२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारके हो सिपिआर, यो किन र कसरी गरिन्छ ?

के हो सिपिआर, यो किन र कसरी गरिन्छ ?


सीसीयुको पहिलो दिनको पोस्टिङ । मनमा छुट्टै डर थियो । खै किन डर लागिरहेको थियो म आफैंलाई थाहा छैन। सायद मुटुका बिरामी हुने वार्ड (CCU) भएर होला । मनले कता कता छुट्टै अनुभव गरेजस्तो लागिरहको थियो । पहिला तेस्रो र पाँचो वर्ष अध्ययन गर्ने क्रममा आउँदा त त्यस्तो भएकै थिएन । तर आज खै त्यसै कस्तो कस्तो भइरहेको थियो ।

मन पनि अचम्मको चिज रहेछ, के भाको भनेर वर्णन नै गर्न नसकिने अनुभूति गराइदिएको थियो मेरो शरीरमा । मुटुको वार्डमा मनले गरिरहेको संघर्ष देख्दा देख्दा पनि मेरा यी आँखा नदेखेजस्तो गर्न बाध्य थिए । मनिटरमा टुँ टुँ गरिहेको सुनिरहेका कानहरू भने चनाखा थिए । लाग्थ्यो टुँ टुँ र टिं टिं गर्दै मानिसको आयु भनिरहेका छन् ।

मनले त्यस्तो सोचेपनि आँखाले नहेरी विश्वास नै लागेन । आँखा बिरामीको नजिकै राखिएको मनिटरमा लगें । जहाँ बिरामीको मुटको धड्कन, मुटुको अवस्था, रगतको चाप साथसाथै अक्सिजन लेभल र श्वासप्रश्वास देखाइएको थियो । साँच्चै यिनै चिज त हुन् होला नि है मानिसको स्वास्थ्य अवस्था निर्धारण साथसाथै आयु मापन गर्ने कुरा ।

यसरी मेरो मन र शरीरको द्वन्द्व चलिरहेको बेला नजिकैको बिरामीको मनीटरमा हेरेर दाइ कराउन थाल्नु भो । सीपीआर टिम तयार भो है, बिरामी (Asystole) मा जान लाग्यो । हतारहतार म पनि पन्जा लगाएर सीपीआर दिन तयार भएँ । डम्मी मा धेरै पल्ट प्रयास गरेको भएपनि वास्तविक मानिसमा पहिलो पल्ट भएरपनि होला छुट्टै जोश र जाँगर थियो । म,साथी सुवास, सोनु र रेसिडेन्ट दाइहरु पालैपालो गरेर हामीले सीपीआर दिइरहेका थिएउँ । मनमा एउटा आश भएपनि मनिटर र क्या रोटिड पल्स ले आश गर्ने अवस्था दिइरहेका थिएनन् । ७/८ साइकल सीपीआर दिइसकेपछि दाइहरुले आशा निराशामा परिणत भयो, छाड्देउ भन्नुभो । सबैले ठिकै छ भन्ने इशारा गरेपनि मेरो मन मानिरहेकै थिएन, पहिलो सीपीआर त्यसमा पनि असफल-असफलभन्दा पनि आफ्नै अगाडि उपचार गर्दागर्दै कोही संसार छाडेर जाँदैछ ।

यसै टोलाइरहको थिएँ, पछाडीबाट मुनील दाइ आएर सम्झाउनु थाल्नुभो, ‘यस्तो हुन्छ भाइ, उहाँको अवस्था नाजुक नै थियो । मुटु कलेजो साथसाथै मिर्गौला नै खराब भएको थियो । हामीले सक्दो प्रयास गरेका हौँ । उहाँको आयु नै यति हो, यसैमा चित्त बुझाउनुपर्छ । हस्पिटल ल्याएपछि मान्छे बाँच्नैपर्छ भन्ने हुन्न्, हाम्रो काम भनेको बाँच्नलाई सहायता गर्ने मात्र हो ।’

दाइले यति भनेर बिरामी कुरुवालाई सम्झाउन जानुभो, जुन सबैभन्दा अप्ठ्यारो पाटो थियो सायद । बिरामी कुरुवालाई पहिला नै अवस्था नाजुक छ, हामीले बिरामीलाई भेन्टीलेसन् मा राखेका छौँ, सक्दो प्रयास गरीरहेका छौँ भनी अवगत गराइएको रहेछ। बिरामी कुरुवा सुन्दा नराम्रो लागेपनि हजुरहरूको हेरचाह र उपचार पद्दती देखि हामी सन्तुष्ट छौँ, हामीलाई हाम्रो बिरामीको अवस्थाको बारेमा पहिल्यै अवगत गराउनुका साथै हजुरहरूले गरेको प्रयास प्रति धन्यबाद डा।साप भन्दै आँखाबाट आँशु झार्दे बाहिर जानुभो।

म भने झन छाँगाबाट खसेजस्तो भएँ । दिनउँ जस्तो डाक्टरको लापरबाहीले गर्दा बिरामीको ज्यान गएको भन्दै हस्पिटल तोडफोड र डाक्टर कुटेको सुनेको मान्छेले, आफ्नै अगाडी यस्तो घटना देख्दा सपना जस्तो नलाग्ने त कुरै भएन। मन मनै धन्यवाद भन्नुबाहेक विकल्प नै थिएन । तैपनि मनमा भने असफल भएको भान भने भइरह्मो ।

भोलिपल्ट पुनः एउटा बिरामी ventricular fibrillation (vf)  मा गयो भन्दै सीपीआर साथै डिफिब्रिलेसन दिएर बचाउँदा अघिल्लो दिनको असफल भएँ भने मनलाई धेरै नै राहत मिल्यो ।

यति भएपछि सीपीआरबारे नलेखी त हुँदै भएन नि होइन र ? 

आम मानिसले डाक्टरले सीपीआर दिदाँ छाती थिचेर मार्न लागे, मैले मेरै आँखाले देखेको हो भन्नेजस्ता भ्रामक कुरा सुनेका नै छौँ । साँच्चै बिरामीलाई मार्न लागेका हुन् त रु आउनुहोस् वास्तविक कुरा बुझौँ ।

के हो त सीपीआर ?

छाती थिच्ने त्यस्तो प्रक्रिया सिपीआर (कार्डियो पल्मोनरी रिसस्सीटेसन/Cardiopulmonary Resuscitation) को एउटा भाग हो। यो प्रक्रियामा बिरामीको छाती थिच्नुका साथै मुखमा मुख जोडेर वा मुखबाट स्वासनलीसम्म पुग्ने गरी पाइप हालेर स्वासप्रश्वास गराउने गरिन्छ।

किन गरिन्छ सीपीआर ?

कुनै कारण वा रोगले गर्दा अचानक मुटु चल्न बन्द भएमा बाहिरबाट मुटु थिचेर रगत पम्प गराउनका लागि सिपीआर गर्ने गरिन्छ । यसले आफैँ मुटुको संचालन सुरु गर्ने होइन कि मात्र आंशिक रुपमा रगतको संचालन गराएर मष्तिष्कमा रगत र अक्सिजनको मात्रा पुर्‍याइ अन्य उपचार उपलब्ध नभएसम्म मष्तिस्कलाई बचाइ राख्ने प्रयास गर्छ। मष्तिस्कमा ४ मिनेटसम्म रगत नपुगेमा त्यसका कोषहरु मर्न थाल्छन् र ७ मिनेटसम्म पनि नपुगेमा पूर्ण रुपमा मर्छन्। त्यसैले मष्तिस्कलाई बचाइ राख्न र डिफिब्रिलेसन (Defibrillation) वा मुटुको चाल ठिक गर्न दिइने इलेक्ट्रिक सकका लागि मुटुलाई तयार पार्नलाई सिपीआर गरिन्छ।

डिफिब्रीलेसन मुटुका चालका केहि खराबीहरु जस्तै भेन्ट्रिकुलर फिब्रिलेसन (Ventricular fibrillation), पल्सलेस भेन्ट्रिकुलर ट्याकिकार्डिया (Pulseless Ventricular Tachycardia)  आदिमा मात्र उपयोगी हुन्छन्। डिफिब्रिलेसन उपयोगी नहुने मुटुको चालका खराबीहरु जस्तै असिस्टोल (Asystole), पल्सलेस इलेक्ट्रिकल एक्टिभिटी (Pulseless Electrical Activity) लाई सिपीआरले डिफिब्रिलेसन उपयोगी हुने चालहरुमा परिवर्तन गर्नसक्ने सम्भावना हुन्छ। त्यसैले त्यस्ता मुटुका चालका खराबीहरुमा सिपीआर उपयोगी हुन्छ।

सिपिआर कसरी गरिन्छ ?

छाती थिच्ने प्रक्रिया कम्तिमा १ मिनेटमा १०० पटक सम्म गर्नुपर्ने हुन्छ । यो र कृत्रिम स्वासप्रश्वासको प्रक्रियाको रेसियो वयस्कमा ३०:२ को हुनुपर्छ। त्यस्तै छाती थिच्दा वयस्क र केटाकेटीहरुमा करिब ५ सेमी र नवजातहरुमा करिब ४ सेमी थिचिनुपर्छ। वयस्कमा गर्दा दुबै हातको प्रयोग, केटाकेटीहरुमा गर्दा एउटा हातको मात्र प्रयोग र नवजातहरुमा गर्दा दुई औंलाको मात्र प्रयोग गर्ने गर्नुपर्छ।

सिपिआरको उद्देश्य के हो ?

सिपिआरको उद्देश्य विरामीको मुटुलाई पहिलेको जस्तै पूर्णरुपमा सामान्य अवस्थामा ल्याउनु होइन कि अन्य उपचार पद्धतीहरु (Advanced Life Supports)  उपलब्ध नभएसम्म रगतको संचालन कायम राख्दै मष्तिस्क र शरीरलाई बचाएर राख्नु हो। सिपीआर पाएका करिब सय विरामीहरुमा जम्मा ५-१० जना बाँच्न सफल हुन्छन्।

आम मानिसलाई भन्नैपर्ने कुरा

सिनेमा र टिभी सिरियलहरुमा सिपीआरलाई बढी नै प्रभावकारी देखाइने गरेको पाइन्छ । साथै सिपीआर गर्दा हात कुइनामा बंगाउने गरेको देखाइन्छ, जुन ठिक तरिकाको सिपीआर होइन। यसले गर्दा एकातिर आममानिसहरुलाई सिपीआरप्रति बढी नै आशावादी बनाइदिन्छ भने अर्कोतिर सिपीआर गर्ने गलत तरिका पनि सिकाइरहेको हुन्छ।

छाती थिचेर मात्र गर्ने सिपीआर (Compression only CPR) सिपीआरको परम्परागत तरिकाभन्दा केहि फरक छ । यसमा बिरामीको छाती थिच्ने काम १ मिनेटमा १०० पटकसम्म गरिन्छ तर कृत्रिम स्वासप्रश्वास भने दिइदैन् । तालिम नपाएका आम मानिसहरुको लागि तयार पारिएको यस प्रक्रियाले आवश्यक पर्दा सिपीआर गर्न उनीहरुलाई सजिलो बनाइदिएको छ।

सिपिआर प्रत्येकले थाहा पाउनैपर्ने र सिक्नैपर्ने इमर्जेन्सी विधि हो। यसले मुटु अचानक बन्द भएर हुने मृत्युहरुलाई केहि कम गर्न सहयोग पुग्छ ।

यति लेखिसकेपछि लेख्न सहयोग गर्नुहुने डा. समीर लामा दाइ र पढ्ने हजुरलाई त धन्यवाद भन्नैपर्‍यो नि ।

धन्यवाद


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ