२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारप्याप स्मियर टेस्ट: महिलाको लागि बरदान

प्याप स्मियर टेस्ट: महिलाको लागि बरदान


पाठेघरको मुखको क्यान्सर नेपाली महिलाहरूमा सबैभन्दा बढी हुने क्यान्सर हो। मुख्यत: यो क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (HPV) बाट हुने गर्छ।

२०२१ को एक तथ्याङ्क अनुसार १५ वर्षदेखि माथिका १ करोड १४ लाख नेपाली महिलाहरूमा पाठेघरको मुखको क्यान्सर हुने जोखिम छ भने हरेक वर्ष २२४४ महिलालाई पाठेघरको मुखको क्यान्सर भएको पत्ता लागेको छ र यो रोगबाट १४९३ मृत्यु भइरहेको देखिन्छ। त्यसैले, यो बारे हामी सबै सचेत हुनु जरुरी छ ।

प्याप स्मियर(PAP SMEAR)टेस्ट के हो ?

PAP SMEAR टेस्ट PAP Test महिलामा पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने प्रक्रिया हो।

यो पाठेघरको मुखबाट कोशिकाहरू लिएर माइक्रोस्कोपिक रूपमा विश्लेषण गरेर सम्भावित पूर्व क्यान्सर र क्यान्सर प्रक्रियाहरू पत्ता लगाउन प्रयोग गरिने परीक्षणको विधि हो। यसले क्यान्सर मात्र नभएर संक्रमण र अन्य असामान्यताहरू पनि पत्ता लगाउन सक्छ।

१५ देखि २० वर्ष अगाडि नै क्यान्सर हुन सक्ने खतरा बारे प्याप स्मियरले जनाउन सक्ने हुँदा क्यान्सर रोग रोक्नलाई धेरै महत्वपूर्ण हुन्छ । यो टेस्ट सस्तो र सहज पनि हुनाले महिलाको लागि बरदान हुन सक्नेमा कुनै शंका छैन ।

यो जाँचको लागि नमुना के हो ?

यो टेस्टको लागि चहिने नमुना भनेको पाठेघर मुखमा भएको तरल पदार्थ या आफै समय अनुसार झर्दै गएका पुराना कोशिकाहरु नै हुन् ।

नमुना सङ्कलन विधि

पाठेघरको शरीरको भित्री भाग हो । तर, योनीबाट यसको मुख भेटाउन सकिने हुन्छ । त्यही बाटो प्रयोग गरी नरम ब्रस जस्ता चिजको सहयोग लिई पाठेघरको मुखको स्वाब लिइन्छ ।

कोभिडको पिसीआर टेस्टको लागि हामीले नाक र मुख बाट दिएको नमुना निकाल्ने विधीसँग केही मेल हुन्छ । यो प्रक्रिया गर्न केही मिनेट मात्र लाग्छ।

नमुनाको जाँचको विधि

सङ्कलन गरिएका नमुनालाई प्रयोगशालामा सूक्ष्म मूल्याङ्कनका लागि स्लाइड बनाइन्छ र माइक्रोस्कोपमा राखी डाक्टरद्वारा अध्ययन गरी रिपोर्ट दिइन्छ ।

ल्याब र बिमारीको चाप हेरेर यो जाचको लागि १ दिनदेखि ३ दिनसम्म लाग्न सक्दछ ।

यो जाँचको खर्च कति लाग्छ ?

ल्याबअनुसार केही सयदेखि एक दुई हजारभित्र मै यो टेस्ट गराएको पाइएको छ ।

यो टेस्ट कसले गराउने ? र कति पटक गर्नुपर्छ ?

सामान्यतया, २१ वर्षको उमेरका विवाह गरेका या यौन सक्रिय महिलाहरूमा प्याप स्मियर परीक्षण सुरु गर्ने र ६५ वर्षसम्म प्रत्येक ३ देखि ५ वर्षमा गराइरहनु पर्दछ ।

एक पटक जाच गरिसकेपछि नतिजा असामान्य छ भने पूरानो रिपोर्ट को आधारमा ६ देखि १२ महिनामा दोहोर्याउन आवश्यक पर्न सक्दछ ।

के HPV विरुद्ध खोप लगाइएकाहरूका लागि पनि यो जाँच आवस्यक पर्छ ?

HPV विरुद्ध खोप पनि उपलब्ध भैरहेको अवस्था छ, यो राम्रो सुबिधा हो । तर, खोपले पाठेघरको मुखको क्यान्सर हुन सक्ने HPV का सबै प्रकारहरूलाई समेट्दैन। साथै, खोपले खोप लगाउनु अघिको संक्रमण विरुद्ध सुरक्षा गर्दैन। त्यसैले, खोप लगाइएकाहरूका लागि प्याप स्मियर स्क्रिनिङ अझै पनि सिफारिस गरिन्छ ।

के पाठेघर फालेकाले पनि यो टेस्ट गराउनुपर्छ ?

यदि पाठेघरको क्यान्सर या क्यान्सर हुन सक्ने डर छ भनि पाठेघर हटाएको छ भने तपाईंले प्याप स्मियर गरिरहनुपर्छ। त्यस्तै, पाठेघर खस्ने समस्यामा या अन्य कारणले यदि पाठेघर हटाइयो तर पाठेघरको मुख त्यहीँ छ भने ६५ वर्षको उमेरसम्म नियमित प्याप स्मियर आवश्यक हुन्छ।

प्याप स्मियरको लागि पूर्व-तयारी

जाँच गराउनु छ भने तपाईं ले पूर्व तयारी गर्नुपर्ने हुन्छ:
• सम्भोग- प्याप स्मीयर गर्नुभन्दा २ दिनअघि देखि सम्भोग नगर्नुहोस्
• महिनावारीको समयमा: प्याप स्मियर नगर्नुहोस्।

हालसम्म यो टेस्ट गराउनु भएको छैन भने के भए हतारमा/ छिटो जाँच गराउनुपर्ने हुन्छ?

खतरा बढ्ने अवस्था:
• एचआईभी संक्रमण
• अंग प्रत्यारोपण, केमोथेरापी, वा पुरानो कोर्टिकोस्टेरोइड प्रयोगको कारणले कमजोर प्रतिरक्षा प्रणाली
• धेरै जनासँग यौन सम्पर्क
• धेरै बच्चा जन्माउँदा
• सानो उमेरमा विवाह या यौन सम्पर्क
• रक्सी चुरोटको सेवन

रोगका लक्षणहरु:
• योनीबाट पानी बगिरहने, जस्तै, सेतो पानी, गनाउने पानी, रगत मिसिएको पानी
• महिनावारी हुँदा असमान्ने तरिकाले रगत बग्ने र अरु बेला पनि रगत देखिइरहने, महिनावारी सुकेपछि पनि रगत देखिने
• यौन सम्पर्क गर्दा असामान्य दुखाइ या रगत देखा पर्ने ।
• यौनांग चिलाउने
• कोख दुख्ने, पिसाब फेर्दा दुख्ने र पिसाब रोक्न नसक्ने
• सबै क्यान्सर भएको अवस्थामा नि हुन सक्ने समस्याहरु जस्तै: दुब्लाउँदै जाने, शरीर गल्ने,खुट्टा दुख्ने या सुन्निने,आदि ।
(-डा. झा, रगत एव क्यान्सर रोग विशेषज्ञ हुन् भने डा.काफ्ले कन्सल्टेन्ट प्याथोलोजिस्ट हुन् । दुवै जना Asrik Diagnostic एकान्तकुनामा आवद्ध छन् ।)

यदि HPV बारे थप जानकारी लिन र माथिको लेख सम्बन्धी केहि जिज्ञासा भएमा कमेन्ट लेखिदिनु होला


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ