलाई नियन्त्रण गर्ने र सर्वसाधारणलाई कम मुल्यमा सेवा दिने योजना छ ।’ त्यही कारण असृकले सरकारी प्रयोगशालाकै मुल्यमा परीक्षण गर्ने गरेको उनले जानकारी दिए ।

बी क्याटागोरी प्रयोगशाला असृक डाइग्नोटिकमा ६ जना लगानीकर्ता छन् । जसमा ४ जना चिकित्सकहरु आवद्ध छन् । प्रयोगशालामा अटो म्याटिक मेसिनहरु छन् । ‘इमर्जेन्सी केसमा हामीले २ देखि ६ घण्टाभित्र रिपोर्ट दिन सक्छौं,’ उनी भन्छन्, ‘तर, साधारणतयाः बिहान आएको बिरामीको बेलुकासम्म रिपोर्ट दिने गरेका छौं ।’ अहिले प्रयोगशालामा १२ जना टेक्नीकल कर्मचारीसहित १६ जनाको टिम सक्रिय छ ।

मेसिनमा मात्र असृक डाइग्नोटिक प्याथालोजीले १ करोड बढी खर्च गरेको छ । ‘हाम्रो झण्डै २ करोड लगानी भएको छ,’ उनी भन्छन्, ‘हामीले अहिले फाइदाभन्दा पनि लगानी मात्रै उठ्ने हिसाबले काम गरिरहेका छौँ ।’ सस्तो र गुणस्तरीय प्रयोगशाला भएकाले असृक अन्य ल्याबभन्दा फरक रहेको उनको दावी छ । सुरुवाती समयमा असृकले सेवामा ३० प्रतिशत छुट दिएको थियो भने अहिले आफै टेस्ट गराउन भनी ल्याबमा आउने सेवाग्राहीलाई १० प्रतिशत छुट दिइरहेको छ । एक हजारभन्दा माथिको टेस्टको लागि फोन गरेको आधारमा घरमै गएर नमुना लिने सुविधा समेत छ । त्यसका लागि थप शुल्क लाग्दैन् ।

असृकले न्यून शुल्कमा गर्दै आएको परीक्षणलाई भविष्यमा पनि निरन्तरता दिने योजना बनाएको छ । ‘अहिले जुन मूल्य छ यसलाई यथावत नै राख्ने योजना छ,’ उनले थपे, ‘न्यून शुल्कमा पनि गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने कुरा अरुले सिकुन भन्ने हो ।’ साथै, असृकका सञ्चालकहरु आफूहरु गुणस्तरको अर्थ बुझाउन पनि लागि परेका दावी गर्छन् । ‘गुणस्तरमा कम्प्रोमाइज गर्नु हुँदैन,’ डा. शंकर भन्छन् । असृकमा सबै विधाका चिकित्सकहरु छन् । त्यसकारण नमुनाको भेरिफाइ, इभ्यालुएसन गर्नेदेखि क्यालकुलेटमा पनि चिकित्सकहरु नै संलग्न हुन्छन् । विज्ञ चिकित्सकहरुले नुमना लिएका व्यक्ति सबैलाई निस्शुल्क काउन्सिलिङ समेत गर्ने गरेका छन् । “यसले असृकको मात्र नभएर सबै ल्याबको सेवाप्रति बिरामीको विश्वास फर्काउने काम गरिरहेको छ ।

‘तर यसले एउटा विज्ञ डाक्टरले फ्रीमै चेकअप गर्नुपर्छ भन्ने अर्थ नलागोस्,’ डाक्टर शंकर भन्छन्, ‘हामीले सामान्य आर्थिक अवस्था भएका व्यक्तिले पनि ल्याब सेवा पाउन भन्ने मात्र हो । त्यसैले भरसक हामीसँग सामाजिक काम गर्ने संघसंस्थाहरु आबद्ध हुन आउन भन्ने आस गरेका छौं ।’ अहिले बी क्याटागोरीको ल्याबबाट दिइने सबै सेवा असृकले दिइरहेको छ ।

सधै छात्रवृत्तिमा पढेका डा. शंकर

असृक ल्याबका प्रबन्ध निर्देशक डा. शंकर स्याङजाको वालिङमा जन्मिएका हुन् । बुवा तिलकराम काफ्ले सरकारी जागिरे थिए भने आमा राधा गृहणी थिइन् । वि.सं. २०५६ सालमा उनले डिस्टिङसनमा स्थानीय स्कुलबाटै एसएलसी उत्तीर्ण गरेका हुन् । त्यसपछि उच्च शिक्षाका लागि काठमाडौं आए ।

काठमाडौंको क्लासिक इन्टरनेशल स्कुलबाट उनले वि.सं. २०५८ मा फष्ट डिभिजनमा साइन्समा प्लस टु सके । त्यसपछि उनले एमबीबीएस अध्ययनका लागि सरकारी छात्रवृत्तिमा नाम निकाले । सरकारी छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि छनोट भएपछि उनी अध्ययनका लागि युनिभर्सल मेडिकल कलेज भैरहवा गए, र सन् २०१० मा एमबीबीएस सकाए । एमबीबीएस अध्ययन सकेपछि उनले तीन वर्ष जिल्ला स्वास्थ्य कार्यलय बाराअन्तर्गत रही काम गरे ।

सन् २०१६ मा उनले धरानमा प्याथालोजीमा एमडी गर्ने छात्रवृत्ति पाए । त्यसपछि उनी धरान पढ्न गए । सन् २०१९ मा धरानमा प्याथालोजीमा एमडी सके । ‘म सधैं छात्रवृत्तिमै पढे,’ उनले भने, ‘पढाइ राम्रो भएकाले त्यो अवसर पाए ।’ विपीबाट एमडी सकेपछि उनी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काम गर्न थाले । त्यहाँ २ वर्ष काम गरेपछि उनले गुणस्तरीय र कम मुल्यमै सेवा दिन सक्ने प्रयोगशालाको आवश्यकता महसुस भयो । त्यसपछि खुल्यो— असृक डाइग्नोटिक प्याथालोजी प्रयोगशाला ।


क्याटेगोरी : मेरो स्टार्टअप



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ